शान्ति र संविधानको प्रक्रियामा अघि बढ्ने एकदम कम सम्भावना छ भन्ने सोच पार्टीमा बढ्दै गएको छ ।
म यथास्थितिवादी र वर्गसमन्वयवादी भएको आरोप गलत हो ।
भारतसँग कसरी संघर्ष गर्ने विषयमा हामीबीच केही अन्तरचाहिँ परेको हो ।
भारतसँग बढी राजनीतिक र कूटनीतिक संघर्षको विधि अपनाउनु उपयुक्त हुन्छ ।
हामी महाधिवेशनसम्म फरक विचार लिएर जान्छौं तर पार्टीले जे निर्णय गर्छ, त्यसलाई कार्यान्वयन गरेर जान्छौं ।
अनमिनबाहेक अन्य अन्तर्राष्ट्रिय निकायको अनुगमनको कुरा पनि आएको छ नि ?
अनमिन हुनु नै उपयुक्त हुन्छ किनकि नयाँ आउन संरचना खडा गर्नुपर्छ । त्यो झन्झटमा पर्नु भन्दा चार महिना अनमिनको म्याद थप्नु उपयुक्त हुन्छ भन्ने लागेको हो ।
वाईसीएलको ब्यारेक भंग गर्ने निर्णय पनि भएछ ?
हामीले एकतर्फी रूपमा वाईसीएलको सामूहिक बसाइको संरचना अन्त्य गर्ने र युवा कायकर्ताका रूपमा उनीहरूलाई लिने निर्णय गरेका छौं ।
पार्टीमा अध्यक्ष पुष्पकमल दाहालको जनविद्रोहको कार्यदिशा पारित भएको छ, तपाईंले यसलाई कसरी लिनुभएको छ ?
यसबारेमा मैले भिन्न मत दर्ज गरिसकेको छु । अहिलेको राजनीतिक आन्दोलन जुन छ- शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउने र संविधानसभाबाट अग्रगामी संविधान बनाउने, यसमै केन्दि्रत भएर काम गर्नुपर्छ भन्ने मेरो सुरुदेखिको मत हो । यसबारेमा पार्टीभित्र फरक सोचको विकास भएको हुनाले मैले आफ्नो विचारलाई फरक रूपमा दर्ज गर्न आवश्यक ठानेँ ।
फरक मत केके विषयमा हो ?
मुख्य रूपमा त शान्ति र संविधानलाई मुख्य मुद्दा बनाएर अघि बढाउने विषयमा फरक मत हो । अर्को पक्ष (संस्थापन) को शान्ति र संविधानलाई ध्यान त दिनुपर्छ तर सम्भावना करिब सिद्धिसक्यो, त्यसैले अर्को प्रक्रियामा जानुपर्छ भन्ने छ । पार्टी त्यही दिशामा गएको छ । पार्टीको निर्णय मैले मान्नुपर्छ ।
पार्टी जनविद्रोहको लाइनमा गएको हो ?
जनविद्रोहको म पनि विरोधी होइन । परिवर्तनको बिन्दुलाई जनविद्रोह, क्रान्ति भनिन्छ । मात्रात्मक परिवर्तनपछि जुन बिन्दुमा राजनीति पुग्छ त्यस्तो बिन्दुमा गुणात्मक विद्रोहात्मक परिवर्तन हुन्छ । त्यो समय ठीक चयन हुनुपर्छ भन्ने मेरो भनाइ हो ।
पार्टीको जनविद्रोहको कार्यदिशाले शान्ति र संविधानको प्रक्रियामा नकारात्मक असर गर्दैन ?
पार्टीले अहिले नै शान्ति र संविधानको लाइन छोड्ने भनेको छैन । यसमा (जनविद्रोहमा) जोड दिनुपर्छ भनेको त छ तर अर्को पक्षमा शान्ति र संविधानको प्रक्रियामा अघि बढ्ने एकदम कम सम्भावना छ भन्ने सोच बढ्दै गएको छ ।
पार्टीको आधिकारिक लाइनभन्दा फरक दिशामा गएको अवस्थामा तपाईंको भूमिका के हुन्छ ?
