Monday, March 10, 2014

माइक्रोसफ्टले विन्डोज एक्सपी छोड्ने - aarthikdainik

माइक्रोसफ्टले आगामी महिनाबाट उसको अत्यन्त लोकप्रिय अपरेटिङ सिस्टम माइक्रोसफ्ट विन्डोज एक्सपीबाट सपोर्ट समाप्त गर्ने भएको छ । यसको अर्थ सो सफ्टवेयरका लागि अब नयाँ सेक्युरिटी फिचर, सफ्टवेयर अपडेट र बग फिक्सेज जारी हुनेछैन । सो बारेमा माइक्रोसफ्टले मानिसहरू र व्यापारीहरूलाई कयौँ महिनादेखि सचेत गराइरहेको थियो । अप्रिल ८ बाट माइक्रोसफ्टले सो सिस्टममा कुनै सहयोग गर्नेछैन । माइक्रोसफ्टको सो कार्यको उद्देश्य मानिसहरूलाई विन्डोजको नयाँ संस्करणहरूतर्पm लानु हो । सो बारेमा माइक्रोसफ्टले एक वेबसाइट तयार गरेको छ । सो वेबसाइटअनुसार मार्च ८ को दिन सो अपरेटिङ सिस्टमको प्रयोग गर्नेहरूको स्क्रिनमा एक चेतावनी आउनेछ जसको ठीक एक महिनापछि एक्सपीका लागि सम्पूर्ण सपोर्ट समाप्त हुनेछ । मानिसहरूलाई विन्डोजको नयाँ संस्करणमा लैजानका लागि माइक्रोसफ्टले केही अन्य सफ्टवेयर फर्महरूसँग पनि काम गरिरहेको छ जसबाट मानिसहरूलाई सहयोग गर्न सकियोस् ।

लामो यात्रा

विन्डोज एक्सपीको बिक्री सन् २००१ अक्टोवरमा सुरु भएको थियो र यसलाई ग्राहकहरूले अत्यन्त मन पराए । बजार शोध फर्म नेट एप्किेसन्सका आँकडाअनुसार सन् २०१२ अगस्टसम्म यो माइक्रोसफ्टको सबैभन्दा धेरै प्रयोग हुने अपरेटिङ सिस्टम बनेको थियो । यद्यपि पछि विन्डोज–७ अगाडि भयो । परामर्श फर्म गार्टनरमा शोध उपाध्यक्ष माइकल सिल्भरले भन्नुभयो– ‘मेरो के अनुमान छ भने अप्रिल ९ मा पनि करिब २० देखि २५ प्रतिशत इन्टरप्राइज पीजी एक्सपीमा नै काम गरिरहेका हुनेछन् ।’ सो सफ्टवेयर अहिले पनि केही सरकारी संस्थानहरूमा अत्यन्त लोकप्रिय छ र केही अध्ययनबाट के पत्ता लागेको छ भने विश्वमा अधिकांश क्यास मेसिनहरूमा अहिले पनि यसको प्रयोग भइरहेको छ । सिल्भरका अनुसार सो सफ्टवेयरको लामो उमेरको कारण यो होइन कि एक्सपीमा अन्यहरूको तुलनामा केही विशेष छ, बरु यसको ठूलो कारण भनेको पछि आउने संस्करणहरूमा ढिलाई हुनु हो । यस्तोमा सो अपरेटिङ सिस्टमको सपोर्टले लाइफलाई बढाइयो । लामो समयसम्म एउटै अपरेटिङ सिस्टममा काम गरेपछि कम्पनीहरूलाई यसबाट एक किसिमले लगाव जस्तै भएको छ ।
माइक्रोसफ्टको चिन्ता

एक प्रश्न यो पनि छ कि आखिर माइक्रोसफ्ट मानिसहरूले एक्सपीको प्रयोग बन्द गरुन् भन्ने किन चाहन्छ । यस्तो यसकारण हो कि एकपटक सिक्योरिटी अपडेट बन्द भएपछि यदि मानिस फेरि पनि एक्सपीको प्रयोग गरे भने हाइटेक चोरले उसको सिस्टममा नोक्सान पु-याउन सक्छ भन्ने डर माइक्रोसफ्टलाई रहेको छ । विन्डोज–७ र विन्डोज–८ मा साइबर हमलाकारीहरूबाट अपरेटिङ सिस्टमको आन्तरिक कार्यप्रणाली लुकिरहोस् भन्ने हिसाबले प्रविधिको प्रयोग गरिएको छ । यस्तोमा यदि कसैले एक्सपीको प्रयोग गर्दछ भने विन्डोज–७ र विन्डोज–८ को तुलनामा उसको पीसीमा सजिलै हमला हुने आशङ्का धरै हुन्छ । सेक्युरिटी फर्म फायर आईका जासन स्टिरले दुर्भाग्यले एक्सपीलाई लिएर सबैभन्दा ठूलो खतरा माइक्रोसफ्टको नियन्त्रणभन्दा बाहिर रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विन्डोज एक्सपीको करिब ९० प्रतिशत जोखिम थई प्रोग्राममा पाइन्छन् ।’ यसको अर्थ साइबरक्रिमिनलले विन्डोज युजर्ससम्म पुग्नका लागि एडोब् वा ओरेकलको जाभाजस्तो प्रोग्राममा बगको प्रयोग गर्दछन् ।

एन्टी–भाइरस

यस्तोमा सेक्युरिटी सपोर्ट समाप्त गर्नुको अर्थ त्यस्ता पीसीमा धेरै नै सजिलो तरिकाले हमला गर्न सकिन्छ भन्ने हो । यस्तोमा एउटा राम्रो समाचार आएको छ कि केही एन्टी–भाइरस कम्पनीहरूले एक्सपीलाई ध्यानमा राखेर भाइरसको रोकथाम गर्ने उत्पादन बनाउने योजना बनाइरहेका छन् । जासन स्टिरका अनुसार जति कम्पनीहरूले अहिलेसम्म आफ्नो सफ्टवेयरलाई अपग्रेड गरेका छैनन् उनीहरूले आगामी ३० दिनमा सो परिवर्तनलाई लागु गर्न सक्नेछैनन् । उहाँले यसमा कयौँ महिना लाग्नेछ । यसबीचमा तिनीहरूमाथि जोखिम अत्यधिक हुनेछ । विन्डोज एक्सपी चीनमा अत्यधिक लोकप्रिय छ तर ती मेसिनहरूमा माइक्रोसफ्टको नियन्त्रण अत्यन्त कम छ किनकी तिनीहरूमा केही सो सफ्टवेयरको नक्कली संस्करणहरूबाट चलिरहको छन् । यसैबीच चीनका अधिकारीहरूले माइक्रोसफ्टसँग मिलेर एक्सपीको सपोर्टलाई बढाउनका लागि आग्रह गरेको बताइएको छ । यद्यपि माइक्रोसफ्टले यसलाई अस्वीकार गरेको छ ।