Thursday, August 11, 2011

प्रेमिकाको हत्यापछि ३० लाख फिरौती माग - नवराज मैनाली - नयाँ पत्रिका

काठमाडौं, २५ साउन
घुम्न लैजाने बहानामा प्रेमिकालाई ललितपुरको लेले जंगलमा लगी गोली हानेर प्रेमीले हत्या गरेका छन् । ललितपुरस्थित नेसनल कलेज अफ मेनेजमेन्ट (एनसिएम)मा पढ्ने कुपन्डोलकी रोजी महर्जनको नेपाल कमर्स क्याम्पस पढ्ने उनका प्रेमी सुभाष उप्रेतीले हत्या गरेका हुन् । 
प्रेममा खटपट भएपछि प्रतिशोध लिन र फिरौती लिन युवतीको हत्या भएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी हेमन्त मल्लले बताए । खुला मनकी प्रेमिकाका धेरै साथी भएकोमा प्रेमी सुभाषलाई आपत्ति थियो । यस्ती केटीलाई मारेकै ठीक हो, बरु अपरहण गरेको भनेर बाबुआमासँग पैसा माग्न सकिन्छ भन्ने साथीहरूको उक्साहटमा उनी आफ्नै प्रेमिकालाई मार्न तयार भएका थिए । 
गत शुक्रबार बिहान करिब ११ बजे सुभाषले रोजीलाई कुपन्डोलबाट लिएर लेलेतर्फ गएका थिए । करिब साढे १२ बजे उनीहरू लेले जंगल पुगेका थिए । प्रेमी सुभाषले जंगलमा मोटरसाइकल रोकेपछि प्रेमिका रोजी अलमल परेकी थिइन् । तर, उनी मोटरसाइकलबाट झरेकी थिइनन् । यसअघि नै जंगल पुगेका सुभाषका साथीहरूले रोजीलाईर् गोली हानेका थिए । 
महाशाखाका प्रमुख एसएसपी ठकुरीका अनुसार जंगलमा पुगेलगत्तै मोटरसाइकलमै गोली हानेर युवतीको हत्या गरिएको खुलेको छ । उप्रेतीका साथी राजुले उनलाई गोली हानेका थिए । युवतीको बायाँ कन्चटमा एक राउन्ड गोली प्रहार भएको छ । युवतीको शव प्रहरीले पाँच दिनपछि मंगलबार फेला पारेको हो । 
हत्या गरेपछि थसिखेलस्थिल कुमारको कोठामा केही समय बसेर उनीहरू आ-आफ्नो घर गएका थिए । कुमारको कोठाबाट प्रहरीले दुई राउन्ड गोली र हत्याको समयमा सुभाषले लगाएको रगत लतपतिएको कपडा बरामद गरेको छ । 
युवतीको हत्या गरेर नयाँबानेश्वरस्थित घर गएका सुभाषले साढे ४ बजेतिर रोजीको मोबाइलबाटै एसएमएस गरेका थिए । छोरीको मोबाइलबाट 'घर आउन ढिला हुन्छ' भन्ने सन्देश पाएपछि परिवार ढुक्क भएका थिए । तर, रोजीलाई उनकै प्रेमीले मारेर जंगलमा फालेर आएका थिए । 
तर, प्रेमिकालाई मारेर आएका सुभाषले उनकै फोनबाट सम्पर्क गरेर आफूहरूले अपहरण गरेकाले ३० लाख फिरौती नदिए मारिदिने भन्दै फिरौती मागेका थिए । 'फिरौती नदिए हत्याको भिडियो खिचेर सार्वजनिक गर्नेसमेत धम्की दिएका रहेछन्,' प्रहरीको भनाइ छ । 
कलेज जान भनेर बिहान साढे ९ बजे हिँडेकी रोजी घरसमेत नआएको र उनकै मोबाइलबाट फिरौती मागिएपछि परिवार आतंकित भएको थियो । तर, परिवारको सहयोगमा प्रहरीले सोही दिन राति नै सुभाषलाई उनको घरबाट पक्रन सफल भएको थियो । सुरुमा उनले घटना अस्वीकार गरेकोमा पछि सबै स्वीकार्दै घटनाबारे प्रहरीलाई बेलिबिस्तार लगाएका थिए । 
अपराध महाशाखाका डिएसपी हृदय थापाका अनुसार उप्रेती र महर्जनबीच प्रसादी एकेडेमीमा प्लस टु पढ्दादेखि नै चिनजान थियो । पछि दुवैजना एनसिएम कलेज पढ्न थालेपछि सम्बन्ध नजिकिएको थियो र त्यहीबीचमा उनीहरूबीच प्रेम सुरु भएको थियो । 
पछि उप्रेती ०६६ मा पढ्नका लागि बेलायत गए । बिबिएस पढ्न लन्डनको लन्डन कलेज अफ एकाउन्टेन्सीमा भर्ना भएका उनी गत वर्ष मंसिरमा नेपाल फर्किएका थिए । रोजीकै दबाबमा आफू विदेशबाट फर्किएको उनले बताएका छन् । 
बेलायतबाट फर्किएपछि उनी नेपाल कमर्स क्याम्पस भर्ना भए । तर, सुभाष नेपाल फर्किएलगत्तै उनीहरूबीच खटपट सुरु भएको थियो । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार सुभाष रोजीप्रति समर्पित थिए भने रोजीको भने अन्य युवकहरूसँग पनि राम्रो सम्बन्ध थियो । 
