Monday, October 15, 2012

मेरो जिब्रो कालो छ - nayapatrika



निहिता विश्वाससँग रमाइलो संवाद

तपाईं १९ वर्षको उमेरमा ६३ वर्षका चाल्र्स शोभराजसँग बिहे गरेर अचानक चर्चामा आउनुभयो । दुनियाँलाई त्यो नाटकजस्तो लाग्यो, तपाईं पनि कतै चर्चामा हुनुहुन्न, कस्तो छ वैवाहिक सम्बन्ध ? केही गडबड त भएको छैन नि ?

मान्छेलाई सब नाटकजस्तो लाग्छ । किनभने चाल्र्सलाई मिडिया र समाजले काल्पनिक पात्रजस्तो बनाइदिएको छ । सिरियल किलर, बिकिनी किलर, अन्तर्राष्ट्रिय अपराधीजस्ता अनेक शब्द बनाएर, अनेक कथा रचेर उसलाई फसाइएको छ । हुँदै नभएको कहानी रचेर, त्यसमा 'बटर' लगाएर, तड्का लगाएर मसलेदार बनाइएको हो । तर, हाम्रो सम्बन्ध कुनै नाटक होइन, समर्पण हो । यो टुट्नेवाला छैन ।

होइन, आठ नौ देशमा मान्छे मारेर हिँडेको, जेल पनि तोडेर भागेको अनौठो पात्र भनेर शोभराजको आफ्नै छवि थियो । तर, 'बटर’ तपाईंले लगाउनुभयो, जेलभित्र रहेको ६३ वर्षको मान्छेलाई जेलबाहिर रहेकी १९ वर्षकी तपाईंले बिहे गर्नुभयो, ँतड्का’ लगाएर कहानीलाई रोमाञ्चक त तपाईर्ंले बनाउनुभयो नि, होइन र ?

हो, भाँडा आफँै तातेको थियो, मैले पानी हालिदिए । रनक्क तातेको भाँडोमा पानी हाल्यो भने झ्वाइँ गर्छ । कुरा त्यत्ति हो ।

शोभराज आफैँ 'स्टन्टम्यान’ हुन् । उनले भारतको सबैभन्दा कडा मानिने तिहाड जेलसमेत तोडेर भागेको कथा छ । उनको सनसनीपूर्ण ँस्त्रिmप्ट’मा तपाईर्ंले पनि ँस्टन्ट’ थप्नुभयो, यो सब योजनाबद्ध हो कि होइन ?

चाल्र्सको नाम विश्वभरि छ, दुनियाँले उसलाई चिन्छ,  उसको नाम सुनेर मलाई पनि डाह लाग्छ । त्यसको मतलब के हो भने म उसको नामको सहारामा चिनिन चाहन्नँ । मैले आफ्नो पहिचान आफँै बनाउनुपर्छ । उसको नामबाट फाइदा उठाउनुपर्ने
केही छैन ।

शोभराजसँग जोडिएकाले त तपाइर्ं पत्रिका र टिभीमा छाउनुभयो, होइन भने तपाइर्ंलाई मिडियाले ँफलो’ गथ्र्यो र ?

हेर्नोस्, जतिवेला 'स्क्यान्डल' भयो, म १९ वर्षकी मात्र थिएँ । त्यो भनेको घरमा बसेर टिभीमा फिल्म हेर्ने उमेर हो । तर, म सारा टेलिभिजनमा आएँ । शोभराजसँग जोडिएर आउनु भाग्यको खेल हो । तर, म टिभीमा आउने निश्चित थियो । मलाई टीका लगाउँदा मम्मीले भन्नुहुन्थ्यो- सिएएनको रिपोर्टर भएस् । मम्मीको आशीर्वाद लाग्यो, म रिपोर्टर भइनँ, तर सारा रिपोर्टरले मेरो समाचार लेखे । मिडियामा आउनु मेरो भाग्यमा थियो ।

शोभराजसँगको सम्बन्धको भाग्यरेखा त तपाइर्ं आफँैले कोर्नुभएको हो । सिरियल किलर भनेर उनको खुँखार छवि छ, बिकिनी किलर पनि भन्छन् मान्छेहरू, युवतीसँग प्रेम गर्ने, उसलाई मार्ने र बिकिनी लगाएर छाडिदिने डरलाग्दो पात्रसँग धेरै मान्छे डराउँछन्, तपाईं कसरी नजिक हुनुभयो ?

