विश्वकान्ति कलावती पराजुली सुमार्गी
मकवानपुर जिल्लाको दामन गाविसको घर्ती खोलामा विसं. १९९०, २६ पुसमा जन्मिएका रुपचन्द्र विष्टलाई रहस्यमय व्यक्तित्वका रूपमा चित्रित गरिन्छ । आजीवन जनताको पक्षमा लडेका विष्टलाई कतिले पागल पनि भने । पञ्चायतकालमा चर्चित विष्टको ‘थाहा’ अभियान अहिले ओझेलमा छ । ०५६ असारमा विष्टको वीर अस्पतालमा निधन भयो । उनलाई चिन्ने र उनीसँग संगत गर्नेहरू उनलाई ‘जनताका मान्छे’ भन्न रुचाउँछन् । ‘थाहा’ अभियानमा झन्डै २० वर्ष विष्टसँगै कार्यक्रममा सहभागिता जनाएकी मकवानपुरकी विश्वकान्ति कलावती पराजुली सुमार्गी अहिले पनि बारम्बार विष्टलाई सम्झिन्छिन् । प्रस्तुत छ, उनको सम्झना :
पहिलो भेट
पहिलोपटक मैले रुपचन्द्र विष्ट
(रुदाने)लाई नख्खु जेलमा देखेकी थिएँ । मेरो बुबा (कलानाथ अधिकारी)लाई
राजनीतिमा लागेको आरोपमा पक्राउ गरेर नख्खु जेलमा राखिएको थियो, उहाँलाई
भेट्न जाँदै पहिलोपटक मैले रुदानेलाई देखेँ । म त्यस्तै ११ वर्षजतिकी थिएँ
होला । बुबालाई नख्खु जेलमा भेट्न जाँदा उहाँले रुदानेलाई देखाएर भन्नुभयो,
‘त्यो मान्छे पालुङको हो । पालुङमा जनतालाई सहयोग गरेको र राजनीतिमा
लागेकाले समातिएको रे । अत्यन्तै असल मान्छे छ । झुटो बोल्दैन ।’ बुबाले
रुदानेको प्रशंसा गरेको सुनेपछि मैले उहाँलाई हेरेकी थिएँ । सानै भएकाले
त्यसवेलाका सम्झना यतिवेला धुमिलिएका छन्, धेरै प्रसंग भुलिसकेकी छु ।
मेरो घरको पाहुना
पहिलो भेटपछि लामो समय मैले रुदानेलाई
देखिनँ । ०३८ को निर्वाचनअघि राजनीतिक सरगर्मी बढेको थियो । मेरो घरमा बुबा
आउनुभएको थियो । उहाँले भन्नुभयो, ‘त्यो रुपचन्द्र विष्ट बढो राम्रो
मान्छे छ । उसले बाहिर केही खाँदैन । कुनै दिन यहाँ आयो भने आफ्नो भान्सामा
जे पाकेको छ त्यो दिनु ।’ बुबा पनि राजनीतिमा लागेकाले रुदानेलाई माया
गर्नुहुनेरहेछ । बुबा उहाँलाई ‘जनताको मान्छे’ भन्नुहुन्थ्यो । मेरा
श्रीमान्ले पनि उहाँको सम्मान गर्नुहुन्थ्यो, उहाँ राम्रो मान्छे हो भनेर
बारम्बार भन्नुहुन्थ्यो ।
त्यसवेला म चार छोराछोरीकी आमा भइसकेकी
थिएँ । मेरा पतिको निधन भइसकेको थियो । समाजमा पतिको निधन भएपछि महिलाको
कुनै काम हुँदैन भन्नेहरू थिए । तर, राजनीतिक संस्कारमा हुर्किएकी मलाई
बुबाले सधैँ उत्साह दिनुहुन्थ्यो– अगाडि बढेर समाजमा केही गनुपर्छ
भन्नुहुन्थ्यो । यस अर्थमा म आफूलाई ‘लक्की’ मान्छु । त्यही समयमा मैले पनि
निर्वाचनमा उम्मेदवारी दिएकी थिएँ । ३८ सालकै निर्वाचनअघि रुदाने पनि
एकदिन हाम्रो घर आइपुग्नुभयो । बुबाले उहाँबारे राम्रो भनेकाले उहाँलाई
