पार्वती बम, श्रीमती, न्यायाधीश रणबहादुर बम
श्रीमान्को हत्या हाम्रो परिवारका लागि सबैभन्दा दु:खद घटना हो । त्योभन्दा पनि दु:खको कुरा, घटनाको सत्य–तथ्य बाहिर आएन । त्यसै सेलाएर गयो । उहाँको हत्या गर्नुपर्ने न कुनै स्थिति थियो न कुनै कारण । पैसामा चलखेल गरेको मिथ्या आरोप सुनिन्छ । योभन्दा दु:खको कुरा के होला र ?जिन्दगीका आधा समय मैले श्रीमानसँगै विभिन्न जिल्लामा बिताएँ । बच्चालाई राम्रोसँग पढाउनसमेत पाइएन । श्रीमान््ले भ्रष्टाचार गरेर टन्न पैसा कमाएको भए त सुविधासम्पन्न ठाउँमा बसिन्थ्यो । अनि, बच्चालाई राम्रा स्कुलमा पढाएर राम्रो शिक्षा दिने रहर कसलाई हुँदैन र ? तर, छोराछोरीलाई सरकारी स्कुलमा पढाउनुपर्यो, त्यो पनि श्रीमान्् जता जानुहुन्छ त्यतै पछि लाग्दै । छोराछोरी पढाउन निकै दु:ख गर्नुपर्यो । आधा उमेर उहाँकै संगतमा बिताएको छु । त्यस आधारमा आर्थिक चलखेल भएको भन्ने कुरा म हृदयदेखि नै स्वीकार गर्न सक्दिनँ । यदि त्यसरी पैसा कमाएको भए हाम्रो र छोराहरूको हैसियत राम्रो हुन्थ्यो होला । श्रीमान््को सरुवापिच्छे पोको बोकेर म किन पछि–पछि हिँड्नुपथ्र्यो ? आनन्दले एकै ठाउँ बसिन्थ्यो । तर, म श्रीमान्् जति ठाउँ सरुवा हुनुभयो त्यति ठाउँ पुगेँ । बाजुरा, डोटी, नवलपरासी, राजविराज, ओखलढुंगा, नेपालगन्ज, दाङ, बुटवललगायतका ठाउँमा पुगेँ । बुटवलपछि काठमाडौं आएका हौँ । काठमाडांैमा पनि बानेश्वरमा डेरामा बस्यौँ । असोजमा तीन वर्ष हुँदै छ, घरमा सरेको ।
०००
श्रीमान््लाई किन फसाइयो, विवादमा तानियो भन्ने कुरा कि त रामप्रसाद श्रेष्ठलाई थाहा होला या बलराम केसीलाई । अभियोगको रिपोर्ट पनि धुलिखेलमा गएर लेखिएको रहेछ । बलराम केसी र उनकी श्रीमतीसहितका केही व्यक्ति रिपोर्ट लेखनमा सामेल थिए रे । उहाँमाथि अभियोग प्रमाणित गर्ने कुनै आधार छानबिन समितिसँग थिएन । मेरा छोराहरूको समेत बैंक खाता छानबिन भइसकेको थियो । पैसा कमाएको भए कहाँ लुकाउँछ मान्छेले ? जमिनमा गाडेर त राख्दैन होला । फसाउनकै लागि रिपोर्ट बनाइएको छ ।
रामप्रसादलाई के रिस थियो र यो षडयन्त्र गरे म बुझ्न सक्दिनँ । उनैलाई थाहा होला । तर, अभियोग लगाउनुभन्दा केही समयअघिसम्म पनि रामप्रसादले आफ्नै बेन्चमा सँगै राखेर मुद्दा हेरेका थिए । अन्तिममा केमा चित्त बुझेन, उनैले फसाए ।
मेरा श्रीमान्सँगै सेवाप्रवेश गरेका धेरै अझै पुनरावेदनमा मुख्य न्यायाधीश छन् । राम्रो नभएको, न्याय/अन्याय छुट्याउन नसक्ने भए उहाँलाई किन सर्वोच्चमा ल्याइन्थ्यो होला र ? राजविराजमा पनि एक नम्बर न्यायाधीश हुनुहुन्थ्यो । कमाउन खोजेको भए त्योभन्दा राम्रो ठाउँ अन्त हुन्नथ्यो । उहाँको धेरै ठाउँका बिदाईमा कर्मचारी मात्र होइन, स्थानीयको पनि सहभागिता हुन्थ्यो ।
