Tuesday, January 21, 2014

बिग डाटा - By Dr. Krishna Kumar Bhetwal - mysansar

“बिग डाटा”- अहिलेको विकसित देशहरुले तिव्र रुपमा तछाड-मछाड गर्दै नयाँ रिसर्चको रुपमा अगाडी बढाइरहेको बिषय हो यो। गुगल, बिंग तथा अनेकन कम्पनीहरुका सुचना सेन्टरहरु आदि इत्यादि सबै “बिग डाटा” हुन्। इन्टरनेट भित्र रहेका विभिन्न तरहका डाटाहरुलाई विभिन्न अप्लिकेसनहरुको माध्यम बाट एकत्रित गरि कुनै पनि समस्याहरुको समाधानमा प्रयोग गरिनु “बिग डाटा” को उद्देश्य हो। यो “बिग डाटा” को प्रयोगले अनेकन विधाहरुमा नयाँ क्रान्ति आउने सम्भावना बढ्दै गएको छ। लगभग सुचना सम्बन्धि सबै क्षेत्रहरुमा यसको प्रयोग अबको केहि बर्ष भित्रमा नै व्यापक रुपमा हुने आंकलन छ। भुकम्प अथवा अन्य दैवी प्रकोप सम्बन्धि अध्ययन, अनुसन्धान तथा रियल टाइम मै सुचना आदानप्रदान गर्न सकिने अनेकन सम्भावनाहरु भएकोले यस तर्फ सरकार, स्वास्थ्य क्षेत्र, पर्यटन क्षेत्र, व्यवसाय क्षेत्र अथवा भुकम्प सम्बन्धि अध्ययन अनुसन्धानकर्ताहरुको ध्यान मोडीन थालेको छ। “बिग डाटा” को एउटा साधारण प्रयोग (अहिलेको अवस्थामा) भनेको “नेभिगेसन सिस्टम” हो, जुन अत्यधिक रुपमा बैदेशिक शहरहरुमा सडक सम्बन्धि सूचनाहरुको लागि प्रयोग गरिएको हुन्छ। रियल टाइम सुचनाहरुका लागि केहि देशहरुले सामाजिक संजाल लाइ समेत प्रयोग गर्ने गरेका छन् (फेसबुक ट्वीटर आदि इत्यादि), कुनै कुनै देशहरुको आफ्नै छुट्टै सामाजिक संजाल समेत छ। सामाजिक संजालहरु प्राय: जसो नितान्त व्यक्तिगत हुने भएकोले सहि र गलत सुचनाको निगरानी गर्ने, गराउने र त्यसबाट आधिकारिक सुचना प्रसारण गर्ने काम देशका अतिनै संबेदनशील निकायहरुले मात्र गर्ने गरेका छन्।
भुकम्प अथवा अरु नै केहि दैवी प्रकोप बाट हुनसक्ने जोखिमको बेलैमा व्यबस्थापन गर्नसके एकातिर हजारौं परिवार सदस्य विहिन हुनबाट जोगिन सक्छ भने अनेकन कम्पनीहरु प्रकोप पश्चात कसरि आफ्नो सेवा सुचारु गर्ने तर्फ केन्द्रित हुनसक्छन। जुन महाभूकम्प अथवा प्रकोप पश्चात पुनर्निर्माण एबम आर्थिक समृद्धि गर्नेतर्फ लम्कने ठुलो कडी पनि हो। भूकम्पीय प्रकोपको जोखिमहरुको बारेमा कुरा गर्नुपर्दा: घर बनाउँदा ध्यान दिनुपर्ने न्युनतम मापदण्डहरु, सुरक्षित स्थानहरुको बारेमा सामाजिक एबम पारिवारिक छलफल तथा पुर्व तयारीको अलावा अर्को सबैभन्दा महत्वपुर्ण पक्ष भनेको विपद्को बेला चाहिने अत्यावश्यक सामाग्रीहरु खानेकुरा, पानि तथा प्राथमिक उपचार कहाँ के-कस्तो अवस्थामा छन् भन्ने “सरकार” मार्फत रियल टाइममा सुचना आदान-प्रदान गर्नु हो।
प्रकोप ठुलो जोखिम भन्दा पनि प्रकोप पश्चातको अवस्था ठुलो जोखिम हो किनभने एउटा “ध्रुव सत्य” कुरा के हो भन्दा दैवी-प्रकोपको बखत कुनैपनि व्यक्ति पहिला आफु र आफ्नो परिवार अनि उक्त पश्चात आफ्नो निकटतम नातेदारहरुको नै रक्षार्थमा नै लागिरहन्छ। सुरक्षित स्थानमै बसेपनि पानि, खानेकुराको अभाव, बन्दोबस्तीको अभाव आदि इत्यादिको समस्या आउन सक्छ। एकै समयमा विभिन्न प्रकारका रोगहरु फैलिन सक्छन, प्रकोप बखत घाइते भएकाहरु समयमै अस्पताल पुगेपनि, डाक्टरको अभाव, रगतको अभाव अथवा औषधिको अभाव आदि विभिन्न कारणले प्रकोपको बखत ज्यान जोगिएपनि उक्त पश्चात कुनै पनि व्यक्ति मृत्युको शिकार बन्न सक्छ। प्राकृतिक प्रकोपको बेलामा “अभाव र तनाव” मात्र हुनेहुँदा त्यसको उच्च स्तरको “रियल टाइम” ब्यबस्थापन र निगरानीमा “बिग डाटा” र यसबाट प्रकोप व्यबस्थापन