Tuesday, July 12, 2011

'झन्डै भएको गिरिजाप्रसादको दोस्रो बिहे' - NAYA PATRIKA

 


गिरिजाबाबुलाई केटी खोज्दाकुवेरकृष्ण कायस्थ
गिरिजाप्रसादको मृत्यु भएको साँझ त्यो केटी मेरो घर आई । उसको अनुहार निकै मलिन थियो । 'कुवेरकृष्ण काका’ भन्दै उसले बिहेको कुरा गर्न गिरिजा बनेपा आएको दिनको सम्झना गरी । एउटा युगपुरुषको मृत्यु भयो भन्दै डाको छोडी अनि घोप्टो परेर निकैबेर रोइरही । बुढ्यौलीले छोप्दै गएको उसको अनुहारमा आँसुचाहिँ पटक्कै सुहाएको थिएन । 
रा ०२० सालको हो । भद्रगोल जेलबाट नख्खु जेलमा सरेको ६ महिनाजति भएको थियो । एकदेखि चारसम्मका जेलका छुट्टाछुट्टै भवनमध्ये तीन नम्बरमा छन् उनी । जेलभित्र सबैको समस्या बुझ्ने र समाधान गरिदिने नाइके बनेकाले उनलाई विशेष कोठाको व्यवस्था छ । एक रात २ बजेतिर एक हुल मान्छेलाई प्रहरीले फेरि जेलमा कोच्यो । 'तपाईं चार नम्बरतिर सर्नूस्,' भर्खर ल्याएका कैदीको नेल समाउँदै पुलिसले उनलाई भन्यो । 'म सर्दिनँ । यी चोर हुन् कि डाँका को हुन् ? मलाई थाहा छैन । यिनैलाई लग्नुस् चार नम्बरमा,' उनले यसो भनिदिए । उनको यो अटिलो बोल्ने शैलीले प्रहरीले ल्याएमध्येका एकजना अलि लामो नाक भएकालाई चस्स छोएछ क्यारे । ऊ बोलिहाल्यो, 'हामी यहीसँग बस्छौँ ।' त्यो मान्छेले उनको आँखामा आँखा मिलाएर यसो भन्यो । उनलाई के थाहा ? भर्खरै जेलमा ल्याइपुर्‍याइएका उनी त गिरिजाप्रसाद कोइराला पो रहेछन् ! पछि साथी नै बने । 
उनी हुन् कुवेरकृष्ण 
कायस्थ । घर बनेपा- १०, काभ्रे । उमेर सत्तरी । उनले १० वर्षको उमेरतिरै प्रजातन्त्र प्राप्तिको आन्दोलनमा 'जिन्दावाद-मुर्दावाद' भन्न पाए । लामो समय प्रजातान्त्रिक आन्दोलनमा योगदान पनि दिए, कांग्रेसमा सक्रिय उनलाई पछिल्लो समय कांग्रेसको गुट-उपपुटको राजनीतिले चाहिँ दिक्क बनाएको रहेछ । उनलाई यो जिन्दावाद र मुर्दावाद शब्द सुन्दै अचम्म लाग्थ्यो रे त्यसवेला । 'यसको अर्थ के होला ?' भनेर सोच्दै आन्दोलनमा झन्डा लिएर उनी उचालिन्थे, कराउँथे, दौडन्थे । प्रत्येक घरका मान्छे आन्दोलनमा उत्रिएका थिए । कोही पनि प्रजातन्त्रको विपक्षमा देखिएन । उनीहरूलाई सबैभन्दा बढी डर थियो- राणाहरूको । साह्रै डरलाग्दो हुन्थ्यो राणाहरूको यातना । उनीहरूलाई 'सिआइडी'बाट जोगिनै मुस्किल थियो । 'प्रजातन्त्र प्राप्ति गणतन्त्र प्राप्तिजस्तो कहाँ सजिलो थियो र ? निकै कठिनका साथ आएको हो प्रजातन्त्र,' लामो सास फेर्दै कुवेरकृष्ण समयको लेखाजोखा गर्छन् । 
