Sunday, August 21, 2011

सुरक्षाको कारण देखाउँदै नेपाल भ्रमण रद्द - onlinekhabar

४ भदौ, काठमाडौं । नेपाल छुट्टै देश भएको भन्ने कुरा आफुलाई थाहा नभएको भन्ने अभिव्यक्तिका कारण विवादमा परेकी बंगलादेशी लेखिका तसलिमा नसरीन अन्ततः साहित्य महोत्सवमा आउने आफ्नो कार्यक्रम रद्ध गरेकी छिन् । एकाएक विवादमा तानिएपछि तसलिमालाई अहिले टि्वटरमार्फत आफ्नैे अभिव्यक्तबारे नेपाली सर्वसाधारणले गरेको आलोचनाकोजवाफ दिँदैमा ठिक्क छ ।
उनले आफ्नो अभिव्यक्तिको बारेमा स्पष्टिकरण दिँदै आफ्नो भनाइलाई गलत अर्थ लगाइएको दाबी समेत गरेकी छिन् । तसलिमाले हिजो टि्वटर मार्फत आफ्ना नेपाली प्रसंसकहरुलाई संबोधन गर्दै भनेकी थिइन् ΄मेरा प्यारा नेपाली साथीहरु मैले आज काठमाडौँ जाने जहाज मिस गरेँ । नेपाल छुट्टै देश हो भन्ने मलाई थाहा थिएन त्यसैले मैले पासपोर्ट ल्याइन’ ।
तसलिमाको यो अभिव्यक्तिपछि उनका नेपाली समर्थकहरु एकाएक आगो भए र नेपालको स्वतन्त्रता र सार्वभौमिकताको अपमान गरेको भन्दै टि्वटरमार्फत नै रिस पोख्न थाले । पछिल्लो २० घण्टा टि्वटर मार्फत नेपाली हरुका प्रश्नका जवाफ दिनमै व्यस्त तसलिमाले भने आफुले नेपालको स्वतन्त्रताको अपमान नगरको र आफुले सबै देशलाई आफ्नो ठान्ने तथा कसैलाई परदेश नठान्ने जवाफ दिइन् । मान्छेले वर्ण, संस्कृति , भाषा, जात धर्मको नाममा आफैलाई विभाजित गरेको र त्यो मानव समाजका लागि नै दुर्भाग्य भएको तसलीमाले बताएकी छिन् ।
तसलिमाको स्पष्टिकरणबाट चित्त नबुझेका नेपालीहरुले त्यसपछि पनि उनको आलोचना गर्दै तसलिमाको वालमा टि्वट्न छाडेनन् । कतिपयले त अपशब्द समेत प्रयोग गरे त कतिपयले तसलिमालाई नेपाल आउन प्रतिबन्ध लगाउनुपर्ने माग गरे ।
नेपालीहरुको आक्रोश देखेर दुखी हुँदै तसलिमाले लेखेकी छिन्, “मेरो देश छैन, मलाई जुन देशका जनताले माया गर्छन् त्यो नै मेरो देश हो, यसअघि मैले नेपालीलाई दाजुभाई सम्झिएँ र नेपाललाई आफ्नै देश जस्तो, तर गल्ती गरेछु ।”

तसलिमाले त्यसपछि आफ्नो काठमाडौं आउने योजना रद्ध गरेको कुरा टि्वटर मार्फत सार्वजनिक गरिन् । नेपाल नआउने घोषणा गरेसँगै तसलिमा नेपाली प्रकाशकहरुसँग पनि खनिइन् । उनले कुनैपनि नेपाली प्रकाशकलाई आफ्ना किताब छाप्न नदिएको र तसलिमाका किताब प्रकाशन गरेको भनेर नेपालका निजि प्रकाशकहरुले झुक्काइरहेको बताएकी छिन् । उनले आफ्ना कृति कसले नेपालीमा अनुवाद गर्‍यो त्यस बारेमा पनि थाहा नभएको बताएकी छिन् ।
तसलिमाले आफ्नो अभिव्यक्ति विवादित बनेपछि आफ्नो दुखद इतिहास पनि टि्वटरमार्फत सार्वजनिक गरिन् । उनले भनेकी छिन् , “मानवताको पक्षमा मैले गरेको कामका कारण मुस्लिमहरुले मलाई घृणा गरे, विज्ञान प्रतिको मेरो विश्वासका कारण साइबाबाका भक्तहरुले मलाई घृणा गरे र अहिले नेपाल प्रतिको मेरो मायाका कारण नै होला नेपालीहरुले मलाई घृणा गर्दैछन् ।” उनले आफुले नेपाललाई सधै माया गर्ने पनि बताएकी छिन् । तसलिमाले नेपालमा अपि्रय घटना नघटोस् भनेर आफुले नेपाल आउने कार्यक्रम स्थगित गरेको बताएकी छिन् । आफ्नो अभिव्यक्तिपछि नेपाली जनतामा देखिएको राष्ट्रवादलाई उनले व्यङ्ग्य समेत गरेकी छिन् अल्वर्ट आइन्सटाइनको यो भनाइ सापटी लिएर, “राष्ट्रबाद बालरोग हो र यो मानिसको लुतो हो ।”