Tuesday, July 12, 2011

आधाजसो नेपाली डाक्टर बिदेश पलायन जनता डाक्टरको मुख नदेखी मर्छन - onlinekhabar

राजकुमार श्रेष्ठ

२७ असार, काठमाडौं । डाक्टरको अनुहार नै हेर्न नपाई ज्यान गुमाउने नेपालीहरुको संख्या अहिले पनि ठूलै छ । सरकारले स्वास्थ्य चौकीसम्मै डाक्टर राख्ने योजना त ल्याएको छ तर, कैयौं जिल्ला अस्पतालहरुमा अहेवदेखि पिउनको भरमा चलिरहेका छन् ।
गरिव नेपाली जनता उपचार नपाएर छटपटाइरहेका बेला नेपालबाट डाक्टरहरुको पलयान भने तिब्र भएको छ । राज्यको लाखौं लगानीमा पढेका चिकित्सकहरु समेत सुटुक्क बिदेश पुगेर उतै रमाएका छन् । नेपाल मेडिकल काउन्सिलमा हालसम्ममा १० हजार ७ सय ७७ जना डाक्टरहरुको दर्ता भएको छ । उनीहरु मध्ये झण्डै आधा विदेशमा पुगिसेकेको जानकारहरु बताउँछन् ।
नेपाल चिकित्सक संघका अध्यक्ष किरण श्रेष्ठ भन्छन्-’सरकारले गैरजिम्मेवारीपन र उपयुक्त नीतिको अभावमा डाक्टरहरुको विदेश पलायन हुने क्रम बढ्दो छ ।’
हालसम्म कति डाक्टरहरु विदेशिएका छन् भन्ने यकिन तथ्यांक कुनै पनि सरकारी निकायले राखेको छैन । एमबीबीएस अध्ययन गर्ने सरकारी कलेज त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट डाक्टर बनेकाहरुको पलायनबारे एक गैरसरकारी संस्थाले गरेको अध्ययनले भने चिकित्सक पलायनको कुरुप तस्वीरको संकेत गरेको छ ।
निक साइमन्स एष्टिच्युटले हालै गरेको अध्ययनले ३६ दशमलव १ प्रतिशत सरकारी पैसामा पढेका चिकित्सकहरु विदेशिएको देखाएको छ । २२ व्याचका ७ सय १० जना डाक्टरहरुमा गरिएको अध्ययनले यस्तो देखाएको हो । जसमध्ये २७ दशमलव २ प्रतिशत अर्थात १ सय ९३ जना राजधानी बाहिर कार्यरत छन् भने ३६ दशमलव ८ प्रतिशत अर्थात २ सय ६१ जना राजधानीमा कार्यरत छन् । यसैगरी २६ दशमलव १ प्रतिशत अर्थात २ सय ५६ जना विदेशमा छन् । ‘डाक्टरहरु विदेश पलायन हुन्छ भने पनि कुनै आधिकारिक अध्ययन भएको पाइएन’ अध्ययनको उदेश्य खुलाउँदै निक साइमन्सका रविना शाक्य भन्छिन्-’वास्तविकता के हो भन्ने पत्ता लगाउन हामीले अध्ययन गरेका हौं । यसले केही तथ्य बाहिर ल्याएको छ ।’
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट एमबीबीएस गरेका डाक्टरहरू कहाँ छन् भनि निक साइमन्स एष्टिच्युटले गरेको अध्ययनको नजिता
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका रिसर्च तथा माइक्रोकनोलोजी डिपार्टमेन्टमा प्रमुख भरतमणि पोखरेलका अनुसार संस्थानमा प्रत्येक व्याचको ६० सिट मध्ये ४२ जना खुला प्रतिस्पर्धाबाट अध्ययनका लागि छान्निन्छन् । यस्तै एक जना कर्मचारीका छोरा-छोरीबाट पर्छन भने १७ जना विदेशीहरुका लागि छुट्याईको छ । यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहितका १५ बटा शिक्षण संस्थामा एमबीबीसी अध्यापन हुन्छ भने विभिन्न देशले छात्रबृत्तिमा नेपालीहरुलाई एमबीबीएस अध्ययन गराएको हुन्छ ।
