१५
जेठ, काठमाण्डौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक अहिले
युगान्तकारी परिवर्तनको प्रसव पीडामा रहेको बताउनुभएको छ । पीडाबाट
मुलुकलाई सही विन्दूमा अवतरण गराउन आवेग, क्षेत्रगत स्वार्थ, उत्तेजना वा
प्रतिकृयाबाट नभई सबै समुदाय, क्षेत्र, वर्ग, लिङ्गका नेपाली दाजुभाइ
दिदीबहिनी र राजनैतिक दल एवम् नागरिक समाजबाट विवेक, संयमता, धैयता र
त्यागको आवश्यकता रहेको बताउनुभएको छ ।
पाँचौ गणतन्त्र दिवसको अवसरमा राजधानीको
सैनिक मञ्चमा आयोजित कार्यक्रममा प्रधामन्त्री भट्टराईले आर्थिक संवृद्धि
विनाको स्वतन्त्रता खोक्रो हुने भएकाले परनिर्भरतालाई अन्तरनिर्भरतामा
बदल्ने सोंच र योजनका साथ काम गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रियता र सार्वभौम स्वतन्त्रताजस्ता
कुरा आरोप प्रत्यारोपका विषय नहुने भन्दै उहाँले राष्ट्रिय स्वार्थको रक्षा
गर्न, राष्ट्रिय एकतालाई सुदृढ बनाउन र अखण्डताको संरक्षण गर्न आवश्यक
रहेको बताउनुभयो ।
संविधानका एक सय भन्दा बढी विवादित
विषयहरूमा सहमति जुटाउन जिम्बेवार भएर काम गर्दा पनि संविधान जारी गर्न
नसकीएको चिन्ता व्यक्त गदै उहाँले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै
दलहरु र त्यसका सदस्यका हैसियतले आफै पनि जिम्मेवारीबाट पूर्ण मुक्त नरहेको
बताउनुभयो । संविधान जारी गर्ने काम संविधानसभाको हो भन्नुहुँदै
प्रधानमन्त्रीले भन्नुभयो -’सरकारको काम सहयोगी, सहजकर्ता र समन्वयकर्ताको
रुपमा रहन्छ । त्यो भूमिका निर्वाह गर्न कार्यकारी प्रमुखका हैसियतले मैले
इमान्दारीपूर्वक प्रयत्न गरेकै हुँ । यसको पनि उचित मूल्याङ्कन गर्ने
जिम्मा आम जनतालाई दिन्छु ।
तथापि, संविधानसभाको एक जिम्मेवार सदस्य,
संविधानसभाको प्रतिनिधित्व गर्ने एक राजनीतिक दलको जिम्मेवार नेता तथा यस
कालखण्डको मुलुकको कार्यकारी प्रमुखको हैसियतले तोकिएको अवधीमा संविधान
जारी गराउन नसक्दा मैले लिनुपर्ने जिम्मेवारीको हिस्साको उत्तरदायित्व
महशुस गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति क्षमा याचना
गर्दछु ।’
प्रधानमन्त्रीले आगामी मंसीर ७ गतेका लागि
तय गरिएको नयाँ संविधानसभा निर्वाचनलाई सफल पार्न पनि सवै सँग आग्रह
गर्नुभएको छ । आफ्ना माग र मुद्दालाई जनअनुमोदन गराई जनताकै बलमा सम्बोधन
गराउने बाटो खुला भएको भन्दै उहाँले कुनै बहानामा शान्ति सुव्यवस्था,
अमनचयन र जनताको निर्वाध आवागमन तथा पेशा, व्यवसाय गर्ने अधिकारमा
हस्तक्षेप र अवरोध गर्न नसक्ने स्पष्ठ पार्नुभयो ।