Friday, March 7, 2014

‘पहुच उद्योगसम्म मात्र सीमित थिएन’ - aarthikdainik

 
एजेन्सी ,
नया दिल्ली, फागुन २१ ,





सहारा प्रमुख सुब्रत रोयले लखनऊ प्रहरीसमक्ष आत्मसमर्पण गरिसक्नुभएको छ । एसएसपी प्रवीण कुमारका अनुसार प्रहरीले उहाँलाई गिरफ्तार गरेको हो । सुब्रत रोयका छोरा सीमान्तो रोयले दिल्लीमा एक पत्रकार सम्मेलनमा भन्नुभयो– ‘अहिलेको समय म तपाईंसँग कुराकानी गरिरहेको छु, सहारा श्री उत्तर प्रदेश प्रहरीसँग हुनुहुन्छ, उहाँले लखनऊ प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको हो, उहाँले सुप्रिम कोर्टको निर्देशानुसार अधिकारीहरूसँग पूरै सहयोग गरिरहनुभएको छ ।’  सुप्रिम कोर्टको आदेशमा गिरफ्तार हुनुभएका सुब्रत रोय भारतको जल्दोबल्दो र रहस्यमयी उद्योगपतिहरूमध्येको एक हुनुहुन्छ । उहाँ भारतको प्रमुख व्यापारिक घराना सहारा इन्डियाको अध्यक्षसमेत हुनुहुन्छ । सहारा समूहसँग ६८२ अर्ब भारुको सम्पत्ति छ । वित्त क्षेत्रबाट आफ्नो व्यवसाय सुरु गरेको सो सहारा मेनुफेक्चरिङ, विमान र मिडियाको क्षेत्रमा पनि गएको छ ।

विदेशमा कारोबार

सुब्रत रोयको कारोबार विदेशमा पनि पैmलिएको छ । उहाँ न्यूयोर्कको ल्यान्डमार्क प्लाजा होटल र लन्डनको ग्रसवेनर हाउसको पनि मालिक हुनुहुन्छ । सहारा इन्डिया भारतीय हकी टिमको प्रायोजक पनि हो । साथै उहाँको फोर्स इन्डिया नामको फर्मूला वान टिममा पनि हिस्सा रहेको छ । एघार लाखभन्दा धेरै कर्मचारीहरूका साथ सहारा इन्डिया भारतमा रोजगार दिने निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी हो । सुब्रत रोय आफ्नो विलासितापूर्ण जीवनशैली र उच्च राजनीतिक पहँुचलाई लिएर प्रायः चर्चामा आइरहनुहुन्छ ।

चर्चित विवाह

उहाँ बलिउड सुपरस्टार अमिताभ बच्चनलाई आफ्नो मित्र भन्नुहुन्छ भने बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरसँग कुम मिलाएको अवस्थामा देखिनुहुन्छ । सन् २००४ मा भएको सुब्रत रोयका दुवै छोराको विवाहको समारोह करिब १५ दिनसम्म मनाइएको थियो । यसलाई यस शताब्दीको सबैभन्दा चर्चित भारतीय विवाह भनिएको थियो र सो विवाह मिडियामा छाइरहेको थियो । सो विवाह समारोहमा करिब १० हजार मानिस सहभागी भएका थिए । त्यसमा व्यवसाय जगतका हस्तीहरू, बलिउडका सिताराहरू, क्रिकेट खेलाडी र फेसन जगत्का दिग्गज सहभागी भएका थिए । ती अतिथिहरूलाई विशेष विमानहरूबाट लखनऊ लगिएको थियो । तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयी पनि नवविवाहित जोडीहरूलाई आशीर्वाद दिन पुग्नुभएको थियो । सुब्रत रोयका आलोचकहरूका अनुसार उहाँले आफ्नो कम्पनीलाई एक पन्थजस्तै गरी चलाउनुहुन्छ र स्वयम्लाई कम्पनीको प्रबन्ध कार्यकर्ता बताउनुहुन्छ । उहाँ स्वयम्लाई सहारा परिवारको अभिभावक भन्नुहुन्छ ।

राजसी ठाटबाट

सहारा प्रमुख ठाँटबाटसँग बस्नुभएको छ । उहाँसँग निजी विमानहरू र हेलिकप्टरहरूको आफ्नै बेडा छ । उहाँको एउटा घर अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको जस्तै बनेको छ । एक निजी सहरमा बनेको उहाँको एक घर लाखौँ डलरको लागतमा तयार भएको हो जुन बेलायतको शाही निवास बकिङ्घम प्यालेसको अनुकृति हो । समाचारहरू अनुसार उहाँसँग रोल्स रोयस, बेनटली र बीएमडब्ल्यूजस्ता महँगा कारहरूको बेडा छ । ६५ वर्षीय सहारा प्रमुख उत्तर प्रदेशको राजधानी लखनऊमा बस्नुहुन्छ । भारतीय समाचार पत्रपत्रिकाहरूमा उहाँलाई प्रायः भारतको सबैभन्दा अधिक प्रभावशाली व्यवसायी बताइन्छ । अहिले सुब्रत रोय गलत कारणहरूले चर्चामा रहनुभएको छ । लगानीकर्ताहरूको करोडौँ रुपैयाँ फिर्ता नगरेको मामिलामा सुप्रिम कोर्टमा पेश नभएका कारणबाट अदालतले उहाँको विरुद्धमा गैर जमानती वारेन्ट जारी गरेको थियो ।

गैरकानुनी बन्ड

उहाँका दुई कम्पनीले पाँच वर्ष पहिला करिब २४० अर्ब भारुको राशि एक गैरकानुनी बन्डमार्पmत् जुटाएका थिए । अधिकारीहरूका अनुसार अदालतको आदेशपछि पनि उहाँ लगानीकर्ताहरूको पैसा फिर्ता गर्न असफल रहनुभएको छ । अलग–अलग कारण बताएर सुब्रत रोय अदालतमा प्रस्तुत हुनबाट बचिरहनुभएको छ । गत बुधबार उहाँका वकिलले अदालतलाई उहाँकी ९२ वर्षीय आमाको स्वास्थ्य ठीक नभएको र आमाले उहाँको ठूलो छोरा आपूmसँगै रहोस् भन्ने चाहनुभएको बताउनुभएको थियो । सो दलिलप्रति सुप्रिम कोर्टले आफ्नो धैर्य गुमाएको देखिएको छ । गत साता न्यायाधीशहरूले सहाराका प्रमुखहरूले यदि लगानीकर्ताहरूको पैसा फिर्ता गरेनन् भने उनीहरूलाई जेल पठाउन सकिने बताएका थिए ।