नेपाली साहित्यिक क्षेत्रमा ‘मदन पुरस्कार’लाई सबैभन्दा प्रतिष्ठित
पुरस्कारका रुपमा लिइन्छ। हरेक वर्ष यो पुरस्कारको घोषणा भएपछि तरङ आउने
गर्छ। मदन पुरस्कार गुठीलाई आधा शताब्दीदेखि हाँकिरहेका कमलमणि दीक्षित ८३
वर्षका भइसके। केही अघि एक पत्रकार दीपक सापकोटाले उनलाई कटु र कठोर शैलिका
प्रश्नहरु लिखित जवाफका निम्ति पठाएका रहेछन्। जवाफ फर्काए पनि त्यो
प्रश्नोत्तर कुनै पत्रिकामा छापिएन। दुई वर्षअघि रत्न पुस्तक भण्डारको
‘पुस्तक संसार’ मा यो छापिएको थियो। ‘पुस्तक संसार’ मासमा जाने पत्रिका
नभएकोले शायद् धेरैले यो अन्तर्वार्ता पढ्न पाएका छैनन् होला। त्यसैले
त्यसैबाट साभार गरी देशविदेशका पाठकका लागि यहाँ राखिएको छ। पढ्नुस् दीपक
सापकोटाको प्रश्न र कमलमणि दीक्षितको जवाफ-
तपाईँ मदनशमशेर र जगदम्बाको सम्पत्तिमाथि चलखेल गरेर आफ्नो नाम चम्काउँदै हुनुहुन्छ। तिनका दरबारदेखि तबेलासम्म तपाईँले आफ्नो साम्राज्य खडा गर्नुभएको छ।
दीक्षितः निकै सम्पन्न मणि परिवारको व्यक्ति भए पनि मेरो पिताजीको परिवारका हामीहरुको अवस्था विपन्नै थियो भन्दा हुन्छ। मदनशमशेरका सेवामा पिताजीले मासिक पाउने १ सयदेखि ५ सय रुपियाँसमेमको जागिरले हामी १० जनालाई पिताजीले पाल्नुभएको थियो। मदनशमशेरको २०१० सालमा स्वर्गवास भएपछि रानी जगदम्बाले उहाँलाई जागिर नछाड्न अनुरोध गरेपछि रानी जगदम्बाले नै हाम्रो परिवारलाई राम्री खाई-लाई बस्न सक्ने अवस्थामा पुर्याइदिनुभएको हो।
रानी जगदम्बाले आफ्नो स्वामित्वमा आएको झण्डै पाँच सय रोपनी ललितपुर पुल्चोकको जग्गा आफ्ना आरक्षित ढोके, पाले, पूजाकोठे, बैठके लगायत ४० जना जति कर्मचारी र २० जना जति नेपाली कवि-लेखक साहित्यिकलाई वितरण गर्नुभयो। त्यसका मेरा पिताजीलाई १५ रोपनी तथा उहाँको सेवामा प्रवेश गरिसकेको मलाई समेत ७ रोपनी जग्गा दान गर्नुभएको हो। त्यसलाई मदनशमशेर र रानी जगदम्बाको सम्पतिमाथि चलखेल गरेको भन्ने भए त्यो गरिएछ भनौँ। तर एउटा कुरो, मेरा पितामाताको सल्लाह र ‘उक्साहट’मै परेर रानी जगदम्बाले आफ्नो श्रीमहल दरबार त्यसबेलाको श्री ५ को सरकारलाई तथा साझा केन्द्रलाई ५० रोपनी जग्गा तथा साझा यातायातलाई २२ रोपनी जग्गा लिखित गरी ‘दान’ गर्नुभएको थियो भन्ने कुरा बिर्सनु नहोला।
कुरामा साहित्य सेवा र लोकतन्त्र, व्यवहारमा सामन्तवाद कमल दीक्षितको मूल चरित्र हो भनिन्छ। मदन पुरस्कार पुस्तकालयमा सामान्यजनको पहुँच छैन। तपाईँको कृपा नभई त्यहाँका दुर्लभ ग्रन्थको दर्शन गर्न पनि पाइन्न।
दीक्षितः मदन पुरस्कार पुस्तकालयमा मैले किताब पढ्न पाइनँ भन्ने एक जना ‘विद्वान’को नाम दिनुभए म त्यसमा अनुसन्धान गर्नेछु। भन्नुभए जस्ता ‘दुर्लभ’ वस्तु अभिलेखालयमा हे्र्न कुनकुन मन्त्रालय र विभागको स्वीकृति चाहिन्छ थाहा छ तपाईँलाई ?
