Sunday, September 4, 2011

माथिल्लो तामाकोसीमा गैरकानुनी चलखेल - mysansar

हरिहर पोखरेल

नेपाल विद्युत् प्राधिकरणले नेपाल टेलिकम, कर्मचारी संचयकोष, नागरिक लगानी कोष, राष्ट्रिय विमा संस्थानबाट ऋण र आफ्नै लगानीमा समेत निर्माण गर्न लागेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको इलेक्ट्रो मेकानिकललगायत ६ अर्बभन्दा बढीका उपकरण खरिद प्रक्रियामा गैरकानुनी ढंगले उपकरण खरिदमा ठूलो चलखेल भएको छ। यस्तो चलखेलले आयोजना निर्माणमा ढिलाइ हुने मात्र होइन, आयोजना महंगो बनाउनु पनि हो। अर्कोतर्फ गैरकानुनी ढंगले तथ्य बंग्याई वा झुक्याई बदनियतपूर्ण किसिमले ठेक्का हात पार्न लागिपरेको एन्ड्रिज हाइड्रो जि.एम.बी.एच. र केही रकम सस्तो भएको बहाना बनाउँदै गैरकानुनी कार्य गरी सार्वजनिक सम्पत्तिको लापरबाही गर्ने नियत राखेकाहरुबाट सतर्क हुनु जरुरी छ। पूर्ण रुपमा सार्वजनिक सम्पत्तिमा निर्माण हुन लागेको उक्त आयोजना नेपालले हाल भोगिरहेको ऊर्जा संकट समाधान गर्ने एक महत्वपूर्ण आयोजना हो। सरकारको उच्च प्राथमिकतामा परेको स्वदेशी लगानीमा निर्माण हुन लागेको उक्त आयोजनामा गैरकानुनी कार्य हुनु भनेको सरकारको प्रतिष्ठामा ठूलो धक्का लाग्नु हो। अतः सम्बन्धित निकाय अत्यन्त सचेत बनी कुनै पनि गैरकानुनी कार्य, गैरकानुनी आर्थिक चलखेल हुन नदिनु नै यो आयोजनाको सफलता हो। आजका सचेत नागरिक गैरकानुनी कार्य आर्थिक दुराग्रहबाट प्रेरित चलखेल यसै सहेर बस्नेवाला छैनन्।


माथिल्लो तामाकोशीमा इलेक्ट्रो मेकानिकललगायतका सामग्री खरिद गर्दा सम्बन्धित निकायले विभिन्न चलखेलका कारण निर्णय गर्न नसकेको एन्ड्रिज हाइड्रो जि.एम.बी.एच. अस्ट्रियाका कानुनी समस्या र बदनियतहरु निम्न प्रकार रहेका छन्।
१. सार्वजनिक खरिद ऐन २०६३ को दफा १० को उपदफा ६ बमोजिम एन्ड्रिज हाइड्रो जिएमबीएच अस्ट्रियाको प्रस्ताव गैरकानुनी र अयोग्य ठहर्छ। उक्त दफामा भनिएको छ ‘बोलपत्रदाता वा प्रस्तावदताले पेस गरेको योग्यतासम्बन्धी विवरण तथ्यगत रुपमा झुटा वा सारभूत रुपमा अपुरो भएको पाइएमा सार्वजनिक निकायले कुनै पनि समयमा त्यस्तो बोलपत्रदाता वा प्रस्तावदातालाई अयोग्य ठहर्‍याउन सक्छ।’
यहाँनेर एन्ड्रिज हाइड्रो अस्ट्रियाले एन्ड्रिज हाइड्रो अस्ट्रियाबाट पूर्वयोग्यता प्राप्त गरी अहिले एन्ड्रिज हाइड्रो प्रा.लि. भारतबाट सामान दिने बदनियतपूर्ण तथ्यगत रुपमा झुटा काम गरेको छ। पहिला एन्ड्रिज हाइड्रो अस्ट्रियाबाट पूर्व योग्यता लिनु र अहिले एन्ड्रिज हाइड्रो प्रा.लि भारतबाट सामान दिन खोज्नु झुक्याउनु र गैरकानुनी कार्य हो। स्वीट्जरल्यान्डमा बनेको राडो घडी र चीनमा बनेको राडो घडी एउटै हुन सक्दैन त्यस्तै अस्ट्रियामा उत्पादित सामान र भारतमा उत्पादित सामान पनि एउटै गुणस्तरको हुन सक्दैन र एउटै मूल्यमा पनि हुन सक्दैन। अतः एन्ड्रिज हाइड्रो अस्ट्रियाको प्रस्ताव सार्वजनिक खरिद ऐन २०६३ अनुसार बदर भागिदार छ।
२. सार्वजनिक खरिद ऐन २०६३ को दफा १० अनुसार अपर तामाकोशीमा एन्ड्रिज हाइड्रो अस्ट्रियाको प्रस्ताव रद्द हुनुपर्ने। उक्त दफाको २ मा भनिएको छ– ‘उपदफा (१) बमोजिम बोलपत्रसम्बन्धी कागजात वा प्रस्तावसम्बन्धी कागजातमा योग्यताका आधारमा उल्लेख गर्दा पेशागत वा प्राविधिक योग्यता उपकरणको उपलब्धता विगतको कार्यसम्पादन, बिक्रीपछिको सेवाको व्यवस्था जगेडा पार्टपूर्जाको उपलब्धता, कानुनी सक्षमता, वित्तीय स्रोत र अवस्था, पेसागत कसुर गरेबापत सजाय र यस्तै अन्य आधार उल्लेख गर्न सकिने’ भन्ने उल्लेख छ। तर बोलपत्रसम्बन्धी पूर्व योग्यता निर्धारण गर्दा एन्ड्रिज हाइड्रो अस्ट्रियाको सम्पूर्ण योग्यता देखाई प्रिक्वालिफाइड भई अहिले एन्ड्रिज हाइड्रो प्रा.लि. भारतबाट काम गर्ने आर्थिक प्रस्ताव गरेको छ। यो सरासर गैरकानुनी सार्वजनिक खरिद ऐन २०६३ विपरीत र बोलपत्रसम्बन्धी पूर्व योग्यताको औचित्य समाप्त पार्ने काम हो। यसर्थ एन्ड्रिज हाइड्रो अस्ट्रियाले सरासर झूठ र बेइमानपूर्वक टेन्डर हात पार्न खोजेकोले यस्ता बेइमान कम्पनीको बोलपत्र रद्द मात्र हैन कालोसूचीमा राख्नुपर्छ।
३. सोही ऐनको दफा ‘१०(४) मा बोलपत्र पूर्व योग्यताको प्रस्ताव र परामर्श सेवाको प्रस्ताव मूल्यांकन गर्दा क्रमशः बोलपत्रसम्बन्धी कागजात, पूर्व कागजातमा उल्लेखित आधार बमोजिम मात्र लागू गर्नुपर्नेछ। र त्यस्ता आधारहरु कुनै पनि भेदभावबिना सबै बोलपत्रदाता वा प्रस्तावदातालाई समान रुपले लागू हुनेछन्।’ यो दफामा उल्लेख भएअनुसार एन्ड्रिज अस्ट्रियाले पूर्व योग्यता प्रमाणपत्र प्राप्त गरेकोमा हाल एन्ड्रिज हाइड्रो प्रा.लि. भारतले ९० प्रतिशत दायित्वको आर्थिक प्रस्ताव पेस गरेको छ। जहाँ लिडिङ कम्पनी एन्ड्रिज हाइड्रो अस्ट्रियाको मात्र १० प्रतिशत दायित्व रहेको छ। जे.भी.को प्रावधानअनुसार लिडिङ कम्पनीको शेयर ५० प्रतिशतभन्दा माथि हुनुपर्छ। पूर्व योग्यता प्राप्त र आर्थिक प्रस्ताव पेस गर्ने एउटै कम्पनी होइन भन्ने प्रस्ट देखिन्छ। जापानमा बनेको सुजुकी कार र भारतमा बनेको सुजुकी कार समान हुन सक्दैन। त्यस्तै अस्ट्रियाबाट दिने भनिएको सामान र भारतबाट दिने भनिएको सामान एउटै कदापि हुन सक्दैन। यदि गुमराहमा पार्न नखोजिएको हो भने शुरुमै एन्ड्रिज हाइड्रो प्रा.लि. भारतको नामबाट किन पूर्व योग्यताको लागि लडिएन?
