२०६५ भदौमा नेप्सेले रेकर्ड कामय गर्दा नेपाल धितोपत्र बोर्डले सञ्चालन गरेको लगानी सचेतता कार्यक्रम रोक्नु पर्यो, बजार अझै वढ्न दिनु पर्यो, हामी त डुब्यौ भन्नेहरु अहिले सेयर बजार परिसुचक एक हजार नाघ्नुपर्छ भनिरहेका छन् । तिनै लगानीकर्ताहरु जो त्यतिबेला डुबे तर डुबेको भन्न चाहेनन् उनीहरु अहिलेको राजनीतिक तथा तरल अवस्थालाई प्रयोग गरेर त्यो डुबेको पैसा उठाउन सकिन्छ कि भन्ने उनीहरुको पहलमा उल्लेख्य कारण विनै नेपालको सेयर बजार वढाउने प्रयास भइरहेको छ ।
त्यतिबेला सेयरमा पैसा डुबाउनेमा आफूलाई सेयर बजारको बादशाह भन्न रुचाउने, साना लगानीकर्ता भन्ने तर करोडौंको कारोबार गर्ने, नवप्रवेशी लगानीकर्ता, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जका उच्च पदाधिकारी तथा कर्मचारी, आर्थिक पत्रकारितालाई अगाडि देखाएर सेयरमा करोर्डौको लगानी देखाउन नचाहने पत्रकार, अधिकांश सेयर बजार विश्लेषक, प्राध्यापक थिए । सामान्यतया उनीहरु मध्ये अधिकांशले बजारमा लगानी गर्नै हुदैन, उनीहरुको व्यवसायिक आचारसंहिताले पनि त्यस्तै भन्छ । तर, अहिले उनीहरु संविधान सभाको निर्वाचन, त्यसपछि बन्ने सरकार, सरकारले अबलम्बन गर्न सक्ने नीति आदिको बारेमा चर्चा परिचर्चा गरेर÷गराएर बजार बढाउन चाहन्छन्, बढाउन हावादारी तर्क अगाडि सारिएका छन् । बजार वढ्न हुदैन भन्ने मेरो पनि तर्क होइन, बजार बढ्नु पर्छ तर ‘फन्डामेन्टल्स’को आधारमा मात्रै । आधारभुत पक्ष बलियो बन्दै गएको बजार दिगो हुन्छ जहाँ नबुझ्ने, नवप्रवेशी, साधारण लगानीकर्ताले पनि कमाउन सक्छन्, यसैमा सबैको जित हुन्छ तर विभिन्न चलखेर गरेर बजार बढाउँदा त्यस्ता ठाउँमा सर्वसाधारणले गुमाउँछन्, यसपछि उनीहरुमा बजारप्रतिको विश्वास घटेर जान्छ । त्यस्तै लगानीकर्ताको हितको लागि निमयन निकायको स्थापना गरिने हो । अहिलेको बजार वृद्धि नियमन निकायको शुन्य उपस्थिति र सट्टेबाजको शतप्रतिशत चलखेल नै हो, बजार त्यो रफ्तारमा वढ्नु पर्ने अहिले कुनै अवस्था देखिदैन ।
सेयर मुल्य त्यतिबेला रफ्तारमा वढ्नु पर्छ जतिबेला कम्पनीले आफ्नो नाफा तथा भएको रिर्जभलाई बोनसको रुपमा वितरण नगरि थप लगानी गर्ने वातावरण बनेको हुनुपर्छ । संविधान सभाको निर्वाचनले अहिले नै त्यस्तो वातावरण बनाएको छैन न सरकारको कुनै टुङ्गो नै लागेको छ । केही वर्ष अगाडि वाल स्ट्रिटमा याहूले २५ प्रतिशत बोनस घोषणा गर्दा कम्पनीको मूल्य झन्डै फेस भ्यालुभन्दा कम हुन पुगेको थियो । तर नेपालमा ६५० प्रतिशत नगद लाभांश घोषणा गर्ने युनिलिभर लिमिटेडको सेयर मुल्य दश हजारभन्दा माथि छ । यसले नेपालमा अझै सेयर बजारको आधारभुत तह बनिसकेको छैन भन्ने प्रष्ट हुन्छ । यस्तो अवस्थामा सट्टेवाजको वढी चलखेल हुन्छ र नियमन निकायको न्यून उपस्थितिमा सोझासाझा लगानीकर्ता सरासर डुब्ने संभावना वढी हुन्छ ।