हामी अत्यन्तै सम्मान गथ्र्यौं, गर्छौं ।
‘तिमीहरू क–कस्को हो यो खानेकुरो, मैले
खाएर हुन्छ र ?’ उहाँले जंगिएर भन्नुभयो । उहाँको बोली त्यति सजिलै
बुझिँदैनथ्यो, ठाडो अनि रुखो । खाना खाइसकेपछि उहाँले भन्नुभयो, ‘अब मलाई
एउटा कोठा देओ ।’ उहाँले त्यति भनेपछि मेरो जेठो छोरा (अजय सुमार्गी)ले
उहाँलाई कोठा देखाइदियो । बिहान उहाँ कोठामा हुनुहुन्थेन । कतिवेला उहाँ
बाटो लाग्नुभयो हामीलाई पत्तै भएन ।
रुपचन्द्रको सभाको सभाध्यक्ष म
३८ सालकै अर्को प्रसंग म सम्झन्छु ।
रुदाने मेरो घर आउनुभएको केही समयपछिको कुरा हो । उहाँले एउटा सभा आयोजना
गर्नुभएको रहेछ । हाम्रो घरमा पनि त्यो जानकारी रहेछ । मेरा भान्जाभान्जी
तथा घरका अन्य सदस्यले मलाई भन्नुभयो, ‘रुपचन्द्रको भाषण छ, सुन्न जाने
होइन ?’ धेरैजनाले मलाई आग्रह गरेपछि म पनि भाषण गर्ने ठाउँमा पुगेँ ।
तर, त्यहाँ ५/६ जनामात्रै थिए । मलाई
अचम्म लाग्यो, भाषण गर्ने ठाउँ भने पनि कुनै मञ्च बनाइएको छैन । न त मानिसै
धेरै छन् । उहाँलाई सम्मान गर्ने भएकाले मलाई चिन्ता पनि लाग्यो । नजिकैको
चिया पसलबाट एउटा टेबल ल्याएर मञ्चजस्तो बनाएँ । त्यसपछि अचानक त्यहाँ
रुपचन्द्र विष्ट देखा पर्नुभयो । उहाँ टेबलअगाडि देखापरेपछि त्यहाँ
मान्छेको ओइरो लाग्यो । म फेरि अचम्ममा परेँ– भाषण सुन्न अचानक मानिस
कहाँबाट ओइरिए ? एकैछिनमा त्यहाँ हजारभन्दा धेरै मानिस आइपुगेका थिए ।
उहाँले त्यो सभा सुुरु गर्नुभयो, ‘म
कलावतीलाई यो सभाको सभापति बनाऊँ कि नबनाउँm ?’ म फेरि अर्को अचम्ममा परेँ ।
त्यहाँ जम्मा भएका मानिसले मेरो नाममा समर्थन जनाएर ताली बजाए । त्यसपछि म
सभाको सभापति भएँ ।
उहाँले भाषण गर्नुभयो । तर, मैले अत्यन्तै
कम बुझेँ । उहाँले नेपालीमै भाषण गर्नुभएको थियो तर, उहाँले प्रयोग गरेका
शब्द त्यति चलनचल्तीका थिएनन् । लामो समय संगत गरेपछि र उहाँको
कार्यकर्ताको रूपमा विभिन्न ठाउँ पुगेपछि भने मैले उहाँको भाषण बुझ्न
थालेकी थिएँ ।
‘थाहा’को अर्थ
म त्यसवेला महिला संघको अञ्चल सभापति थिएँ
। उहाँको भाषण दुईचारपटक सुनेपछि मलाई अत्यन्तै मन पर्न थाल्यो । उहाँ
भन्नुहुन्थ्यो, ‘गाउँलेलाई, झुत्रेझाम्रेलाई थाहा दिनुपर्छ । सबैलाई
जगाउनुपर्छ । थाहा भएपछि मात्र समाजको विकास हुन्छ । थाहा भएन भने समाज र
हाम्रा गाउँका मानिसको विकास सम्भव छैन । त्यसैले हामीले सबैलाई थाहा
दिनुपर्छ ।’
मलाई त्यसवेला उग्रवादीकी छोरी भनेर भन्थे
। मलाई त्यो मन पर्दैनथ्यो । मेरो बुबाका कारण मेरो ‘इमेज’ किन बिगार्ने ?