यति भयानक चित्र हावा-हावामा बनेको हो । बिकिनी किलर भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ ? उसले लोग्ने मान्छे पनि मार्‍यो भनेर चर्चा छ, के लोग्ने मान्छेलाई पनि बिकिनी लगाइदियो ? विश्वभरि ऊविरुद्ध मुद्दा छन् भनेर प्रचार छ, खोई कुन देशमा छ ? यदि मुद्दा छ भने ऊ यो देशको जेलमा छ, त्यो देशको अदालत र प्रहरीले नेपाल सरकारलाई पत्राचार किन गर्दैन ? थाइल्यान्डमा उसले सजाय पाएको भनिन्छ, तर वास्तवमा ऊमाथि त्यहाँ एफआइआरसमेत दर्ता भएको छैन । तर, मनगढन्ते रूपमा सबैतिर एउटै हल्ला फैलाइएको छ, त्यसैको आधारमा अदालतले फैसला दिएको छ ।

तपाईं आफैँ वकिल पनि होइन, पुलिस, प्रशासक पनि होइन, शोभराजसँग सम्बन्ध कसरी जोड्नुभयो ?

हेर्नोस्, चार वर्षअघि प्लस टु सकेपछि म अमेरिका जाने तयारीमा थिएँ । हाम्रो युवा पुस्ताको 'टे्रन्ड' नै हो नि, हाइस्कुल पास गरेपछि विदेश जाने । म विदेश जान टोफल पढ्दै थिएँ । त्यहीवेला चाल्र्स शोभराजका प|mेन्च वकिल इजाबेल कोटेन्ट पियरेलाई नेपाली सहयोगी चाहिएको रहेछ । म अंग्रेजी पनि राम्रो बोल्ने, बोलक्कड पनि । त्यसैले उनीहरूले मलाई रोजे । पियरे भन्ने महिला 'क्रिमिनल ल' को क्षेत्रमा विश्वभरि चर्चित वकिल हुनुहुन्छ । जब मैले उहाँबारे सुनेँ, कुनै न कुनै हिसाबले उहाँसँग जोडिन पाए हुन्थ्यो भन्ने लाग्यो । तर, यो कुरा निश्चित हुन्जेल पियरे नेपालबाट फर्किसक्नुभएको रहेछ । हाम्रो भेट भएन । मैले चाल्र्सलाई भेटेर भनेँ, 'तिम्रो त वकिल फर्किसक्नुभएछ ।' उसले भन्यो, 'तर, तिमी मलाई सहयोग गर न, मैले वकिलहरूसँग इमेलमा संवाद गरिरहनुपर्छ, तिमीले सहयोग गरे मलाई सजिलो हुन्छ ।' मैले हुन्छ भनिदिएँ । त्यसपछि कामकै सिलसिलामा हाम्रो लगातार भेट हुन थाल्यो ।  ऊ पनि कानुनको विद्यार्थी, साइन्स पनि पढेको, अरू धेरै विषय पढेको । साँच्चै स्मार्ट र इन्टलिजेन्ट मान्छे ।  हामी एकअर्काप्रति प्रभावित भयौँ । एक दिन उसले अचानक भन्यो, 'इट्स टाइम टु गेट म्यारिड ।' मैले तीन सेकेन्डमा हुन्छ भनिदिए ।

तीन सेकेन्डमा के सोच्नुभयो तपाईंले ?

