Tuesday, March 6, 2012

टि्वटर चलाउन टिप्स - onlinekhabar

सामाजिक सञ्जालका साइटहरुमा प्रभावकारी बनिरहेका साइटहरुमध्ये एक टि्वटर हो। यसमा ठूल्ठूला सेलिब्रिटीदेखि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेताहरुसमेत जोडिएका छन्। राजादेखि रङ्कसम्म जोडिएको टि्वटरलाई वास्तविक लोकतन्त्र अभ्यास हुने थलोसमेत भनिन्छ। नेपालमा भने फेसबुकको तुलनामा यसको प्रयोग गर्नेहरु कमै देखिन्छन्। बिस्तारै यहाँ पनि टि्वटर लोकप्रिय हुने क्रम बढ्दैछ। के तपाइँले पनि टि्वटर चलाउन थाल्नुभएको छ? चलाउने विचार गर्नुभएको छ? त्यसोभए मिडियाबिस्ट्रोले दिएका केही टिप्स तपाइँका लागि उपयोगी हुनसक्छ।
टि्वटरलाई सुरुमा बुझ्न केही समय लाग्न सक्छ। सुरुमा त अलमल पनि लाग्नसक्छ। केही शब्दमै भन्नुपर्ने कुरा टुंग्याउनु पर्ने हुँदा अप्ठेरो पनि लाग्नसक्छ। ह्यासट्याग र छोटो पारिएका लिंकले झनै कन्फ्युज पनि पार्न सक्छ। तर नआत्तिनुस्, यति कुरा जान्नुभयो भने पनि तपाइँले टि्वटर राम्रैसित चलाउन सक्नुहुनेछ।

टि्वटर फेसबुक हैन
यो फेसबुक जस्तो हैन। यसमा कसैलाई फ्रेन्ड रिक्वेस्ट पठाउन र स्वीकार गर्नु पर्दैन। तपाइँले आफ्नो खातालाई प्रोटेक्ट गर्नुभएन भने तपाइँको टि्वट संसारका कसैले पनि पढ्न सक्छ। तपाइँको टि्वटलाई टि्वटरमा सर्च गरेर फेला पार्न सकिन्छ। खासमा टि्वटर भनेकै सूचना तथा जानकारी बाँड्नका लागि भएकोले टि्वटर खाता प्रोटेक्ट गर्नु त्यति राम्रो ठानिन्न।

प्राविधिक शब्द
टि्वटरमा धेरै प्राविधिक शब्दको प्रयोग हुन्छ। एट साइन, ह्यासट्याग, आरटी, डीएम जस्ता केही शब्दको अर्थ र प्रयोग तपाइँले बुझ्नै पर्ने हुन्छ। टि्वटरले त्यस्ता शब्दको सूचि यहाँ राखेको छ।

युजरनेम
टि्वटरमा १५ शब्दको भन्दा बढी युजरनेम राख्न पाइन्न। तर यो युजरनेम जतिबेला पनि परिवर्तन गर्न सकिन्छ। त्यसरी परिवर्तन गर्दा अरुले त्यही नाम भने राखिसकेको हुनुहुन्न। युजरनेम चेन्ज गरिराख्नु राम्रो हुन्न। त्यसैले एक पटक राम्रो युजर नेम छान्नुस् र त्यसैमा अडिग रहनुस्। केही राम्रो भेटिहाल्यो भने परिवर्तन गर्नुस् तर सबैलाई जानकारी पनि दिनुस्। तपाइँको युजरनेम जति छोटो भयो त्यति राम्रो हुन्छ। रिटि्वट गर्न र लामो टि्वटमा तपाइँलाई ट्याग गर्न सजिलो हुन्छ युजरनेम छोटो हुँदा।

पहिले बुझ्दा पनि हुन्छ
टि्वटरमा गजब गजबका जानकारी र तथ्यांकहरु हुन्छन्। त्यो हेर्न तपाइँले टि्वट गर्नै पर्छ भन्ने छैन। पहिले अरुका टि्वटहरु हेरी बुझ्दा पनि हुन्छ। आफूलाई आवश्यक हुने खालका जानकारी दिन सक्ने मान्छेका टि्वटरलाई फलो गर्न थाले हुन्छ।