सैद्धान्तिक रूपमा शान्ति र संविधान, क्रान्ति, जनविद्रोह एकअर्काका पूरक हुन् । सैद्धान्तिक रूपमा म यसको विरोधी होइन तर मेरो भनाइ के हो भने अहिलेको नेपाली समाजको विकासको चरण छ । यतिबेला संविधानसभाबाट जनताको अधिकतम प्रगतिशील संविधान बनाएरै अघि जानु नै सबभन्दा क्रान्तिकारी कदम हुन्छ भन्ने मेरो विश्वास हो । यही नीतिअन्तर्गत चुनवाङ बैठक हुँदै यहाँसम्म आयौं । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको उपलब्धि रक्षा गर्दै थप संघर्ष गर्नु आवश्यक हुन्छ ।
तपाईंले लिएको विचारलाई वर्गसंघर्षको अभिव्यक्ति भन्दै यथास्थितिवादी भएको आरोप लगाइन्छ नि ?
यो सैद्धान्तिक कुरा हो । वर्गसंघर्ष र अन्तरसंघर्ष एकअर्काप्रति अन्तरसम्बन्धित हुन्छन् । बाहिर समाजमा वर्गसंघर्ष हुँदा पार्टीभित्र पनि त्यो संघर्ष हुन्छ भन्ने माक्र्सवादी मान्यता हो । यो बहस वर्गसंघर्षको आवश्यकताले ल्याएको भनिएको हो । म यथास्थितिवादी र वर्गसमन्वयवादी भएको आरोप गलत हो । मैले नै विगतदेखि सामन्तवाद, राजतन्त्र, एकात्मकता अन्त्य गरी गणतन्त्र, संघीयतामा जानुपर्छ र संविधानमा जोड दिएको थिएँ । यसलाई हाम्रो पार्टीले सिंगै अगाडि बढायो जुन सही सावित भइसकेको छ ।
माओवादीले शान्ति र संविधानको बाटो छाडेर विद्रोहको बाटो अपनाएकाले तपाईंबाट फरक मत आएको हो भन्न सकिन्छ ?
हाम्रो जोडमा केही अन्तर परेको छ । हामीले शान्ति र संविधानको अन्त्यसम्म प्रयत्न गरेर जानुपर्छ, त्यसको सम्भावना अझै छ, त्यो नै सर्वोत्तम हितमा हुन्छ, त्यसमा अवरोध भए जनविद्रोहमा जानु न्यायसंगत हुन्छ भन्ने मेरो भनाइ हो । पार्टीको अर्को पक्षमा के प्रबल बन्दै गयो भने शान्ति र संविधान बन्ने सम्भावना करिब सिद्धियो । त्यसो भएको हुनाले अर्को तयारीमा जानुपर्छ भन्ने उहाँहरूको बुझाइ हो ।
अब माओवादी आधिकारिक रूपमा जनविद्रोहमा गयो भनेर बुझ्न सकिन्छ ?
आधिकारिक विद्रोहको बाटोमा पार्टी लाग्यो भनेर नबुझौं । शान्ति र संविधानको लाइन पार्टीले छाडेको छैन । त्यसको सम्भावना एकदम कम भयो भन्ने पार्टीको निष्कर्ष हो ।
त्यसो भए माओवादीकै कारण शान्ति र संविधानको प्रक्रिया विफल हुन थालेको मान्दा हुन्छ ?
माओवादीभन्दा अरू पार्टीका कारणले संविधान र शान्ति प्रक्रिया अवरुद्ध छ भन्ने कुरा संसारले बुझेको छ । बढी दोष दक्षिणपन्थीको छ । उनीहरूले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता रुचाउँदैनन् ।
तपाईंले भारतपरस्त नीति लिएको हुनाले पार्टीमा मुख्य विवाद भएको हो भनिन्छ नि ?