मैले तीन सेकेन्डमा सोचेँ- मलाई थेग्न सक्छ । त्यसभन्दा बढी मैले केही सोचिनँ । अचानक हुन्छ भनिदिएँ । त्यसको केही दिनपछि हाम्रो बिहे भयो ।

भनेपछि तपाईंलाई थेग्न धेरै चुनौतीपूर्ण काम रहेछ है ?

मलाई त मेरी मम्मीले पनि त्यसै भन्नुहुन्थ्यो । साथीहरू पनि भन्थे- यस्तालाई मिल्ने मान्छे कस्तो होला । म साह्रै छुची, मनमा लागेको कुरा भनिहाल्ने, झगडा पनि गरिहाल्ने । त्यसैले जसतसले तह लगाउन सक्दैन, थेग्न सक्दैन भन्ने मलाई पनि लागेको थियो । तर, शोभराजको प्रस्ताव आउनासाथ तीन सेकेन्डमा मैले सोचेँ- यसले चाहिँ थेग्न सक्छ ।

अनि, बिहेको कुरा गर्दा आफन्त खासगरी मम्मी त ँसक्ड’ हुनुुभयो होला । कि उहाँलाई पहिले नै इच्छा थियो ?

चाल्र्ससँग हाम्रो भेट भएको त धेरै पछि हो । तर, ऊ कहाँ-कहाँ हुँदा पनि हाम्रो परिवार उसको 'फ्यान' । हाम्रो मामा उस जमानामा कोलकातामा हुँदा चाल्र्सको बारेमा सुनेर उसलाई 'रोल मोडेल' मान्नुहुन्थ्यो रे । फोटो हेरेर ऊजस्तै स्टाइल निकाल्नुहुन्थ्यो रे । त्यसको प्रभाव मम्मीलाई पनि परेको रहेछ । त्यसैले उहाँहरू अहिले पनि भन्नुहुन्छ, 'आफ्नै ज्वाइँ बन्नुरहेछ र त्यो जमानादेखि त्यो मान्छे हाम्रो मनमा बसेको ।' खासमा शोभराजलाई उहाँहरू धेरै राम्रो मान्छे मान्नुहुन्छ, त्यसैले मैले ऊसँग बिहे गरेर अभिभावकलाई पनि खुसी बनाएको छु ।

उमेरमा त ४४ वर्षको फरक परिहाल्यो, तपाईं मात्र १९ वर्षकी हुनुहुन्थ्यो, बिहेको दिन पनि सेन्ट्रल जेलमा तपाईं ललिपप चुसिरहनुभएको थियो, एकदम बालबिहेजस्तो देखिएको थियो नि ?

ललिपप भनेपछि म क्रेजी छु, चौबीसै घन्टा मसँग ललिपप हुन्छ । अहिले पनि ब्यागमा होला । म सानो हुँदा पनि मम्मीले बट्टाका बट्टा ललिपप ल्याइदिनुहुन्थ्यो । अहिले पनि ललिपप बोकेर हिँड्छु, मौका मिल्नासाथ खाइहाल्छु । त्यसैले बिहेको दिन पनि त्यस्तो देखियो होला, तर म बूढी हुन्जेल पनि ललिपप छोड्दिनँ ।

तपाईंको मम्मी वकिल नभएको भए शोभराजसँग चिनजान हुन्थ्यो ?

