Wednesday, March 26, 2014

चिलिमे सेयरमा लुट - annapurnapost


विकास थापा |

जलविद्युत्‌मा स्थानीय वासिन्दाको स्वामित्व रहोस् र त्यसको लाभ विकट आयोजना प्रभावित क्षेत्रका जनताले पाऊन् भन्ने उद्देश्यले स्वदेशी लगानीमा निर्मित चिलिमे जलविद्युत् कम्पनीले तीन वर्षअघि स्थानीय वासिन्दालाई १० प्रतिशत सेयर दियो। कुल १८ गाविसमध्ये आयोजना प्रभावित तीन र बाँकी १५ गाविसलाई प्रिमियम र साधारण गरी कम्पनीले नौ लाख ६० हजार कित्ता सेयर वितरण गरेको थियो।
चिलिमेको अहिलेको प्रतिसेयर बजार मूल्य एक हजार ६ सय ७० रुपैयाँ छ। गत माघ १२ गतेदेखि धितोपत्र बोर्डले स्थानीय वासिन्दाको सेयर कारोबार गर्न अनुमति (लकिङ पिरियड समाप्ति) दिनेबित्तिकै सेयरका दलालहरू गाउँगाउँ पुगेर 'हिमालमा हिउँ सुकिसक्यो, अब चिलिमेको बिजुली उत्पादन घट्छ, नाफा आउँदैन सेयर बेचिहाल' भन्दै सोझा गाउँलेको सेयर उठाएर ल्याए। उनीहरूले प्रतिसेयर ६ सयदेखि नौ सय रुपैयाँमा स्थानीयलाई दिएर १७ सयमा बेचे।
यसरी सोझा गाउँले ठगिएको त्यतिखेर थाहा पाए, जतिखेर चिलिमे कम्पनीले स्थानीय तहमै गएर सेयर नबेच्न अनुरोध, गर्‍यो, विज्ञप्ति सार्वजनिक गरेर सबैलाई सजग गरायो। कम्पनीले थाहा पाउँदा तीन लाख कित्ता सेयर दलालहरूले बेचाउन सफल भइसकेका थिए। यसरी १७ सय पर्ने सेयरलाई ६ सयमा बिक्री गराउने दाउमा रहेका दलाका गिरोहले बोनससहितको स्थानीय वासिन्दाका पूरै २२ लाख ७१ सय तीन सय ६० कित्ता सेयर एवंरीत बिक्री गराउने योजनामा रहेको खुल्न आयो।
स्थानीय वासिन्दाको नाममा रहेको यो सेयरको रकम हालको बजार मूल्यअनुसार तीन अर्ब ७४ करोड ७७ लाख रुपैयाँ हुन आउँछ। चिलिमेकै कारण प्रतिघर अहिले औसतमा २० लाख रुपैयाँ बराबरको सम्पत्ति स्थानीय वासिन्दाको नाममा छ। यसरी आफ्नो गाउँठाउँको जलविद्युत्‌ले समृद्ध पारेको रसुवाका सोझासीधासितको अर्बौं रुपैयाँ लुट्ने योजना केही दलालहरूको मात्र हरकत होइन। यो कृत्यमा रसुवादेखि काठमाडौंसम्मका ठूलो गिरोहको संलग्नता छ। विभिन्न आधारहरूले यो संलग्नतालाई पुष्टि पनि गरेको छ।
स्थानीय वासिन्दालाई जानकारी र सूचनाको अभावमा ठगहरूले ठग्न थालेको थाहा पाएर चिलिमे कम्पनीले गत फागुन ४ गते धुन्चेमा बृहत् कार्यक्रम आयोजना गरेको थियो। हिजो सेयर किन्नुपर्छ, किनेमा यति र यसरी फाइदा हुन्छ भन्ने चेतना चिलिमेले रसुवाका एक सय पाँच विद्यालयका शिक्षकहरूमार्फत दिलाएको थियो। अहिले ठगहरूले ठग्न थालेपछि सचेत गराउन तिनै शिक्षकहरूले स्थानीयलाई सूचित गराइदिन चिलिमे कम्पनीले आग्रह गर्दा उनीहरू भागे।