भारतसँग हाम्रा केही समस्या छन्, खासगरी सुगौली सन्धि, सन् १९५० को सन्धि आदिले गर्दा । मैले समानताका आधारमा सम्बन्ध हुनुपर्छ भनेर जनयुद्ध सुरु हुनुअघि ४० सूत्रीय माग प्रस्तोता हैसियतले खुला रूपमा यो कुरा राख्दै आएको छु । म यसमा दृढ छु । भारतसँग कसरी संघर्ष गर्ने विषयमा हामीबीच केही अन्तरचाहिं परेको हो । मेरो भनाइ के हो भने सबभन्दा ठूलो पार्टीका हैसियतले राजनीतिक र कूटनीतिक संघर्षलाई बढी जोड दिनुपर्छ । त्यसबाट समस्या समाधान भएन भने जनतालाई साथ लिएर प्रतिरोध आन्दोलनतिर जानु उपयुक्त हुन्छ भन्ने मेरो भनाइ हो ।
भारतको भूमिकाबारे पार्टीको आधिकारिक लाइनचाहिं के हो ?
पार्टीको आधिकारिक लाइन भनेको भारतको हस्तक्षेप ज्यादै बढेर गयो । राजनीतिक र कूटनीतिक सम्बन्धले नपुग्ने अवस्था आयो । त्यसैले राष्ट्रिय प्रतिरोधको तयारीतिर जानुपर्छ भन्ने हो ।
यसलाई माओवादीले राष्ट्रवादी भावनालाई समेट्न खोजेको रूपमा बुझ्न सकिन्न ?
मैले राष्ट्रवादी भावना पहिलेदेखि नै उठाउँदै आएको छु । जनमोर्चाको अध्यक्ष हुँदादेखि नै हामीले भारतीय हस्तक्षेपको विरोध गर्दै आएका छौं । त्यसको अग्रपंक्तिमा म नै उभिँदै आएको छु तर हाम्रो पार्टी जुन हैसियतमा पुगेको छ यसले गर्ने आन्दोलनको प्रकृति फरकखाले हुनुपर्छ भन्ने हो । भारतले सिधै फौजी आक्रमण गरेको अवस्थामा हामीले राष्ट्रिय प्रतिरोध आन्दोलन गर्नुपर्छ । अहिलेको अवस्थामा बढी राजनीतिक र कूटनीतिक संघर्षको विधि अपनाउनु उपयुक्त हुन्छ ।
पार्टीले जनविद्रोहको लाइन लिइसकेपछि अन्तर्राष्ट्रिय समुदायलाई के भन्नुहुन्छ ?
अरू पार्टीले शान्ति र संविधानको बाटो अवरुद्ध गरेको हुनाले जनतालाई सचेत गराउनका निम्ति विद्रोह भनेको हो । अहिले नै विद्रोह नै विकल्प हो भनेका छैनौं, शान्ति र संविधानका लागि प्रयत्न गर्नुपर्छ भन्ने हो तर अब यो प्रक्रिया सायद अगाडि बढ्दैन भन्ने पार्टीको निष्कर्ष हो ।
अध्यक्ष दाहाल र तपाईंबीच व्यक्तित्वको टकराव भएकाले विवाद जन्मिएको हो भनिन्छ नि ?
यो विचार, प्रवृत्ति र लाइनको टकराव हो, व्यक्तिगत होइन ।
यो विवाद हेर्दा माओवादी पार्टी फुट्ने अवस्थामा गएजस्तो लाग्दैन ?
यो ढंगको बहसले पार्टीलाई राजनीतिक रूपमा बलियो बनाउँछ भन्ने विश्वास छ । यो धेरै त्याग र बलिदान गरेर आएको पार्टी हो । त्यसकारण देश र जनताप्रति जिम्मेवारीबोधका कारण पार्टी फुट्दैन । हामी सहजै पार्टी फुट्न दिँदैनौं ।
तपाईंलाई 'मिडिया वार’ गर्यो भनेर अनुशासनको कारबाही हुने सम्भावना छैन ?
