Wednesday, October 17, 2012

एनसेल साहु भ्रष्टाचार फन्दामा, स्विडेनमा छानबिन हुँदै - mysansar


३ करोड डलर फ्रिज, स्विट्जरल्यान्डमा पनि छानबिन



नेपालमा मोबाइल सेवा दिने कम्पनी एनसेलको साहु कम्पनी टेलियासोनेरा आफ्नै देश स्विडेनमा भ्रष्टाचारको मुद्दामा फँसेको छ। टेलियासोनेरामा स्विडेन सरकारको ३७ प्रतिशत सेयर भएकोले भ्रष्टाचार मुद्दामा छानबिन गर्न त्यहाँको सरकार तम्सिएको हो। भ्रष्टाचारको प्रारम्भिक छानबिनका क्रममा टेलियासोनेराको उज्बेक साझेदारको स्विडिश बैँकमा रहेको ३ करोड अमेरिकी डलर सम्पति ‘फ्रिज’ गर्ने आदेश स्विडेनको अदालतले दिएको छ।
के भएको थियो?
स्विडेनको टेलिभिजन एसभिटीले गएको महिना एउटा न्युज ब्रेक गर्‍यो- देशका करदाताहरुको स्वामित्व भएको टेलिकम कम्पनीले कसरी उज्बेकिस्तानमा लाइसेन्स लिन कसरी विदेशी कम्पनीलाई लाखौ डलर गलत तरिकाले भुक्तान गरेको रहेछ। ‘मिसनः इन्भेस्टिगेट’ नामको यो अनुसन्धानमूलक कार्यक्रम प्रसारण भएपछि त्यहाँ भूँइचालो नै गयो। कार्यक्रमले के खुलासा गरेको थियो त ?