तर, समाजले मलाई बुझेन । त्यसपछि मलाई मन नपराउने समाज मलाई पनि मन परेन ।
अनि मैले त्यो समाजलाई छोडिदिएँ । ४०/४२ सालको कुरा हो । म पनि ‘थाहा’
आन्दोलनमा सहभागी हुन थालेँ ।
उहाँका ८२ भन्दा धेरै सभामा भाग लिएर
उहाँको अभियानबारे प्रचार गर्न थालेपछि एउटा सभामा उहाँले भन्नुभयो, ‘यो अब
जनताकी मान्छे भई ।’ उहाँले त्यो वाक्य भन्दा मलाई अत्यन्तै खुसी लाग्यो ।
गर्व लाग्यो, मैले ‘थाहा’ आन्दोलनमा समर्पण हुने अठोट लिएँ ।
गाउँलेको माया र वितृष्णा
३८ सालको निर्वाचनमा उहाँ चुनिनुभयो ।
उहाँलाई गाउँलेले अत्यधिक भोट दिए, उहाँलाई अत्यन्तै माया गर्थे ।
गाउँलेहरू भन्थे, ‘रुपचन्द्र हाम्रो मान्छे हो । उसले हाम्रो भान्सामा आएर
बाँडीचुँडी खान्छ । हाम्रा कुरा गर्छ ।’
एकथरी मानिस उहाँको प्रशंसा गर्थे भने
अर्काथरी मानिस उहाँसँग डराउँथे । ‘बोलेको पनि केही बुझिँदैन, पर्चा र
पम्प्लेट बोकेर हिँडिरहेको छ । को हो को ? खुकुरी पनि बोकेर हिँड्छ भन्या,’
एकथरी गाउँलेले सुरुवातीमा उहाँबारे टिप्पणी गर्थे ।
विस्तारै सबै गाउँलेले उहाँलाई बुझ्न थाले
। उहाँले गाउँलेलाई बुझाउने र जगाउने काम गर्नुभयो । त्यो क्षमता र
विशेषता भएको मान्छे अहिले नेपालले पाउने हो भने धेरै प्रगति हुने थियो ।
उहाँका जनमुखी सभामा कहिल्यै पनि मानिसलाई
बोलाउन हुँदैनथ्यो । ‘फलानो ठाउँमा जनमुखी सभा छ,’ मात्रै भन्नुपर्ने ।
एकपटक मैले झुक्किएर ‘फलानो जनमुखी सभामा आउनु है’ भनेँ । त्यो उहाँले थाहा
पाउनुभएछ । सभा सुरु गर्नेबित्तिकै उहाँले मलाई सभामै थर्काउनुभयो, ‘तँलाई
भाते, बौलाही, जनता तेरा नोकर हुन् र उनीहरूलाई आदेश दिने ?’ मन अमिलो
भयो, तर मैले त्यसपछि जनमुखी सभाको महत्त्व बुझेँ । अर्को कुरा, उहाँले
गाउँमा गरेका सभा सबै बिदाका दिन पारिन्थे । अझ, स्कुलको ग्राउन्डमा सभा
गर्नुपर्ने छ भने उहाँ शनिबारै रोज्नुहुन्थ्यो । उहाँले कुनै पनि दिन
स्कुलको पढाइ डिस्टर्ब गर्नुभएन ।
‘भाते, खाएरै बस’
रुदाने मान्छेलाई भन्नुहुन्थ्यो, ‘भाते,
खुब गरेको छस् ।’ सुरुमा मलाई उहाँले भाते भनेको सुन्दा अनौठो लाग्थ्यो ।
विस्तारै उहाँले भाते किन भन्दै हुनुहुन्छ भन्ने थाहा भयो । दिनभर काम गरेर