प्रजातन्त्र प्राप्त भए पनि राणाहरूको बिगबिगी उस्तै थियो । २००९ सालमा मातृका कोइराला राणाहरूकै मान्छे थिए । बनेपाको घोगेचौरमा उनीहरूले ठूलै कार्यक्रम गरे । त्यस कार्यक्रममा कुवेरकृष्ण कायस्थले साथीहरूसँग मिलेर मातृकाका मान्छेहरूलाई 'कालो झन्डा' देखाएका थिए । यही वर्षहरूको बीच 'आमचुनाव'को माहोल आयो । बनेपामा गोपालदास बादेलेे टिकट पाउने चर्चा चलिरहेको थियो । तर, टिकट पाए आशाकाजी वैद्यले । आशाकाजी र कुवेरकृष्णबीच राम्रो चिनजान थियो । कुवेरकृष्णले चुनाव प्रचार-प्रसारको जिम्मेवारी पाए । 'रातभरि हातले लेखेर पर्चा बनाउनुपथ्र्याे,' उनी त्यतिवेलाका दिन सम्झन्छन्, 'बत्तीको नाममा टुकी मात्र थियो । राति नै नाला, दाप्चालगायतका ठाउँमा पर्चा पुर्‍याइसक्नुपथ्र्याे । यो जाडो महिनाको कुरा हो । एक रात नालामा जाने क्रममा नालीमा फसियो । टाउको मात्र बाँकी रह्यो । जिउ पूरै डुब्यो,' निकैबेर हाँस्दै उनी भन्छन् । 
चुनाव प्रचार-प्रसारमा कुवेरकृष्णलाई कठिन भएको देखेर भक्तपुरबाट एक सहयोगी झिकाइएको थियो । धुलिखेलको गोप्य घरमा रातभरि पर्चा बनाउने काम हुन्थ्यो । भक्तपुरबाट झिकाइएको त्यस मान्छेले भने टन्न रक्सी खाएर आएछ । उसले हल्ला गर्छ भन्ने डर भयो । ऊ लर्बरिँदै-बर्बराउँदै चोटामा उक्लियो । कुवेरकृष्णको पालो 'च्याप्प' समातेर लात्तले भकुरे । ऊ भर्‍याङबाट एक तला खस्यो । उसलाई कोठामा रातभर थुनिदिए । भोलिपल्ट उसकै घरतिर लघारिदिए । त्यो मान्छे भक्तपुरकै 'डिएसपी'को भतिजो रहेछ । उसले कुवेरकृष्णलगायतका साथीहरूको सुराकी गर्‍यो । एक दिन उनको घरमा प्रहरी आइपुग्यो । तीनपटकसम्म खानतलासी गरेर पर्चा, झन्डा र किताबहरू कब्जा गर्‍यो । बनेपाको लायकु चोकमा ठाना थियो । त्यहाँ बयान लिन लगियो । ठानामा पुगेपछि उनी तिनछक परे । जसको कारणले उनले आन्दोलनमा होमिने प्रेरणा पाएका थिए उसैको भाइ राणाहरूको 'अराष्ट्रिय तत्त्व' खोज्ने अभियानको 'एजेन्ट' भएको रहेछ । 'उसले यो मान्छे पनि 
'अराष्ट्रिय तत्त्व हो' पो भन्दै थियो', कुवेर भन्छन् । तर, उसको नाम कुवेरले भन्न चाहेनन् । राणाको विरोधीलाई तत्कालीन भाषामा अराष्ट्रिय तत्त्व 'अत' भनिन्थ्यो । उनी भक्तपुर जेल चलान भए । यता आशाकाजी वैद्यले पनि चुनाव हारे । गोरखा दलबाट भरतशमशेरले जिते । भक्तपुर जेल उनका लागि रमाइलैसँग बित्यो । 'सबैजना भेट्न आउँथे । फलफूल र मीठा-मीठा खानेकुरा ल्याउँथे । आफू त हँसिलो मान्छे, हाँसिएकै छ, रमाइलो गरिएकै छ । म त मोटाएछु पो । नमोटाऊँ पनि कसरी ?' उनी आफैंलाई प्रश्न गर्दै भन्छन्, 'सबैलाई बूढाबूढी, छोराछोरीको चिन्ता छ । आफू त एक्लो मान्छे- निष्पिmक्री जिन्दगी ।' 
