सुविधा थपेपछि फेसबुक अझ सजिलो भएको छ

हो, अब फेसबुकको नयाँ सुविधा प्रयोग गरेपछि अब तपाईँले कसैको स्टायटस अपडेट थाहा पाउन उसको साथी नै हुन जरुरी छैन। ब्लगर, पत्रकार, सेलिब्रिटी, नेता र अरु कसैलाई सब्सक्राइब गरेर तपाईँ उनीहरुका पब्लिक पोस्टलाई तपाईँको न्युज फिडमा हेर्न सक्नुहुन्छ। त्यसैगरी कसैले तपाईँलाई ताल न सुरका फोटोहरुमा ट्याग गरेर दिक्क हुनुभएको छ भने तपाईँले अनुमति दिएपछि मात्र ट्याग हुने व्यवस्था अब भएको छ। त्यस्तै, गुगल प्लसमा रहेको ‘सर्कल’ को सुविधा पनि अब फेसबुकले सजिलो गरी फ्रेन्डस् लिस्टको रुपमा उपलब्ध गराएको छ।
सब्सक्राइबको सुविधा
सब्सक्राइब भनेको जसरी तपाईँ कुनै पत्रिकाको ग्राहक बन्दा बिहान सबेरै तपाईँको घरमा पत्रिका आइपुग्छ, त्यस्तै सुविधा हो। तपाईँ कसैको प्रोफाइलमा गएर सब्सक्राइब गर्नुहुन्छ भने उसले पब्लिक हुने गरी पोस्ट गरेका स्टायटस र फोटोहरु तपाईँले आफ्नो फिड्समा हेर्न सक्नुहुन्छ।जस्तै, यो मेरो फेसबुकको पेज http://www.facebook.com/mysansar मा हेर्नुस्।