तानाशाह राष्ट्रपतिकी छोरी गुल्नारा कारिमोभा र टेलियासोनेराले पैसा तिरेको कम्पनीकी मालिक्नी Gayane Avakyan (दायाँ)। फोटो सौजन्यः एसभिटी
टेलियासोनेराले उज्बेकिस्तानमा थ्रिजी लाइसेन्स लिन जिब्राल्टरमा दर्ता भएको कम्पनी टाकिलान्ट लिमिटेडलाई लाखौँ डलर तिर्‍यो। अनुसन्धानले पत्ता लाग्यो कि त्यो कम्पनीको एक मात्र मालिक्नी त भर्खर २९ वर्षकी युवती रहिछिन्- Gayane Avakyan। टेलिकम क्षेत्रमा उनको गोरु बेचेको साइनो रहेनछ। उनी यसअघि फेसन क्षेत्रमा परिचित थिइन्। अनुसन्धानले यो पनि पत्ता लाग्यो कि उनी उज्बेकिस्तानका तानाशाह राष्ट्रपति इस्लाम कारिमोभकी जेठी छोरी गुल्नारा कारिमोभासँग एकदमै निकट छिन्। राष्ट्रपतिकी छोरीले खोलेको फेसन हाउसमा उनै आभाक्यान निर्देशक थिइन्।
अब यहाँ कनेक्सन हेर्नुस् है,राष्ट्रपति कारिमोभ तानाशाह, विश्वकै सबैभन्दा कडा तानाशाही चलाएको आरोप लगाइन्छ उनको शासनलाई। सोभियत संघबाट स्वतन्त्र भएपछि यो देशमा रुसी टेलिकम अपरेटर एमटिएसको लाइसेन्स खोसिएको थियो र यसका सम्पति राष्ट्रियकरण गरिएको थियो।
शासनसत्तामा उनको र उनकै परिवारको हालिमुहाली। अनि उनकी जेठी छोरी कारिमोभा परिन् टेलिकम क्षेत्रमा व्यक्तिगत रुपमा नै नियन्त्रण गर्ने। कसलाई लाइसेन्स दिने र कसलाई नदिने भन्ने बारे व्यक्तिगत रुपमा नै निर्णय गर्छिन् उनी। जिब्राल्टरमा आफ्नै सहयोगीको नाममा खोलेको कम्पनीलाई उनले लाइसेन्स दिइन्। त्यही लाइसेन्स खरिद गर्‍यो टेलियासोनेराले। कागजी रुपमा हेर्दा केही अनियमित भएको जस्तो नदेखिए पनि वास्तवमा यो घुमाएर कारिमोभालाई दिएको घुस थियो। त्यसैले स्विडेनले इतिहास कै ठूलो मनी लाउन्डरिङ केस र भ्रष्टाचारबारे अहिले छानबिन गर्दैछ।
टेलियासोनेराले गोप्य रुपमा आफ्नो नेटवर्कमा सर्भेलियन्स उपकरणहरु राख्‍न दिएर तानाशाही शासन अघि बढाउन त्यहाँको सुरक्षा निकायलाई सहयोग गरेको पनि अनुसन्धानले खुलाएको छ। टेलियासोनेराले पनि यसलाई अस्वीकार गरेको छैन। तर उसले बच्ने दाउ गर्दै स्थानीय कानुनको पालना गरेको मात्र बताएको छ।
१९ सेप्टेम्बरमा प्रसारण भएको “मिसनः इन्भेस्टिगेसन”ले टेलियासोनेराले उज्बेकिस्तानको मोबाइल कम्पनी युसेल किन्न, लाइसेन्स, फ्रिक्वेन्सी र टेलिफोन नम्बरहरु लिन आभाक्यानको नाममा रहेको तर वास्तवमा राष्ट्रपतिकी छोरीको कम्पनी टाकिलान्ट लिमिटेडलाई २ अर्बभन्दा बढी क्रोनर घुस दिएको खुलासा गर्‍यो। त्यही दिन टेलियासोनेराले त्यो कम्पनीसँग सम्झौता भएको पु्ष्टि गर्‍यो। तर त्यसो कम्पनीलाई ३ करोड अमेरिकी डलर (१० गुणा कम) रकम मात्रै दिएको र त्यसवापत् युसेलमा २६ प्रतिशत सेयर दिएको बतायो।
स्विडिश पत्रकारहरुका अनुसार टाकिलान्ट कम्पनीका खाताहरुबाट गायब भएका छन्। त्यो पैसा कागजी रुपमा विभिन्न कम्पनीहरु हुँदै राष्ट्रपतिकी छोरी गुल्नारा कारिमोभाको खल्तीमा गएको उनीहरुको दावी छ।
मनी लाउन्डरिङको केस उठेपछि स्विटजरल्यान्डको अटोर्नी जनरलको कार्यालयले चार उज्बेक नागरिकलाई मनी लाउन्डरिङको शंकामा मुद्दा चलाएको छ। उज्बेकिस्तानको कोकाकोलाका दुई म्यानेजरलाई ३० जुलाईमा जेनेभामा पक्राउ गरिएको थियो। अरु दुई जनालाई त्यहाँको प्रहरीले खोजिरहेको छ। प्रहरीले उनीहरुको नाम सार्वजनिक नगरे पनि गायाने आभाक्यान (उही राष्ट्रपतिकी छोरीको दाहिने हात) ती मध्ये एक रहेको स्रोतहरुलाई उद्‌धृत गर्दै त्यहाँको मिडियाले लेखेको छ। अहिले आभाक्यान कहाँ छिन् कसैलाई थाहा छैन।
स्विडिश भाषा बुझ्नुहुन्छ भने हेर्नुस् त्यो कार्यक्रमको भिडियो

नेपाल र एनसेल कनेक्सन

उज्बेकिस्तानको यही केस मिडियामा आएर हङ्गामा भएपछि स्विडेनको आर्थिक साप्ताहिक Veckans Affärer का पत्रकार Emanuel Sidea ले काठमाडौँ आई यहाँको एनसेलमा भएको अनियमितताबारे पनि अनुसन्धानमूलक खबर छापेको थियो गएको साता। यो समाचारले नेपालका मिडियामा एक छेउ पनि ठाउँ नपाए पनि स्विडेनमा भने अर्को हङ्गामा भयो। त्यहाँका अन्य पत्रिका, टेलिभिजनले समेत यसबारे समाचार प्रसारण गरे।
ध्यान दिएर विश्लेषण गर्ने हो भने उज्बेकिस्तानकै शैलि टेलियासोनेराले नेपालमा पनि अपनाएको प्रष्ट हुन्छ। अहिले एनसेल ब्रान्डमा टेलियासोनेराको लोगो र रङसहित सञ्चालन भइरहेको मोबाइल कम्पनीको लाइसेन्स खासमा स्पाइस नेपालले लिएको थियो। सन् २००१ को सेप्टेम्बरमा स्पाइस नेपालले लेटर अफ इन्टेन्ट पाउँदा कम्पनीमा मोदी नेपाल (५५ प्रतिशत) खेतान ग्रुप (४० प्रतिशत) र स्पाइस सेल (५ प्रतिशत) मालिक थिए। तर राजा ज्ञानेन्द्रले सक्रिय शासनको अभ्यास गरिरहेको बेला सेप्टेम्बर २००४ मा लाइसेन्स पाउँदा यो कम्पनीमा राज ग्रुपको ९५ प्रतिशत शेयर थियो जसको मालिक ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह थिए।
तत्कालीन राजा ज्ञानेन्द्र आफ्ना ज्वाइँ राजबहादुर सिंहसँग।