आधुनिक स्वभावकी भएकाले उनी अन्य केटाहरूसँग बोल्न, नाच्न मन पराउँथिन् । त्यही विषयमा उनीहरूबीच झगडा भएको थियो । आफूलाई रोजीले धोका दिएको भन्दै सुभाषले झगडा गर्ने गरेका थिए । कतिसम्म भने गत १८ फागुनमा चोभार घुम्न गएका वेला सुभाषले प्रेमिकालाई घुर्की लगाउन थोरै विषसमेत पिएका थिए । तर, थोरै मात्र पिएकाले उनी बाँच्न सफल भए । 
पछि सचेन, कुमारलगायतका साथीले 'आफूलाई धोका दिने त्यस्ती केटीको पछि लाग्न नहुने भन्दै, छाडिदिन सुझाब दिएका थिए त्यहीबीचमा अपहरण गरी फिरौती मागेर हत्या गर्ने योजना उनीहरूले बनाएका थिए । 'युवतीको परिवारको आर्थिक अवस्था पनि मजबुत भएकाले अपहरण गरेर फिरौती माग्ने र पछि हत्या गर्ने योजनामा सुभाष करिब एक महिनाअघि राजी भएको देखिन्छ,' अपराध महाशाखाका डिएसपी थापा भन्छन्, 'तर पछि अपहरण गरेर बन्धक बनाउने ठाउँको समस्या भएपछि जंगलमा लानेवित्तिकै हत्या गरिएको उनीहरूले बताएका छन् ।'
सुभाषले आवेगमा आएर प्रेमिकाको हत्या गराएको र अन्य व्यक्ति भने पैसाका लागि उक्त घटनामा आबद्ध भएको प्रहरी अनुसन्धानमा देखिएको छ । आपराधिक गतिविधिमा लागेका व्यक्तिसँग उनको संगत भएपछि उनीहरूकै योजनामा उनले आफ्नी प्रेमिकाको हत्या गरेको प्रहरीको भनाइ छ । 
हत्या गर्नुभन्दा पहिले नै उनले गोली हान्ने राजुलाई २५ हजार दिएका थिए भने हत्यापछि सुरक्षित साथ बस्नु भन्दै थप एक लाख ५० हजार दिएका थिए । आफ्नो मोटरसाइकल बेचेर उनले उक्त रकम दिएको खुलेको छ । पछि युवतीलाई जंगलमा लिएर गएको मोटरसाइकल भने उनको साथीसँग केही दिनका लागि लिएका थिए । हत्याको योजनास्वरूप अघिल्लो दिन पनि उनीहरू जंगलमा गएर रेकी गरेका थिए । 
अभियुक्तहरू सुरुमा एक करोड माग्ने योजना भए पनि पछि ३० लाख र अन्त्यमा उनीहरूले २० लाख मागेको बुधबार महानगरीय प्रहरी आयुक्त कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसएसएपी मल्लले बताए । 
सचेन, कुमारलगायतसँग सुभाषको भेट भने करिब एक वर्षअघि भएको थियो । सुभाषको साथी सोहन सिंहको भोजमा उनीहरूबीच चिनजान भएको र पछि नजिकिएका थिए । फरार अभियुक्त कुमार हतियारको कारोबारमा सक्रिय रहेको प्रहरीको दाबी छ । त्यसैगरी, कत्ले भनिने राजुले तीन/चारजनाको हत्या गरिसकेको उनीहरूले बताएका छन् । पक्राउ परेका अभियुक्त सचेन भने १२ कक्षा पढेर छाडेका थिए । सचेनकै साथी राईले भने घटनाको विषयमा आफूलाई थाहा नभएको जिकिर गरेका छन् । 
युवतीको हत्यापछि त्यसको जिम्मा उनीहरूले महेन्द्र गुरुङलाई लगाउने योजना बनाएको पनि खुलेको छ । पैसा लगेर नतिरेको अभियोगमा रोजीले गुरुङविरुद्ध गत ७ फागुनमा महानगरीय प्रहरी प्रभाग सातदोबाटोमा उजुरी गरेकी थिइन् । सोही पैसाको विवादमा गुरुङले युवतीको हत्या गरेको खेल खेल्ने उनीहरूको तयारी थियो । गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । तर, हत्यामा गुरुङको भूमिका नदेखिएकाले उनलाई भने ठगी मुद्दा मात्र चलाइने भएको छ । लेले जंगलमा जानुअघि कुपन्डोलस्थित नबिल बैंकको पार्किङमा राखिएको युवतीको बा३२प ९१९३ नम्बरको स्कुटी पनि प्रहरीले बरामद गरेको छ । 
मृतक युवतीको परिवारको पार्टी प्यालेसको व्यावसाय छ । कुपन्डोल र कमलपोखरीमा उनीहरूले पार्टी प्यालेस चलाउँदै आएका छन् । घटनाका मुख्य अभियुक्त उप्रेती पनि आर्थिक रूपमा सम्पन्न परिवारका व्यक्ति हुन् । उनका बुबा निजामती सेवामा अधिकृतस्तरका जागिरे छन् । 
पक्राउ परेका व्यक्ति कर्तव्य ज्यान, अपहरण र हातहतियार तथा खरखजानामा समेत मुद्दा चलाउने प्रहरीको तयारी छ ।