साँझ–बिहान भातका लागि मात्र मरिमेट्ने मान्छेलाई उहाँले भाते भन्नुहुँदो
रहेछ । उहाँको प्रस्ट धारणा थियो, ‘भात खाएर आफ्नो जीवनबारे मात्रै सोच्ने
मान्छे भाते हो । सज्जन मान्छे हुनका लागि एउटा मान्छेले आफ्नो मात्र होइन,
भातको मात्र होइन, समाजबारे सोच्न सक्नुपर्छ ।’ उहाँले भाते भन्दा
नबुझ्नेहरू रिसाउँथे होलान् । तर, उहाँको कुरा सुनेपछि मान्छेले बुझ्थे ।
रुदानेको विचार तथा दृष्टिकोणलाई बुझ्न
गाह्रो हुन्थ्यो । उहाँ सबै कुरालाई ६ पाटाबाट हेर्नुपर्छ भन्नुहुन्थ्यो ।
कुनै पनि कुराको विश्लेषण गर्दा उहाँले ६ पाटाबाट त्यसलाई
अथ्र्याउनुहुन्थ्यो । त्यसैले उहाँलाई बुझ्न सजिलै सकिँदैनथ्यो ।
एकपटक जिल्ला अधिकारीको बैठक चलिरहेको
ठाउँमा उहाँ पुग्नुभएछ । त्यहाँ तत्कालीन रानीको जन्मोत्सवको शुभकामना दिने
कार्यक्रमबारे चर्चा चलिरहेको रहेछ । सांसद भएकाले उहाँ बैठकमा सोझै
जानुभयो । त्यहाँ म पनि थिएँ । शुभकामना लेखिएको फाइलमा दुई शब्द
शुभकामनाका लागि लेखिदिनु भनेर उहाँसमक्ष बढाइयो । उहाँले लेखिदिनुभयो,
‘मान्छेको मूल्यांकन घाटमा मात्र हुन्छ । म पनि कहिल्यै जन्मदिन मनाउँदिनँ,
अर्काको जन्मदिन पनि मनाउने सोच राख्दिनँ ।’ उहाँको तर्क थियो, ‘ज्युँदो
मान्छेलाई पूजा–अर्चना गर्नुहुँदैन । उसले बाँकी जीवनमा नराम्रो गर्न पनि
सक्छ ।’
तर, उहाँले गाउँले सबैलाई विभिन्न चाडपर्व
तथा अवसरमा शुभकामना दिनुहुन्थ्यो । पालुङमा उहाँ सबै घरमा गएर सुखदु:खका
कुरा गर्न रुचाउनुहुन्थ्यो । त्यसैले त्यहाँका जनताले उहाँलाई अत्यन्तै
माया गर्थे ।
‘शत्रुले चिने, मित्रले चिनेनन्’
हामी गाउँगाउँमा उहाँको सभा आयोजना गर्न
जान्थ्यौँ । तर, उहाँले कहिल्यै पनि हामीलाई मलाई सहयोग गर भनेर भन्नुभएन ।
उहाँले हामीलाई बोलाउनुहुन्थेन, हामी आफैँ उहाँको अनुयायी भएका थियौँ ।
उहाँले कहिल्यै पनि मसँग तथा अन्य अनुयायीसँग दोहोरो कुरा गर्नुभएन । जे
भन्नुपथ्र्यो, सभामै भन्नुहुन्थ्यो । हामी उहाँको विचार मन पराएर उहाँको
अभियानमा लागेका तर हामीसँग उहाँले केही नभन्ने, भन्ने केही भए सभामै भन्ने
। उहाँले एकदिन सभामा भन्नुभयो, ‘मलाई शत्रुले चिने, तर मित्रले चिन्न
सकेनन् ।’
