• त्यतिबेला पोखरामा होटल नै थिएन। माला सिन्हा दरबारमा बसेकी थिइन् भने अरू कलाकारहरू ब्यारेकमा। • नेपाली फिल्म भएकोले लता मंगेश्कर र आशा भोस्लेले सित्तैमा गीत गाइदिएका थिए।
• प्रेमध्वज प्रधान हिरो बन्न खोजेका थिए। तर हिरो उनी होइन गायक बन्न आएका सीपी लोहनी भए।
• स्वरसम्राट नारायणगोपालको स्वर यो फिल्मको गीतका लागि चयन भएनन्।
'फिल्मकी हिरोइन माला सिन्हा नाच्न एकदमै डराउँथिन्। यो गीत यहाँ अझै यति लोकप्रिय छ भन्ने थाहा पाए रिटायर्ड हिरोइन माला पनि निकै खुशी हुन्छिन् होला,' मुम्बई निवासी निर्देशकले यो पनि बताए, 'नृत्यमा करिअर बनाउने नेपालीले कम्तिमा एकपल्ट यो गीतमा नाचेका छन् भन्ने सुन्दा साह्रै खुशी लाग्यो।'
८३ वर्षे थापाले कामको राम्रो मूल्यांकन भएको देख्दा फेरि नेपाल आएर फिल्म बनाउन मन लागेको बताए। 'अब फिल्म बनाउनु भयो भने कसलाई हिरोइन बनाउनुहुन्छ?'
'हिरोइन मात्र होइन। जुनसुकै काम पनि नेपालबाटै पूरा हुने अवस्था बनेको छ अहिले। त्यसैले आवश्यक सबै पक्षको व्यवस्था यतै मिलाउँछु,' मुम्बईकै प्राविधिकको सहयोगमा 'माइतीघर' बनाएका थापाले भने, 'नेपालका कलाकार, प्राविधिक, लेखक, विचारक कहीँका भन्दा कम छैनन्। अलिकति प्रोत्साहन पाए दुनियाँलाई देखाइदिन्छन् जस्तो लाग्छ।'
'माइतीघर'मा मुम्बईको सहयोग लिनुलाई उनी बाध्यता मान्छन्। 'त्यसबेलाको त हरेक कुरा कथाजस्तो लाग्छ अहिले,' व्यवसायिक फिल्मको कोसेढुंगाको रूपमा चर्चा हुने 'माइतीघर'सँग जोडिने धेरै प्रसंग निर्देशक थापालाई इतिहासजस्तो लाग्छ।
हिरो हुन निवेदन दिएका प्रेमध्वज प्रधानलाई फिल्ममा नछान्ने निर्देशक उनै हुन्। जो ख्यातिप्राप्त गायकको परिचयका साथ बाँचिरहेका छन्। स्वरसम्राट नारायणगोपालको स्वरलाई अस्वीकार गर्ने निर्देशक पनि उनै थिए। 'उताका चर्चित गायकगायिकाले गाउने भएकाले नारायणगोपाललाई नराखेको हुँला,' आफ्नो फिल्म 'माइतीघर'मा नारायणगोपालले किन गाउन पाएनन् उनैले बिर्सिसके।
'ब्ल्याक एन्ड ह्वाइट' फिल्म 'माइतीघर' उनकै स्मृतिमा पनि धमिलो भइसकेको छ। 'सबै कुरा त म पनि बताउन सक्दिन। त्यो एउटा जोशमा बनाइएको थियो,' यो काममा तत्कालीन जनरल नरशमशेरको सक्रियताको खुलेर तारिफ गरे थापाले।
'उनको ब्रेभ हार्ट नै फिल्म निर्माणको पहिलो चरण थियो,' मुम्बईमै संघर्षरत किशोर तिमिल्सिना र आफूले राखेको प्रस्तावमा सिधै सहमति जनाएका नरशमशेरबारे उनले भने। कसैले नगरेको काम थाल्दा सुरुमै उनलाई डर थियो पैसाको। जब पैसाको जिम्मा नरशमशेरले लिए, कलाकारको खोजीमा लागे थापा।
त्यसबेला मुम्बईमा चलेकी थिइन् नेपालीभाषी हिरोइन माला सिन्हा। थापा र तिमिल्सिना मालालाई खेलाउन चान्थे। तर, उनीसामु प्रस्ताव राख्ने हिम्मत दुवैमा थिएन। 'बडो नम्र भएर मैले मालालाई नेपाली फिल्म बनाउन लागेको जानकारी गराएँ। उनले निकै चासो दिइन्,' यसले हौसिएका थापाले आँट गरेर सोधे, 'तपाईंलाई खेलाउन पाए हुन्थ्यो भन्ने धेरैको इच्छा छ। के तयार हुनुहुन्छ?'
