पूर्णकुमारी गौचन
१ जेठ, काठमाडौं । मेरो घर जोमसोम
विमानस्थलको नजिकै पर्छ । सोमबार बिहान त्यस्तै साढे नौ जति बजेको थियो
होला । म घरमै भान्सामा काम गरिरहेको थिएँ । एक्कासी बाहिर ठूलो आवाज आयो ।
केहीबेरमै लौ प्लेन खस्यो भनेर मान्छेहरु खैलीबैली गरेको सुनियो । म पनि
हत्तपत्त बाहिर निस्केर त्यता दौडिएँ । सेना, प्रहरी र अरु स्थानीयबासिन्दा
पनि त्यतैतिर दौडिए ।
त्यहाँ पुग्दा विमान माटोको ढिस्कोमा
ठोक्किएर खोंचमा खसेको अवस्थामा थियो । बिमानका केही टुक्रा बाहिर छरिएका
थिए । तर आगो भने लागेको थिएन । एकजना विदेशी विमानभित्रबाट कालोनिलो
अनुहार बनाउँदै विमानबाट निस्के । उनले भित्र रहेको अर्को मान्छेलाई पनि
ताने । उनीहरुको हातखुट्टामा सामान्य चोट लागेको देखिन्थ्यो ।
विमानभित्रबाट आफैं बाहिर निस्केका उनीहरुलाई प्रहरी र अरु
स्थानीयबासिन्दाले अलि परको सम्म परेको ठाउँमा लगेर राखे । अरुले चाहिं
विमानभित्रका रहेकाहरुलाई उद्दार गर्न लागे । दुईजना बालबालिका, विमानकी
परिचालिका र अर्का एकजनालाई पनि घाइते अवस्थामा भेटियो । दुर्घटना भएको
ठाउँबाट जोमसोम अस्पताल त्यस्तै १० मिनेटको दूरीमा मात्रै रहेकाले
घाइतेहरुलाई उतिखेरै अस्पताल पुर्याइयो ।
मान्छेहरुको खैलीबैली, सुरक्षाकर्मीको
दौडधूपले दुर्घटनास्थल आतंकित देखिन्थ्यो । घाइतेहरु कोही बेहोस थिए । कोही
रुवाबासी गरिरहेका थिए । उनीहरुको अनुहारमा त्रास देखिन्थ्यो । हामीलाई
पनि डर लाग्यो । ६ जनालाई जीवितै उद्दार गरिएपनि अरु भने मरिसकेका रहेछन् ।
कतिपयको शव विमानले चेपिएको अवस्थामा रहेकाले निकाल्न धेरैबेर लाग्यो ।
घाइतेहरुलाई जोमसोम अस्पतालमा सामान्य उपचारपछि अर्को जहाजबाट पोखरा लगियो ।
बिहान खाना खाने बेला भएको विमान दुर्घटनाले हामी गाउँलेलाई अहिलेसम्म पनि
नरमाइलो महसुस भैरहेको छ । कतिपयले खाना समेत खाएका छैनन् ।
(सोमबार मुस्ताङको जोमसोममा भएको विमान दुर्घटनाका प्रत्यक्षदर्शी लेतेकी पूर्णकुमारी गौचनसितको कुराकानीमा आधारित)