हिमालले राम्रो काम गरेको भनेर प्रसंसा र छोराको भविष्य बिगारेको भनेर आलोचना भइरहँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमालसहितका क्रान्तिकारी पदाधिकारीलाई बोलाएर सरललाई जसरी पनि फिर्ता पठाउन निर्देशन दिएका छन् । मंगलबार प्रचण्डले हिमाल, उनका छोरा सरल र क्रान्तिकारीका पदाधिकारीलाई नयाँबाजारमा बोलाएर त्यस्तो निर्देशन दिएका हुन् ।

प्रचण्डको निर्देशनपछि हिमालसँग दुईवटा बिकल्प छन् । पहिलो पार्टीको निर्देशनलाई पालना गर्दै छोरालाई चीन फर्काउने र दोस्रो आफ्नो निर्णयमा अडिग रहँदै नैतिकताका आधारमा राजीनामा दिने ।
‘भातृ संठनको अध्यक्षका नाताले पार्टीको निर्देशन अवज्ञा गर्दै कि त मैले पदबाट राजीनामा दिनुपर्यो, कि त छोरालाई चीन पठाउनुपर्यो’ शर्माले भने- ‘केन्द्रीय समितिले फिर्ता पठाउने निर्णय गरे नैतिकताका आधारमा राजीनामा दिन्छु ।’ छोराछोरी स्कुल क्याम्पस पढ्ने पार्टी र संगठनका नेता-कार्यकर्ताले आफूलाई असहयोग गरेर निराश बनाएको भन्दै उनले केन्द्रीय समितिभित्र पनि सरललाई फिर्ता पठाउनुपर्ने पक्षधर बढी भएको बताए । यसै बिषयमा छलफल गर्न आजै अखिल क्रान्तिकारीको केन्द्रीय समिति वैठकसमेत बस्न लागेको छ ।
के भने प्रचण्डले ?
प्रचण्डले पार्टी निर्देशन पालना गर्दै छिटोभन्दा छिटो सरललाई चीन पठाउन कडा निर्देशन दिएको शर्माले बताए । स्रोतका अनुसार पार्टीको संस्थागत निर्णयद्वारा पठाइएका सरललाई व्यक्तिगत निर्णयका आधारमा फिर्ता बोलाएर पद्धति उल्लघंन गरेको भन्दै प्रचण्ड हिमालसँग झोक्किएका थिए । ‘तपाइँले पार्टीमा सरसल्लाह नै नगरी फिर्ता बोलाउनुभयो ।’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ‘कुटनीति क्षेत्रबाट त्यस विषयमा थेग्नै नसक्ने दबाब आएकाले सरललाई तुरुन्तै पठाउनुस् ।’
प्रचण्डको निर्देशनपछि हिमालले माओवादी नेताका छोराछोरी निजीबाट सरकारी शिक्षण संस्थामा ल्याउने अखिल क्रान्तिकारीको अभियान अलपत्र पर्ने चिन्ता जनाएका थिए । प्रचण्डले सरललाई फिर्ता पठाउँदा उक्त अभियानलाई कुनै अप्ठेरो नपर्ने भन्दै तहअनुसार नेताका छोराछोरी कहाँ र कसरी पढाउने भन्ने विषयमा पार्टीले छिट्टै निर्णय लिने भन्दै हिमाललाई फकाउन खोजेका थिए । स्रोतका अुनसार प्रचण्डले क्रान्तिकारीले स्कुलतहमा मात्र निजी शिक्षा विरोधी अभियान चलाएकाले उक्त अभियानले डाक्टरी पढ्दै गरेका सरललाई नछुने तर्क गरेका थिए ।
प्रचण्डले फर्केर पढाइ थाल्न समस्या भए चीनस्थित नेपाली राजदूतावासमार्फत पार्टीले त्यसका लागि पहल गर्ने आश्वासनसमेत दिएको शर्माले जानकारी दिए । शर्माले आफ्नो निर्णयले निजी शिक्षालयमा छोराछोरी पढाइरहेका नेतालाई नैतिक संकट परेकाले यस्तो दिर्नेशन आएको हुनसक्ने बताए । ‘कुनै बाध्यता नहुँदानहुँदै मैले राम्रै निर्णय लिएको थिएँ, शर्माले भने- ‘तर, कसैको सहयोग पाइएन ।’