सम्बन्धि अप्लिकेसनहरु विकास गरिएमा अत्यन्त उपयोगी ठहरिन सक्छ। अर्कोतिर महाभुकम्प तथा प्रकोपको बखत विभिन्न अफवाहहरू फैलन सक्छन, सामाजिक संजाल मार्फत अनेकन हौवाहरु फैलाइन सक्छन (त्यो स्वदेशीले मात्र नभएर विभिन्न बैदेशिक मुलुकका व्यक्तिहरुले पनि निश्चित फाइदाको लागि गर्न सक्छन) जसमार्फत एउटा सिङ्गो समुदाय अफवाहको बलमा “आक्रान्त” बन्न सक्छ। यी यस्ता सम्भावित घटनाहरुको उचित व्यबस्थापन “बिग डाटा” मार्फत गर्न सकिन्छ। जस्तो कि इन्डोनेसियाले भुकम्प बखत सुचना आदान-प्रदान गर्नको लागि आफ्नो छुट्टै सामाजिक संजाल निर्माण गरेको छ। जसको सम्पूर्ण आधिकारिक व्यवस्थापन र निगरानी सरकार आँफैले गर्ने गर्छ।
विकसित देशहरुतिर भूकम्पको कम्पन आएको केहि सेकेन्डभित्र हरेकको मोबाइलमा सावधानी मेसेज पठाउने अप्लिकेसनहरु विकसित भएका छन् र प्राकृतिक प्रकोप पश्चातको व्यवस्थापनको लागि कसरि “बिग डाटा” लाइ प्रयोग गर्ने सकिन्छ भन्नेमा अनुसन्धानरत छन्। एक अध्ययन अनुसार जापानमा केहि बर्ष पहिला गएको विनासकारी भुकम्प र त्यसको कारणले आएको सुनामिमा अधिकांश व्यक्तिहरु आफ्नो गाडी मार्फत भाग्ने प्रयत्न गरेका थिए तर दुर्भाग्यबश सबैले गाडी प्रयोग गरेकाले सुरक्षित स्थानमा पुग्नु अगावै ट्राफिक जामको कारण उम्कन नसकी ज्यान गुमाउन पुगेका थिए। यसबखत उक्त ट्राफिकजामको बारेमा “रियल टाइम” सुचना भएको भए गाडी मार्फत भाग्ने र भाग्दै गरेकाहरुको ज्यान जोगिन सक्ने अवस्था थियो भन्ने विभिन्न अध्ययनहरु मार्फत आइरहेका छन्। हाम्रै देशको सन्दर्भमा कुरा गर्ने हो भने पनि कहाँ, कतिखेर कतिसमय देखि, कुन कारणले ट्राफिक जाम हो थाहा पाउन नसकिएर गन्तव्यस्थल तर्फ लम्कन्दै गरेका इमर्जेन्सी एम्बुलेन्सहरु जामको चपेटामा परि बिरामीको मृत्यु हुने गरेको छ।
त्यस्तैगरी बिकट जिल्लाहरुमा अज्ञानताबश सरुवा रोगहरुको महामारी फैलने गरेको छ र अकालमा सयौं नेपालीहरुले ज्यान गुमाइरहेका छन्। यी सबैको सबैभन्दा सजिलो समाधान भनेकै “बिग डाटा मार्फत तैयार हुने रियल टाइम अप्लिकेसन” हुनसक्छ।
र अन्त्यमा “बिग डाटा” मा अनेकन व्यक्तिगत सुचनाहरु हुने भएकोले यसको कसरि प्रयोग गर्ने भन्ने बारे विश्व अझै स्पस्ट हुन सकेको छैन। मानवाधिकार देखिका कुराहरु लिएर अनेकन कठिनताहरु यसमा नभएका होइनन, जापानकै सवालमा कुरा गर्ने हो भने “व्यक्तिगत सुचना” प्रयोग सम्बन्धि हक अधिकार र मापदण्डको लागि ब्यापक छलफल भैरहेको छ। हाम्रो जस्तो मुलुकले विकसित मुलुकहरुमा जस्तो “रियल टाइम” सूचना प्रविधि तत्कालै बिकाश गर्न नसके पनि नयाँ अन्य केहि प्रणालीहरु तैयार पारेर सरकारले “बिग डाटा” मार्फत अनेकन “दैवी-प्रकोप व्यबस्थापन” एबम “प्रकोप व्यवस्थापन” सम्बन्धि प्रविधिहरु विकास गर्नुपर्ने टड्कारो देखिन्छ। कम्तिमा पनि देशभर (हरेक गा.वि.स.मा कम्तिमा २ जना “सुचना संकलक” राखेर) त्यसलाई सकेसम्म छीटो विभिन्न मोबाइल अप्लिकेसनहरु, रडियो अथवा टि.भी मार्फत जनमानसमा पुर्याउन सकेमा प्रकोप ब्यबस्थापनमा नयाँपन आउने छ भन्नुमा अतिशयोक्ति नहोला। अथवा विभिन्न मिडियाहरुका साथै स्थानीय सम्वाददाता, स्थानीय एफ.एम रडियो आदि इत्यादि सुचना केन्द्रहरु समेत समेटेर एउटा बलियो “राष्ट्रिय सूचना केन्द्र” निर्माण गरि प्रकोप व्यबस्थापन गर्नु हाम्रो देश नेपालको लागि प्रत्युत्पादक हुनसक्छ जसको न्युनतम मापदण्ड भनेको अतिनै विश्वसनीय, आधिकारिक एबम छिटो छरितो सूचना हुनुपर्नेछ।