Monday, March 26, 2012

नेपाली भाषा यसरी लेखौँ रे - mysansar

कमल दीक्षित, जगदीश घिमिरे, खगेन्द्र संग्रौला, हरि अधिकारी, नारायण ढकाल लगायतका केही लेखकहरुले ललितपुर घोषणापत्र, २०६८ जारी गर्दै नेपाली भाषा यसरी लेखौँ भनी संकल्प गरेका छन्। विशेष गरी यसमा मोटो ‘श’, पातलो ‘स’मा भइरहेका प्रयोग, ह्रस्वदीर्घलाई सजिलो बनाउने नाममा भएका मनपरीको विरोध गरिएको छ र पहिला जस्तो छ त्यसरी नै प्रयोग गर्ने भनिएको छ। रमाइलो कुरा त के छ भने केही अघि नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको प्राज्ञहरुको सभाले जारी गरेको यस्तै घोषणापत्रका बूँदा र यसमा निकै कुरा बाझिन्छन्। हेरौँ आफूलाई नेपाली भाषा प्रयोगकर्ता भन्ने लेखकहरुले के के भनेका छन्, घोषणा पत्र जस्ताको तस्तै

नेपाली भाषा प्रयोगकर्ताहरूको संकल्प, ललितपुर, २०६८ चैत ११

भाषामा भिजिसकेका, प्रयोगकर्ताले पचाइसकेका, सर्वत्र प्रचलित शुद्ध–स्वाभाविक हिज्जेलाई जबरजस्ती परिवर्तन गर्न खोज्नु भाषामाथि अन्याय गर्नु हो। भइरहेको प्रचलन बिथोलेर सरलताका नाममा जटिलता र दुर्बोध्यता थप्ने यस्तो अनधिकार चेष्टाले भाषामा अव्यवस्था सृजना गर्दछ। परम्परागत लेखन प्रणालीमा एकमुष्ट हस्तक्षेप गरी बलपूर्वक लागू गर्न खोजिएका कतिपय अस्वाभाविक नियमले नेपाली भाषालाई संकुचित र कमजोर बनाउँदै लगेका छन्। प्रयोगकर्तालाई अन्योलग्रस्त बनाएको यो भुमरीबाट मुक्त हुन हामीले आफैं पहल गर्नुपर्ने भएको छ।
हिज्जेका समस्या विभिन्न प्रकृतिका छन्। मुख्य समस्या चाहिं लामो समयदेखि व्यापक चलनचल्तीमा रहेका शुद्ध शब्दहरूलाई तिनको हिज्जे बिगारेर विकृत बनाइनु नै हो। यस्ता शब्दहरूबाट श–ष हटाएर तिनको ठाउँमा पातलो स मात्र राख्ने, शुरू र बीचमा रहेको दीर्घ इकार–उकारलाई ह्रस्व बनाउने प्रचेष्टा कुनै पनि दृष्टिले उपयुक्त होइन। शब्दको रूपात्मक तथा ध्वन्यात्मक पक्ष र त्यसले पार्ने प्रभावप्रति देखिएको यो असंवेदनशीलताले भाषाको ओज र सौन्दर्यमा समेत नकारात्मक प्रभाव पार्दछ। संस्कृतबाट आएका तत्सम शब्दलाई जस्ताको तस्तै राखेर अन्य भाषाबाट त्यसैगरी आएका शब्दमाथि मात्र गरिएको यो लहडबाजीले नेपाली भाषालाई अनुदार एवम् छुवाछुतवादी छवि दिएको छ जो झन् आपत्तिजनक छ। यो समग्र प्रक्रियाप्रति हामी पूर्णतः असहमति व्यक्त गर्दछौं। साथै, विवादहीन तवरले प्रचलनमा रहँदै आएका अन्य शब्दहरूको समेत श–ष–स र ह्रस्व–दीर्घमा जबरजस्ती हेरफेर गरेर भाषामा अनावश्यक विवाद, अन्योल एवं अराजकता सिर्जना नगर्न सबैलाई आग्रह गर्दछौं।