आखिर कसरी राजबहादुर सिंहले यो कम्पनी हत्याए ? के अनुभव थियो उनमा टेलिकम कम्पनी सञ्चालन सम्बन्धी ? त्यत्रो पैसा कहाँबाट आयो उनको ९५ प्रतिशत शेयर किन्ने गरी ? यदि कम्पनी उनले साँच्चिकै किनेको हो भने किनिसकेपछि किन अर्कैलाई बेचे ? उनको नामको आडमा कसले किनेको थियो यो कम्पनी ? यो वापत् कति रकम क-कसलाई घुस स्वरुप दिइएको थियो ? विश्वको कडा तानाशाह भएको मुलुक उज्बेकिस्तानमा बरु पत्रकारहरुले अनुसन्धान गरी समाचार छापिरहेका छन्, त्यहाँका मिडियाले यसको निरन्तर फलोअप गरिरहेका छन्, तर लोकतान्त्रिक मुलुक हाम्रो देशमा व्यापारीको पैसाले सबको मुख थुनिदिएको छ। अलिकति मेहनत गर्‍यो भने यो कान्डपछाडिका कुरा नआउने हैनन्। खेतान ग्रुपले त नेपालमै व्यापार गर्नुपर्ने भएकोले केही नबताउलान् तर भारतको मोदी ग्रुपसित त होला नि तीतो अनुभव। आखिर कसरी उनीहरुको कम्पनीलाई राजाका ज्वाइँले कब्जा गरे ? किन खोज्दैन कोही पनि योबारे ?जसरी उज्बेकिस्तानमा तानाशाह राष्ट्रपतिकी छोरीको आडमा टेलियासोनेराले युसेलको नियन्त्रण लिएको थियो, त्यसैगरी नेपालमा पनि राजाको सक्रिय शासनताका राजाका ज्वाइँ प्रयोग गरिएको बुझ्न धेरै दिमाग चाहिँदैन।
त्यसो त उतिबेला लोकतन्त्रको आन्दोलनका क्रममा ठाउँठाउँमा हुने नागरिक सभाहरुमा नै कवि अर्जुन पराजुलीले यो ज्वाइँको मोबाइलको धज्जी उडाउँदै व्यङ्ग्य कविता वाचन गरिहिँड्थे, हामी ताली बजाउँथ्यौँ। त्यो चर्चित कविताका केही अंश-
कानुनमाथि ढलान गरेर महल बनाउने तपाईँको मोबाइल
कानुनमुनि डेरा गरेर बस्ने हामी
कानुनमाथि ढल हालेर मल बगाउने तपाईँको मोबाइल
कानुनमुनि ढल चुहिएर भिज्ने हामी
अनि कानुनमुनिकाले कानुनमाथिको मोबाइल कसरी किनोस्
ज्वाइँ साहेब तपाईँको मोबाइल तपाईँको ससुरालाई पठाइदिनुस्
ज्वाइँ साहेब,
तपाईँको मोबाइल स्वदेश सवारी हुँदा
हाम्रो मोबाइल ट्राफिक जाममा पर्‍यो
ज्वाइँ साहेब, लाम लागेकै ठाममा
तपाईँको मोबाइलले हाम्रो मोबाइललाई ज्युनार गर्‍यो
ज्वाइँ साहेब, हाम्रो मोबाइल ज्युनार गर्ने तपाईँको मोबाइलले
फेरि हामीलाई ज्युनार गर्ला कि भन्ने भयले
रातो दिन हामीलाई पिर्छ
ज्वाइँ साहेब, हामी नै नभए
तपाईँको मोबाइलको पैसा फेरि कसले तिर्छ ?
ज्वाइँ साहेब, गाउन सक्दैनौ हामी तपाईँको मोबाइलको महिमा अपरम्पार छ
ज्वाइँ साहेब, त्यसैले तपाईँको मोबाइललाई टाढैबाट हाम्रो
कोटी कोटी नमस्कार छ
२०६२ भदौ १७ मा पाटनको मंगलबजारमा वाचन गरिएको कविता अडियोमा सुन्नुस्-