कति शब्दको टि्वट गर्ने
टि्वटरमा १४० शब्दको टि्वट गर्न पाइन्छ। यो अंग्रेजी शब्दको गणना हो। नेपालीमा आकार इकार तर्कुले जस्ता चिह्न लगाउँदा पनि एक शब्द गणना हुने भएकोले जतिसक्दो छोटो शब्दमा आफ्ना कुरा टुंगाइहाल्नुपर्छ। मान्छेलाई त्यसप्रति धारणा राख्न र रिटि्वट पनि गर्न सजिलो पार्ने हो भने अंग्रेजीमा १२० शब्दको टि्वटलाई राम्रो मानिन्छ।

लिंक छोटो पार्ने
टि्वटरमा थोरै शब्द प्रयोग हुने भएकोले लामा लिंकहरुलाई छोटो बनाउनु पर्छ। पहिले भए लिंक छोटो पार्न तेस्रो पक्षको सेवा प्रयोग गर्नुपर्थ्यो। अहिले भने टि्वटर आफै t.co मा छोट्याइदिन्छ। तपाइँले सेयर गर्नुभएको लिंकमा कतिजनाले क्लिक गर्‍यो भनेर थाहा पाउन चाहनुहुन्छ भने चाहिँ bit.ly  वा goo.gl को प्रयोग गर्न सक्नुहुन्छ।

डाइरेक्ट मेसेज
सार्वजनिक रुपमा अरुले नदेखिने गरी कसैलाई केही भन्न डीएम अर्थात् डाइरेक्ट मेसेजको प्रयोग गर्न सकिन्छ। तर जसलाई तपाइँले फलो गर्नुभएको छ, उसलाई मात्र डीएम गर्न सक्नुहुन्छ। स्पामबाट बचाउन यस्तो गरिएको हो। यदि कसैले तपाइँलाई डीएमबाट दिक्क पारिरहेको छ भने उसलाई अनफलो गर्नुस्, समस्या समाधान।

फलोब्याक गर्नु पर्दैन
अधिकांश नेपाली टि्वटर प्रयोगकर्ताहरुमा कसैले फलो गर्‍यो भने उसलाई पनि फलो गर्नु पर्ने र अनफलो गर्‍यो भने ठूलै केही भएको जस्तो गरी रिसाउने गरेको पाइन्छ। वास्तवमा कसलाई फलो गर्ने र नगर्ने भन्ने तपाइँको इच्छा हो। कसैलाई फलो गर्नु बाध्यकारी हुँदैन। आफूलाई आवश्यक लाग्ने मान्छेहरुलाई मात्र फलो गर्नुस्।

रिप्लाइ
@ साइनपछि युजरनेम राखेर टि्वट गर्नुभयो भने त्यो रिप्लाइ हुन्छ। त्यो टि्वट तपाइँले जसलाई जवाफ दिनुभएको हो उसले र तपाइँहरु दुवैलाई फलो गर्ने मान्छेले मात्र देख्छ। अरुले भने आफ्नो स्ट्रिममा देख्दैन। तर तपाइँको प्रोफाइल पेज र टि्वटर सर्चमा भने यो देखिन्छ है।

ट्याग
टि्वटको सुरुमा बाहेक अन्यत्र @ साइन राखी युजरनेम राख्नुभयो भने त्यसलाई मेन्सन भनिन्छ। तपाइँलाई फलो गर्ने सबैले यो मेसेज देख्छन्। यो रिप्लाई र ट्यागको फरक बुझ्न जरुरी छ। वर्षौँदेखि टि्वटर चलाइरहेकाहरुले पनि यो दुईको फरक नबुझेका उदाहरण छन्।

कसैलाई पनि रिप्लाइ गर्न र फलो गर्न नभन्नुस्
यसलाई राम्रो मानिन्न। कसैलाई आवश्यक लाग्यो भने उनीहरु आफैले गर्नेछन्। टि्वटरमा सभ्य समाजमा जस्तो सभ्य व्यवहार देखाउनुस्। उग्र हुनुभयो भने तपाइँलाई ब्लक गर्नेछन् मानिसहरुले ।