Thursday, December 23, 2010

रू. ५ अर्बको संयुक्त लगानीमा पाँचतारे रिसोर्ट - Abhiyan dainik - 2067-9-9


नेपाली निर्माण कम्पनी सुपर बिल्डर्स प्रालिले एक अमेरिकी कम्पनीसँगको संयुक्त लगानीमा पाँचतारे रिसोर्ट र क्यासिनो निर्माण गर्ने भएको छ । काठमाडौं उपत्यकाभित्रै बन्ने सो रिसोर्ट र क्यासिनोमा करीब ५ अर्ब रुपैयाँ लगानी हुने बताइएको छ । यसमा विदेशीको ७५ र आफ्नो कम्पनीको २५ प्रतिशत लगानी हुने बिल्डर्सका प्रवर्द्धक तथा प्रबन्ध निर्देशक रेशम क्षत्रीले अभियानलाई जानकारी दिए । साझेदारको नाम भने उनले खुलाउन चाहेनन् । 'अमेरिकी साझेदार होटल तथा रिसोर्ट व्यवसायमा बहुराष्ट्रिय चेन कम्पनी हो । यसको लगानीमा संसारभर १ सय ८० होटल सञ्चालित छन्' क्षत्रीले भने, 'रिसोर्ट ३ सय रोपनी क्षेत्रफलमा बन्नेछ । यसमध्ये २ सय ५० रोपनी जग्गा पाइसकेका छौं । बाँकी जग्गा मिलेपछि किन्ने योजना छ ।'

आफ्नो हिस्साको लगानी २-३ ओटा नेपाली वाणिज्य बैङ्कको कन्सोर्सियममा जुटाउने र यसका लागि केही बैङ्कसँग मौखिक कुरा पनि भइसकेको बिल्डर्सले बताएको छ । देशको प्रतिकूल अवस्थाका कारण अहिले नेपाली बैङ्कहरू धेरै ठूलो लगानी गर्न सक्षम नभएकाले र साथै सो अमेरिकी कम्पनीको संसारभर ठूलो सञ्जाल भएकाले साझेदारी गर्न लागिएको क्षत्रीको भनाइ छ । 'संयुक्त लगानीमा बन्ने यस आयोजनाले नेपाल अझै पनि विदेशी लगानीका लागि राम्रो वातावरण भएको देश हो भन्ने सन्देश जान्छ । र, यसले नेपालमा ठूलो मात्रामा विदेशी लगानी भित्र्याउन सहयोग गर्नेछ,' उनले भने । बिल्डर्सले करीब ६ महीनाअघिबाट उक्त बहुराष्ट्रिय चेन कम्पनीसँग साझेदारीका लागि कुरा अगाडि बढाएको थियो ।

प्रस्तावित सो रिसोर्ट आगामी ३-४ महीनाभित्र होटल एशोसिएशनमा समेत दर्ता गरिसक्ने बताइएको छ । सुपर बिल्डर्स र यसको विदेशी साझेदार अहिले रिसोर्ट र क्यासिनो निर्माणको विस्तृत अध्ययनमा छन् । एक वर्षभित्र अध्ययन सकेर सोपछि चार वर्षभित्र आयोजना सम्पन्न गर्ने गरी निर्माण प्रक्रिया थाल्ने बिल्डर्सका प्रबन्ध निर्देशक क्षत्रीले जानकारी दिए । उनका अनुसार रिसोर्ट र क्यासिनो दुवै काठमाडौं उपत्यकाभित्रै बनाइने भए पनि यी दुइ अलगअलग ठाउँमा हुन सक्ने सम्भावना छ । नेपाल सरकारको प्रावधानअनुसार पाँचतारे होटल वा रिसोर्टले मात्र क्यासिनो सञ्चालनको अनुमति पाउँछ । त्यसैले क्यासिनो रिसोर्टबाहिर खोलिए पनि त्यो रिसोर्टकै छाताअन्तर्गत सञ्चालन हुने बताइएको छ ।

पाँचतारे रिसोर्ट उच्च वर्गका पर्यटकलाई लक्षित गरेर बनाइने क्षत्रीले बताए । 'नेपालका तारे होटलमा कोठाको दर १० हजार पनि छैन,' क्षत्री भन्छन्, 'यसले नेपाल न्यूनकोटिको पर्यटकीय गन्तव्य हो कि भन्ने सन्देश जानुका साथै पर्यटनबाट देशले निकै कम आम्दानी गरिरहेको छ । त्यसैले हाम्रो रिसोर्ट देशकै शान बढाउने स्तरको र उच्च वर्गका पर्यटकका लागि हुनेछ ।' छिमेकी देश भारतमा पनि तारे होटलहरूमा सामान्य कोठाको दर एक दिनको १८-२० हजार रुपैयाँ रहेको उनी बताउँछन् ।