पूर्व योग्यता निर्धारण किन गरिन्छ?
सार्वजनिक खरिद ऐन २०६३ अनुसार उक्त ऐनको दफा १२ को (१) मा यस्तो भनिएको छ, ‘सार्वजनिक खरिद अनुगमन कार्यालयले समयसमयमा ठूला र जटिल भनी निर्धारण गरेको निर्माण कार्य वा औद्योगिक प्लान्टजस्ता उच्च मूल्यका मालसामान खरिद गर्न वा योग्य बोलपत्रदाताको पहिचान गर्न सार्वजनिक निकायले बोलपत्र आह्वान गर्नुअघि पूर्व योग्यता निर्धारणको लागि प्रस्ताव पेस गर्न सार्वजनिक रुपमा आह्वान गर्नुपर्नेछ।’ यहाँनेर एन्ड्रिज हाइड्रो ९ब्लमचष्तश ज्थमचय न््कदज, ब्गकतचष्ब० अस्ट्रिया पूर्व योग्यता निर्धारणमा छनोट भएको हो। एन्ड्रिज हाइड्रो इन्डिया प्रा.लि. होइन, अतः एन्ड्रिज हाइड्रो प्रा.लि. भारतको जे.भी. भन्दै दिएको प्रस्ताव बदरयोग्य छ। उसको प्रस्ताव गैरकानुनी छ। यसरी बदनियतबस कार्य गर्ने एन्ड्रिज हाइड्रो अस्ट्रिया कानुनी रुपमा सजायको समेत भागिदार हुनुपर्दछ। यदि एउटा कम्पनी पूर्व निर्धारणमा छनेाट हुने अर्कोलाई बोलपत्रदाता प्रक्रियामा सामेल गराउने हो भने पूर्व योग्यता निर्धारणको के औचित्य भयो?
४. सार्वजनिक खरिद ऐन २०६३ को दफा १६ मा बोलपत्र वा पूर्व योग्यता निर्धारणसम्बन्धी कागजातमा केही द्विविधा भए सच्याउने समय पनि दिइएको हुन्छ। तर एन्ड्रिज हाइड्रो प्रा.लि. अस्ट्रियाले त्यो काम पनि गरेको छैन, उसको नियत नै एन्ड्रिज अस्ट्रियाबाट (एचभ(त्रगबषिष्भम) हुने र भारतबाट सामान दिने बदनियत राखेर त्यो द्विविधा नसच्याएको प्रस्ट हुन्छ। उक्त दफा १६ मा यसो भनिएको छ, ‘बोलपत्र वा पूर्व योग्यता सम्बन्धी कागजातमा भएको द्विविधाको जानकारी : (१) बोलपत्रसम्बन्धी कागजात वा पूर्व योग्यतासम्बन्धी कागजातमा उल्लेखित कुनै कुरामा द्विविधा भई सो सम्बन्धमा स्पष्ट गर्न त्यस्ता कागजातमा उल्लेख भएको समयावधिभित्र कुनै बोलपत्रदाताले अनुरोध गरेमा सार्वजनिक निकायले बोलपत्र पेस गर्ने वा पूर्व योग्यताको प्रस्ताव पेस गर्ने अन्तिम म्याद समाप्त हुनुअगावै त्यस्तो कुराको जानकारी सबै बोलपत्रदातालाई दिनुपर्ने छ।’ तर यो अवसर पनि एन्ड्रिज हाइड्रो अस्ट्रियाले नियतवश गुमाएको छ।