यस विषयमा मिडियालाई ठूलो भ्रम छ । खासमा शोभराजसँग मेरो चिनजान हुँदा मम्मी र उसको चिनजान थिएन । प|mेन्च वकिलको सहयोगी बन्ने प्रक्रियामा मेरो र चाल्र्सको चिनजान भयो । मैले ऊसँग कुरा गर्दा मम्मी पनि 'क्रिमिनल लयर' हुनुहुन्छ भनेकी थिएँ । उसले चासो लिएर 'मेरो केस पनि हेर्न लगाऊ न' भनेर अनुरोध गरेपछि बल्ल उहाँहरूको चिनजान भएको हो । तर, मान्छेहरू आमाका कारण छोरीको चिनजान र बिहे भयो भन्ने भ्रममा छन् ।

बिहे गरेपछि जोडीहरू हनिमुन जान्छन्, आफ्ना भावी योजना बनाउँछन् । तर, तपाईं एउटी अनौठी युवती, जसको श्रीमान् बिहेको दिनमा पनि बारभित्र छ, सँगै कहिले हुने हो थाहा छैन । तपाईंलाई कहिलेकाहीँ नरमाइलो लाग्दैन ?

कहिले होला मेरो श्रीमान् मसँग भन्ने प्रश्न त अवश्य आउँछ । तर, अचानक ममाथि कुनै विपत्ति आएको होइन । ऊ जेलभित्र छ, ऊमाथि अन्याय भएको छ, अन्यायको विरुद्ध बोल्नुपर्छ र चाल्र्सलाई साथ दिनुपर्छ भनेर मैले बिहे गरेकी हुँ । बिहे गर्दा ऊसँग रमाइलो क्षण बिताउन पाइन्छ भन्ने मलाई लागेको थिएन । तर, म भाग्यमा विश्वास गर्ने मान्छे हुँ, एक दिन ऊ र म सँगै हुनेछौँ, म विश्वस्त छु ।

तपाईं चाल्र्स शोभराजको डिफेन्डमा यति धेरै बोल्नुहुन्छ । तर, मिडियालाई विश्वास गर्नुहुन्न, एकदिन तपाईं टेलिभिजनमा भन्दै हुनुहुन्थ्यो, ँआई हेट नेपाली मिडिया,’ यति धेरै आक्रोश किन ?

हो, मैले भनेकै हुँ । मलाई 'र्‍याग' गर्ने पनि नेपाली मिडिया हो, त्यसैले आक्रोश पनि त्यही क्षेत्रमाथि पोखेकी हुँ । मिडियामा चाल्र्सका विषयमा जति समाचार आएका छन्, ती निश्चित 'माइन्ड सेट'का आधारमा आएका छन्, तथ्यका आधारमा होइन । मैले पनि मिडिया बुझेकी छु, ९५ प्रतिशत समाचार हुनुपर्छ, पाँच प्रतिशत टिप्पणी हुनुपर्छ । तर, हाम्रो मिडियाले चाल्र्सको विषयमा ९५ प्रतिशत आफ्नो धारणा राखेर पाँच प्रतिशत तथ्य दियो । यति धेरै अन्याय भएपछि मैले आक्रोश पोखेकी हुँ ।

नेपाली मिडियामाथि तपाईंले आक्रोश पोख्नुभयो, तर तपाईंलाई भारतीय मिडियाले कस्तो व्यवहार गर्‍यो भन्ने विषयमा म एउटा उदाहरण सम्झाउँछु- स्टार न्युजमा एक दिन प्रोमो आइरहेको थियो, 'आज स्टार न्युजकी स्टुडियोमे आएगी कातिलकी पत्नी, आज बोलेगी कातिलकी पत्नी, देखिए रात नौ बजे ।’ पछि नौ बजे कार्यक्रम सुरु भयो, सञ्चालक दीपक चौरसियाले 'आज हामरे साथ हे एक कातिलकी पत्नी’ भन्दै तपाईंलाई स्वागत गरे, यस्तो सुन्दा तपाईंलाई आनन्द आयो ?