स्वयं उद्योग वाणिज्य संघ, रसुवाको ब्यानरमा आयोजना गरिएको कार्यक्रममा संघका पदाधिकारी अनुपस्थित रहे। जिल्ला शिक्षा अधिकारी बद्रीनारायण शर्मालाई हरेक विद्यालयका दुईजना, नभए कम्तीमा एकजना शिक्षक उपस्थित गराइदिन चिलिमे कम्पनीले आग्रह गरेको थियो। शर्माले सुरुमा हुन्छ भने, पछि भागे। मोबाइलमा फोन गर्दा काठमाडौं रहेको भनेर बेपत्ता भए। स्थानीय राजनीतिक दलका कुनै नेता, कार्यकर्ता आएनन्।
चिलिमेले आफ्नो कम्पनीका सदस्यहरूको आर्थिक हितरक्षा गर्न र लुट्नबाट जोगाउन खोज्दा कथित नागरिक समाज, स्थानीय राजनीतिक दलका नेता, उद्योग वाणिज्य संघ कतैबाट सहयोग नपाएपछि धितोपत्र बोर्ड, नागरिक लगानी कोषलाई पत्र लेखेर सेयरको प्रमाणीकरण गर्ने, एकान्टपेयी चेकबाट मात्र भुक्तानी गर्नेलगायतका प्रयास भए। दलालहरू कतिसम्म सक्रिय रहे भने स्वयं आफ्नै नाममा ब्यांक खाता खोलेर ब्यांकबाट भुक्तानी लिनसम्म सफल भए।
कुल ४३ हजार जनसंख्या र नौ हजार सात सय ४१ घरधुरी (जनगणना, २०६८) मध्ये ३० हजार जनाले चिलिमेको सेयर पाएका छन्। चिलिमेका जनता यसरी दिनदहाडै लुटिँदा राजनीतिक दलका नेता, निर्वाचित सभासद्को रबैयाले यो लुटमा सबैको प्रत्यक्षपरोक्ष सहमति/संलग्नता रहेको प्रस्ट देखिन्छ। अर्को शब्दमा यो संगठित लुट हो। यो लुटमा जिल्लादेखि केन्द्रका ठूलाबडाको समेत संलग्नता छ। रसुवाबाट प्रतिनिधित्व गर्ने सभासद्हरूले जनता यसरी लुटिँदा चुँसम्म बोलेका छैनन्।
जलविद्युत् आयोजनामा जथाभावी माग राखेर बखेडा झिक्ने राजनीतिक दलका स्थानीय नेताहरू पनि यो प्रकरणमा मौन छन्। लुट प्रकरण रोक्न सक्दो प्रयत्न गर्ने चिलिमेका प्रबन्धनिर्देशक कुलमान घिसिङलाई दिनहुँजसो ज्यान मार्ने धम्की आइरहेको छ। चिलिमे निश्चय पनि आकर्षक कम्पनी हो। यसले अहिले एकसाथ दुई सय ८० मेगावाटका चारवटा आयोजना एकसाथ निर्माण गरिरहेको छ।
साञ्जेन, माथिल्लो साञ्जेन, रसुवागढी र मध्यभोटेकोसीमा चिलिमे कम्पनी आफैं बहुमत संस्थापक लगानीकर्ता हो। यी चार आयोजना भनेका भोलिका दिनमा सुनको अन्डा पार्ने कुखरा हो। सेयरका दलालहरूले यो कुरा राम्ररी बुझेका छन्। सेयर र बोनस सेयरसमेत गरी स्थानीयको मात्र एक अर्ब ६६ करोड रुपैयाँ लगानी हुँदैछ।