५. एन्ड्रिज अस्ट्रियाको बोलपत्र सार्वजनिक खरिद ऐन २०६३ को दफा २३ को उपदफा ६, ७ अनुसार स्वतः बदरयोग्य छ। बोलपत्र परीक्षणसम्बन्धी उक्त दफाको ६ मा ‘पूर्व योग्यता निर्धारण भई आह्वान भएको बोलपत्र परीक्षण गर्दा बोलपत्रदाताको योग्यता पूर्व योग्यताअनुरुपको छ वा छैन सो परीक्षण गर्नुपर्नेछ।’ एन्ड्रिज हाइड्रो अस्ट्रिया पूर्व योग्यता निर्धारण ९एचभ(त्रगबषिष्भम० भएकोमा अहिले एन्ड्रिज हाइड्रो प्रा.लि. भारतले एन्ड्रिज अस्ट्रिया र एन्ड्रिज हाइड्रो प्रा.लि. भारत जे.भी. नै हो भनेर झुट बोलेको छ। यी दुई कम्पनीबीच जे.भी. मा हुनुपर्ने मापदण्ड पूरा भएका छैनन्। एन्ड्रिज हाइड्रो भारत पूर्व योग्यता निर्धारणमा परेको होइन। सोही दफा २३ को ७ मा भनिएको छ, ‘उपदफा ६ बमोजिम योग्यता परीक्षण गर्दा पूर्व योग्यताअनुरुपको योग्यता सारभूत रुपमा घटी भएको पाइएमा त्यस्तो बोलपत्रको बोलपत्र रद्द गर्नुपर्नेछ।’ यहाँनेर एन्ड्रिज हाइड्रो भारत सारभूत रुपमा पूर्व योग्यता निर्धारणमा भन्दा कम मात्र होइन, कम्पनी नै फरक फरक देश र महादेशका हुन्। समान एउटा देशबाट सप्लाई गर्छु भनेर या अस्ट्रियामा बनेको दिन्छु भनेर भारतबाट दिँदैछ। अतः एन्ड्रिज भारतको प्रस्ताव स्वतः बदरयोग्य छ। एन्ड्रिज भारतले हाम्रो देशको कानुनलाई समेत चुनौती दिएको छ। तरल राजनीतिक अवस्थाको फाइदा उठाउन उक्त कम्पनीका व्यक्तिहरु राजनीतिक र उच्च प्रशासनिक निकायमा सस्तो छ भन्दै लविङ गर्नु कानुनी रुपमा एन्ड्रिज भारतको प्रस्ताव बदर हुने भएपछि सस्तो छ भन्दै प्रभावित पार्दै आफ्नो पक्षमा निर्णय गराउन खोज्नु सरासर कानुनविपरीत हुन्छ।
६. एन्ड्रिज हाइड्रो अस्ट्रियाको प्रस्ताव सार्वजनिक खरिद ऐन २०६३ को दफा २५ को उपदफा ४ बमोजिम रद्द र मूल्यांकनमा समावेश हुन सक्दैन उक्त दफामा ‘पूर्व योग्यता निर्धारण गरी बोलपत्र आह्वान गरिएको अवस्थामा पूर्व योग्य भएका बोलपत्रदाताबाहेक अन्य बोलपत्रदाताबाट प्राप्त बोलपत्रलाई उपदफा १ बमोजिम हुने मूल्यांकनमा समावेश गरिने छैन।’ अतः एन्ड्रिज भारतको बोलपत्र मूल्यांकन प्रक्रियाबाट नहटाउनु भनेको गैरकानुनी कार्य गर्नु हो।’