स्टार न्युजले कातिलकी पत्नी भनेर मलाई सम्बोधन गर्‍यो । तर, त्यो दीपक चौरसिया जम्माजम्मी कति मिनेट बोल्यो, दुई मिनेट, तीन मिनेट । बाँकी समय त मैले बोल्न पाएँ नि । आफ्नो श्रीमान्माथि अन्याय भएको छ भनेर ठोकुवा गर्न पाएँ नि । एकछिन उनीहरूले कातिलकी पत्नी भनेर के भयो ? कार्यक्रममा आउनु भनेर उनीहरूले निम्तो दिएका हुन्, काठमाडौंदेखि जहाजको भाडा र बस्नेलगायत सम्पूर्ण खर्च उनीहरूले व्यहोरेका हुन् । त्यसमाथि उनीहरूको स्टुडियोमा बोलाएर आधा घन्टा कार्यक्रम गर्ने भनेका थिए । कार्यक्रम यति हिट भयो, उनीहरूले समय थपेर मलाई प्रश्न गरे, मैले पुग्यो भन्दा पनि दीपक चौरसियाले 'प्लिज म्याडम, थोडीदेर और' भनी मेरो अन्तर्वार्ता लिए । यसले मलाई बेफाइदा भएन ।

'सुनिए कातिलकी पत्नीका गाना’ भन्दै उनीहरूले उद्घोषण गरिरहेका थिए, तपाईं खुरुखुरु गीत गाइरहनुभएको थियो ?

म अन्तर्वार्ता दिन त गएँ । तर, त्यहाँ पुगेपछि एक वाक्य हिन्दी बोल्नुस् भन्दा म छक्क परेँ, 'लौ अब कसरी बोल्ने होला ?' तर अन्तर्वार्ता सुरु भएपछि मेरो भावना यसरी बग्यो कि म कुनै पनि कुरामा रोकिनु परेन । अझ तथ्य र भावना प्रस्तुत गर्दै जाँदा मैले गीत पनि गाइदिएँ । मैले उनीहरूले जुन भने त्यही गीत गाएकी होइन । चाल्र्स र मेरो सम्बन्ध र परिस्थिति बुझाउने गीत गाएकी हुँ, त्यो पनि स्वतस्फूर्त रूपमा गाएकी हुँ । मेरो बुबा बंगाली हुनुहुन्थ्यो, बंगाली खुनमा संगीत आफसेआफ बग्छ ।

तपाईंले तीन/चारवटै गीत गाउनुभयो नि ?

चाल्र्ससँग एकपटक कुरा हुँदा उसले मलाई भनेको थियो, 'कभी कभी मेरे डिलमे खयाल आटा हे, कि जैसे टुम्हे बनाया गया हे मेरे लिए ।' के भन्छ यो भनेर एकछिन म छक्क परेँ । पछि स्टार न्युजमा अन्तर्वार्ता दिँदा अचानक मलाई चाल्र्सले गाएको त्यो गीत आयो, मैले गाइदिएँ । जगजित सिंहको 'गमका खजाना,' कैलाश खेरको 'शैयाँ...' बोलको गीत गाएँ । अन्तर्वार्ता दिँदा नै मेरो मुख सुकिसकेको थियो । तर, मलाई रोकिन मन लागेको थिएन । त्यसैले पानी पिउँदै, गीत गाउँदै गरेँ । दिल खोलेर बोल्न पाएकामा मलाई सन्तोष छ । अझ कार्यक्रम सञ्चालक दीपक चौरसिया इन्डियाका टफेस्ट पोलिटिकल जर्नालिस्ट हुन् । उनलाई मैले भनिदिएँ, 'चाल्र्सलाई किलर भन्ने अधिकार/प्रमाण के छ, तपाईंसँग ?' उनी विचरा के भनौँ के भनौँ भए । किचिक्क हाँसेर हामी ब्रेकमा जान्छौँ भने । मलाई प्रश्न सोध्न नसकेर उनले कमर्सियल ब्रेक लिनुपर्‍यो । त्यसमा पनि मलाई खुसी नै छ ।

तपाईं इन्डियन टेलिभिजनको रियालिटी सो ँबिगबोस’मा पनि जानुभयो, कस्तो रह्यो अनुभव ?