२०६२÷६३ को आन्दोलन पछि पनि अब राजनीति सुध्रन्छ भनेर विना आधार सट्टेवाजले बजार बढाएर रेकर्ड कायम गराए । त्यहिबेला लगानी गरेर अझै कमाउँला भन्ने सोचका साथ लगानी बढाउनेले बलजफ्ती बढाईएको बजार त्यहाँभन्दा माथि जान नसकेपछि पुनः र्पुपुरोमा हात राख्नु बाहेक केही प्राप्त गर्न सकेनन् । फेरि अहिले त्यही समूह बजार बढाएर केही उकासिन सकिन्छ कि भनेर लागिपरेको हो, किनकी यसमा नियमन निकायदेखि बजारका विश्लेषक भन्नेसम्म सबै छन् । बजारमा उनीहरुको पहुँच छ, नियमन निकायलाई सजिलै प्रभाव पार्न सक्छन् र उनीहरु भनिरहेछन् अहिले सेयर बजार वढ्नु पर्छ, अझै वढ्नु पर्छ, यो बजार बढ्ने समय हो ।
बैक तथा वित्तीय संस्थाहरुको वाहुल्यता रहेको नेपाली सेयर बजारमा नेपाल राष्ट्र बैक भनिरहेको छ, बैंक तथा वित्तीय संस्थाहरुको पुँजी बढाउन लगाउने कुनै योजना छैन, बरु उनीहरुलाई मर्जमा जान उत्प्रेरित गरिएको छ ।’ तर वासेल ३ लागू हुने भएपछि वाणिज्य बैंकहरुको पुँजी कम्तिमा छ अर्ब हुनुपर्छ वा १० अर्ब भएपछि मात्र विदेशमा शाखा खोल्ने, अन्तर्राष्ट्रिय बैंकसँग प्रतिस्प्रर्धा गर्न सकिन्छ भन्ने तर्क अगाडि सारिएको छ । बैंकले पुँजी बढाउदा कि बोनस सेयर पाइन्छ कि हकप्रद सेयर पाइन्छ भन्ने आशा देखाएर बजार वढाइएको छ । नबुझ्ने, नवप्रवेशी भोलिको आशामा भटाभट लगानी गरि रहन्छ अझ विशेषगरि आजकल विदेशबाट प्राप्त भएको रेमिट्यान्टसलाई सेयरमा हाल्ने काम भइरहेको छ । सट्टेवाजको आँखाबाट हेर्ने हो भने ठीक हो, बजारमा त्यस्तै कोही लगानीकर्ता आएपछि मात्र कमाउन सकिने र उनीहरु त्यो भूमिका खेलिरहेका छन् । बजार नियमन निकायहरुले यसमा सशक्त नियमन गर्न सक्नुपर्छ ।
सट्टेवाजहरुले बजार बढाउन मर्जलाई पनि हल्लाको विषय बनाईरहेका छन् । कस्तो अचम्म एकैपटक मर्जको पनि हावा चलाइन्छ, पुँजी वृद्धिको पनि हल्ला चलाईन्छ र नवप्रवेशी त्यस्तो बेलामा सेयरमा लगानी गर्छन् र डुब्छन् । बैंकहरुको नियमन निकाय राष्ट्र बैंक बैंकको पुँजी फराकिलो बनाउन उद्देश्य तथा समुह मिल्ने बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जमा जान आग्रह गरिरहेको छ, यसले बैंकहरुको पुँजी सजिलै वढ्छ । वासेल ३ मा बैंक तथा वित्तीय संस्थाले पुँजी वढाउनु पर्ने कुनै प्रावधान पनि छैनन्, त्यहाँ त उनीहरुको वित्तीय स्थायित्व र वलियो पुँजी आधार हुनुपर्ने ब्यवस्था छ । सट्टेवाजले यसलाई बंग्याएर प्रयोग गरिरहेका छन् ।