७. दफा २५ को उपदफा ७ अनुसार एन्ड्रिज हाइड्रो प्रा.लि. भारतको बोलपत्र मूल्यांकनबाट हटाई दोस्रो न्यूनतमको बोलपत्र जाँच गर्नुपर्ने प्रस्ट उल्लेख गरेको छ। दफा २५ को उपदफा ७ मा यसो भनिएको छ ‘उपदफा ४ र ५ बमोजिम जाँच गर्दा त्यस्तो बोलपत्रदाताको योग्यता बोलपत्रसम्बन्धी कागजातमा उल्लेखित मूल्यांकनको आधारअनुरुप भएको नपाइएमा निजको बोलपत्र मूल्यांकनबाट हटाई क्रमशः अर्को न्यूनतम बोल अंक कबुल गर्ने बोलपत्रदाताको योग्यताको जाँच सोही आधारमा गर्नुपर्नेछ।’ अतः एन्ड्रिज हाइड्रोको बोलपत्र हटाई कानुनसम्मत ढंगले अर्को प्रक्रिया तुरुन्त शुरु गर्नुपर्ने देखिन्छ।
८. एन्ड्रिज अस्ट्रियाको पूर्व योग्यता प्रमाणित र एन्ड्रिज हाइड्रो भारतको आर्थिक प्रस्ताव सार्वजनिक खरिद ऐनको परिच्छेद ८ मा व्यवस्था भएको आचरणसम्बन्धी व्यवस्थाको दफा ६१ को (६) विपरीत भएको छ। उक्त दफामा ‘खरिदसम्बन्धी कामकारबाही गर्दा प्रचलित कानुन विपरीत हुने काम नगर्ने भनिएको छ।’ तर एन्ड्रिज हाइड्रो अस्ट्रिया र एन्ड्रिज हाइड्रो भारतको प्रस्ताव प्रस्ट कानुन विपरीत सार्वजनिक खरिद ऐन २०६३ विपरीत छ।
९. एन्ड्रिज अस्ट्रियाको प्रस्ताव सार्वजनिक खरिद ऐन २०६३ को दफा ६२ को (ख) बमोजिम बदरभागी छन्। उक्त दफामा बोलपत्रदाता वा प्रस्तावदाताको आचरणसम्बन्धी कुरा गर्दै ‘तथ्य बंग्याई वा झुक्याई पेस गर्न नहुने’ भनिएको छ। तर एन्ड्रिज हाइड्रो अस्ट्रियाले एक्त ऐनमा व्यवस्था भएको बोलपत्रदाता वा प्रस्तावदाताको आचरण विपरीत एन्ड्रिज अस्ट्रियाको नामबाट पूर्वयोग्यतामा छनोट भई एन्ड्रिज भारतबाट ९० प्रतिशत काम गर्ने गरी तथ्यलाई झुक्याएर बंग्याएर पेस गरेको छ। अतः उक्त प्रस्ताव स्वतः रद्द हुनुपर्दछ।
१०. सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ मा भएको कालो सूचीमा राख्ने र फुकुवा गर्ने भन्ने व्यवस्थाको १ (क) मा ‘दफा ६२ बमोजिम आचरण विपरीत काम गरेको प्रमाणित भएमा’ कालोसूचीमा राख्ने व्यवस्था छ। अतः एन्ड्रिज हाइड्रो अस्ट्रियाले दफा ६२ विपरीत आचरण गरेकाले उक्त कम्पनीलाई कालोसूचीमा राख्नुपर्ने हुन्छ।
११. एन्ड्रिज अस्ट्रियाले पेस गरेको सम्पूर्ण डकुमेन्ट नोटोराइज गरेको छैन। जुन कुरा टेन्डर डकुमेन्टको प्रावधान र प्रचलित कानुनविपरीत छ।