तपाईँका केही विश्वासपात्र छन्। तिनलाई तपाईँले मदन पुरस्कार गुठीका सर्वकालिक अभियन्ता बनाउनु भएको छ। तिनले तपाईँले भने बमोजिमका लेखकलाई मदन पुरस्कार दिलाउँछन्। उत्कृष्ट कृतिहरुमाथि अन्याय भइरहेको छ, निकम्मा लेखकहरु पुरस्कृत भएका छन्।
दीक्षितः मदन पुरस्कार गुठीमा मेरो को-को विश्वासपात्र रहेछन् ? त्यहाँको १३/२४ जना विद्वान-विदुषीको नाम पढ्नुभएको छ ? त्यस्ता स्वनामधन्यहरुमाथि यस्तो आरोप लगाउनु उचित होला ?
२०६६ मा प्रेतकल्प जस्ता एक दुई उत्कृष्ट कृति पन्छाइए। तपाईँलाई भनसुन नगरी त्यस्तो गरिमामय भनिएको पुरस्कार पाउन सम्भव छैन। जगदम्बाश्रीका सन्दर्भमा त्यति गुनासो गरिएको नपाइए पनि मदन पुरस्कारमा दर्खास्त हाल्नेदेखि पहुँच पुर्याउनेसम्मका प्रक्रियामा विवादमा छन्।
यस वर्ष (२०६६) मा युवराज नयाँघरेले कुन दिन मसँग भनसुन गर्न आएछन् कुन्नि! मदन पुरस्कार कुनै एक व्यक्तिले चाहेर कसैलाई दिन सकिँदो रहेनछ भन्ने यो ५४ वर्षमा अब त मान्छेले बुझ्नुपर्ने हो। बरु लबिङ गरेर पनि कुनै कृति पुरस्कृत नभएको चाहिँ मैले अनुभव गरेको छु।
तपाईँको लेखाइमा प्रायशः आफ्नो दीक्षित परिवार बखानको गन्ध आउँछ। आफ्ना बाजेको योगदानप्रति तपाईँ बढी नै आशक्त देखिनुहुन्छ। कहिल्यै जनसाधारणका दुःख पीडाले तपाईँलाई पोलेन र तिनले तपाईँको लेखनीमा स्थान पाएनन्।
दीक्षितः ‘दुर्भाग्यवस’ दीक्षित परिवारमा धेरै जना कवि-लेखक भइदिए, के गर्नु? मैले सुनेसम्म एउटै परिवारमा यति धेरै जना लेखक छैनन् रे नेपालम। हो या हैन, थाहा छैन। तर मेरै बुइँगलमा मैले चर्चा गरेको ३ सय जना जति कविहरुमा चार जनाभन्दा बढी दीक्षित रैनछन्। मैले लेखेका ५० जति किताबमा जम्माजम्मी १६३ कवि/लेखक बुद्धिजीवीहरुबारे मैले कलम चलाएको रहेछु। ती १६४ मा आधा दर्जन जति मात्र दीक्षित रहेछन्। त्यसैले यो अभियोग कुठाउँमा पर्यो कि भन्छु। हो, म किताब र लेखोटकै बारेमा मात्र सोधखोज गर्ने भएकोले कसैको पनि दुःख, पीडाका कुरा मेरा लेखनीमा उठ्दैन। जनसाधारणका दुःख पीडाले पोल्ने/नपोलेने बेग्लै विषय हो।
तपाईँलाई नेपालका गरिबको चाह, जनजीवन र सपनाबारे पटक्कै भेउ छैन। मुट्ठीभर सम्भ्रान्तको घेराभन्दा बाहिर तपाईँ केही सोच्नुहुन्न।
दीक्षितः त्यो छैन होला। तर मैले जुम्ला पुगेका बेला या ललितपुरको साधारणतया कोही नपुग्ने दुर्गम आश्राङ दुर्लुङजस्ता ठाउँका दयनीय अवस्थाको कुरा लेखेको कसैले पढिदिएको छ ?