पुँजी वृद्धिलाई तर्क बनाएर सेयरको मुल्य बढाए पनि वाणिज्य बैंकहरुले लगानीका क्षेत्रहरु नपाएर ४० हजारको कम्प्युटर किन्न समेत ऋण दिइरहेको अवस्था छ । बैंकहरुसँग तरलता वढी भएर वचतकर्तालाई दिने ब्याजहरु एकाएक घटाईएको छ । प्रशस्त लगानीका अवसरहरु हुँदा बैंकले पुँजी वृद्धि गर्नु राम्रो हो जसले लगानीबाट वढी प्रतिफल प्राप्त गर्न सकिन्छ र लगानीकर्ताले समेत वढी मुनाफा पाउन सक्छन् । अहिले लगानीको अवसर वढेको छैन, नीतिहरुमा अस्पष्टता छँदैछ, दलहरुमा सोचको कमि छ ।
एक हजार एक सय ७५ पुगेको नेप्से नेपाल धितोपत्र बोर्डले त्यतिवेला लिएको नीति तथा नयाँ नियमावली र नेपाल राष्ट्र बैंकले सेयर धितोमा दिइने कर्जामा कडाई गरेपछि बजार एकाएक रोकिएको थियो, त्यसमाथि नेकपा माओवादीको नेतृत्वमा सरकार बन्नु, अर्थमन्त्रीले बजारलाई जुवाघरको संज्ञा दिनु आदि कारणबाट बजार घट्यो र २९२ विन्दूसम्म आईपुग्यो । बजार सारै तल गयो भनेर अर्थमन्त्रालय, राष्ट्र बैंक तथा अन्य निमयन निकायहरु मिलेर फेरि सेयर कर्जा खुकुलो गर्ने भन्ने निर्देशन पछि यसले पुनः गति लिन थालेको हो । अहिले बजारमा त्यतिवेला किनेर डुबेका सेयरलाई सट्टेवाजहरुले धितोको रुपमा बैंक तथा वित्तीय संघ संस्थाहरुमा राखि सजिलै कर्जा पाइरहेका छन् र त्यही पैसा सेयर बजारमा आइरहेको छ ।
यहाँनेर के बुझ्न जरुरी छ भने बजारको मुल्यको आधारमा सेयर धितो राखेर कर्जा लगानी गर्दा बैंक तथा वित्तीय संस्थालाई अत्यन्तै वढी जोखिम हुन्छ । बजार वढ्ने आधार भैनसकेको अवस्थामा सेयर बजार घट्यो भने बैंकलाई त्यस्तो लगानी उठाउन मुश्किल पर्छ । घरजग्गा धितो राखेर गरेको लगानीलाई त बरु उक्त धितो लिलाम गरेर साँवा उठाउन सकिन्छ तर सेयर मुल्य घट्यो भने न बैंकले उक्त सेयर लिलाम गरेर साँवा उठाउन सक्छ न सेयरधनीसँग ऋण तिर्ने अरु कुनै उपाय नै हुन्छ । बजारलाई केही गति दिन अवलम्बन गरिएका ती निर्देशनहरुबाट केही पछि हट्ने हो भने बजार अहिले नै तुरुन्तै निकै तल आईपुग्छ ।
यसैले बजारलाई कसरी अगाडि वढाउने भन्ने जिम्मा अर्थ मन्त्रालय लगायतका नियमन निकायहरुको काँधमा आएको छ । सट्टेवाजलाई प्रश्रय दिएर सर्वसाधारणको लगानी डुवाउँदै अगाडि जाने कि बजारको आधार तय गर्दै लगानीको वातावरण बनाएर कम्पनीको फन्डामेन्टल्समा सुधार गरि बजार विस्तार गर्ने ? यो त्यहि एकिन गर्ने समय हो । चलखेल गर्ने सट्टेवाजसँग त विभिन्न विकल्प हुन्छन् तर नवप्रवेशी, सर्वसाधारण लगानीकर्तालाई सरकार तथा नियमन निकायले संरक्षण गर्नुपर्छ ।
धितोपत्र बोर्डका पूर्व कर्मचारी आचार्यले व्यक्त गरेका यी बिचार उनका निजी हुन् । सम्पादक