कसैको प्रोफाइलमा तपाईँले सब्सक्राइब बटन देख्ने तर कसैकोमा नदेख्ने हुनसक्छ। किन यस्तो हुन्छ त ? किनभने ज-जसले सब्सक्राइब गर्ने सुविधा फेसबुकमा जोडेका हुन्छन्, उनीहरुकोमा मात्र यस्तो देखिन्छ।
सब्सक्राइब सुविधा कसरी थप्ने त ?
त्यसको लागि यो साइटमा जानुस्- http://www.facebook.com/about/subscriptionsर Allow Subscribers मा क्लिक गर्नुस्।
तपाईँले एसेप्ट गरेका सबै साथीहरुको तपाईँले सब्सक्राइब गरिसक्नुभएको हुन्छ। सब्सक्राइब बटनबाट तपाईँले आफ्ना साथीहरु र अरुहरुका अपडेटहरुलाई तपाईँको न्युज फिडमा कस्तो देखाउने भनी छान्न सक्नुहुन्छ। तपाईँले प्रत्येक व्यक्तिको गेम स्टोरी लुकाउन सक्नुहुन्छ, फोटोहरुमात्र हेर्ने भए त्यो पनि गर्न सक्नुहुन्छ।
कसलाई देखाउने कसलाई नदेखाउने ?
म आफ्नो पोस्ट फलानोलाई बाहेक सबैलाई देखाउँछु, फलानोलाई मात्र देखाउँछु, मेरो साथी नभए पनि सबैलाई देखाउँछु वा मेरो साथीहरुलाई मात्र देखाउँछु- तपाईँ छान्न सक्नुहुन्छ। तपाईँले स्टायटस अपडेट गर्न लाग्नुभएको बेला वा फोटो अपलोड गर्न लाग्नुभएको बेला एउटा बटन देख्नसक्नुहुन्छ। त्यहाँ तपाईँले पब्लिक, फ्रेन्ड्स वा कस्टम छान्न सक्नुहुन्छ। पब्लिक गर्दा तपाईँको पोस्ट तपाईँको साथी नभए पनि सबैले हेर्न सक्छन्। फ्रेन्डस् छान्नुभयो भने तपाईँका साथीहरुले मात्र हेर्न पाउँछन् र कस्टम गर्नुभयो भने निश्चित मान्छेलाई मात्र नदेखाउने वा देखाउने गर्न सक्नुहुन्छ।
यहाँ गएर पनि तपाईँ यो सेटिङ मिलाउन सक्नुहुन्छ http://www.facebook.com/settings/?tab=privacy
फ्रेन्डस लिस्टमा सुधार (घोषणा भयो, लागू हुन बाँकी)
फेसबुकले यो साताबाट फ्रेन्डस लिस्टमा पनि सुधार गर्दैछ। यो गुगल प्लसको सर्कलबाट प्रभावित सुधार हो। यस अनुसार तपाईँले आफ्ना नजिकका साथीहरुकोमात्र वा आफन्तहरुको मात्र वा आफ्ना सहकर्मीहरुको मात्र अपडेट पनि हेर्न सक्नुहुन्छ।यो सुविधा पहिलेदेखि नै फेसबुकमा रहेको भए पनि त्यो झन्झटिलो प्रक्रियालाई फेसबुकले सहज बनाएको हो।
लिस्टका लागि फेसबुकले तीन वटा सूचि बनाएको छ-
स्मार्ट लिस्ट- जसमा काम, स्कूल, परिवार र सहरको सूचि हुन्छ। अर्थात् तपाईँका सहकर्मीहरु एउटा लिस्टमा, सहपाठीहरु एउटा लिस्टमा, परिवार एउटा लिस्टमा र एउटै सहरकाहरु एउटा लिस्टमा हुन्छन्।
क्लोज फ्रेन्डस् एन्ड एक्वेन्टेन्स लिस्ट- तपाईँको नजिकका र मिल्ने साथीहरुको फोटो र पोस्टहरु तपाईँले यो लिस्टमा हेर्न सक्नुहुन्छ। यसले तपाईँले खासै नचिन्ने र गोरु बेचेको साइनो मात्र भएका तर फेसबुके साथीका रुपमा रहेकाहरुको कामनकाजका अपडेटहरुबाट तपाईँको प्रिय साथीको अपडेट लुक्ने छैन।
बेटर सजेसन्स- यसमा भने तपाईँले आफ्ना लिस्टहरुमा आफ्ना साथीहरु थप्न सक्नुहुनेछ र यसका लागि धेरै मेहनत र झण्झट गरिरहनु पर्दैन।

यो लिस्टसँगै अब तपाईँले आफ्ना अपडेटहरु पनि कसलाई देखाउने कसलाई नदेखाउने छान्न सक्नुहुन्छ। गर्लफ्रेन्डसँग डेटिङ गएको कुरा तपाईँले आफ्नो परिवारलाई किन बताउने ? यो कुरा तपाईँ आफ्ना साथीहरुलाई मात्र देखाउने गरी भन्न सक्नुहुन्छ।

वाहियात फोटोको ट्यागबाट दिक्क हुनुहुन्छ ?
बिहानै फेसबुक खोल्दा दुर्घटनामा मरेको मान्छेको फोटो कुन चैँ असत्तीले ट्याग गरेको रहेछ, दिनभर घिन लागिरह्यो- तपाईँले नि यस्तै भोग्नुभएको छ ? वाहियात फोटोहरुमा मान्छेले ट्याग गर्दिएर दिक्क हुनुहुन्छ ? त्यसो भए कसैले ट्याग गर्न पनि तपाईँको अनुमति चाहिने बनाउनुस्। टण्टै साफ। कसरी गर्ने, हेर्नुस्-दायाँ छेउमा रहेको Account मा क्लिक गर्नुस्, त्यसपछि Privacy Settings मा क्लिक गर्नुस्। त्यसपछि कस्टम बक्समा क्लिक गर्नुस्।

अब How Tags Work को Edit settings मा क्लिक गर्नुस्-

अनि Profile Review को छेउमा रहेको Off मा क्लिक गरेर On गर्नुस्। बस् यत्ति हो। अब कसैले ट्याग गर्यो भने तपाईँले त्यसलाई अप्रुभ नगरेसम्म देखा पर्ने छैन।