यस पृष्ठभूमिमा, हिज्जे लगायतका विभिन्न समस्याबाट उन्मुक्ति दिलाएर नेपाली भाषालाई सहज–स्वाभाविक गतिमा अघि बढाउनुपर्ने बृहत्तर दायित्वको बोध गर्दै, प्रारम्भिक कदमका रूपमा, हामी नेपाली भाषाका निम्नलिखित प्रयोगकर्ताहरू यो संकल्प गर्दछौं :
• जुनसुकै भाषाबाट आएका भए पनि, लोकव्यवहारमा पचिसकेका ‘तत्सम’ शब्दको इकार–उकार, श–ष–स आदि नबिगारी जस्ताको तस्तै लेख्ने। जस्तै —
— नीर, तीर, चीफ, जीप, टीचर, टीम, ठीक, डीन, बीच, भीड, मीटिङ, रीट, लीलाम, सीट, स्टील, हीटर आदि।
— समीप, शरीर, शहीद, अपील, कारीगर, खरीद, गरीब, जमीन, जागीर, तपसील, तस्बीर, तारीफ, तालीम, दलील, नजीक, नजीर, नतीजा, नसीब, पनीर, रईस, वकील आदि।
— खूबी, छूट, तूफान, फूटपाथ, बूट, भूल, भूटान, स्कूटर, स्कूल, लूट आदि।
— अटूट, कपूत, कसूर, कानून, कार्टून, जुलूस, देहरादून, नमूना, बावजूद, मजदूर, मजबूत, महसूस, सबूत आदि।
— शर्त, शर्बत, शहर, शान, शायद, शायर, शायरी, शिकार, शुरू, शेक्सपियर, शेखी, शेयर, शेर, शो रूम आदि।
— कुश्ती, कोशिश, कोशी, खुशी, चश्मा, जोश, दशैं, निशान, निशाना, पेशा, पिशाब, फेशन, बेहोश, मशाल, मालिश, मुश्किल, लाश, सिफारिश, होश, होशियार आदि।
• परम्परागत रूपमा दीर्घ लेखिंदै आएका शब्द यथावत् लेख्ने। जस्तै —
— कीरो, खीर, चीसो, चूलो, जीउ, तीतो, नीम, पीठो, पीर, पीरो, भीड, मीठो, मीत, रीस, शीत, हीरा≤ बीस, तीस, चालीस≤ ठूलो, दूध, धूलो, पूरा, फूल, बूढो, मूला आदि।
• नेपाली भइसकेका तत्सम शब्दमा प्रत्यय लगाउँदा मूल शब्दको ह्रस्व–दीर्घ, श–ष–स आदि जबर्जस्ती नबिगारी लेख्ने। जस्तै :
— जोशिलो, विश्वासिलो, विदेशिनु, तुषारो, पोषिलो, वर्षेनि, पुष्ट्याइँ, दुष्ट्याइँ, प्रष्ट्याउनु, वर्षिनु, स्वीकार्नु, पूर्वी, पूर्वेली, एकवर्षे, दुईवर्षे आदि।
(कमल दीक्षित, जगदीश घिमिरे, खगेन्द्र संग्रौला, हरि अधिकारी, नारायण ढकाल, रोचक घिमिरे लगायत ८० जना लेखकहरू)
यसअघिको संगोष्ठीका केही निर्णयहरु
  • संयुक्त वर्णलाई सकेसम्म हलन्त व्यञ्जनका साथ लेख्न प्रोत्साहित गर्ने
  • संख्यावाचक शब्द तीनलाई ‘तिन’ लेख्न र मध्य जनाउने शब्द बीचलाई ‘बिच’ गर्न भनिएको छ। बोटबिरुवामा अब ‘फूल’ होइन, ‘फुल’ फुल्छ भनिएको छ।
  • तत्सम शब्दमा तद्भव प्रत्यय लाग्दा आदि र मध्यमा ह्रस्व बनाउने। जस्तै : स्विकार्नु, दर्सायो, बिदेसिए, पुर्बेली, बर्से।
  • संयुक्त क्रियामा छुट्टाछुट्टै आउने सबै इकारान्त रूप दीर्घ लेख्ने, जस्तै : लेखी सकी हाल्छ, गरी दिई छ, ल्याई सकेको।