शक्तिको उपयोग गरी मोबाइल लाइसेन्स हत्याउने टेलियासोनेराको क्रम ज्ञानेन्द्रको पतनपछि पनि रोकिएन। ज्ञानेन्द्र पतनपछि उदायो माओवादी नेपालको नयाँ शक्तिका रुपमा। प्रचण्ड प्रधानमन्त्री भए। अब उसले प्रचण्डका निकट व्यापारी अजय सुमार्गीको नाममा हेलो मोबाइलको लाइसेन्स निकाल्यो। निकै सस्तोमा नेपाल स्याटेलाइट कम्पनीको नाममा मोबाइल सञ्चालन गर्ने लाइसेन्स दिइएको थियो। सस्तोमा मात्र नभई यो कम्पनीलाई आवश्यकताभन्दा बढी फ्रिक्वेन्सी पनि दिइएको छ। अनि गत अप्रिलमा टेलियासोनेराले हेलो नेपालको ७५ प्रतिशत सेयर किनेर आफ्नो बनाइसकेको छ। एउटै देशमा दुई वटा ब्रान्डमा लगानी गरेको भन्दै टेलियासोनेराका अधिकारीहरु आफैले काठमाडौँमा आयोजित प्रेस मिटमा बताएका थिए।
अजय सुमार्गी र प्रचण्ड

ज्ञानेन्द्र शक्तिमा हुँदा राजबहादुर सिंह र प्रचण्ड शक्तिमा हुँदा अजय सुमार्गी प्रयोग गरेर टेलियासोनेराले पर्दापछाडि कति रकम क-कसलाई घुस खुवायो, त्यो अनुसन्धानको विषय बनेको छ।अनुसन्धान गर्नेले २००१ देखि २००५ बीचका एनसेलका कागजात कसरी रहस्यमय ढंगले हराए? सेयर किनबेचमा नेपालको कानुनअनुसार कर बुझाइयो कि बुझाइएन भन्ने अनुसन्धान पनि गर्न सकिन्छ। तर गर्ने कसले ?

एनसेलका कुकृत्य

एनसेलको काठमाडौँ नयाँ बानेश्वरस्थित प्रमुख कार्यालय कृष्ण टावर। यहीँबाट अहिले अजय सुमार्गीको हेलो नेपालको पनि काम हुन्छ। हेलो नेपालको ७५ प्रतिशत सेयर टेलियासोनेराले किनेको हो।

एनसेलले आर्थिक वर्ष २०६१/०६२ देखि २०६७/०६८ सम्म २ अर्ब १० करोड ७० लाख राजश्व तिर्नुपर्नेमा १ अर्ब ४६ करोड ७९ लाख बुझाए पनि बाँकी ६४ करोड रकम दाखिला गरेन। त्यो रकमलाई महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०६८ ले समेत राज्य कोषमा दाखिला नभएको भन्दै आपत्ति जनाएको थियो। सर्वोच्च अदालतले समेत लाइसेन्सको सर्त अनुसार उक्त रकम बुझाउनुपर्ने निर्णय गरे पनि दूरसञ्चार प्राधिकरणले रकम उठाउन पहल नगर्नुलाई तत्कालीन अध्यक्ष भेषराज कणेलको कमिशनमोहका रुपमा चर्चा भएको थियो। आगामी २०७१ सालमा सर्त अनुसार नवीकरण शुल्कवापत सरकारलाई एनसेलले २० अर्व रुपैया तिर्नु पर्ने हुन्छ। यो नतिर्नलाई के-केसम्म चलखेल हुन्छ, हेर्दै बस्नुस्।

