Friday, March 14, 2014

चिनियाँ एप्सः जो ह्वाट्स एपभन्दा मूल्यवान र फेसबुकभन्दा शक्तिशाली छ - onlinekhabar




वीच्याटको बिज्ञापनमा फुटवल स्टार लियोनल मेस्सी

पछिल्ला दिनमा ह्वाट्स एप, स्न्यापच्याट, लाइन, काकाओटक, ट्याङ्गो लगायतका डाइरेक्ट म्यासेजिङ एपको चर्चा चुलिएको छ । ह्वाट्सएपलाई फेसबुकले १९ अर्ब डलरमा किनेसँगै बिश्वका बिभिन्न मुलुकमा करोडौं प्रयोगकर्तामाझ लोकप्रिय यस्ता एप्स ग्लोबल टेक इन्भेष्टरको प्राथमिकतामा पर्न थालेका छन् ।

पश्चिमा संसारका हरेक महत्वपूर्ण उत्पादनलाई अस्वीकार गर्दै आफ्नै मुलुकमा समामानान्तर उत्पादनलाई प्रर्बद्धन गर्ने चीनमा ह्वाट्सएपभन्दा पनि लोकप्रिय डाइरेक्ट म्यासेजिङ एप छ जसले अब बिश्वब्यापी संजाल विस्तार गर्ने तयारी गर्दैछ ।

हालै भारतीय बजारमा समेत सेवा सुरु गरेको ‘वी च्याट’का अहिले झण्डै ३० करोड प्रयोगकर्ता छन् । वीच्याटलाई चिनियाँ नागरिक, कर्पोरेट र सरकारले पनि उत्तिकै प्राथमिकताका साथ प्रयोग गर्छन् ।

यसका लगानीकर्ताले वीच्याटलाई अन्तराष्ट्रियकरणका लागि सवैभन्दा धेरै सम्भावना भएको चिनियाँ उत्पादनको रुपमा लिएका छन र सोहीअनुसार बजार विस्तारको अभियानमा जुटेका छन् ।

वीच्याट ह्वाट्सएपभन्दा भर्सटाइल छ । प्रयोगकर्ताहरु टेक्स्ट, तस्वीर, भिडियो एकअर्काको स्मार्टफोनमा पठाउन पाउँछन, डेटिङका लागि एकअर्कालाई निम्त्याउन सक्छन र त्यसैमार्फत् ट्क्यासी बुक गर्न वा ट्याक्सीभाडा तिर्न पनि सक्छन् ।

‘वीच्याट अत्यन्तै प्रयोगकर्तामैत्री प्याटफर्म हो जसलाई प्रयोगकर्ताले दैनिक कुनै न कुनै कामका लागि प्रयोग गरिरहन्छन’ कण्डोम कम्पनी डुरेक्सका ब्राण्ड म्यानेजर फे झाओ भन्छन । डुरेक्सले हालै आफ्ना २ लाख फलोअरलाई प्रेम कथा लेखेर वीच्याटमा पोष्ट गर्न अपिल गरेको थियो ।

बिश्लेषकहरुका अनुसार चीनमा सवैभन्दा लोकप्रिय रहेको माइक्रोब्लगिङ वीबो, जसलाई चिनियाँ ट्वीटर पनि भनिन्छ, मा सरकारले निगरानी बढाएपछि चिनियाँ प्रयोगकर्ताहरु वीच्याटतिर आर्कर्षित भएका हुन् ।

सन् २०१३ बाट ब्यबसायिक प्रयोगका लागि खुला गरेको वीच्याटको स्वामित्व टेनसेन्ट कम्पनीसँग छ । वीच्याट प्रयोगकर्ताका लागि निःशुल्क छ तर इमोसन, गेम लगायतका सेवाका लागि केही पैसा लिन्छ । हालै फेसबुकले ह्वाट्सएप किनेपछि हङकङ स्टक एक्सचेन्जमा टेनसेन्टको मूल्यमा निकै बृद्धि भएको थियो ।

बिश्वब्यापी बन्ने दाऊ

सन् १९९८ मा सेन्जेनमा स्थापित कम्पनी टेनसेन्ट चीनको सवैभन्दा ठूलो इन्टरनेट कम्पनी हो जसलाई अलिबाबा र सर्च इन्जिन बाइदुको हाराहारीमा राखेर हेरिन्छ ।

फर्मका सिइओ एवं संस्थापक पोनी मा वी च्याटलाई बिश्वबजारमा स्तथापित बनाउने सपना साकार बनाउने दाऊ साच्दै छन् । जसले यो बर्षमात्र बिदेशमा बजार विस्तारका लागि २० करोड डलरको बजेट छुट्टाएका छन र मेस्सीलाई ब्राण्ड एम्बासडर बनाउँदै आक्रामक बिज्ञापन पनि निर्माण गरेका छन् ।


भारतमा वीच्याट लञ्च गर्दै अभिनेता भरुन धावन र अभिनेत्री परिणीति चोपडा

कम्पनीले ठूलै अपेक्षाका साथ ग्लोबल बजारमा आफ्नो हिस्सा बढाउने तयारी गरेको भएपनि चिनियाँ सामाजिक संजालमा हुने सरकारी निगरानी र हस्क्षपेका कारण उसको अपेक्षा पुरा हुन कठिन हुने बिश्लेषण गरिएको छ । अमेरिकी र युरोपेलीहरुले चिनियाँ दुरसंचार उपकरण निर्माताले जासुसी गरेको आरोप लगाइरहेका बेला के चिनियाँ म्यासेजिङ एपलाई ती देशका उपभोक्ताले बिश्वास गर्लान ? आफ्नो ब्यक्तिगत सूचनामाथि चिनियाँ सरकारले निगरानी गररहेको महसुस भएमा प्रयोगकर्ताले वीच्याटलाई अंगाल्न हिच्किचाउने बिश्लेषकहरुको दावी छ ।

–एएफपीको समाचारमा आधारित

- See more at: http://www.onlinekhabar.com/2014/03/175942/#sthash.zaL1adan.dpuf