हेर्नुस्, बिगबोसमा म पोहोरको सिजनमा गएकी हुँ । तर, मैले अघिल्लै वर्ष भनेकी थिएँ, 'अर्को साल जाने त मै हुँ ।' ल हेर्नुस्, मेरो जिब्रो कालो छ क्या Û कालो जिब्रो भएको मान्छेले जे भन्यो त्यही पुग्छ । अर्को वर्ष मलाई अफर आयो । म परीक्षाको तयारीमा थिएँ, परीक्षा छाडेर जाँदिनँ भनेँ । उनीहरूले एकदिन अघि आए पनि हुन्छ भने । म परीक्षा सकेर आज गएँ, भोलि बिगबोसको हाउसमा छिरेँ ।

तर, पहिलो हप्तामै आउट हुनुभयो नि ?

नेपालीले जित्ने चान्स नै छैन । त्यहाँका मान्छे खुलस्तै भन्थे, 'प्रशान्त तामाङपछि अब कुनै पनि नेपालीभाषीले रियालिटी सो जित्दैन, हामी दिन्नौँ ।' त्यसमाथि बिगबोस भनेको झगडाको अखडा हो, त्यहाँका अरू सहभागीसँग हामी झगडा गर्नै सक्दैनौँ । झगडा गरेर, टिआरपी बढाउन सके मात्रै सोमा टिक्न सकिन्छ ।

झगडा त तपाईंले पनि सुरु गर्नुभएको थियो, त्यसैले तपाईंलाई शक्ति कपुरदेखि अरू धेरैले आउट गर्न नोमिनेट गरेका थिए नि ?

शक्ति कपुरलाई नेपालसँग पुरानो रिस थियो । एकपटक नेपाल आएको बेला रेखा थापालाई चिमोटेपछि ठूलो विवाद भयो । नेपाली मिडियाले शक्ति कपुरका बारेमा धेरै नराम्रो लेखे । उसलाई त्यो रिस थियो । त्यसैले म नेपाली भन्नासाथ सुरुमै नोमिनेट गर्‍यो । तर, मेरो व्यवहार देखेपछि उसले धेरै पछुतो मानेको थियो । मेरी आमापछि शक्ति कपुर नै त्यस्तो मान्छे हो, जसले मलाई बेटा भनेर बोलायो । पछि 'फिनाले'मा पनि उसले भन्दै थियो, 'सरी बेटा, मैले गर्दा तँ पहिलो हप्ता नै निस्किनुपर्‍यो ।' तर, म पहिलो हप्तामै निस्किएको राम्रो भयो । त्यतिन्जेलसम्ममै म बिरामी भइसकेकी थिएँ । बाहिर निस्किएपछि उपचार गर्नुपर्‍यो । त्यहाँ यति धेरै झगडा हुन्छ, यति धेरै तनाव हुन्छ, मान्छे बाहिर निस्किएपछि पनि कन्फ्युजमा परिराख्छ ।

तपाईंले बिगबोसबाट पारिश्रमिक पनि लिनुभयो होला, अनि त्यो कार्यक्रम, त्यहाँको झगडा 'स्त्रिmप्टेड’ हो कि होइन ? मान्छेले के गर्ने, के बोल्ने भन्ने प्रोड्युसरले सिकाउँछन् कि सिकाउँदैनन् ?

पारिश्रमिक त मैले लिएँ । हामी त सेलिब्रेटी हो, पैसा नपाई त्यो पागलखानामा गएर को बस्छ ? पूरै स्त्रिmप्टेड होइन र शतप्रतिशत स्वतस्फूर्त पनि होइन । तर, आउट गर्ने कुरा दर्शकको भोटमा होइन, अरू कुराबाट तय हुन्छ । भोटको आधारमा निकाल्ने भन्ने कुरा झुटो हो ।

तपाईंले त्यहाँ केही छाप छोड्न सकेजस्तो लाग्छ ?

