Saturday, March 17, 2012

‘स्पर्श उपचार’ भन्दै लाखौंको लुट टीभीमै लाईभ दिएर भ्रमको खेती - onlinekhabar

५ चैत, काठमाडौं । चिकित्सकले उपचार असम्भव ठहर्‍याएर बिदा दिएका क्यान्सर, ब्रेन ट्युमर, प्यारालाइसिस, बाथ, अन्धोपन आदिका विरामीलाई छोएको भरमा निको बनाइदिने दावी कसैले गर्‍यो भने के तपाईँ पत्याउनु हुन्छ ?
तर मान्छे जब उपचार गर्दागर्दा सबैतिरबाट निराश हुन्छ, उसका लागि अन्धविश्वासका आडमा गरिने त्यसखाले सुनियोजित प्रचार पनि विश्वसनीय लाग्दोरहेछ । त्यसका लागि ऊ जति शुल्क पनि तिर्न तयार हुने रहेछ । हुन पनि सूचना प्रवाहका आधिकारिक मानिने टेलिभिजन च्यानलले नै अन्धविश्वासको आडमा गरिने त्यसखाले ‘इमोशनल ब्यल्याकमेलिङ’लाई हरेक दिन लाइभ प्रशारण गरेपछि सर्वसाधारणले नपत्याएर पनि के गरुन् !
नेपालकै पहिलो न्यूज च्यानल दावी गर्ने सगरमाथा टेलिभिजन च्यानलबाट हरेक दिन बिहान सवा नौंदेखि प्रत्यक्ष प्रशारण हुने स्पर्श थेरापीसम्बन्धी कार्यक्रमको हो ।
आफूसँग दुनियाँमा कसैसँग नभएको अद्भुत दैवी शक्ति भएको र त्यसको आडमा जस्तोसुकै असाध्य रोगको पनि छिनभरमा उपचार गरेर देखाइदिने दावी गर्ने कथित तान्त्रिक वाइ.के. पाण्डे र उनकी सहयोगी नमिता शर्माले त्यही टेलिभिजनमा लाइभ प्रशारण गरेको कथित उपचार विधिका आधारमा दैनिक दर्जन बढी सोझासिधालाई सिकार बनाइरहेका छन् । उपचार शुल्क पनि कम महँगो छैन, आएपिच्छे, पाँच हजार सात सय पचास । नाम दर्ता गराउनका लागि मात्रै पनि पाँच सय । ‘उपचार गर्दागर्दै घरबारी सबै गुमाए पनि मान्छेमा बाँच्ने आस हुँदोरहेछ ।’ त्यहाँ भेटिएका एकपीडितले भने, ‘दुईपटक आइसकेँ तर खासै कम भएको छैन ।’ आश्चर्य त यो हो कि भ्रममा परेका मानिसहरु पाण्डेको कथित उपचार पाउनका लागि साउनसम्मको पालो पर्खिन पनि तयार छन् !

