Friday, September 23, 2011

अमेरिका न स्वर्ग, न पाताल - onlinekhabar

-प्रधानमन्त्री डा. बाबुराम भट्टराई
अमेरिकामा म पहिलोचोटि सन् १९९० को नोभेम्बर डिसेम्बरतिर पुगेको थिएँ । त्यतिबेला मेडिसिन वीस्कन्सिनमा दक्षिण एसिया र मुख्यतः नेपाली मुलका मानिसले एक अन्तरक्रिया आयोजना गरेका थिए । त्यो बेला नेपालमा राजनीतिक परिर्वतनको वर्ष थियो । म त्यसबेला संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको संयोजक र प्रवक्तासमेत रहेकाले नेपालको राजनीतिक परिवर्तनका बारेमा आयोजना गरिएको अन्तरक्रियामा मलाई बोलाइएको थियो । त्यसबेला म र हिसिलाजी करिब चालीस दिन अमेरिकामा बस्यौं । दोश्रोपटक म अमेरिका अर्थमन्त्री भएर सन् २००८ मा गएको हुँ । त्यतिवेला विश्ववैकको वैठकमा भागलिन अमेरिका गएको थिए ।
अमेरिकी र नेपाली समाजको तुलना गर्दा समाज विकासको कुन चरणमा समाज छ भन्ने कुराले मानिसको जीवनशैलीमा फरक पार्छ । अमेरिका भनेको पूँजीवादको उच्चतम् विकाशमा पुगेको अवस्था हो । त्यसले गर्दा स्वभाविक रुपमा प्रतिस्पर्धी हुन्छ । जसले प्रतिस्पर्धा गर्न सक्दैन, त्यो सिद्धिन्छ । त्यसले गर्दा मान्छे असाध्यै सक्रिय, लगनशील हुने हुन्छ र एकखालको काम गरी खाने संस्कार स्वतः आवश्यक हुन्छ, त्यसो गर्न सकेन भने उ नासिन्छ । तर, हाम्रो जस्तो समाज जहाँ पूँजीवादको पनि विकाश भएको छैन, अझै सामन्तवादी, निर्वाहमुखी खेतीमा आधारित छ, तीन महिना खेती गरेर नौ महिना बसेर खानुपर्छ । त्यस्तोमा मानिस त्यति गतिशील हुँदैनन् । त्यसैले समाज विकाशमा त्यहाँको जनजीवन निर्भर गर्छ । अमेरिकामा पनि त्यहींका आदिवासी रेड इन्डियनहरुको अवस्था राम्रो छैन । अमेरिकाका सकरात्मक पक्षहरु हाम्रोजस्तो समाजले सिक्नुपर्छ र नकारात्मक पक्षबाट पाठ लिनुपर्छ ।
अमेरिकाको मलाई सबैभन्दा आर्कषण गरेको पक्ष भनेकै अमेरिकाको प्राज्ञिक विकाश हो । ठूला ठूला लाइब्रेरी र म्युजिमहरुमा मैले अधिकांश समय बिताएँ । त्यसबाट हामीले सिक्नुपर्छ । तर अमेरिका नै सवैथोक भने होइन । अमेरिकाका सकारात्मक नकारात्मक दुइटै पाटा छन् । पहिलो पटक अमेरिकाबाट फर्किएपछि मैले ँबेलाबखतका कुराू भन्ने स्तम्भमा लेखेको थिएँ, ँअमेरिका न स्वर्ग न पाताल नै रहेछ ।’ आज पनि मेरो विश्वास त्यही छ । धेरै मानिसले अमेरिका स्वर्गै हो भन्ने गर्छन्, मलाई त्यस्तो लागेन । किनकि अमेरिकामा गरीब, भिखमाग्ने, रेल स्टेशन बाहिर बसेर मागिरहेको देखें, वासिंगटन र अन्य क्षेत्रमा काला जाति र त्यहाँका रैथानेहरु अत्यन्तै गरिब पनि देखें । त्यत्रो सम्पन्ताको वीचमा पनि विपन्नता छ, विभेद छ र अभाव छ भन्ने आफ्नै आँखाले देखें ।
अर्कोतिर, अमेरिका भनेको पुरै पाताल हो, नर्कै हो भन्ने जुन बुझाइ छ त्यो पनि हैन । अमेरिका पुँजीवादी भौतिक विकासको उच्चतामा पुगेको पनि छ । वल्र्ड ट्रेड सेन्टर, जुन पछि ध्वस्त भयो, हामी त्यहाँ पुगेर तस्वीर खिचाएका थियौं । सिकागोका स्पयर्स टावरलगायतका भौतिक विकासका, जुन नमूना हामीले हेरयौं, त्यसबाट के लाग्यो भने विश्वलाई नै आश्चर्यचकित लाग्ने भौतिक प्रगति पनि अमेरिकामै छ । अमेरिकाको मानव जातिले सिर्जना गरेको समाज व्यवस्था हो, जुन अरुभन्दा अलिक विकशित छ ।