मैले मिडिया वार गरेको छैन । मैले आफ्नो विचार स्पष्ट ढंगले राख्दै आएको मात्र हो । पालुङटारमा मैले स्पष्ट ढंगले आफ्ना विचार राखें । आम पार्टीपंक्तिले सराहना गरेको पाएको छु ।
फरक विचार कहिलेसम्म लिनुहुन्छ ?
हामी महाधिवेशनसम्म फरक विचार लिएर जान्छौं । पार्टीभित्र बहस चलाएर जान्छौं, तर पार्टीले जे निर्णय गर्छ त्यसलाई कार्यान्वयन गरेर जान्छौं ।
पार्टीले औपचारिक रूपमा विद्रोहमा जाने निर्णय गर्यो भने तपाईंको भूमिका के हुन्छ ?
त्यो निर्णय गरेपछि भन्ने कुरा हो । यो काल्पनिक कुरा हो जस्तो लाग्छ ।
तपाईंले पार्टीमा एक्लिएको महसुस गर्नुभएको छैन ?
केही मिडियाले एक्लो पर्यो भनेर प्रचार गरेका छन् । मैले त पार्टीभित्र मेरो विचारका पक्षमा जनमत ह्वात्तै बढेको महसुस गरेको छु । मैले अघि सारेको विचार नै बढी वैज्ञानिक र वस्तुवादी छ भन्ने विश्वास लागेर अघि सारेको हुँ । म यसबाट बढी उत्साहित छु । मेरो मत पार्टीभित्र सुरक्षित रहन्छ । मेरो विचार ठीक कि बेठीक भन्ने इतिहासले फैसला गर्छ ।
तपाईंले आफू प्रधानमन्त्री बन्नका लागि यो सबै काम गरेको भनिन्छ नि ?
बाबुराम भट्टराई पदका निम्ति लड्यो भनेर इतिहासमा कहींबाट पुष्टि हुँदैन । म जहिले पनि पृष्ठभूमिमा बसेर सहयोगीका रूपमा रहँदै आएको छु । त्यसैले व्यक्तिगत आकांक्षा बोकिनँ र बोक्दिनँ पनि । देश र जनताले जे जिम्मेवारी दिन्छन् त्यो वहन गर्छु ।
पार्टीको लाइन एउटा, तपाईंको अर्को छ कसरी कुरा मिल्छ ?
लेनिनवादी पद्धति भनेको अभिव्यक्तिमा स्वतन्त्रता, कामकारबाहीमा एकरूपता हो । हामी फरक मत राख्दै जान्छौं र काम पनि गर्दै जान्छौं । अरूको भन्दा फरक यही हो ।
मनले नमान्दा नमान्दै तपाईं अर्काको विचारमा कसरी हिँड्न सक्नुहोला ?
कम्युनिस्ट पार्टीमा आफ्नो विचार फरक हुँदाहुँदै पनि काममा एकरूप भएर जानुपर्छ ।
तपाईंले राख्नुभएको नोट अफ डिसेन्टलाई कसरी अगाडि बढाउनुहुन्छ ?
हामी फरक मतमा छलफल गर्ने विधि तय गर्दै छौं । पार्टीको तलसम्म मेरो विचार जान दिनुपर्छ भन्ने मेरो भनाइ छ । पार्टीको आम पद्धति पनि यही हो ।
फरक मतलाई निष्कर्षमा पुर्याउन महाधिवेशन चाँडै होस् भन्ने तपाईंको माग हो ?
हाम्रो पार्टीको २० वर्षदेखि महाधिवेशन भएको छैन । हाम्रोजस्तो जनवादी पार्टीले छिटोभन्दा छिटो महाधिवेशन गरेर जनवादको उच्च अभ्यास गर्नुपर्छ ।