एनसेलका कुल प्रयोगकर्ता संख्या कति छ ? प्रतिदिन हुने कल कति छ ? डाटा प्रवाह कति छ ? यो अनुपातमा राज्यलाई बुझाइने करको अनुपात ठीक हो ? यो सब एनसेलले अपारदर्शी राखेको छ। नेपाल टेलिकमले आर्थिक वर्ष २०६८/०६९ मा १८ अर्ब राजस्व बुझाएकोमा देशकै ठूलो टेलिकम कम्पनी दावी गर्ने एनसेलले भने त्यसको अनुपातमा ज्यादै कम राजस्व किन बुझाउँछ त ? हरेक मोबाइल कलमा एनसेलले भ्याट लगाएको हुन्छ। भ्याट वापत् सबै रकम बुझाउँछ त यसले ? स्रोतका अनुसार ठूलै रकमको भ्याट छलीका बारेमा राजस्व अनुसन्धान विभागले छानबिन अघि बढाइरहेको छ। तर योबारे कुनै समाचार मिडियामा आउँदैन।

दूरसञ्चार नियावलीअनुसार क्रस होल्डिङ (एउटै बजारमा एउटै प्रविधिका दुई कम्पनी) चलाउन पाइँदैन। तर टेलियासोनेराले एनसेल र हेलो मोबाइल दुवैमा लगानी गरिरहेको छ। एनसेलको स्वामित्व हेरफेर हुँदा र हेलो मोबाइलको पनि स्वामित्व हेरफेर हुँदा नेपालको कानुनबमोजिम कर किन तिरिएन? हेलो नेपालको सेयर बिक्री गर्दा कर नतिरेको शंकामा विभागले त अनुसन्धानसमेत थालिसकेको छ। सेयर खरिदबिक्रीबारे अख्तियारले समेत अनुसन्धान थालेको छ।

हेलो नेपालको लाइसेन्सदेखि टेलियासोनेराले नियन्त्रणमा लिनेसम्मका काम शंकास्पद छन्। हेलो नेपालको लाइसेन्स लिने नेपाल स्याटेलाइट टेलिकम सुरुमा मेरो मोबाइल कम्पनीको सिम बिक्रीका लागि स्थापित आधिकारिक कम्पनी थियो। अजय सुमार्गी पनि त्यतिबेला स्पाइस सेल नेपालका प्रबन्ध निर्देशक थिए। सुमार्गीले पत्नी सम्झना अर्याल भनिने अस्मिता सुमार्गीका नाममा नेपाल स्याटेलाइट टेलिकम स्थापना गरेर देशभर मेरो मोबाइलको सिम वितरणको जिम्मा दिएका थिए। पछि स्पाइस सेलबाट अलग भएर हेलो मोबाइलको लाइसेन्स सस्तोमा लिएका थिए उनले। माओवादी अध्यक्ष प्रचण्ड निकट भएकैले सस्तोमा र धेरै फ्रिक्वेन्सी होल्ड गर्न उनी सफल भएका थिए। अलग भइसकेपछि पनि फेरि टेलियासोनेराले उनको कम्पनी किन्नुले उनी मोहरामात्र भएको स्पष्टै हुन्छ। वास्तवमा यो नेपाल टेलिकमलाई घेर्न र फ्रिक्वेन्सी होल्ड गर्न चालिएको चाल थियो। यो वापत् कति रकम अनियमित रुपमा कसको खल्तीमा गयो? यो अनुसन्धानको विषय हो। नेपाल स्याटेलाइट टेलिकमको स्वामित्व टेलियासोनेराले किनेपछि बिनासूचना आफ्ना ८७ कर्मचारीलाई जबर्जस्ती अवकाश दिने निर्णय गरिएको थियो। ती पीडित कर्मचारीको पक्षमा बोल्ने पनि कोही छैनन्। अहिले एनसेल र हेलो नेपाल दुवै कम्पनीको कानूनी सल्लाहकारको जिम्मा सर्वोच्च अदालतका न्यायाधिश भरतराज उप्रेतीका छोरा अनुप उप्रेतीले लिएका छन्।

अर्न्तराष्ट्रिय कलबाट आउने आम्दानी लुकाएर कर छलेको आशंकामा विभागले विदेशबाट सबै कम्पनीले ल्याउने कलसंख्या र त्यसको आय विवरण पनि प्राधिकरणबाट मागेको छ। विदेशबाट कल ल्याउने र विदेश कल पठाउने अनुमति भएको एनसेल पनि छानबिनको दायरामा परेको छ। विदेशबाट आउने कलको विदेशी मुद्रामा सरकारले १३ प्रतिशत भ्याट, १० प्रतिशत दुरसञ्चार सेवा शुल्क, चार प्रतिशत रोयल्टी र दुई प्रतिशत ग्रामिण दूरसञ्चार विकास कोषमा लिने गरेको छ।

