Wednesday, September 28, 2011

वैद्य समूह रक्षामन्त्रीको राजीनामा माग्दै सडकमा उत्रने - onlinekhabar


११ असोज, काठमाडौँ । एकीकृत नेकपा माओवादीको मोहन वैद्य समूह रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामा माग गर्दै सडक आन्दोलनमा उत्रने भएको छ ।
उक्त समूह निकट भातृ तथा भगिनी संगठनहरुको आज बिहान ललितपुरको कुपण्डोलमा बसेको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो । वैद्य निकट दलित संगठनका अध्यक्ष तिलक परियारले मुलुक टुक्रयाउने रक्षामन्त्रीको अभिव्यक्तिविरुद्ध आज अपराहृन ४ बजे जावलाखेलमा जम्मा भएर जुलुससहित शान्तिबाटिकामा पुगेर कोणसभा गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए । परियारले रक्षामन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै बैठकले तत्काल उनलाई बर्खास्त गर्न प्रमानमन्त्री डा.बाबुराम भट्टराईसमक्ष माग गर्ने निर्णय भएको पनि बताए । परियारले मन्त्री भण्डारीको अभिव्यक्ति कुनै नौलो नभई चारबँदे सहमति अनुसारै आएको दाबी गरे । बैठकले सो अभिव्यक्तिविरुद्ध संयुक्त विज्ञप्ति जारी गर्ने निर्णयसमेत गरेको छ । वैद्य समुहले आफ्नै पार्टी र मधेसी मोर्चबीच सत्ता गठबन्धन निर्माणका बेला भएको चारबुँदे सहमतिलाई राष्ट्रघाती भन्दै खारेजीको माग गर्दै आएको छ ।
बैठकमा वैद्य निकट दलित, विद्यार्थी, किसान, मजदुर, बुद्धिजिवी, कर्मचारी, शिक्षक, जनसाँस्कृतिक महासंघ, उद्योग-व्यापार, क्रान्तिकारी पत्रकार संघ र राज्यद्वारा बेपत्ता पारिएका परिवार समाजयलगायत संघ-संगठनका प्रमुख र प्रतिनिधि सहभागी थिए । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा मन्त्री भण्डारीले कांग्रेस-एमाले र माओवादीको वैद्य समूहले चारबुँदेलाई राष्ट्रघाती भनेकोमा त्यसको खण्डन गर्दै ‘मधेसका २२ जिल्लाले अलग हुने निर्णय गरे कुन ऐन र कानुनले मुलुक बचाउँछ ?’ भन्ने विवादस्पद अभिव्यक्ति दिएका थिए ।