Friday, October 12, 2012

ल हेर्नुस् त लोक सेवामा केसम्म हुँदो रैछ- आफै कपि जाँचेर छोरी र स्वास्नीलाई बढी नम्बर! - mysansar




लोक सेवाको जाँच दिनु भनेको निकै गाह्रो काम हो। मान्छेहरु टुप्पी कसेर पढ्छन् त्यसका लागि। वर्षौँदेखि तयारी गर्छन्। तर हेर्नुस् त, त्यसरी पढ्दैमा कहाँ हुँदो रैछ त। बढी नम्बर ल्याउन त कपि जाँच्ने मान्छे आफन्त हुनुपर्दो रहेछ।
त्यसो गर्ने मान्छे को भन्नुस् न- गएको वर्ष सर्वोत्कृष्ट निजामति पुरस्कार पाएका शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतम। सरकारी कर्मचारीहरु मध्ये सबैभन्दा राम्रो काम गरेको भन्दै २ लाख रुपियाँ पुरस्कार पाएका थिए उनले। हेर्नुस् त राम्रा भन्नेको यो गति। उनले आफ्नै स्वास्नीको कपि जाँच गरी धेरै नम्बर दिएर पास गराइदिएका रहेछन्। त्यसैगरी अर्का पूर्व शिक्षा सचिव रामस्वरुप सिन्हाले पनि आफ्नै छोरीको कपि जाँचेर धेरै नम्बर दिएर पास गराएको अनुसन्धानबाट खुलेको छ। शिक्षा सेवा, शिक्षा प्रशासन समूह अन्तर्गतको विद्यालय निरीक्षक पदका लागि लिखित परीक्षा भएको थियो। त्यसमा सहभागी हजारौँ मध्ये दुई थिइन्-
इन्दिरा ढकाल गौतम र अन्तिमाकुमारी सिन्हा।
इन्दिरा रहिछिन् सर्वोत्कृष्ट निजामति पुरस्कार पाउने सूर्यप्रसाद गौतमकी पत्‍नी र अन्तिमा रहिछिन् पूर्व शिक्षा सचिव रामस्वरुप सिन्हाकी छोरी। उनीहरुले खुला, महिला र मधेसी गरी भएभरका कोटामा परीक्षा दिएका रहेछन्। इन्दिराको कपि श्रीमानले र अन्तिमाको कपि बाउले जाँचेका रहेछन्। अनि यति धेरै नम्बर दिएछन् कि लिखित परीक्षामा उनीहरुकै नाम अगाडि।
हेर्नुस् त लिखित परीक्षाको नतिजामा उनीहरुको नाम-

यो हेर्नुस् त खुलामा छोरीको नाम एक नम्बरमा अनि पत्‍नीको दुई नम्बरमा। अनि तल हेर्नुस् महिलातर्फ पनि उस्तै।

दुई तिर भएर मात्र नपुगेर अझ मधेसीतर्फ पनि सिन्हाको नाम एक नम्बरमा छ।

खासमा कपि जाँच्नेको कुनै नातेदारले लोक सेवाको परीक्षा दिएको भए जाँच्नेले सिलबन्दी रुपमा नै उत्तरपुस्तिका परीक्षण नगरी फिर्ता गर्नु पर्ने प्रावधान छ। तर उनीहरुले केको फिर्ता गर्थे, बरु सकेसम्म धेरै नम्बर दिएर अगाडि पारिदिए। तर अब उनीहरु अयोग्य भएका छन्। यो विषयमा छानबिन गरी लोक सेवा आयोगले ती दुई जनाको परीक्षा रद्द गरेको सूचना हिजै सार्वजनिक गरिसक्यो। हेर्नुस् सूचना-

किन कुनै पत्रिकामा समाचार आएन ?

हिजै लोक सेवा आयोगले यो सूचना सार्वजनिक गरेको भए पनि आज बिहान निस्कने कुनै पनि ठूला आकारका पत्रिकामा यो समाचार छापिएको छैन। किन त ? शिक्षा पत्रकारहरुको ‘सिन्डिकेट’ यसको कारण हो। शिक्षा पत्रकारहरुको समूहसित सेटिङ मिलाउनेमा पर्छन् यी श्रीमतिको कपि जाँच्ने सूर्य गौतम र पूर्व शिक्षा सचिव सिन्हा। शिक्षा पत्रकारहरुको सिन्डिकेटमा रहेका पत्रकारहरु सूर्य गौतम जति राम्रा कर्मचारी कोही छैन भन्दै हिँड्छन्। आज त्यही सिन्डिकेटमा रहेका एक पत्रकारसित अनौपचारिक कुरा भएको थियो। उनले यो घटना सबै पत्रिकाका शिक्षा पत्रकारहरुलाई थाहा भएको बताए। ‘सबैलाई थाहा छ यो कुरा’ उनले भने। ‘थाहा भएको भए किन नछापेको त ? समाचार लुकाएर राख्‍ने?’ हामीले सोध्दा उनले भने, ‘हैन राम्रो मान्छे हो उनी’। यसबाट पनि प्रष्ट हुन्छ शिक्षा बिट भएका पत्रकारहरुलाई यो कुरा पहिल्यै थाहा भए पनि लुकाएर राखेका थिए। लोक सेवा आयोगले सार्वजनिक सूचना जारी गरिसक्दा पनि बाहिर ल्याउन आवश्यक ठानेनन् उनीहरुले।
कारण उही हो- सेटिङ। पत्रकारहरुसित सेटिङ मिलाएका छन् गौतमले। त्यही भएर उनको राम्रो-राम्रो कुरा मात्रै छापिन्छ पत्रिकामा। नराम्रो कुरा त भए पनि लेख्नै भएन। यसवापत् जिल्ला भ्रमण, भ्रमण गरेवापतको भत्ता, अरु प्रोजेक्टहरुमा सहकार्य, पुरस्कार आदि पाइन्छ। धन्न आज मूलधारे पत्रिकाका अनलाइनमा यो समाचार आएको छ तर भोलिका ब्रोडसिट दैनिकले योबारे समाचार देलान् ? कामचलाउ देलान् कि विस्तृत खोजमूलक ? यो समाचार शिक्षा बिट भएका पत्रकारले लेख्छन् कि अर्कैले- हेर्नु रोचक हुनेछ।

प्रश्न बनाउने पनि उनीहरु नै

गौतम र सिन्हाले आफन्तको कपि जाँचेर भटाभट नम्बर दिएको मात्र नभई प्रश्नपत्र बनाउने समेत उनीहरु नै थिए। शिक्षा मन्त्रालयसँग आवद्ध भएकोले लोकसेवा आयोगले प्रश्नपत्र बनाउन र कपि जाँच्न विज्ञका रुपमा नियुक्ति गरेको थियो। आफ्नो हात जगन्नाथ! प्रश्न बनाउने नै श्रीमान् र बाउ भएपछि जाँच दिनेहरुलाई केको चिन्ता। त्यसमाथि कपि जाँच्ने पनि आफ्नै।
अब यस्तो घटना सार्वजनिक भइसकेपछि त्यो सर्वोत्कृष्ट सरकारी कर्मचारी भनी दिइएको तक्मा र पैसा के गर्ने होला ?