Thursday, September 22, 2011

स्याटेलाइट पृथ्वीमा खस्दैछ, कहाँ गएर बज्रने हो कसैलाई थाहा छैन - mysansar


मान्छेले अन्तरिक्षमा छाडेका अनगिन्ती स्याटेलाइटहरु कै कारण हामीले टेलिभिजन, मोबाइल, इन्टरनेट, मौसम भविष्यवाणी आदि अनेक फाइदा लिन पाइरहेका छौँ। तर सँधै फाइदै मात्र त हुँदैन है। त्यसरी छाडेका स्याटेलाइटको पनि मिति पुग्छ। कति त उतैतिर ‘फोहर’ का रुपमा रहेका हुन्छन्। तर बस जत्रो आकारको एउटा स्याटेलाइट भने भोलि शुक्रबार पृथ्वीमा खस्दैछ। पृथ्वीको कुन भागमा यो आएर बज्रन्छ भन्ने चाहिँ वैज्ञानिकहरुलाई नि थाहा छैन। अमेरिकामा नि बज्रन सक्छ, अफ्रिकामा नि। प्रशान्त महासागरमा नि बज्रन सक्छ, सगरमाथामा नि। न्युयोर्कमा बज्रन नि सक्छ, न्युरोडमा नि सक्छ। पृथ्वीको जुनसुकै भागमा यो बज्रने संभावना छ। ठ्याक्कै यहाँ निर खस्छ भनेर भविष्यवाणी गर्ने क्षमता वैज्ञानिकहरुमा छैन। अहिलेका लागि उनीहरुले नेपाली समय अनुसार शुक्रबार रातिदेखि बढीमा आइतबारसम्ममा यो पृथ्वीमा बज्रने अनुमान गरेका छन्।

कलाकारको कल्पनामा खस्न लागेको स्याटेलाइट। फोटोः नासा
मौसमसम्बन्धी जानकारी पाउनका लागि अन्तरिक्षमा छाडिएको यो मृत उपग्रहका धेरैजसो भाग पृथ्वीभित्र प्रवेश गर्ने क्रममा जलेर ध्वस्त हुनेछ। तर झण्डै ५ सय किलो जतिको सामान भने पृथ्वीको कुनै भागमा आएर बज्रने संभावना छ। नासाका अनुसार अप्पर एटमसफियर रिसर्च स्याटेलाइटका २६ वटा संभावित हानिकारक पाटपुर्जा नेपाली समय अनुसार शुक्रबार राति पृथ्वीको कुनै भागमा बज्रन सक्छ।
यी सामानहरुमा चार वटा टाइटानियम फ्युल ट्याङ्क, चार वटा स्टिल फ्लाइह्विल रिम्स र आल्मुनियमको पार्टपुर्जासमेत रहेका छन्। यो आल्मुनियमको पार्टपूर्जा मात्रै १५८ किलोको हुन्छ।
तर के के न होला भनेर आत्तिनु भने पर्दैन। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार कसैलाई आकाशबाट खस्ने यी सामानले लाग्ने संभावना ३२०० मा १ मात्रै छ। अर्थात् निकै निकै निकै नै कम। अहिलेसम्म अन्तरिक्षबाट खसेको सामानले कोही घाइते भएको वा गाउँसहर, घरमा क्षति पुगेको खबर विरलै सुनिन्छ। किनभने पृथ्वीको धेरैजसो भाग पानी र कोही नबस्ने खाली ठाउँले भरिएको छ।
वैज्ञानिकहरुका अनुसार दिनहुँ आकाशबाट केही न केही खसिरहेको हुन्छ पृथ्वीमा। साढे चार सय किलो वजन भएको सामानै पनि हरेक हप्ता खसिरहेको हुन्छ पृथ्वीमा। त्यसैले नासाबाट अवकाश प्राप्त एक यही क्षेत्रमा पहिले काम गरेका डन केस्लेरले अमेरिकी स्याटेलाइट खस्ने यो घटनालाई अतिरञ्जित गरिएको बताउँछन्।
मान्छेलाई खासै खतराको स्थिति नभए पनि यो घटनाले विश्वभरको ध्यान आकर्षण गर्न भने सफल भएको छ। फक्सन्युजले त यो स्याटेलाइट अहिले कहाँ छ भनी रियलटाइममा ट्र्याक गर्न मिल्ने सुविधा दिएको छ। आयरल्यान्डको जुवा खेलाउने साइटले भने कहाँ यो बज्रन्छ भनेर जुवा खेलाइराखेको छ। कम्तिमा एक टुक्रा आयरल्यान्डमा खस्छ भन्नेहरु पनि रहेछन्।