१० माघ,काठमाडौं । चौध दिनपछि प्राध्यापक डा. गोविन्द केसीले अनशन तोडेका छन् । माग सम्बोधन गर्न सरकार तयार भएपछि डा. केसी अनशन तोड्न राजी भएका हुन् ।
हाडजोर्नीकी विरामी भक्तपुरकी ७ बर्षीया बालिका एलिशा थापाको हातवाट जुस पिउँदै डा. केसीले अनशन तोडेका हुन् । स्वास्थ्य मन्त्रालयमा विहान सरकारी वार्ता टोली र नेपाल चिकित्सक संघले हिजो भएको सहमतिलाई अन्तिमरुप दिएपछि केसीले अनशन तोड्न सहमत भएका हुन् ।
सहमति भएसंगै बास्कोटासहितको सरकारी टोली डा. केसीलाई अनशन तोडाउन महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका हुन् । सचिव बास्कोटाले अनशनस्थलबाट नै सहमतिका बुँदा पढेर सुनाएपछि डाक्टर केसीले हाडजोर्नीकी विरामी बालिका एलिशा थापाको हातवाट जुस पिउँदै अनशन तोडेका हुन् ।

छलफलमा सरकार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीन बरिष्ठताका आधारमा गर्ने सहमति भएको छ । केसीले राजीनामा दिएका डीन डा. प्रकाश सायमीलाई नै पुनःबहाली वा बरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने माग अघि सारेका थिए । सरकार लचिलो हुँदै केसीले भनेजस्तै गरी बरिष्ठताका आधारमा चिकित्सकलाई डिनमा नियुक्ती गर्न सहमत भएको हो ।

सहमतिमा सरकारी वार्ता टोलीका संयोजक एवम् प्रधानमन्त्री कार्यालयका सचिव बास्कोटा र चिकित्सक संघका अध्यक्ष डा.अञ्जनीकुमार झाले हस्ताक्षर गरेका छन् । यसअघि गएराति साढे ११ बजे अनशनस्थलमा पुगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक बास्कोटाले गएरातिसरकारका तर्फबाट माग पुरा गर्ने प्रतिवद्धता जनाएका थिए ।
के-के थिए, डा. केसीका माग ?
-चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)लाई छुट्टै मेडिकल विश्वविद्यालयका रुपमा स्थापना गर्नु पर्ने र संस्थानलाई स्वायत्त संस्थाको रुपमा विकास गर्नु पर्ने,
-नयाँ मेडिकल कलेजको सम्बन्धन बन्द गर्नु पर्ने,
-राजिनामा गरेका डिन प्रकाश सायमीलाई पुनःवहाली गर्नु पर्ने वा बरिष्ठताका आधारमा चिकित्सकलाई नियुक्त गर्नु पर्ने,

चिकित्सक संघको आन्दोलन फिर्ता
सरकारले माग पूरा गर्ने प्रतिवद्दता जनाएको भन्दै डाक्टर केसीले १४ दिनमा अनशन तोडेपछि नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । डा केसीले उठाएका माग पूरा गराउन भन्दै संघको आहृवानमा देशभरका चिकित्सक आन्दोलनमा उत्रेका थिए ।
नेपाल चिकित्सक संघका महासचिव मुक्तिराम श्रेष्ठले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको जनाउँदै शुक्रबारबाटै सबै सेवा सुचारु हुने बताए । महासचिव श्रेष्ठले चिकित्सक संघको तर्फबाट विज्ञप्ती निकालेर देशभरका स्वास्थ्यकर्मीलाई काममा फर्कन आहृवान गरिने बताए । ‘हामीले उठाएका मागहरु पूरा गर्न सरकार सहमत भएकाले आन्दोलनमा रहेका सबै चिकित्सकहरुलाई अस्पताल फर्कन आहृवान गर्छौ ‘ महासचिव श्रेष्ठले भने ।
