Thursday, August 11, 2011

सरकारी सहभागितामा मात्र लुम्बिनीको विकास : प्रचण्ड - नेत्र पन्थी - नयाँ पत्रिका

काठमाडौं, २५ साउन
माओवादी अध्यक्ष प्रचण्डले लुम्बिनीको विकास सरकारको स्वीकृति र सहभागिताबाट मात्र हुने बताएका छन् । एसियन प्यासिफिक एन्ड एक्सचेन्ज कोअपरेसन फाउन्डेसन (एपेक)को पदाधिकारी बैठकमा भाग लिई मलेसियाबाट बुधबार स्वदेश र्फकनेक्रममा प्रचण्डले सम्पूर्ण आयोजना पारदर्शी रूपमा मात्र सञ्चालन हुने बताए । 
'सरकारको सहभागिता र पारदर्शी नभई लुम्बिनीको विकास सम्भव छैन,' फाउन्डेसनका सह-अध्यक्षसमेत रहेका प्रचण्डले भने, 'समग्र परियोजना नेपाल सरकारको सहभागिता र स्वीकृतिविना अगाडि बढ्दैन ।' प्रचण्ड फाउन्डेसनको पदाधिकारी बैठकमा भाग लिन आइतबार पार्टीका विदेश विभाग प्रमुख कृष्णबहादुर महरासँग मलेसिया गएका थिए । 
प्रचण्डले लुम्बिनीको विकास नेपालकै विकासका लागि महत्त्वको विषय भएको भन्दै यसमा विवाद नगर्न आग्रह गरे । उनले छिमेकी राष्ट्र चीन, भारतका साथै अमेरिका, जापान, कोरियालगायत मुलुकसँग सहकार्य गरेर लुम्बिनीको विकास गर्न सकिने बताए । 'लुम्बिनीलाई रणनीतिक केन्द्र बनाएर समग्र नेपालको विकास गर्न सकिन्छ,' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, 'फाउन्डेसनको बैठकमा पाँच वर्षमा ५० लाख पर्यटक नेपाल भित्र्याउन सकिन्छ भन्ने अपेक्षा छ ।'
फाउन्डेसनका लागि प्रचण्डले गरेको यो चौथो भ्रमण हो । उनले यसअघि ०६७ असोज १५ देखि १९ मलेसिया, ०६७ चैत २ देखि ४ सिंगापुर र ०६८ जेठ १ देखि ३ थाइल्यान्डको भ्रमण गरेका थिए । 
प्रचण्डले फाउन्डेसनलाई चिनियाँ संस्था भनी गरिएको प्रचारप्रत्ति असन्तुष्टि जनाए । 'फाउन्डेसनलाई चिनियाँ कम्पनी मात्र भनियो, त्यस्तो होइन,' प्रचण्डले भने, 'हामीसँगै फाउन्डेसनका केही प्रतिनिधि पनि आउनुभएको छ, उहाँहरूले पनि यसबारेमा बताउनुहुनेछ, तपाईंहरू पनि सोध्न सक्नुहुनेछ ।' 
काठमाडौं आएका प्रतिनिधिमण्डलले नेपाल सरकारका अधिकारीहरू र लुम्बिनी विकास कोषका पदाधिकारीहरूसँग छलफल गर्नुका साथै लुम्बिनीको भ्रमण गर्ने जनाइएको छ । चिनियाँ भाषामा रहेको वेबसाइटमा फाउन्डेसनको मुख्यालय बेइजिङमा र शाखा कार्यालय ग्वान्जाओ तथा हङकङमा रहेको उल्लेख छ । फाउन्डेसनले एसिया प्यासिफिक क्षेत्रमा राजनीतिज्ञ, कूटनीतिज्ञ, अर्थ राजनीतिलगयातका विषयमा छलफल गर्दै आएको छ । 
मुस्लिमहरूको पवित्र तीर्थस्थल मक्का र क्याथोलिकहरूको तीर्थस्थल भ्याटिकनजस्तै गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको तीर्थस्थलका रूपमा विकास गर्ने योजनाअनुसार फाउन्डेसनले कार्यक्रम तयार पारेको प्रचण्डको भनाइ छ । भगवान् गौतम बुद्ध दुई हजार ६ सय वर्षअघि लुम्बिनीमा जन्मिएका थिए । प्रचण्डले लुम्बिनीको विकाससँगै गौतम बुद्धसँग जोडिएका बोधगयालगयातका भारतीय ठाउँलाई पनि राम्रो हुने बताए । प्रचण्डले लुम्बिनीको विकासबाट भारत तर्सनुपर्ने कारण नरहेको पनि बताए । 
विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीको विकासमा जापान, चीन, कोरिया र श्रीलंकालगायत मुलुकले समेत सहयोग गर्दै आएका छन् । यसअघि युनेस्कोले तयार पारेको लुम्बिनी गुरुयोजना भने पूरा हुन सकेको छैन । 
फाउन्डेसनले गौतम बुद्धको जन्मस्थलको विकासमा दुई खर्ब २५ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । फाउन्डेसनले लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरको बुद्ध केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । 
पूर्वयुवराज पारस शाह पनि फाउन्डेसनको सह-अध्यक्ष रहेको बारे सोधिएको प्रश्नमा प्रचण्डले भने, 'फाउन्डेसनमा आठ/दसजना सह-अध्यक्ष छन्, अध्यक्षलाई कस-कसलाई राख्न मन लाग्यो राखेका छन् ।'
सहमतिको सरकारका लागि अवसर
माओवादी अध्यक्ष प्रचण्डले अहिले सहमतिको सरकारका लागि अवसर आएको पनि बताए । बिरामी अवस्थामा रहेका प्रधानमन्त्री झलनाथ खनाललाई राजीनामा दिनुस् भन्नु उपयुक्त नहुने भन्दै प्रचण्डले पाँचबँुदे सहमतिअनुसार अगाडि बढ्ने पनि बताए । 
'विचरा झलनाथजी बिरामी हुनुहुन्छ, उहाँलाई यस्तो अवस्थामा राजीनामाका कुरा गर्नु उपयुक्त हुँदैन,' विमानस्थलमा पत्रकारहरूसँग करिब १० मिनेट कुरा गरेका प्रचण्डले भने, 'हामी पाँचबुँदे सहमतिको तरिकाबाट अगाडि बढ्नुपर्छ, राष्ट्रिय सहमतिको तरिकाबाट अगाडि बढ्नुपर्छ, अहिले सहमतिको राम्रो सम्भावना छ, यसलाई अवसरका रूपमा लिनुपर्छ र सहमति गरेर सहमतिको सरकार बनाउनुपर्छ ।'