Wednesday, March 5, 2014

नाक, कान, घाँटीको डाक्टर उस्ट्रासन - annapurnapost



संस्कृतमा उस्ट्र भनेको ऊँट हो। ऊँटले आफ्ना बच्चा र आफन्तलाई बोलाउँदा जस्तो आवाज निकाल्छ, यो आसनको अभ्यासमा पनि त्यस्तै आवाज निस्कने भएकाले उस्ट्रासन भनिएको हो। यो आसनको साधना नियमित गर्दा सहनशील हुने प्रेरणा मिल्छ।




यो आसनले ऊँटको जस्तै गुण नि:स्वार्थभाव बढाउन मद्दत गर्छ। त्यसैले भनिन्छ- गायक, संगीतकार, वाचकजस्ता आवाज बेचेर रोजीरोटी कमाउनेका लागि यो आसन वरदान सिद्ध छ। यसले बाह्य सौन्दर्य वृद्धि गराई मुखमा कान्ति ल्याउँछ। त्यसैले अचेल यसलाई डा. फर ईएनटी (नाक, कान, घाँटी) भन्ने प्रचलन पाश्चात्य मुलुकमा बढेको छ।

विधि
स्वच्छ वातावरण तथा सम्म धरातलमा तन्ना, चटाईमाथि, आफ्नो सम्म शरीर स्वाभाविक अवस्थामा आएपछि दुवै घुँडा मोडेर कम्मरलाई दुवै हातले टेवा दिँदै चिउँडोले छाती छुवाएर स्वाभाविक श्वासमा रहने। विस्तारै मुख बन्द गरी नाकबाट श्वास लिँदै गर्धन पछाडि तान्दै श्वास लिने।

श्वास लिन सकिनेबित्तिकै सम्भव भएजति मुख ठूलो पारेर जिब्रो बाहिर निकाली श्वास फ्याँक्ने। आँखा पनि सम्भव भएजति ठूलो पारी जिब्रोको माध्यमबाटै श्वास फेरि सक्दो बाहिर फ्याँक्ने र लिने। यसो गर्दा आउने आवाज ऊँटको जस्तो हुन्छ। यो क्रम दुई/दुई, चार/चार वा ६/६ पटक आफ्नो अवस्थाअनुसार दोहोर्‍याउँदा मुखमा तातोपन अथवा हल्का पसिना आएको महसुस हुन्छ।

त्यसपछि जिब्रो विस्तारै भित्र लगी मुख बन्द गरी नाकले श्वास बाहिर फ्याँक्दै चिउँडोलाई छातीमा पुर्‍याउने अनि स्वाभाविक श्वासमा आइपुग्दा यो आसन पूर्ण हुन्छ। सुरुका दिनमा राम्रोसित अभ्यास नहुँदासम्म दुई/दुईपटक दोहोर्‍याउने। त्यसपछि दिनको एकपटक गर्दा यसबाट लाभ प्राप्त गर्न सकिन्छ। निरन्तर अभ्यासबाट यो आसन गर्न सजिलो भएपछि कम्मरलाई आड दिएको दुवै हातलाई विस्तारै सास फेर्दै कुर्कुचामा समाएर माथि भनेबमोजिम अभ्यास गरे मेरुदण्ड लचिलो बनाउन पनि सहयोग पुग्छ। यो आसन सम्भव सूर्य उदयको समयमा खुला स्थानमा गर्नु राम्रो मानिन्छ।

लाभ
नाकको हड्डी पलाएको समस्या समाधानमा सहयोग पुग्छ। गर्धन र मुखको चाउरीपन हटाई पाचनप्रणाली बलियो बनाउँछ । पिनास, टाउको दुख्ने, स्वर बसेको, भकभकाउने, मेरुदण्ड, फोक्सोसम्बन्धी, कम कान सुन्ने, आँखा कमजोर भएका, टन्सिल, स्मरण शक्ति, थाइराइड आदि समस्यामा फाइदा पुर्‍याउँछ।