एनसेलले २०६६ सालमा पुरानो कम रकमको बिल देखाएर ५ लाख ५२ हजार ७ सय १० डलरमा लाग्ने बराबरको कर छलेको पुष्टि भइसकेको छ। उसको भन्सार छली पत्ता लागेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालले त्यसका लागि एनसेललाई २०० प्रतिशत जरिवाना गरेर ५५ लाख भन्दा बढी रकम असुल गरेको छ। (साभारः दूरसञ्चार डट कम)

एनसेलले मोबाइल इक्प्युपमेन्टको प्रज्ञापन पत्र लिएर युपीएस र ब्याट्रीको भन्सार चोरी गरेको तथ्य प्रमाणित भइसकेको छ। राजश्व अनुसन्धान विभागले २०६६ असार २५ मा भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा १ अनुसार बिगो बमोजिमको जरीवाना ४० लाख र कैद वापतको ३६ हजार पाँचसय धरौटी माग्ने निर्णय गरेको थियो। राजस्व न्यायाधिकरणका अध्यक्ष दीपककुमार कार्कीको नेतृत्वको टोलीले २०६८ फागुन १५ गते एनसेलले भन्सार चोरी गरेको भनेर राजश्व अनुसन्धान विभागले गरेको जरिवानाको निर्णय सदर गरेको थियो। (साभारः दूरसञ्चार डट कम)

एनसेलले विश्व सम्पदा सूचिमा समेत दर्ता भएको सगरमाथा राष्ट्रिय निकुञ्जमा राज्यका निकायलाई जानकारी नदिई र निकुञ्जको अनुमति नै नलिई मोबाइल टावरहरु जडान गरेको थियो। यसो गरेकोमा निकुञ्जले उसलाई पत्रसमेत काटेको थियो। तर यसबाट पनि एनसेल चेतेको छैन। द ग्रेट हिमालयन ट्रेल भन्दै केही अघि भएको पदयात्राका विभिन्न स्थानमा अनुमति नै नलिई एनसेलले अवैध बिटिएस राख्‍ने तयारी गरिरहेको स्रोतले बताएको छ।

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दरभन्दा बाहिर गएर (भित्री रूपमा मूल्य घटाउने-प्राइस कटिङ र बीचैमा अधिक शुल्क लिने गरिरहेको कुरा उसकै वेबसाइटको नियमित भ्रमण गर्ने हो भने थाहा हुन्छ। एकै प्रकृतिका सेवामा फरक-फरक दर तोकेर नियामक निकायलाई झुक्याइएको छ। (साभारः पत्रकार गजेन्द्र बुढाथोकीको फेसबुक स्टायटस)

१०

लगानीकर्ता तर्सन्छन, भाग्छन भनेर कानुनी प्रकृया छलेर गरिने कुनै पनि किसिमको अवैध कारोबारलाई बढावा दिइनु हुँदैन । एनसेलले पाएको स्पेक्ट्रम घोटालाका बारेमा नेपालका टेलिकम बिट हेर्नेलाई धेरै थाहा छ (तर किन लेख्दैनन्?) यो भारतको टुजी स्पेक्ट्रम घोटाला भन्दा भयावह छ। (साभारः पत्रकार गजेन्द्र बुढाथोकीको फेसबुक स्टायटस)
[नेपालका मिडिया लाचार छन्। एनसेलका यस्ता कुकृत्यबारे केही लेख्‍न सक्दैनन्। तपाईँ हामी के गर्न सक्छौँ ? फेसबुक, ट्विटर, आफ्ना ब्लग जस्ता वैकल्पिक मिडियाबाट यसको सक्दो प्रचार गर्न सक्छौँ। सुनिन्छ वैकल्पिक मिडियालाई समेत चुप बनाउन एनसेलले रणनीति बनाउन थाल्दैछ। मूलधारका मिडियाले खुलासा गर्न नसक्ने एनसेलका बदमासीका कुरा, प्रमाण भए र माइसंसारमार्फत् त्यसलाई सार्वजनिक गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ।]