Thursday, March 13, 2014

९० रुपैयाँमा पत्ता लाग्छ मृगौला रोगको संकेत - onlinekhabar

विज्ञहरुको रगतमा क्रिएटिनिन र पिसावमा प्रोटिन जाँच गरे सुरुकै अवस्थामा मृगौला रोग पत्ता लाग्नुको साथै समयमै उपचार गरे प्रत्यारोपण वा डायलासिस नगराउनुपर्ने बताएका छन् ।
विश्व मृगौला दिवसको अवसरमा बिहीबार टुँडिखेलमा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले ९० रुपैयाँ खर्च गरी रगतमा क्रिएटिनिन र पिासबमा प्रोटिनको जाँच गर्दा मृगौला रोग सुरुकै अवस्थामा पत्ता लाग्न सक्ने बताए ।
समयै उपचार भएका रोग निको हुनुको साथै रोगको गतिलाई नियन्त्रणमा राख्न सकिने उल्लेख गर्दै डा. श्रेष्ठले भने, ‘यसका लागि कसैले पनि सरकारको मुख ताक्नु जरुरी छैन् ।’ हाल सरकारले मृगौला फेल भएका प्रत्येक व्यक्तिका लागि ६ लाख ६० हजार लगानी गरिरहेको छ । प्रत्येक १० मध्ये १ जना व्यक्तिलाई मृगौलाको र्दीर्घकालीन रोग लाग्ने गरेको उल्लेख गर्दे डा. श्रेष्ठले उमेरसँगै देखि मधुमेह, उच्च रक्तचाप, मुटुरोग आदि रोगले मृगौलालाई आक्रान्त पार्दै लैजाने बताएको कान्तिपुर दैनिकमा खबर छ ।
उनले विकसित मुलुकमा झै नेपालमा समेत नसर्ने रोगको बाहुल्यता ५२ प्रतिशत भन्दा बढी पुगिसकेकाले यसलाई नियन्त्रण गर्न तत्काल आधुनिक जीवन शैलीलाई परिवर्तन गर्नु आवश्यक रहेको बताए ।
६ अर्ब बिदेसिन्छ
नेपालमा मिर्गौला प्रत्यारोपण कानुन अप्ठ्यारो हुँदा उपचारका क्रममा बर्सेनि ६ अर्ब रुपैयाँ बिदेसिने गरेको छ। रोगीका आफन्त (दिदी, बहिनी, आमाबाबु, बुहारीलगायत हाडनाता) ले मात्रै मिर्गौला दिन मिल्ने कानुन हुँदा बर्सेनि ६ अर्ब रुपैयाँबराबरको धनराशि बिदेसिने गरेको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको तथ्यांक रहेको अन्नपूर्ण पोस्टमा खबर छ।
विश्व मिर्गौला दिवस, २०१४ का अवसरमा केन्द्र र आरोग्य प्रतिष्ठानले राजधानीमा आयोजना गरेको कार्यक्रममा चिकित्सकहरूले खानपान र व्यायाममा ध्यान दिए मिर्गौला तथा अन्य रोगले आक्रमण नगर्ने बताए। मिर्गौला दिवसको नारा ‘उमेरसँगै तपाईंको मिर्गौला पनि बूढो हुनसक्छ’ थियो।
चिकित्सकहरूले ४० वर्षको उमेरपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमतामा प्रत्येकमा एक प्रतिशतका दरले ह्रास हुँदै जाने बताए।