'कथा हेरौं न त,' मालाबाट नसोचेको प्रतिक्रिया पाए पनि देखाउनको लागि उनीसँग कथा थिएन। 'त्यति ठूलो कलाकारले कथा मन परे खेल्ने बताएपछि सब काम छाडेँ। र, कथा लेख्न तम्सिएँ। चार दिनमा काम सकियो,' नेपाली फिल्ममा लगानी मिल्ने आश्वासन पाएका थापाको लागि यो दोस्रो आश्चर्य थियो कि मालाले कथा मन पराइन्। र, नेपाली फिल्म भएकाले थोरै पारिश्रमिकमै अभिनय गर्न तयार भइन्। 'सायद भाषाप्रेमले उनी हाम्रो साथ दिन तयार थिइन्। निर्मातालाई अप्ठ्यारो पर्ने कुनै माग थिएन।'
ख्यालख्यालमै देखेको नेपाली फिल्मको सपना यथार्थको नजिक पुग्यो। पैसा, कथा र हिरोइन फाइनल। अब चाहियो हिरो। थापालेे यो काममा त्यति तनाव लिएनन्। कसैको सिफारिसका सुन्दर युवक काम गर्न तयार थिए। खोजेको हिरोइन भेटेपछि हिरोका बारेमा उनी त्यति गम्भीर बनेन्। तर, त्यतिबेला निर्देशकको टाउको दुख्यो जब अनुबन्धित हिरोले संवाद बोल्नै सकेनन्।
हिरो हट्ने भए। छिट्टै अर्को पात्र तय गर्नु थियो। झट्ट उनको नजर पर्यो 'माइतीघर'को गीत गाउन मुम्बई पुगेको नेपाली ठिटोमाथि। 'हेर्दा राम्रो। हास्न, बोल्न र हिँड्न फिट। तुरुन्तै नरशमशेरको स्वीकृति लिएर गायकलाई नै खेलाएँ,' फिल्ममा हिरोको संकट टर्यो। गायक बन्न गएका सिपी लोहनी हिरो बनेर फर्किए। साइनो फिल्मसँग मात्र सीमित रहेन।
'उसको त मालासँग अफेयर पनि सुरु भएछ। फिल्म बन्दाबन्दै बिहे समेत गरे,' यो सम्बन्ध सम्झँदा उनलाई अझै पनि रमाइलो लाग्छ।
फिल्मको इन्डोर सुटिङ सेट लगाएर मुम्बईमै सकाइएको उनले बताए। 'आउटडोर' सुटिङ गर्न काठमाडौं आएका थापालाई पोखराको सौन्दर्यले त्यतिबेलै लोभ्याएछ। 'एकान्त ठाउँमा ठूलो ताल देखेपछि त्यहीँ सुटिङ गर्न मन लाग्यो,' अहिले 'नेचुरल स्टुडियो'को उपमा पाएको पोखरा धेरैको रोजाइ हो। फिल्म निर्माणका सरसामान समेत सहजै उपलब्ध हुन थालेको यो सहरको असहज दृश्य संगालेका छन् उनले।
'न राम्रो बाटो, न होटल, न त पसल नै थियो। माला त सबैले चिन्ने हिरोइन थिइन्। त्यसैले त्यहाँको दरबारमै बासको व्यवस्था मिल्यो। हामीले त टिनले बारेको ब्यारेकमा बसेर काम सकायौं,' ४० दिनमा सुटिङ सकाइएको यो फिल्मको सबै काम सकिन एक वर्ष लागेको उनले जानकारी दिए।
निर्देशक थापाले फिल्म प्रिमियरको भव्यता भुलेका छैनन्। फिल्म निर्माणदेखि नै चासो देखाएका तत्कालीन राजा महेन्द्रले फिल्म युनिटलाई दरबारमा पार्टी दिएको क्षणलाई उनी 'अविस्मरणीय' ठान्छन्। 'फिल्मप्रति ठूलो चासो भएरै गीत समेत लेखेका थिए महेन्द्रलेे,' नेपाली फिल्म भएकाले निःशुल्क स्वर दिने आशा भोंसले र लता मंगेशकरप्रति उनी अझै आभारी छन्।
'नेपाली फिल्म बन्दैछ भन्ने खुशी नेपालीलाई मात्र थिएन। भारतीय सहकर्मीले समेत यसलाई सुखद रूपमा लिए र सक्दो सहयोग गरे,' फिल्मलाई व्यावसायिक सफलता दिलाउन भारतीय दर्शकले दिएको साथ उनी बिर्सन सक्दैनन्।
'नेपालमा जम्मा दुइटा हल थियो। मलाई लाग्छ, फिल्मले नेपालमा भन्दा धेरै कलेक्सन भारतमा गरेको हुनुपर्छ,' सात लाखमा सकाउने भनेर सुरु गरेको फिल्मको बजेट १० लाख पुर्याएकोमा आलोचना समेत खेपेका निर्देशकले भने, 'फिल्मले व्यापार गर्छ। पैसा कमाउँछ भनेर यो काम थालेकै थिइएन। एउटा प्रयोग थियो। र, यो प्रयोगमा ठूलो धनराशी खर्च भएको थियो।'
नेपाली फिल्म क्षेत्रमा यो व्यवसायको बीउ रोप्ने व्यक्तिको रूपमा आफ्नो चर्चा हुने गरेको सुन्दा उनलाई खुशी लाग्छ। तर, त्यो बीउ अझै टुसाउन नसकेको खबर पाउँदा दुःखी पनि। '५० वटा फिल्म बन्छ रे। यो त राम्रो हो। फेरि पाँचवटाले मात्र लगानी उठाउँछ रे। यो त फेरि साह्रै दयनीय पक्ष हो नि,' फिल्म क्षेत्रको यो अवस्थाको मुख्य दोषी उनी निर्देशकलाई मान्छन्।
'फिल्म माध्यम नबुझ्नेले निर्देशन गरेर पनि कहीँ हुन्छ? पहिला निर्देशकको कर्तव्य बुझ्नुपर्यो,' तीन नेपाली फिल्मका निर्देशक थापाले थप एउटा फिल्म निर्देशन गर्ने धोको सुनाए। 'कान्छी' र 'मायाप्रिती' बनाएका थापालाई नेपाली फिल्मको कथा चयन नै ठीक लाग्दैन।