Sunday, September 25, 2011

बिहानबिहानै नराम्रो खबर- बुद्धको विमान दुर्घटना, भारतीय विमानमा बमको शंका - mysansar

अपडेट (१२:३०)- स्पाइसको विमानमा बम हल्ला मात्र भएको पुष्टि भएको छ। सेनाले छानबिन गर्दा त्यसमा कुनै शंकास्पद वस्तु भेटेन। विमानका चालक आफैले शंकाको आधारमा बम रहेको भनी खबर गरेको बुझिएको छ।
अपडेट (११:३०)- त्रिभुवन विमानस्थलमा दिल्ली उड्न लागेको स्पाइस एअरको विमानमा बम रहेको शंकामा यात्रुहरुलाई ओरालेर सेनाको बम डिस्पोजल टोली पुगेको छ। आधा घण्टाका लागि विमानस्थलमा विमान उडान र अवतरण रोक। त्यो विमानलाई अहिले साइडमा राखेर विमानस्थलमा उडान सुचारु भएको छ।


दायाँको फोटो दुर्घटनाग्रस्त विमान। बायाँको फोटो यस्तै खालको विमान दुर्घटना भएको थियो। साभारः एएफपी
१४ वर्षको उडान इतिहासमा अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको बुद्ध एअरको एउटा विमान आज ललितपुरको लामाटार कोटडाँडामा दुर्घटना भएको छ। माउन्टेन फ्‌लाइटका लागि बिहान साढे ६ बजे उड्नु पर्ने भए पनि सात बजेतिर उडेको त्यो विमान काठमाडौँ प्रवेश गर्ने क्रममा लाँकुरी भञ्ज्याङमाथि पुगेपछि सम्पर्कविहीन भएको थियो। जहाजमा १९ सिट थियो र माउन्टेन फ्लाइट भनेपछि अधिकांश विदेशी हुने भइहाले। १० यात्रु तमिलनाडु बस्ने भारतीय रहेको बुझिएको छ। ३ नेपाली चालक दलका सदस्य भइहाले बाँकी ३ जना नेपाली थिए। २ अमेरिकी र एक जापानी छन्। ती मध्ये एक जना नेपाली यात्रुको जीवित उद्धार गरिएको थियो। तर ३६ वर्षीय निराजन कर्मचार्यको पनि बीएन्डबी अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको
दुःखद खबर सुन्नुपर्‍यो केही समयपछि।
विमानमा चालक दलका ३ सदस्य थिए। विमान ललितपुर मानभवन बस्ने क्याप्टेन जेबी ताम्राकारको कमान्डमा थियो। सहक्याप्टेन पद्मा अधिकारी थिइन् भने एअरहोस्टेस अस्मिता श्रेष्ठ थिइन्। क्याप्टेन ताम्राकार पूर्वमन्त्री रामकृष्ण ताम्राकारको छोरा रहेको बुझिएको छ। ताम्राकारको उमेर ३० वर्षको आसपासमात्र रहेछ।
पछिल्लो खबर अनुसार १८ जनाको शव फेला परिसकेको छ। सबैको चीर शान्तिको कामना। परिवारले धैर्य धारण गर्न सकून् !
को को थिए यात्रुहरु ?
नेपाली-
निराजन कर्माचार्य, शारदा कर्माचार्य र जगजन कर्माचार्य
(यिनीहरु एकै परिवारको भएको शंका छ। अमेरिकाबाट छुट्टी मनाउन नेपाल आएको भन्ने सुनिएको छ। अमेरिकामा बसेका कोही पाठकले चिन्नुभएको भए कमेन्टमा लेख्नुस् है)
भारतीय-
पंकज मेहता, छाया मेहता, एच डी नागराज, एल नागराज, आई नागराज, एस नागराज, डी. तालोसुब्रिसम, डीपी तालोसुब्रिसम, नागराजा तालोसुब्रिसम र पी तालोसुब्रिसम
अमेरिकी-
एन्ड्रे वादे, मिस नाताली नेइलन
जापानी-
मिस जेजिना तोशिनोरु