१ भदौ, काठमाडौं । अक्सर ‘शान्त कूटनीति’मार्फत आफ्ना गतिबिधि गर्ने चीनले पछिल्लो समयमा नेपालमा आफ्नो सक्रियता र चासोलाई ह्वात्तै बढाएको छ । शान्ति प्रकृयाको सुरुवातसँगै भ्रमण कूटनीतिलाई तिब्रता दिएको चिनियाँ पक्ष पछिल्लो समयमा छिमेकी भारतलाई टक्कर दिनेगरि आक्रामक कूटनीतितिर लागेको देखिन्छ ।
एकपछि अर्को गर्दै उच्च चिनियाँ प्रतिनिधिमण्डल ठूला ठूला टोली लिएर काठमाण्डौ आइरहेका छन् । मुख्य राजनीतिक दलका नेता, सेना लगायतका पक्षहरुसँग भेटवार्ता गरिरहेको छ । हरेक भ्रमणमा नयाँ नयाँ आर्थिक सहयोगका प्याकेज घोषणा भइरहेका छन् । यसले सतहमा हेर्दा चीनको गतिबिधिमा नेपालमा बढेको प्रष्ट देखिन्छ, जसले दक्षिणतिरको छिमेकी भारतलाई झस्काईरहेको छ ।
प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिए लगत्तै चिनियाँ राष्ट्रपतिका विशेष दूत सहितको जम्बो टोलीले नेपाल भ्रमण गरेर बिहीवार स्वदेश फर्कियो । त्यसो त प्रधानमन्त्रीले राजीनामा दिनुअघि नै भ्रमणको मिति तय भैसकेको थियो । स्रोतका अनुसार प्रधानमन्त्रीले राजीनामा दिए लगत्तै नेपाल आउँदा अर्को अर्थ लाग्ने डरले चिनियाँ टोली अन्तिम अवस्थामा भ्रमण रद्द गर्ने मनस्थितिमा पुगिसकेको थियो । तर, नयाँ सरकार गठनमा कुनै चासो र दबाब दिएको जस्तो भान नपार्ने गरी चिनियाँ टोली भ्रमणमा आएको हो । तीन दिनको नेपाल बसाईमा ६० सदस्यीय चिनियाँ टोलीले राष्ट्रपति, प्रधानमन्त्री सहित माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्यो । चिनिया टोलीले भ्रमणका क्रममा १ अर्ब भन्दा धेरैको आर्थिक सहयोगको सम्झौता पनि गर्यो ।
भ्रमण किन ?

खासगरी चीन, तिव्वत मामिलामा नेपाली भूमि प्रयोग गरेर हुन सक्ने चलखेलप्रति सशंकित छ । नेपालले पञ्चशिलको सिद्धान्त अनुसार छिमेकीबिरुद्ध आफ्नो भूमिबाट कुनै काम हुन नदिने प्रतिवद्धता जनाईरहे पनि चीन यसमा बिश्वस्त देखिन्न । ‘त्यसैले संसदबाटै संकल्प प्रस्ताव पारित गरेर छिमेकीलाई बिश्वास दिलाउनु पर्ने बेला आएको छ’ चीनका लागि पूर्व राजदुत आचार्यले भन्नुभयो । स्वतन्त्र तिब्बतको नाममा आफू विरोधी गतिबिधि बढ्न थाल्यो भनेर चीन पहिलेदेखि नै सशंकित छ ।
राजनीतिक चासो
प्रष्ट देखिने गरी प्रभाव पार्न नसके पनि चीनले नेपालमा कम्युनिष्ट नेतृत्वकै सरकारले निरन्तरता चाओस् भन्ने चाहान्छ । उच्चस्तरीय भ्रमणको क्रममा चिनियाँ टोलीले यसप्रति चासो पनि देखायो । गोप्य राजनीतिक भेटवार्ता पनि भयो । तर यस कुरालाई उसले बाहिर ल्याएन । खुला भेटवार्ताको क्रममा भने चिनियाँ टोलीले आफ्नो देश नेपालमा शान्ति र संविधान निर्माण भएको हेर्न चाहेको बतायो । चीनले सहमतिको सरकार निर्माण हुनु पर्ने चाहना रहे पनि नेपाली नागरिकको चाहना अनुसार बन्ने जुन सुकै सरकारलाई सहयोग रहने प्रतिवद्धता पनि जनाएको छ । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार मिलन तुलाधरका अनुसार भेटमा चीनले नेपालमा सहमतिको सरकार गठनसँगै राजनीतिक स्थिरता कायम रहोस् भन्ने कामना गरेको छ ।