राज्य नै बेखबर
आफ्नो लगानीमा पढेर डाक्टर बन्नेहरुको कुरै छाडौं, सरकारी शिक्षण संस्थान तथा सरकारी छात्रबृत्तिमा पढेका डाक्टरहरु पनि कहाँ जान्छन् भन्ने राज्यलाई कुनै वास्ता छैन । सरकारी छात्रबृत्तिमा पढेका डाक्टरहरु २ वर्ष ग्रामिण क्षेत्रमा काम गरेपछि जहाँ पनि जान सक्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छात्रबृत्ति शाखाका रमेशचन्द्र खनालले भने-’छात्रबृत्तिमा बढेकाहरु २ वर्ष काम गरेपछि कहाँ छन् भन्ने हामीलाई थाहा हुँदैन ।’ एक जनालाई डाक्टर बनाउन राज्यले ३० देखि ४० लाखसम्म खर्च गरेको हुन्छ । ‘सरकारीमा मात्र हैन, निजी शिक्षण संस्थाहरुमा १० देखि २० प्रतिशतसम्म सरकारी कोटा छुट्याइएको हुन्छ’ चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसी भन्छन्-’तर उनीहरु कहाँ छन् भन्ने राज्यलाई कुनै बास्ता छैन ।’
पलायन रोक्ने नीति नै छैन
अबसरको खोजीमा डाक्टरहरु विदेश जाने क्रम बढिरहेका अवस्थामा राज्यले त्यसलाई रोक्नेतर्फ कुनै पहल नगरेको धेरैको गुनासो छ । झन पछिल्लो समय शिक्षा मन्त्रालयले २ लाख १० हजार रुपैयाँ जरिवाना तिरे २ वर्ष काम नै गर्न नपर्ने नजिर बनाएपछि विदेश पलायन हुने डाक्टरहरुको संख्या बृद्धि भएको छ । ‘राज्यले नै विदेश पलायत हुन सहज बनाइरहेको छ’ चिकित्सक संघका अध्यक्ष श्रेष्ठ भन्छन्-’३०/४० लाख खर्च गरेर पढाएका डाक्टरलाई २ लाख १० हजार रुपैयाँ जरिवाना तिरे ग्रामिण क्षेत्रमा काम नै गर्नु नपर्ने नियम बनाउँछ । यो भन्दा गैरजिम्मेवारी के हुन्छ ?’
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट एमबीबीएस गरेका २ सय ५६ डक्टर विदेशमा छन् । कुन–कुन देशमा छन् त उनीहरू ?
त्यसो त ग्रमिण क्षेत्रमा काम गरेकालाई प्रोत्साहन गर्ने नीति नहुनु र पहुँच भएकाहरुले मात्र राजधानीका ठूला अस्पतालहरुमा अवसर पाउनुले पनि डाक्टरहरुलाई विदेश जाने रहरलाई बढाएको छ । ‘ग्रामीण क्षेत्रमा काम गर्ने डाक्टरलाई राज्यले प्रत्साहन गर्ने नीति नै लिदैन’ उनले भने-’गाउँमा काम गर्ने त्यही सिमित हुन्छ, अनि पहुँच भएकाहरुलाई जहाँ पनि हुने अवस्था छ ।’ यस्तै विदेशमा हुने कमाई र पाइने अबसरहरुले पनि नेपाली डाक्टरहरुलाई उतै तानेको छ ।
नेपालमा डाक्टरहरुको कमाई सामान्यतया एक हजार डलर हुन्छ भने विदेशमा ४ हजारभन्दामाथि हुन्छ । अमेरिकामा त यो भन्दा पनि बढी हुने गरेको जानकारहरु बताउँछन् ।