१२. एन्ड्रिज हाइड्रो भारतको प्रपोजलमा लिड पार्टनर भनेर एन्ड्रिज अस्ट्रियालाई देखाई जे.भी. पार्टनरमा एन्ड्रिज हाइड्रो प्रा.लि भारत भनिएको छ, तर जे.भी.को मर्मअनुसार लिडिङ पार्टनरको ५१ प्रतिशत शेयर हुनुपर्नेमा मुस्किलले १० प्रतिशत मात्र देखाइएको छ। अतः एन्ड्रिज अस्ट्रियाको प्रस्ताव बदरयोग्य छ।
१३. एन्ड्रिज अस्ट्रियाको प्रस्तावमा उसले ९० प्रतिशत दायित्व जुनसुकैलाई पनि सामान खरिदको सिफारिस गर्न पाउने भनिएको छ। उक्त प्रस्ताव स्वीकार गर्नु भनेको गैरकानुनी काम र जोसुकैलाई पनि सिफारिस गर्ने भन्ने कुरा रमाइलो जोक हो। यति मात्र होइन, बाँकी रहेको १० प्रतिशत पनि जसलाई पनि दिन सक्ने त्यसमा नेपाल विद्युत प्राधिकरणलाई समेत नसोधी गर्न उल्लेख गरेको छ। अतः एन्ड्रिज हाइड्रो अस्ट्रियाको प्रस्ताव बदरयोग्य छ।
१४. Andritz Austriaले दिएको प्रस्तावमा जे.भी. नगर्ने हो भने १५ प्रतिशत करमा थप १५ प्रतिशत लाग्छ। यो थप भनेको करिब १ अर्ब रुपियाँ हुन आउँ छ। यस अर्थ एन्ड्रिजको प्रस्ताव सस्तो छ भन्नु झूट बोल्नु हो।
१५. यदि एन्ड्रिजले एन्ड्रिज इन्डियालाई जे.भी.मा राख्न सक्यो भने १५ प्रतिशत करबाट मुक्त हुन्छ। माथिल्लो तामाकोशीको खेल यहीनेर रहेको छ। १५ प्रतिशत छुट पाउँदा हुन आउने ९७ करोडमा नै यसको चलखेल रहेको छ।
१६. एन्ड्रिज भारतमा स्थापना भएको मात्र ४ वर्ष पुरानो कम्पनी हो। माथिल्लो तामाकोशीको टेन्डर डकुमेन्टमा योग्यताबारे उल्लेख गर्दै २५० मेगावाट प्रोजेक्टमा काम गरिसकेको हुनुपर्ने उल्लेख गरिएको छ। तर एन्ड्रिज हाइड्रो प्रा.लि. भारतले यो मापदण्ड पूरा गरेको छैन।
१७. उपल्लो तामाकोशीको आर्थिक नियमावलीको दफा ४०(५) मा बोलपत्र वा पूर्व योग्यतासम्बन्धी निवेदन पेस गर्दा जुन नाममा खरिद गरिएको हो त्यही नाममा दाखिला गर्नुपर्ने हुन्छ। संयुक्त उपक्रममा बोलपत्र वा पूर्व योग्यतासम्बन्धी निवेदन पेस गर्दा संयुक्त उपकरणकै नामबाट बोलपत्र वा पूर्व योग्यतासम्बन्धी कागजात खरिद गरिएको हुनुपर्नेछ। एकल नाममा खरिद भई संयुक्त उपक्रममा बोलपत्र वा पूर्व योग्यतासम्बन्धी निवेदन दाखिला गर्न मिल्ने छैन। भनी स्पष्ट उल्लेख गरिएको छ। तर यहाँ एन्ड्रिज हाइड्रो अस्ट्रियाको नामबाट कागजात खरिद गरी एन्ड्रिज हाइड्रो प्रा.लि. भारतको नामबाट जे.भी. भन्दै पेस गरिएको छ जुन माथिल्लो तामाकोशीको आर्थिन नियमावलीअनुसार गैरकानुनी छ।