लामो समयसम्म उहाँको त्यो कुरा मैले
बुझिनँ । पछि बुझेँ, हामीले उहाँका विचार पूर्ण रूपमा बुझ्न सकेनाँै,
शत्रुले बुझेर उहाँको अभियानमा रोक लगाउन विभिन्न षड्यन्त्र गरे ।
उहाँ सधैँ महिलाका हकहितका कुरा
गर्नुहुन्थ्यो । त्यसैले समाजका महिलाले उहाँलाई अत्यन्तै मन पराउने । म
पनि मैले भोगेका समस्यालाई उहाँले सम्बोधन गरेकाले उहाँसँग लामो समय सँगै
हिँडे । उहाँ भन्नुहुन्थ्यो, ‘हाम्रो समाजमा महिला पिछडिएका छन् । महिला
सिर्जना हो । ऊ पछाडि पर्नु भनेको सिंगो समाज पछाडि पर्नु हो । महिलालाई
अगाडि बढाउनुपर्छ, समाज राम्रो बन्छ ।’ त्यसवेला त्यस्तो राम्रो विचार
राख्ने थप केही मान्छे भएको भए कति राम्रो हुनेथियो होला ?
यसरी हिँड्थे रुदाने
रुदाने सधैँ गाउँलेका विषयमा कुरा
गर्नुहुन्थ्यो । उहाँले सधैँ गाउँलेलाई ब्युँझाउन चाहनुभयो । त्यही भएर पनि
होला उहाँले गाउँलेले जे खान्थे, त्यही खानुहुन्थ्यो । एकपटक हेटौँडा
आउँदा उहाँलाई राम्रो खाना दिइयो । उहाँ रिसाउनुभयो । भन्नुभयो, ‘मेरा
गाउँमा मान्छे गिट्ठा खाएर बसेका छन्, म यहाँ यति मीठो खाना किन खाने ?’
उहाँ सधैँ एउटा ज्याकेट लगाउनुहुन्थ्यो ।
पटुका बाँध्नुहुन्थ्यो । पटुका वरपर उहाँ राजनीतिक विचार तथा समाज जगाउने
पर्चा–पम्प्लेट राख्नुहुन्थ्यो । राजनीतिक विचारका पानाहरू उहाँ
बेच्नुहुन्थ्यो भने सूचना तथा अन्य पर्चा सित्तैमा बाँड्नुहुन्थ्यो ।
उहाँले एउटा धोक्रो पनि बोक्नुहुन्थ्यो । त्यसमा विभिन्न पर्चा, किताब
राखिएका हुन्थे ।
मेरो एकजना आफन्तले भन्नुभएको थियो–
‘रुपचन्द्रलाई कलेजमा सबैले छिछि गर्थे । फोहोर लुगा, झुत्रेझाम्रे भएर
उहाँ कलेजमा जाने । कलेजमा सहपाठी कसैले पनि उहाँलाई मन नपराउने । उहाँले
कैयौँपटक एक्लै बेन्चमा बस्नुपरेको थियो ।’ उहाँ कलेजमा पनि झुत्रेझाम्रे
भएर जानुको कारण थियो– उहाँका जनता । उनीहरूले भौगोलिक विकटता तथा
अशिक्षाका काराण कहिल्यै सुखसयलमा जीवन बिताउन पाएनन् । उनीहरूको जीवनलाई
नजिकबाट स्पर्श गर्नुभएकाले रुदानेले पनि कहिल्यै राम्रा लुगा र मीठो
खानामा ध्यान दिनुभएन । उहाँ भटमास र पानीमै धेरै दिन बिताउन सक्नुहुन्थ्यो
।