आफुलाई दैवीशक्तिप्राप्त दावी गर्ने पाण्डे नायक शिव श्रेष्ठसाग । उनले यसरी नै कलाकारको छविलाई पनि प्रयोग गर्छन
खासगरी चलचित्रका स्थापित कलाकारहरुलाई बोलाएर उनीहरु मार्फत् आफ्नो ‘ब्यवसाय’को प्रचार गराउने यो समूहले स्पर्श थेरापी गरेपछि जस्तोसुकै असाध्य रोग पनि तुरुन्तै निको हुने दावी गर्दै आएको छ । ‘बर्षौदेखि प्यारालाइसिस भएर अरुले बोकेर ल्याएको मान्छेलाई पनि उपचारपछि आफैँ ठमठमी हिँडेर घर जाने बनाइदिन सक्छु ।’ रिपोर्टिङको सिलसिलामा आइतवार नागपोखरीस्थित उनीहरुको उपचारस्थलमा पुगेको जनआस्था प्रतिनिधिसँग पाण्डेले भने, ‘यस्तो काम दुनियाँमा कसैले गर्न सक्छ ?’ संसारका जुनसुकै रोग पनि निको पार्ने दावी गर्ने पाण्डेले भने, ‘यो देशमा त्यस्तो कोही ठूलो मान्छे छैन जो मकहाँ उपचारका लागि नआएको होस् ।’
तर आइतवार र मंगलवार गरी चार बढी घन्टा उनकोमा बिताउँदा पनि उपचारले ठीक भयो भन्ने मान्छे एकजना फेला पार्न सकेन । बरु उनले ठीक नभएको गुनासो गर्नेहरुलाई उल्टै हप्काएको दृश्यको प्रत्यक्षदर्शी भयो । उनको हप्काइबाट बच्नकै लागि पनि ठीक नभएकाहरुले पनि ठीक भयो भन्दै हिँडेको दृश्य पनि देखियो । पाण्डेका गतिविधिलाई नजिकैबाट नियाल्दै आएका जानकारहरुचाहिँ अतिविश्वास गरेर जाने सयमा दुई-चार जना मनोवैज्ञानिक कारणले पनि ठीक हुने र त्यसैलाई हौवा बनाएर अरु सोझासिधालाई त्यो समूहले आफ्नो सिकार बनाउने गरेको बताउँछ । टीभीमा लाईभ चलिरहंदा उनले बिचमै माइकमा बोल्दै दावी गर्छन- म भित्र अदभूत शक्ति छ ।’
चलचित्रकी नायिका रेजिना उप्रेतीको साथी हुनुबाहेक लुजा ब्युटि पार्लरकी प्रमुख नमिता शर्माको सार्वजनिक पहिचान छैन । कुनैबेला रेजिनाकी रुमपार्टनरसमेत रहेकी नमितामा चलचित्र खेल्ने तिब्र चाहना भएको र त्यसैलाई पूरा गर्न अहिले टिभीमा देखापर्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । उता आफूमा अद्भूत दैवीशक्ति भएको दावी गर्ने काभ्रे धुलिखेल घर भएका कथित तान्त्रिक पाण्डेचाहिँ आफ्नो पहिचन खुलाउन चाहँदैनन् । जोकोहीलाई ‘तिमी’ भनेर आफूलाई जबर्जस्ती अब्बल सावित गराउन खोज्ने उनले आफूमा ०३९ सालदेखि यस्तो शक्ति आएको र ०५२ सालदेखि उपचार थालेको दावी गर्छन् । अहिलेका अर्थ राज्यमन्त्रीका छोराको १५ वर्ष पुरानो रोग पनि निको पारेको दावी गर्ने उनका गफ सुन्ने जोकोहीलाई पनि हाँसो लाग्छ । २०६२-०६३ को जनआन्दोलनका जिउँदा सहिद मुकेश कायस्थलाई तीन महिना उपचार गरेपछि आफूले नै उठेर बस्न सक्ने अवस्थामा पुर्‍याएको दावी गर्ने उनले आफू कहाँ उपचारका लागि ६४ राष्ट्रबाट सम्पर्क आइसकेको बताए ।
त्यति मात्र होइन, यो समूहले लुजा ब्युटि पार्लरका नाममा क्रिम र औषधिहरु पनि निकालेको छ । आधिकारिकताबिना ती कथित औषधिहरु आफूकहाँ आउनेहरुलाई जर्वजस्ती भिडाउने गरेको आरोप पनि छ । तर पाण्डे आफूले ब्यक्तिगत सम्पत्ति थुपार्नका लागि नभई सेवाका लागि यो काम थालेको बताउँछन् । आफूले कमाएको सम्पत्तिले राजधानीका पुराना मन्दिरहरुको जीर्णोद्धार थालेको र जीवनमा सय बढी मन्दिर बनाउने लक्ष्य राखेको बताउने उनले भने ‘हामीले कर भ्याट तिरेर ब्यवसाय सन्चालन गरेका छौँ । हामीबाहेक कुन तान्त्रिक, ज्योतिष छ कर भ्याटमा दर्ता हुने ?’
उपचारका बारेमा अरु धेरैलाई थाहा दिनका लागि टेलिभिजनमा लाइभ गर्नु परेको र त्यसको खर्च उठाउनका लागि महँगो शुल्क लिनु परेको पाण्डेको दावी छ । साथै उनले आफ्नो उपचारको लाइभ न्युज २४ लगायत अन्य एक टेलिभिजनमा पनि प्रशारण गर्ने तयारी भइरहेको बताए । स्रोतका अनुसार सगरमाथा टेलिभिजनले मासिक १२ लाख लिएर लुजाको लाइभ प्रशारण गर्दै आएको छ । यद्यपि यो प्ररकणले टेलिभिजनले विज्ञापनका नाममा के देखाउने, के नदेखाउने भन्ने विषयमा सोच्नै पर्ने स्थिति सिर्जना गरिदिएको छ । साथै भौतिकवादमा विश्वास गर्ने कम्युनिष्टहरु मुलुकको सर्वेसर्वा भएका बेला पनि अन्धविश्वासको आडमा गरिएका यस्ता ठगी रोक्ने राज्य संयन्त्र नभएको पुष्टि भएको छ ।