Friday, August 19, 2011

दोषी देखियो अमेरिकी दूतावास, मुद्धा चलाउने तयारी 'तिब्बती शरणार्थीलाई नेपाली पासपोर्टमा भिषा' - ekantipur

नेपालमा रहेका तिब्बती शरणार्थीलाई नक्कली पासपोर्ट लिन लगाई अमेरिकाको भिषा दिलाउने काममा नेपालस्थित अमेरिकी दूतावास नै योजनाबद्ध रुपमा लागेको प्रहरी अनुसन्धानले ठहर गरेको छ । यो सम्बन्धी समाचार नयाँ पत्रिका र कान्तिपुर दैनिकले प्राथमिकताका साथ मुख्य पेजमा छापेका छन् ।
दूतावासले भिषासँगै दिएको खामबन्दी पत्रका तिब्बती शरणार्थी भनेर उल्लेख गरेपनि नक्कली नेपाली राहदानी लिएका त्यस्ता शरणार्थीलाई नेपालीका रुपमा भिषा दिइएको प्रहरीले जनाएको छ । नेपाली पासपोर्टमा अमेरिका उडन लागेका दुई तिब्बती शरणार्थीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गर्दा यस्तो तथ्य पत्ता लागेको केन्द्रीय जाँच ब्युरो ‘सीबीआई’ले जनाएको छ । पक्राउ परेकालाई अमेरिकी दूतावासले दिएको खाम खोल्दा दूतावास योजनाबद्धरुपमै लागेको पुष्टी भएको हो । जाँच ब्युरोले बिहीवार खाम खोलेको हो ।
यसैगरि कान्तिपुर दैनिकले यसैवारे छापेको समाचारमा दूतावासको संलग्नता देखिएकाले प्रहरीले मुद्दा चलाउने तयारी गरिरहेको उल्लेख छ । प्रहरीले खोलेको खाम र त्यसभित्रका पत्रलाई रेकर्डका रुपमा राखि सरकारी वकिलमार्फत आबश्यक कारवाहीका लागि अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । काठमाण्डौं प्रहरी प्रमुख केदार रिजालले भने-’ बिमानस्थलबाट मुचुल्का भई आएका सवै कागजपत्र प्रमाणकारुपमा कायम हुनेगरि मुद्दा प्रकृया अगाडी बढाएका छौं ।’
यो समाचारसँगै नेपालीस्थित अमेरिकी दूतावासको संलग्नतामा तिब्बती शरणार्थीलाई नेपालीका रुपमा भिषा दिइएको प्रमाणित भएको छ । यस्तो पत्र खोल्न कुटनीतिक रुपले मिल्छ कि मिल्दैन भन्ने बिषयमा बहस हुँदा करिव एक महिनादेखि त्यस्तो पत्र खोलिएको थिएन् । अमेरिकी दूतावासको यो क्रियाकलाप र प्रहरीले अगाडी बढाउन लागेको मुद्दाले नेपाल र अमेरिकाविचको सम्बन्धमात्र हैन अमेरिका र चीनवीचको सम्बन्धमा पनि दरार आउने देखिन्छ ।
केही दिनअघि मात्र नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलीसीले उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई सिंहदरवारमै पुगेर भेट्दै सो पत्र नखोल्न दबाब दिएका थिए । यस्तै अमेरिकी दूतावासका काउन्सिलर आफै हनुमानढोका पुगेर त्यस्तो पत्र फिर्ता दिन र नखोल्न आग्रह गरेका थिए । तर, प्रहरीले बिमानस्थलबाट पक्राउ परेकाको मुद्दासँगै मुचुल्कामा चिठी पनि उल्लेख रहेकाले दिन नमिल्ने जवाफ फर्काएको थियो । अमेरिकी दूतावासले नेपाल प्रहरीसँग दूतावासले सिधा डिल गर्न पाउनुपर्ने माग पनि गरेको थियो । प्रहरीले पत्र खोल्नेका लागि दूतावासको प्रतिनिधि पनि उपस्थीत आग्रह गरेपनि नमानेपछि प्रहरीले मुचुल्का उठाई पत्र खोलेको हो ।
नेपालमा रहेका तिब्बती शरणार्थीलाई नक्कली ट्राभल डकुमेन्टका आधारमा नेपाली पासपोर्ट दिने र भिषा दिएर युरोप तथा अमेरिका पठाउने काममा यहाँस्थित कुटनीतिक नियोगहरुकै प्रत्यक्ष संलग्न्ता पुष्टी भएको हो ।