भक्तपुरबाट भद्रगोल जेल सरेपछि भने उनी बिरामी परे । उठेर हिँड्दासमेत लड्ने भए । एक दिन लड्नै खोज्दा महेन्द्र निधि -विमलेन्द्र निधिको बुबा)ले समाते । उनले उपचारका लागि पहल गरे र त्यहाँबाट नख्खुजेलमा सर्न सहयोग गरिदिए । नख्खुजेलमा आन्दोलनको पक्षका धेरै साथी थिए । जेलमा खानपान र अन्य व्यवस्थापनका लागि कुवेरकृष्ण नाइके नियुक्त भए । ६ महिनापछि गिरिजाप्रसाद कोइराला, श्रीभद्र शर्मा, रुद्रप्रसाद गिरी, तारणीदत्त कोइरालालगायतका मान्छे पनि आइपुगे । उनीहरूमध्ये गिरिजाप्रसाद कोइराला हाँसखेल, ठट्टा गर्ने साथी बने कुवेरकृष्णको । जेलमा साथीहरूको समस्या धेरै हुन्थ्यो । उनीहरूको समस्यालाई उनी जेलबाहिर बिपी कोइरालासम्म पुर्‍याउने काम चिट्ठी लेखेर गर्थेे । धेरैपटकको चिट्ठी आदानप्रदानपछि बिपीसँग पनि राम्रो सम्बन्ध बस्यो उनको । उनको घरमा खुल्ला आवत-जावतको अनुमति थियो । बिपीकी श्रीमती सुशीला कोइराला उनलाई धेरै माया गर्थिन् । पाँच वर्षपछि कुवेरकृष्ण जेलमुक्त भए । 
काभ्रेको धुलिखेलमा बिपी कोइराला पहिलोचोटि आमसभामा सहभागी हुन आएका थिए । गोरखा दलका मान्छेहरूले बिपीको घोर विरोध गरे, कालो झन्डा देखाए । बिपीले कुवेरकृष्ण कायस्थलाई 'सँगै बस' भनेका थिए । एउटा कोठामा बिपीलाई लुकाइएको थियो । 'हाम्रो विरोध मान्छेहरूसँग हो र ? किन उनीहरूले विरोध गरेका ? हाम्रो विरोध गलत नीति र नियमसँग पो हो,' बिपीले उनीसँग यस्तै कुरा गरेका थिए त्यस दिन । 

दोस्रो बिहे गर्ने मुडमा गिरिजा 
पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालासँग कुवेरकृष्णको निकै राम्रो सम्बन्ध थियो । वेला-वेला व्यक्तिगत भेटघाट गर्थे । जेलजीवनदेखि नै साथीको भावना बढेको थियो । कतिपय व्यक्तिगत कुरामा पनि उनीहरूबीच राम्रै छलफल हुन्थ्यो । ०४३ सालतिरको कुरा हो । कुवेरकृष्णले गिरिजालाई 'तपाईं कति एक्लो जीवन बिताउनुहुन्छ ? दिक्क लाग्दो हो । बरु, कोही 'आफ्नो' भइदिए तपाईंको स्वास्थ्यको पनि राम्रो हेरविचार हुन्थ्यो । राजनीतिक काममा पनि सहयोग हुन्थ्यो । बरू दोस्रो विवाह गर्नुस्,' भनेर उक्साए । गिरिजाले हाँसेरै 'म सोचौँला नि कुवेर' भने ।
र, एक दिन गिरिजाले कुरैकुरामा कुवेरकृष्णलाई 'केटी खोज्ने' जिम्मा दिए । विवाह नै गर्ने तर अरूको अगाडिचाहिँ दुलहीलाई 'स्वकीय सचिव' भनेर चिनाउने उनीहरूबीच गोप्य सहमति भएको थियो । कुवेरकृष्णले बनेपानिवासी एउटी पढेकी, राम्री केटीको खोजी गरे । र, गिरिजासँग भेट गराए । आफ्नी हुनेवाला दुलही भेट्न गिरिजा बनेपा नै आए- सुटुक्क । दुलही बन्नेवाला थिइन्- बनेपा, भोलाखाटोलकी 'श्रेष्ठ' थरकी एक युवती । त्यसवेला ती युवती थिइन् ३९ वर्षकी, काली-काली, हिस्सी परेकी । 
'यो उमेरसम्म किन बिहे नगरेकी ?' गिरिजाले सोधे, 'मलाई सानैदेखि विवाह संस्कार उत्ति मन पर्दैनथ्यो, त्यसैले नगरेकी,' उनले भनिन् । 
'अनि म बूढोसागचाहिा विवाह गछ्र्यौ त ?' 
