Monday, September 12, 2011

आखिर कहाँ गएका थिए प्रचण्ड सुटुक्क? - mysansar

माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार सुटुक्क विराटनगर विमानस्थलमा झरे। त्यसपछि बेपत्ता भए। शुक्रबार र शनिबार दिनभर उनी कहाँ थिए, कसैले पत्ता लगाउन सकेनन्। आइतबार मध्याह्नतिर एक्कासी उनी विराटनगर एअरपोर्टमा भेटिए। त्यतिबेला पनि उनले आफू कहाँ गएको भनेनन्। ‘व्यक्तिगत र पारिवारिक समस्या समाधान गर्न’ आएको मात्र बताए। कस्तो समस्या थियो, बताएनन्। उनको भ्रमण गोप्य नै रह्यो। अनेक थरिका अनुमान भए। तर आज प्रकाशित राजधानी दैनिकले भने अरुले भन्दा फरक एउटा कारण देखाएर प्रचण्ड भारत गएको दावी गरेको छ। किन गएका रहेछन् त प्रचण्ड सुटुक्क भारत ?
आजको राजधानी दैनिकमा ईश्वरी सुवेदीले लेखे अनुसार उनी भारतको पटना उच्च अदालतले माओवादीका पूर्वमन्त्री, बहालवाला सभासद लगायत ११ जना नेताविरुद्ध देशद्रोहको आरोपमा कैद सजाय र पक्राउ पूर्जी जारी गरेपछि त्यही फैसला बारे बुझ्न गएको दावी गरेको छ।
पटना अदालतले भदौ १२ गते ११ जना नेतालाई कैद र जरिवानाको फैसला सुनाएको थियो। ती नेताहरुविरुद्ध आठ वर्षदेखि मुद्दा थियो।
कोको विरुद्ध फैसला भयो ?
• पोलिटब्युरो सदस्य लोकेन्द्र विष्ट (मगर) ६ वर्ष कैद र ७ लाख भारु जरिवाना
• कुलप्रसाद केसी (सोनाम) ६ वर्षकैद र ६ लाख ८० हजार जरिवाना
• केन्द्रीय सदस्य हितबहादुर तामाङ ४ वर्ष कैद र ४ लाख ९० हजार जरिवाना
• अनिल शर्मा ६ वर्ष कैद र ७ लाख जरिवाना
• कुमार दाहाल ५ वर्ष कैद र ५ लाख जरिवाना
• किसान संघका अध्यक्ष चित्रबहादुर श्रेष्ठ ५ वर्ष कैद र ७ लाख जरिवाना
• केन्द्रीय सल्लाहकार समिति सदस्य दिलिप महर्जन ५ वर्ष कैद र ५ लाख जरिवाना
• सभासद् तारा घर्तीमगर २ वर्ष कैद र ३ लाख ७५ हजार जरिवाना
• भोजपुरा राज्य समिति सदस्य श्यामकिशोर यादव ५ वर्ष कैद र ५ लाख जरिवाना
• भोजपुरा राज्य समिति सदस्य मीनप्रसाद चापागाईं ५ वर्षकैद र ५ लाख भारतीय रुपैयाँ जरिवाना
• तामसालिङ राज्य समिति सदस्य सुमन तामाङ उमेर नपुगी पक्राउ गरिएको भन्दै सफाइ
अदालतको फैसला कुन सन्दर्भमा भएको भन्ने स्पष्ट नभएपछि प्रचण्ड भारतीय प्रहरी र नेताको सम्पर्कमा पुगेको पत्रिकाको दाबी छ। २० जेठ २०६१ मा राज्यद्रोहको अभियोगमा पटनामा पक्राउ परेका ११ जना माओवादी नेतालाई भारतीय नागरिकको जमानतपछि १२ साउन २०६३ मा छाडिएको थियो । नेताहरू जमानतमा छाडिए पनि उनीहरूविरुद्ध अदालतमा मुद्दा विचाराधीन थियो।