मैले लोकपि्रयता कमाएँ । बिगबोसको इतिहासमा, बिगबोसको वेबसाइटमा म मात्रै एउटा सेलिब्रेटी हुँ जसको विषयमा एउटा पनि नकारात्मक टिप्पणी आएको छैन । त्यसमाथि कार्यक्रममा इन्ट्री गर्दा मैले सलमान खान र सञ्जय दत्तका अगाडि एउटा डायलग दिएकी थिएँ । उनीहरूले मलाई सोध्दै थिए, 'चाल्र्स शोभराजले हामीलाई टिभीमा देख्न सक्छन् कि सक्दैनन् ?' मैले भनेँ, 'ऊसँग टिभी छ, यो कार्यक्रम पनि हेरिरहेको छ ।' सलमान र सञ्जय दत्त पनि जेल परेका हुन्, त्यसैले मेरो कुरा सुनेपछि सञ्जय दत्तले भने, 'भाइ हमलोगके लिए तो टिभी नही था ।' तब मैले भनेँ, 'आपलोगको टिभी नही मिला, लेकिन मेरे पतिको न्याय नही मिला ।' तर यो मेरो डायलग प्रसारण भएन ।

तपाईंले अदालतमा, जेलमा, अन्तर्वार्तामा र रियालिटी सोमा समेत चाल्र्स शोभराजको डिफेन्ड गरिरहनुभएको छ । तपाईं अहिले त २३ वर्षकी हुनुभयो, ३३ वर्षअघि चाल्र्सले नेपाल आएर पर्यटक मारेको अभियोग अदालतबाट पुष्टि हुँदा पनि तपाईं केको आधारमा उसलाई निर्दोष देख्नुहुन्छ ?

मैले बोल्ने भनेको डकुमेन्टका आधारमा हो । अदालतले फैसला दिने पनि त्यही आधारमा हो । तर, ऊमाथि अन्याय भइराख्यो । उसले मान्छे मार्‍या हो भने देख्ने मान्छे को थियो ? प्रमाण के छ ? प्रमाण केही छैन । तैपनि विचरालाई फसाइएको छ । न्यायबाट वञ्चित गराइएको छ । तैपनि उसले हार मानेको छैन । मैले उसलाई माया गर्नुपर्ने एउटा कारण पनि त्यही हो ।

विभिन्न चरणका अदालतले शोभराजलाई दोषी साबित गरे, तर तपाईंले फैसला स्विकार्नुको साटो अदालत परिसरमै न्यायाधीशलाई गाली गर्नुभयो, तपाईंकी मम्मी आफैँ वकिल हुनुहुन्छ, आमाछोरी मिलेर किन त्यसरी भड्किनुभयो ?

मैले जे देखेँ, त्यो बोलेँ, अदालतले अन्याय गरेको हो । त्यो मलाई स्वीकार्य छैन । त्योभन्दा बढी मैले केही भनेकी छैन ।

'ब्लडी जजेज’ भन्नुभन्दा ठूलो गाली के हुन्छ र ?

ब्लडी भनेको गाली होइन, त्यो बुझ्नेको कमजोरी हो । ब्लडसँग नजिक भनेको ब्लडी हो । तैपनि अदालतले त्यसलाई इस्यु बनायो, अवहेलना साबित गर्‍यो । त्यसैले मैले माफी मागेँ । अपशब्द बोलेकामा मात्र मैले माफी मागेको हुँ । तर, चाल्र्सको विषयमा दिइएको फैसला स्वीकार्य छैन पनि भनेकी छु । त्यसमा म अहिले पनि अडिग छु ।

जिल्लादेखि सर्वोच्चसम्मले फैसला दिएपछि तपाईंहरूसँग बाँकी के छ अब ?