उहाँले जे बोल्नुभयो, त्यो गर्नुभयो । जे गर्नुहुन्थ्यो, त्यही मात्र बोल्नुहुन्थ्यो ।
बाबुले विश्वास गर्थेनन् रुदानेलाई
अहिले रुपचन्द्रको ‘थाहा’ अभियानबारे
बारम्बार चर्चा परिचर्चा हुन्छ । उहाँलाई विश्वास गर्ने उसवेला पनि हजारौँ
थिए, अहिले पनि हजारौँ छन् । तर, उहाँलाई आफ्नै बाबुले विश्वास गर्थेनन् ।
पालुङकै एउटा स्कुलमा पढाउनुहुन्थ्यो रुदाने । रुदानेले पढाएका विद्यार्थी
जिल्लास्तरीय परीक्षामा सबै पास भएछन्, राम्रो अंक ल्याएर । तर, उहाँलाई
घरमा उहाँको बाबुले भन्नुभएछ, ‘तँजस्ताले पढाएका विद्यार्थी पनि पास
हुन्छन् ? तँ त यस्तो छस्, तैले के पढाउँछस् ? सबैले चोरेर पास भएका हुन्
।’
स्वतन्त्र स्वभावको रुदानेलाई बाबुका ती
कुरा मन परेनन् । उहाँले भन्नुभएछ, ‘ए ममाथि अविश्वास गर्ने ? यस्तो
अविश्वासीको घरमा म बस्दिनँ ।’ उहाँले एउटा सभामा भन्नुभएको थियो, ‘त्यस
दिनदेखि म घर छोडेर हिँडेको मान्छे हुँ ।’ त्यसपछि उहाँ कहिल्यै पनि घर
जानुभएन ।
रुदानेको बिहे
२६ सालमा मेरो विवाह भइसकेको थियो ।
रुदानेको भएको रहेनछ । एकदिन घरमा बसिरहेको समयमा मेरा जेठाजुलाई एकजना
मानिसले आएर एउटा सानो चिर्कटो दिएर गए । चुरोटको खोल थियो त्यो चिर्कटो ।
चुरोटको खोलमा रुदानेले बिहेको निम्तो पठाउनुभएको रहेछ । मेरा जेठाजुले
त्यो निम्तो पढेपछि हामीलाई भन्नुभयो, ‘ओहो, अब नेपालमा पनि यस्तो विवाह
सुरु गर्ने भए रुपचन्द्र विष्टले ।’ त्यसवेला मलाई त्यस्ता कुरामा त्यति
वास्ता थिएन, आफ्नै घरपरिवार सम्हाल्न पाए पुग्छ भन्ने लाग्थ्यो । तर, मेरा
पतिले फेरि रुदानेको विवाहकै कुरा उठाउनुभयो । मेरा जेठाजुलाई निम्ता
गरिएको कागजमा लेखिएको थियो, ‘पुस २६ गते फलानो ठाउँमा मेरो विवाह हुँदै छ ।
आफ्नो खानेकुरो आफैँले लिएर आउनू ।’ त्यो कागज देखाएपछि हाम्रो घरमा छलफल
भयो र नेपालमा परिवर्तन हुँदै छ भन्ने निष्कर्ष निकालियो ।
उहाँको विवाह भयो । तर, रुदाने अलिक
शंकालु हुनुहुन्थ्यो । गाउँगाउँ घुम्दै हिँड्ने मान्छेले श्रीमतीलाई भने
शंका गर्ने । त्यसैले पनि होला उहाँको वैवाहिक जीवन लामो समय टिकेन । घरजम
गरेर मक्ख परेर बस्ने सोच नभएकाले मानिस भएर पनि होला उहाँको पारिवारिक
जीवन त्यति सफल भएन ।