भैरव मिश्र भन्ने लमजुङका एकजना सरकारी वकिल थिए । नवलपरासीबाट राजविराज सरुवा भएपछि उनले भने, ‘श्रीमान्, हजुर सोझो मान्छे, त्यहाँ त मरेका मान्छेको पनि ल्याप्चे लगाएर काम गर्ने ठाउँ, विचार पुर्याएर काम गर्नुहोस् है ।’ उहाँलाई धेरैले यसरी नै चिन्थे । रामप्रसादका नजरका कसरी एकाएक बदमास ठहरिनुभयो ? यत्रो लामो समय बिताएकी मैले बुझ्न सकेको छैन ।
अभियोगपछि सर्वत्र चर्चा भएपछि मैले उहाँलाई ‘साह्रै भयो, राजीनामा दिनुहोस्’ भनँे । तर, उहाँ मान्नुभएन । राजीनामाबारे सधँै एउटै जवाफ दिनुहुन्थ्यो, ‘मैले के अपराध गरेको छु र राजीनामा दिने ? म छाड्नुपरे पनि अभियोगको टुंगो लागेपछि छाड्छु ।’ सफाइ पाउनेमा उहाँ ढुक्क हुनुहुन्थ्यो । छानबिन समितिले उहाँलाई दोषी देखाउन सकेको थिएन । सफाइ पाएपछि म जागिर
खान्नँ भन्नुहुन्थ्यो ।
तर, समितिले समेत देखाउन नसकेको दोष तथ्यविहीन रूपमा एकोहोरो ढंगले पत्रिकाले भने देखाइरहेका थिए । समितिले भन्दा धेरै दोषी मेरा श्रीमान्लाई मिडियाले बनाएका थिए । पाटनमा उहाँले हेरेको मुद्दा अपरण मुद्दा थिएन, हातहतियार खरखजाना मुद्दा थियो । पत्रिकाले यत्तिसम्म खोज्ने जाँगर नचलाई जसले जे भन्यो, त्यही आधारमा लेखिरहे । पत्रिकाले एकोहोरो रूपमा भक्तमानको अपहरण मुद्दामा जोडिरहे । यतिसम्म कि हत्या हुनुभन्दा एक महिनाजति अघिसम्म पनि यस्ता समाचार आइरहे । मैले प्रतिवाद गरौँ न भनेँ । तर, उहाँले ‘मेरो मर्यादाले दिँदैन, न्यायाधीश भएर मिडिया प्रचारबाजी गर्नुहुन्न, जति बुझे त्यति लेखे’ भन्नुभयो । तर, नबोल्नुको परिणाम १८ जेठमा निस्कियो ।
०००
दिउँसै घटना घटेको छ । दोषी नभेटिनुपर्ने त्यस्तो कारण देखिँदैन । दोषी किन भेटिएन भन्ने त प्रहरी या आयोग नै जानोस् । उनीहरूले चाहे खोजी हुन सक्थ्यो होला । हामी हत्यारा खोजीका लागि आग्रह गर्न मात्र सक्छौँ । तर, हाम्रो आग्रह सुन्ने कोही छैन । खिलराजले पनि सुन्छन्जस्तो लाग्दैन । सुन्ने भए, गर्ने मन भए यत्तिका समयसम्म केही पत्तो लाग्थ्यो होला ।
उहाँले ३६ वर्षसम्म अरूलाई न्याय दिनुभयो । तर, उहाँमाथि नै अन्याय भयो । यस्तो न्याय हुँदो रहेछ नेपालमा । जसले जिन्दगीका आधा उमेर त्यही पेसामा लगायो, दत्तचित्तले काम गर्यो तर
परिणाम उल्टो ।
अब एउटै कुरो बुझ्न पाए हुन्थ्यो– के कारणले उहाँमाथि अभियोग लाग्यो र किन हत्या भयो ?’ अपराधीलाई कारबाही गर्न पाए त मन शीतल हुन्थ्यो होला । के कारणले यस्तो भयो ? सधँै रहस्यमै रहने देखियो । अपराध गरेकै भए पनि चित्त बुझ्थ्यो होला, विनाकारण यस्तो भयो । मेरा श्रीमान्माथि जे भयो, यस्तो अन्य कसैलाई नहोस् । यस्तो अन्याय कसैले भोग्न नपरोस् ।
नारायण काफ्ले
तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका