Monday, March 24, 2014

लिटो र ढुटोको किन बेवास्ता? - annapurnapost


डा. अरुणा उप्रेती |


मरियम क्रान्त्ज नाम गरेकी एक विदेशी महिला ५० वर्षदेखि नेपालमा बसेर पोषण विषयमा काम गरिरहेकी छन्। उनले लेखेका विभिन्न कार्यपत्र अनुसन्धान, लेख पढेर मैले पनि धेरै कुरा सिकेकी छु। २०३२ सालको गोरखापत्रमा उनले ढुटो खुवाएर कसरी ललितपुर चापागाउँका बासिन्दाको भिटामिन बी कमी हुँदा भएको समस्या समाधान गरिन् भनेर पढेको थिएँ। चामलको ढुटोमा भिटामिन बी पनि हुन्छ भन्ने बल्ल थाहा थियो।
२०३२ सालअघि चापागाउँका बासिन्दा, ढिकीमा कुटेको रातो चामल खान्थे। २०३२ सालमा त्यहाँ बिजुलीबाट चल्ने र चामलको ढुटो निकालेर सेतो चामल बनाउने कारखाना खुल्यो। त्यसपछि नै त्यहाँका बासिन्दाको ओठको कुनामा घाउ हुने, जिब्रोमा पनि घाउ भएर रातो हुने समस्या देखापर्‍यो। तर 'सेतो चामल, राम्रो चामल' खाने बासिन्दालाई यो समस्या सेतो चामल खाएर भएको थाहा भएन। मरियमले चामलको ढुटोमा भिटामिन बी जम्मै पखालेर सेतो चामल खाँदा यस्तो समस्या भएको देखिन्।
अनि उनले त्यहाँका बासिन्दालाई ठीक पार्ने एउटा उपाय निकालिन्। मिलबाट ढुटो ल्याएर राम्रोसँग प्याक गरिन् र चापागाउँका बासिन्दालाई ढुटो भातमा छर्नु र केही दिनपछि यस्तो समस्या निको हुन्छ भनिन्। उनले सायद ढुटो खानु भनेको भए उनलाई सबैले गिज्याउँथे होलान्। तर 'औषधि' भनेर चामलबाट निस्केको ढुटो राम्रोसँग प्याक पारेर दिएपछि सबैजनाले खुसी भएर खाए र समस्याबाट मुक्ति पनि पाए।
गोरखापत्रमा मरियमले यस्तो अनुभव लेखेकी थिइन्। अहिले पनि हामी धेरैजना 'भिटामिन, प्रोटिन, क्याल्सियम' भनेर धेरै पैसा तिरेर औषधि किन्छौं, तर हामी वरिपरि, भान्छामा भएका खानेकुरा र रूखमा भएका सहजै र सस्तोमा पाइने फलको किन वास्ता गर्दैनौं? किनभने हामीलाई बाहिरका वस्तु सबै राम्रा भन्ने लाग्छ।
त्यसैले बालबालिकालाई लिटो खुवाउन चाहँदैनौं। बट्टामा राखेको सेरेलेक, जति महँगो भए पनि राम्रो भन्ठानेर खुवाउँछौं तर हामीलाई थाहा छैन कि सेरेलेक, गहुँबाटै बनेको हो र राम्रोसँग बट्टामा राखेपछि त्यसको मूल्य दसौं गुण बढाएर व्यापारीले हामीलाई बेच्छन्।
२०३२ सालमा चापागाउँका बासिन्दालाई मरियमले दिएझैं कसैले प्याकेटमा पोको पारेर लिटो र गहुँ, भटमास, बदाम, मकैको पिठो राखेर दियो भने हामी कति राम्रो भन्छौं। तर हाम्री बज्यै र आमाले सफा गरेर भुटेर घरमा बनाएको लिटोचाहिँ हामी पुरातन खाना भनेर हेलाँ गर्छौं किन होला? अति आधुनिकताको चमकदमकमा परेर हामीले हाम्रा पनि राम्रा हुन्छन्, पोसिला हुन्छन् भन्ने बिर्सेका हौं कि?
हामी आफ्ना बालबालिकालाई जाउलो खुवाउन चाहँदैनौं, तर सुपरमार्केटमा बालबालिकाको खाना भनेर टिनमा राखेको महँगो वस्तु किन्न तयार हुन्छौं। घरको हरियो सागसब्जी पकाएर खुवाउन नचाहने हामी अरू कसैले पोकामा दिएको 'बालभिटा' भातमा हालेर खुवाउन तयार हुन्छौं। तर जब बालभिटाको स्वाद बालबालिकाले मन पराउँदैन भने कतिपय आमाले बालभिटाको प्याकेट कसैले थाहा नपाएर फ्यालिदिन्छन्। अनि जब सहरबाट ठूला डाक्टर र अनुसन्धान गर्ने व्यक्ति आएर गाउँकै आमालाई सोध्नुहुन्छ, 'तपाइँलाई बालभिटा मन पर्‍यो?'
अनि हामी झुटो बोल्छौं, 'अँ एकदम मन पर्‍यो। बालभिटा खुवाएपछि बच्चा तगडा भएको छ। हामीलाई जाउलो पकाएर खुवाउने बानी बसेको छ।' त्यसो भए के जब सरकारले बालभिटा दिन छोड्छ अनि तपाइँले आफ्ना बालबालिकालाई जाउलो खुवाउन छोड्नु हुन्छ?
महिला स्वयंसेविकाले घरको गहुँ, भटमास, मकै, बदामबाट लिटो बनाउन सल्लाह दिइन् भने जाबो खानेकुरा भनेर अमिलो मुख लगाउँछौं तर प्याकेटमा बाहिरबाट औषधिका रूपमा आएर त्यही मात्र खुवाएर बालबालिकालाई भिटामिन पुग्छ भन्ने गलत विचार नगरे राम्रो हुन्थ्यो कि? बच्चा ६ महिनाको भएपछि भान्छामा पाइने दाल, भात, गाजर, साग, आलु, गोलभेंडा जस्ता वस्तु मसिनो पारेर उमालेर खुवाए बच्चालाई चाहिने सबै भिटामिन पुग्छ भन्ने कुरा हामीलाई थाहा छ कि छैन?
बालबालिकालाई बाहिरबाट दिइने क्याल्सियम पनि चाहिन्न, प्रोटिन, भिटामिन केही पनि चाहिन्न आमाको दूध, रोटी, लिटो र हरियो तरकारी खुवाउनु हो भने। दुई वर्षका बालबालिकालाई पोषण पुगेन भने उसलाई स्वास्थ्यको समस्या पर्छ र पछि पनि गएर बच्चा याउटे हुने, नयाँ कुरा सिक्न गाह्रो हुने, फूर्तिलो नहुने, रोइरहने हुन्छ।
यस्तो भएपछि भूत लाग्यो भने अन्डा लिएर भूत मन्छाउन गइन्छ होला। तर अन्डा किन्ने पैसाले बालबालिकालाई आलु, साग, रायो, लट्टे, दाल खुवायो भने कुपोषणको समस्या हुँदैन। मरियमले ढुटो दिँदा चापागाउँका जनतालाई भिटामिन बी पुगेको थियो। हामीले पनि आफ्ना बालबालिकालाई लिटो, जाउलो खुवाए बालभिटा चाहिँदैन। यसरी धेरै पैसा पनि बच्छ, समय पनि बच्छ।