म अमेरिकामा पहिलोपटक जाँदा र दोश्रोपटक जाँदा अमेरिकामा बसेका नेपालीहरुको अवस्थाबीच निकै फरक पाएँ, संख्यात्मक र गुणात्मक दुवै हिसावले । आजभन्दा बीस बर्ष पहिले जाँदा नेपालीहरुको संख्या त्यति धेरै थिएन् । तर दोश्रो पटक जाँदा त अमेरिका मै नेपालीहरुको संख्या लाखौं पुगिसकेको रहेछ । त्यतिखेर मध्यमस्तरका प्राविधिक मानिसहरु नै भेटेको थिएँ, जो आफुलाई स्थापित गर्न संघर्ष गरिरहेका थिए । दोश्रोपटक म अर्थमन्त्रीका रुपमा पनि अमेरिका पुग्दा त्यहाँका बिभिन्न स्थानमा भेटिएका नेपालीहरुको अवस्था निकै सुधि्रएको पाएँ । केही नेपालीहरुले आफ्नै व्यवसाय स्थापित गरेका छन् र शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा पनि नेपालीहरुले निकै प्रगति गरेको भेटें । तैपनि त्यहाँको सापेक्षतामा उनीहरुका समस्याहरु पनि रहेछन् ।
मलाई अमेरिकामा नेपाली आएकोमा स्वभाविक नै लागेको छ यद्यपी प्रतिभा पलायन धेरै ठूलो समस्या हो । खासगरी तेस्रो विश्वका मुलुकहरुमा । विकसित पुँजीवादी मुलुकहरुमा धेरै सुबिधा र अवसरले गर्दा हाम्रो जस्तो पिछडिएका मुलुकका प्राविधिक विषयमा उच्च अध्ययन गरेका मानिसहरु अवसरको खोजीमा युरोप तथा अमेरिका जाने गर्छन् । चुम्बकले चुम्बक तान्छ भनेजस्तै विकसित मुलुकले अल्पविकसित मुलुकका प्रतिभा तानेको छ, त्यो एउटा प्राकृतिक नियम पनि हो । मेरो आफ्नो व्यक्तिगत अनुभूति के हो भने व्यक्तिगत अवसरको खोजीमा हामी विदेशतिर लाग्यौं भने हामी बसेको समाज त कहिले पनि रुपान्तरण हुन सक्दैन । कमसेकम एउटा पुस्ताले दुःख कष्ट सहेर यहीं नै परिवर्तन गर्नपट्ट िलाग्यौं भने भोलिको पुस्ताले अवसरको खोजीमा अन्यत्र लाग्नुपर्ने बाध्यात्मक स्थिति आउने छैन । त्यसैका निम्ति पनि मैले उच्च अध्ययन गरेर पनि बिद्रोह, क्रान्ति र परिवर्तनको बाटोमा लागेको हुँ । यसबाट मलाई उतै जान पाएको भए पनि हुन्थ्यो भन्ने पश्चाताप लागेन । मलाई उल्टै गौरबको अनुभूति भएको छ ।
तर जे जस्तो अवस्थामा नेपालीहरु विदेशिएका छन् उनीहरुलाई नेपाल फर्काउनुपर्छ भन्ने मान्यता म राख्छु । मैले गत वर्ष पेश गरेको बजेटमा पनि प्रतिभा पलायनलाई रोक्ने र नेपालभित्रै लगानीको वातावरण बनाउनुपर्छ भन्ने नीति बनाएको थिएँ । नेपाल बाहिर रहेका गैरअवासीय नेपालीलाई पनि नेपालमा लगानीको वातावरण बनाउनुपर्छ भनेर हाम्रो सरकार हुँदा प्रधानमन्त्रीकै अध्यक्षतामा लगानी बोर्डको प्रबन्ध गरिएको थियो । तर दुर्भाग्य, त्यसले पुरै कार्यान्वयन हुने अवसर पाएन ।
एकाध वर्ष त हामी संक्रमणकालीन अवस्थामा रहन्छौंं । शान्ति प्रकृया टुंगोमा नपुगेसम्म मुलुकमा लगानीका लागि उपयुक्त अवसर नहुन सक्छ र नीति निर्माणका लागि पनि ध्यान दिन नसकिएला । राजनीतिक स्थिरता कायम गरेपछि देशको सम्पूर्ण शक्ति आर्थिक विकासमा लगाउनुपर्छ र लगानी मैत्री वातावरण बनाउनुपर्छ । माओवादी, जो देशको प्रमुख शक्ति हो र भोलि पुनः सत्तामा आउने लगभग निश्चितजस्तै छ, त्यस हैसियतमा म सबै गैरआवासीय नेपालीहरुलाई के आहृवान गर्न चाहान्छु भने हामीले लगानी मैत्री वातावरण बनाउनेछांै र तपाईहरु पनि सीप तथा आर्थिक लगानीका लागि तयार रहनुस् ।
(अमेरिकाबाट प्रकाशित नेपालीखबरको बर्ष १ अंक १० मा प्रकाशित डा. भट्टराईसँग धर्मराज भुसाल र अरुण वरालले लिएको अमेरिका सम्बादको सम्पादित अंश यसपटक पनि सान्दर्भिक हुने ठानी पुनः प्रकाशन गरेका छौं-सं)