Monday, September 5, 2011

न्युरोडको गुँडपाक खानेहरु सावधान ! - mysansar

काठमाडौँ आएकाहरु कोसेली लिएर जानुपर्दा गुँडपाक र पुष्टकारी लैजान बढी रुचाउँछन्। गुँडपाक भन्ने बित्तिकै धेरैले न्युरोडको गुँडपाक सम्झन्छन्। किन हो कुन्नि, मानिसहरुलाई न्युरोडको गुँडपाक मन परेको, अरु ठाउँमा पनि प्रशस्तै त्योभन्दा मिठो गुँडपाक पाउने ठाउँ छन्। तर न्युरोडको गुँडपाक पसलमा सँधै भीड हुन्छ। लाइन बस्नुपर्छ त्यहाँ गुँडपाक किन्न।
तर त्यस्तोसँग ग्राहकको विश्वास जितेको पसलको व्यवहार हेर्नुस् त- कुहिएको, म्याद गुज्रेको र कमसल सामान प्रयोग गरेको भेटिएपछि वाणिज्य विभागले न्युरोडका दुई गुँडपाक पसलहरु कर्नर ताजा गुँडपाक भण्डार र श्रीकृष्ण गुँडपाक भण्डारलाई सिल गरेको छ। विभागका बजार निरीक्षण अधिकृत कमलबहादुर थापाले भनेको सुन्नुस् न। उनी भन्छन्, यी गुँडपाक बनाउनेहरुले कच्चा पदार्थबाट मुसाको विष्टा निकाल्नेसम्म फूर्सद देखाएनन् । छ्या छ्या छ्या हेर्नुस् त। कति हेपेका होलान् ग्राहकलाई ! जे गरे नि भइहाल्छ भन्ने ठानेका कि के हो ?
वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग र प्रहरी तथा सीडीओ कार्यालयले मिलेर उनीहरुको सामान बेच्ने पसल र उत्पादन स्थलमा अकस्मात् छापा मार्दा यो खुलेको हो। गुँडपाक पसलेको ताहाचलस्थित उत्पादन स्थलमा पनि सिल गरिएको छ।
उपभोक्तालाई अस्वस्थकर सामान बेच्ने कर्नर ताजा गुँडपाक भण्डारका मालिक नरेन्द्र मास्के हुन्। दुवै गुँडपाक पसलेलाई उत्पादन बन्द गर्न पनि आदेश दिइएको छ।
छापा मार्ने समूहले अस्वस्थकर वातावरणमा बनाइएको १३ सय किलो गुँडपाक र एक ट्रक भरी गुणस्तरहीन कच्चा पदार्थ पनि भेट्टाएको छ। नभए तपाईँको पेटमा पुग्ने यी सामानलाई समूहले टेकुको अस्थायी डम्पिङ साइटमा लगेर मिल्काएको छ।
गएको हप्तादेखि चाडवाडको पूर्वसन्ध्यामा बजार अनुगमन गर्न थालिएको हो। अस्ति मात्रै त हो अनमोल स्विटस र रामेश्वर जस्ता नाम चलेका मिठाइपसलेहरुले कुहिएको सामान र जनावरको बोसो मिसाएको मिठाइलाई शुद्ध शाकाहारी मिठाइ भन्दै बेचेको पत्ता लागेको । ती मिठाइ पसलेहरुको उत्पादन स्थल पनि अस्वस्थकर भएको देखिएको थियो।
हामी पैसा लिनेहरुलाई मात्रै भ्रष्टाचारी देख्छौँ। हेर्नुस् त यी व्यापारी भनाउँदाहरुको आचरण कति भ्रष्ट छ ! तपाईँहाम्रो स्वास्थ्यमा सीधै खेलवाड गर्दा पनि अब यिनीहरुलाई खासै ठूलो कारबाही भने हुनेछैन होला।