'तपाईंजस्तो चर्चित, राजनीतिमा उपल्लो स्थान बनाइसकेको मान्छेसँग बिहेको कुरा आएपछि मैले आफूलाई भाग्यमानी सम्भिएँ । र, केही समय सोचविचार गरेपछि बिहे गर्ने निर्णयमा पुगेकी हुँ,' उनले भनिन् ।
गिरिजाप्रसाद पनि ती युवतीसँग प्रभावित भए । र, उनले कुवेरकृष्णसँग 'त्यस युवतीसँग' विवाह गर्ने सहमति पनि गरेका थिए । 'कुनै दिन बनेपा आएर सीमित र विश्वासिला मान्छेहरूबीच गोप्य विवाह गर्ने सहमति भएको थियो, गिरिजाप्रसादसँग,' कुवेरकृष्ण सम्झन्छन् । तर, पछि विवाहचाहिँ हुन सकेन । गिरिजा राजनीतिक आन्दोलनमा बढी सक्रिय हुन थाले । पञ्चायत शासनविरुद्धको आन्दोलनमा सक्रिय भए । 'केही समयपछि' भन्दाभन्दै ०४६ साल लाग्यो । आन्दोलनको अवधिबीच गिरिजाले 'आफ्नी हुनेवाला दुलहीबारे' सोच्ने फुर्सदै पाएनन् । र, वास्तै गर्न छोडे । त्यस युवतीले पछि विवाह गरिनँ । कुवेरकृष्णको शब्दमा 'बूढीकन्या' भएर बसिन् । 
जति कर गरे पनि त्यस युवतीको नामचाहिँ उनले भन्न चाहेनन् । 'त्यो केटीलाई साह्रै अप्ठ्यारो पर्छ । फेरि बिहे पनि नगरी बसेकी छे, नामचाहिँ भन्दिनँ,' कुवेरले यसो भने । कुवेरकृष्णका अनुसार गिरिजाप्रसादको मृत्यु भएको दिन त्यो युवती कुवेरकृष्णकहाँ आएर खुव रोएकी थिई रे । 'गिरिजाप्रसादको मृत्यु भएको साँझ ऊ मेरो घर 
आई । उसको अनुहार निकै मलिन थियो । 'कुवेरकृष्ण काका' भन्दै उसले बिहेको कुरा गर्न गिरिजा बनेपा आएको दिनको सम्झना गरी । एउटा युगपुरुषको मृत्यु भयो भन्दै डाको छोडी अनि घोप्टो परेर निकैबेर रोइरही । बुढ्यौलीले छोप्दै गएको उसको अनुहारमा आँसुचाहिँ पटक्कै सुहाएको थिएन । दुई/तीन घन्टापछि मात्रै ऊ सामान्य अवस्थामा फर्किएकी थिई', कुवेरकृष्ण सम्झन्छन्, 'त्यस रात उसले भात पनि खाइनछे । सायद पुराना कुराले उसलाई खुवै सताएको थियो ।' 
'गिरिजासँग बिहे नभएपछि पनि उसलाई माग्न केही केटा आएका थिए । तर, उसले कसैसँग पनि बिहे गर्न मानिनँ । गिरिजासँग बिहे हुने कुराले ऊ निकै खुसी भएकी थिई । फेरि त्यो खुसी त्यस केटीको अनुहारमा मैले भेट्न सकिनँ,' कुवेरकृष्णले यसो भन्दा उनको अनुहारको भाव बिगि्रएको थियो ।

प्रस्तुतिः दीपक सापकोटा