तपाईँ नेपाल बैँक, साझा प्रकाशन वा साल्ट ट्रेडिङ जहाँ काम गर्नुभयो त्यहाँ विवाद धेरै र काम थोरै भयो। विवाद र कमलमणि पर्याय हुन् भनिन्छ।
दीक्षितः विवाद र कमलमणि परेया हुन् भनेर तपाईँले नै तोक बोलिसकेपछि मैले जवाफ फर्काउने कुरा आएन। तर मेरो अनुरोध मेरै ज्ञानका लागि ती ती ठाउँमा मैले के के विवादित काम गरेछु, जानी राख्न पाए हुन्थ्यो।
मदन पुरस्कारको गरिमा र ओजन दिन प्रतिदिन धुलिसात हुँदै छ। यो विशुद्ध तपाईँको आफ्नो स्वार्थ र शैलिका कारण हो ?
दीक्षितः होला, मेरो यसमा भन्नु केही छैन। तर किन हो कुन्नि, अझै नेपाली साहित्यिकहरु अरु ठूल्ठूला रकमका पुरस्कारभन्दा यही पाउन चाहँदा रहेछन्।
तपाईँ वर्तमानसँग डराउनु हुन्छ। मतलब वर्तमान राजनीति, समाज र संस्कृतिप्रति तपाईँको चासो छैन। वर्तमानसँग डराएकै कारण तपाईँ सँधै इतिहासका कुरामात्रै गर्नुहुन्छ।
दीक्षितः म वर्तमानसँग डराउन्नँ। म वर्तमानमै संघर्ष गरेर बाँचिरहेको छु। तर राजनीतिप्रति चासो भए पनि म मुछिन्नँ। केदारमान व्यथित कविजीको भनाइ मान्छु म। उहाँ राजनीतिलाई ‘शौचालय’ भन्नुहुन्थ्यो, साहित्यलाई ‘भोजनालय’। म पनि भोजनालय नै रुचाउँछु। इतिहास राजनीतक मात्र होइन, साहित्यिक, सांस्कृतिकसमेत मेरो चाखका विषय हुन्। म तिनको ‘विज्ञ’ होइन। विद्यार्थी हुँ, खोज्छु, खोजाउँछु, लेख्छु र लेखाउँछु। यो अपराध हो भने त्यो अभियोग म स्वीकार्छु।
तपाईँ रुखो, घमण्डी र संकीर्ण हुनुहुन्छ?
दीक्षितः तपाईँले भनेपछि म त्यस्तै छु हुँला। अब यो असी वर्षको उमेरमा म आफूलाई परिवर्तन त गर्न सक्तिनँ। त्यसैले म जस्तो छु, त्यसैमा सन्तुष्ट छु भनौँ।
समाजसेवा, अध्ययन-अनुसन्धान वा प्रकाशन जेसुकैमा संलग्न भए पनि तपाईँले आफ्नो व्यक्तिगत प्रचारप्रसारलाई प्राथमिकतामा राख्नुहुन्छ?
दीक्षितः हो, एक जना पोखराका प्राध्यापक मेरोबारेमा विद्यावारिधिको थेसिस लेख्न लागेका रहेछन्। मसँग मबारेमा सोध्न आए, मैले जवाफ दिनैपर्यो। यही अन्तर्वार्ता पनि छापियो भने उनले पढ्लान नै। मैले लेखेका ५० वटा किताबमा पचासै जना विद्वानले समीक्षा गरेको संकलन गरेर छाप्यो, नइ प्रकाशनले। त्यसको पनि मैले विरोध गरिनँ। भनेपछि मैले मेरो प्रचारप्रसारमा प्राथमिकतामा राखिनँ भनेर मैले कसरी भन्नु? भगवान पशुपतिनाथलाई पनि आफ्नो स्तुतिहरु प्रिय लाग्छन् रे। मेरो प्रशंसा गर्नेलाई म कसरी गाली गरुँ? म त मलाई गाली गर्नेलाई पनि गाली गर्न सक्तिनँ। यस्तै छ।
तपाईँ पैसा भनेपछि भुतुक्कै हुनुहुन्छ ?
दीक्षितः म यो विश्वमा धनदौलतमा लालसा नहुने एक जनाका बारेमा मात्र जान्न पाए कृतार्थ हुने थिएँ। धन देख्ता पशुपतिनाथको त तेस्रो नेत्र खुल्छ रे भने म बबुराको के बुता पैसा चाहिँदैन भन्ने! तर म पैसामा भुतुक्कै छु भन्ने कुरा चाहिँ मलाई यसअघि कसैले सुनाएको थिएनँ। (साभारः पुस्तक संसार, पूर्णाङ्क ७, २०६७)