बाँकी धेरै कुरा छ । यहाँको सर्वोच्च अदालतभन्दा पनि युएनको आइसिसिपिआर (इन्टरनेसनल कोभिनेन्ट अन सिभिल एन्ड पोलिटिकल राइट्स) को आदेश ठूलो हुन्छ । आइसिसिपिआरले चाल्र्सको विषयमा अध्ययन गरेर फैसला दिएको छ- शोभराज निर्दोष छ, उसलाई क्षतिपूर्तिसहित रिहा गर । तर, नेपाल सरकारले यो सुनेको छैन । सुरुमा १२ पृष्ठको आदेश आएको थियो, त्यसपछि तीनपटकसम्म नेपाल सरकारको ध्यानाकर्षण गराइसकेको छ । यसले अन्तर्राष्ट्रिय नियम-कानुन नमान्ने भनेर नेपालको बेइज्जत भएको छ । बेइज्जत सहेर पनि यहाँको सरकार चाल्र्सलाई जेलमै राख्न चाहन्छ । तर, यो कतिन्जेल चल्ला ? दोस्रो कुरा, कानुन भनेको कि कानुनविद्ले जान्दछ, कि कानुनपीडितले । म कानुनपीडित हो । मेरो श्रीमान्लाई अन्यायपूर्वक विनाप्रमाण दोषी भनेर जेलमा राखिएको छ, अन्याय भयो भनेर मैले बोल्दा अदालतको अवहेलना गर्‍यो भनेर दण्डित गर्ने काम पनि भयो । त्यसैले म पीडित मात्र होइन कानुनविद् पनि बन्छु भनेर अहिले नेपाल ल क्याम्पसमा एलएलबी पढ्दै छु । संयोग हो, मेरी मम्मीलाई यही कलेजमा पढ्दा थर्ड इयरको परीक्षाको एक दिन 'लेबर पेन' भएछ । उहाँ परीक्षा छाडेर हस्पिटल जानुपर्‍यो । अनि म जन्मिएँ । त्यसैले मम्मी भन्नुहुन्छ, 'आधा कानुन त तैँले पेटमा सिकेकी छस् ।' अब बाँकी आधा कानुन सिक्न पढ्न थालेकी छु । सौभाग्य हो, जुन कलेजमा पढ्दा आमाको परीक्षा एक वर्ष रोकियो र म जन्मिएँ, आज त्यही कलेजमा पढ्दै छु । मलाई भविष्यमा वकिल अथवा न्यायाधीश बन्न नदिन अहिले नै षड्यन्त्र भएको छ । तर, म एक दिन वकिल बनेर म र मेरो श्रीमान्माथि अन्यायपूर्वक फैसला गर्नेहरूलाई प्रश्न सोध्नेछु, नेपालमा भएन भने पनि विदेशमा पुगेर पनि यो पेसामा रहनेछु ।
(अन्तर्वार्ताको अन्त्यतिर निहिताको मोबाइलमा फोन आयो । उताको कुरा सुनेपछि उनले आत्तिदै फोनमा सोधिन्, 'अहिले चाल्र्सको सिचुएसन कस्तो छ ?' जेलमा रहेका चाल्र्स शोभराजलाई केही गडबड भयो भन्ने अनुमान गर्न गाह्रो भएन । उनले फोन राखेपछि कुरा फेरि सुरु भयो ।)

केही गडबड भएजस्तो छ नि ?

हो, हिजो राति चाल्र्सलाई जेलमै भाइनाइकेले हातपात गरेछ । घाँटी समातेको थियो रे Û तर, चाल्र्स पनि मान्छे त दह्रो छ । त्यसैले उसलाई केही भएन । तर, उसलाई सिध्याउन धेरैपटक प्रयास भएको छ । ऊ भाग्छ भनेर जेलभित्र एक्लै राखिएको छ, तैपनि अर्को मान्छे छिरेर ऊमाथि हातपात कसरी गर्न सक्यो ? विषय यति गम्भीर छ । तर, यहाँ सबैतिरबाट हामीलाई खेदिएको छ, हामीमाथि अन्याय भइरहेको छ ।
उमेश चौहान