अबको चार वर्षपछि चिलिमे, रसुवागढी र साञ्जेनबाट मात्र स्थानीयलाई ४८ करोड ३० लाख रुपैयाँ लाभांश प्राप्त हुँदैछ। यी सहायक कम्पनीसमेत जोड्दा चिलिमेको सेयर सबैभन्दा महँगो हुनेछ। चिलिमेमा रसुवाका आयोजना प्रभावित तीन गाविसले सुरुमा प्रतिपरिवार तीन सय ३५ कित्ता सेयर पाएका थिए। उनीहरूले त्यतिखेरा जम्मा ७२ हजार रुपैयाँको सेयर पाएका थिए। बाँकी १५ गाविसका व्यक्तिले प्रतिपरिवार दुई सय २५ कित्ताका दरले ७२ हजार रुपैयाँ हालेका थिए।
अहिले आएर ती तीन गाविसका वासिन्दाको सेयर प्रतिपरिवार सात सय ९० (बोनस सेयर समेत) पुग्यो भने यसको सेयर मूल्य १३ लाख रह्यो। बाँकी १५ गाविसका प्रतिपरिवारले पाँच सय ३० कित्ता सेयर पाए, मूल्य आठ लाख ७४ हजार रुपैयाँ पुग्यो। यसरी समग्रमा भन्नुपर्दा रसुवाका प्रति परिवारको हातमा न्यूनतम औसतमा १० लाख रुपैयाँ बराबरको सम्पत्ति (सेयर) छ।
यसबाहेक चिलिमेका सहायक कम्पनीहरूबाट बिजुली उत्पादन भइसकेपछि हुने प्रतिफलको लोखाजोखा छैन। त्यसैले प्रतिफलका नेपालको हालसम्म सबैभन्दा आकर्षक रहेको कम्पनी चिलिमेको सेयरमा दलालहरूको आँखा परेको हो।
सेयर बिक्री गर्न खुला भएपछि रसुवाकै दलालहरूले काठमाडौंका ठूला दलालहरूलाई स्थानीयका घरघर गई नागरिकता प्रतिलिपि, नक्कली मञ्जुरीनामा, सेयरधनी प्रमाणपत्रको फोटोकोपी दिलाए। स्थानीय दलालको सहयोगबिना यी काम सम्भव थिएन। स्थानीयले जिल्ला प्रशासनमा उजुरी हाल्दासमेत प्रमाण नपुगेको भनेर कारबाही भएन। अझै पनि यो क्रम रोकिएको छैन। जिल्लाका सबै प्रमुख अंगहरूले सहयोग नगर्दा स्थानीय सोझासीधा लुटिने क्रम नरोकिएको हो।
नियामक निकाय धितोपत्र बोर्डले चिलिमे कम्पनीबाट प्रमाणीकरण गरेर मात्र सेयर किनबेच गर्ने व्यवस्था मिलाएको भए सोझासीधा यसरी ठगिने थिएनन्।
काठमाडौंबाहिरका कुनाकन्दराका जनता पनि सेयरका मालिक छन् भन्ने सायद बोर्डले अनुभव गरेन। काठमाडौंका सुकिलामुकिला र रसुवाको हाकु गाविसका जनताको चेतनाको स्तर एउटै छैन। राज्य संयन्त्रले दलाललाई रोक्न मात्र होइन, यो अपराधमा संलग्नलाई कारबाही गर्न सक्छ। तर राज्यका निकायहरू पनि यो लुटतन्त्रमा उदासीन देखिएका छन्।
रिडी, सानिमा हाइड्रोलगायत सेयर जारी गरिसकेका र गर्ने क्रममा रहेका अरू कम्पनीका सोझासीधा सेयर धनीले यो नियति व्यहोर्न नदिन ब्यांक तथा धितोपत्र बोर्ड र कम्पनीहरू बेलैमा सचेत हुनु जरुरी देखिन्छ। हिजो आफ्नै गाउँठाउँको कम्पनीको मालिक आफैं हुन पाइने, सेयरको अधिकत मूल्यका कारण काम खोजी गर्न बिदेसिनुनपर्ने, स्थानीय तहमै उद्योग, व्यापार गर्न सकिने र आयोजनालाई दीर्घकालसम्म माया गरी यसको दिगोपना जगेर्ना गर्ने उद्देश्यले वितरीत चिलिमेको सेयरमा भएको लुट अझै जारी हुनु अर्को विडम्बना हो।