[अपडेटः अजयबाबु शिवाकोटीले तुलसी भण्डारीको यो पत्र आफ्नो प्रतिक्रिया नलिई जस्ताको तस्तै छापेकोमा आपत्ति जनाएका छन्। मैले तपाईँ पनि लेख्नुस् त आफ्नो कुरा स्पष्ट पारेर भन्दा उनी मानेनन्। तपाईँ पनि आफ्नो कुरा राख्नुस्, तपाईँको कुरा पनि जस्ताको तस्तै राख्छु भनेर बारम्बार भन्दा पनि नमानेपछि अन्त्यमा त्यसो भए तपाईँको कुरा रेकर्ड गरेर राख्छु अडियोमा बोल्नुस् भन्दा बल्ल बोल्न राजी भए। माइसंसार ब्लग एउटा मञ्च मात्र हो। यहाँ सबैलाई आफ्नो कुरा राख्न छुट छ। माइसंसारले मिडियाले समाचार नठानेका र स्थान नदिएका विषयलाई पनि आफ्नो आवाज राख्न मञ्च दिन्छ। उनले अझै पनि केही लेख्न चाहे माइसंसारले त्यसलाई स्थान दिने नै छ। अजयबाबु शिवाकोटीको स्पष्टीकरण सुन्न क्लिक गर्नुस् ]
पुसको पहिलो हप्ता नेपाली मिडियामा एउटा समाचार आयो- गैरकानुनी रुपमा प्रतिलिपि अधिकार उल्लंघन गरी वृत्तचित्र बनाएको अभियोगमा एक व्यक्ति पक्राउ परे। एक सञ्चारकर्मीले गरेको उजुरीको आधारमा उनलाई प्रहरीले पक्रेर अनुसन्धान अघि बढाइएको रहेछ भन्ने ती समाचारबाट बुझिन्थ्यो। (समाचार पढ्न क्लिक गर्नुस्- इकान्तिपुर, नागरिकन्युज, एबीसी, हाम्राकुरा) तर यो विवाद गहिरो रहेछ। समाचारको अर्को पक्षको भनाई भने कुनै मिडियामा पनि आएन। आफू गिरफ्तार हुनुअगाडि उनले नेपाली मिडियाहरुलाई एउटा पत्र पठाएका रहेछन्, जसलाई कसैले पनि छापेनन्। कुनै पनि विवादमा दुवै पक्षको भनाई सुन्न र बुझ्न जरुरी हुन्छ। माइसंसारले त्यही भएर कुनै पनि मिडियाले नछापेको “एसपी रमेश खरेललाई खुल्ला पत्र” शीर्षकको त्यो पत्रलाई जस्ताको तस्तै यहाँ राखेको छ।
एसपी रमेश खरेललाई खुल्ला पत्र
मितिः २०६७ पुस ३शायद यो लेख तपाईँकोमा पुग्दा वा भाग्यवश प्रकाशित हुँदाको बखत म हनुमानढोकाको चिसो खोरमा, अन्याय गरेका कारण नभई, बरु न्याय गुहार्न जाँदा नितान्त गैरजिम्मेवार र राजनैतिक नेताहरुको आदेश र दबावमा गुलामी गर्दै कानुनी व्यवस्थाको ठाडो बलात्कार गर्ने जस्तो संस्कारले संक्रमित पुलिस प्रशासनबाट नै भएको अत्यन्त घिनलाग्दो र अन्यायपूर्ण व्यवहारका कारण थुनिइसकेको हुनेछु। आशा छ, तपाईँ लगायत अन्य जिम्मेवार पत्रिकाहरुले पेशागत दायित्वको इमान्दारिपूर्वक जिम्मेवारी लिँदै पिडितका पीडाका केही अंशहरुप्रति गम्भीर ध्यान दिनुहुनेछ।
म निकै हच्किएको बेलामा डर धम्कीसँग डराएर एउटा राम्रो सामाजिक कामका लागि कहिलै पछि नहट्नु भनी प्रोत्साहन दिने र म लगायत कानुनमा विश्वास गर्ने जनताको उच्च सम्मान र विश्वासले सम्मानित एसपी रमेश खरेलसँग मेरा केही प्रश्न र गुनासा छन्। इमान्दार कर्तव्यनिष्ठ भई जिम्मेवारीपूर्वक यिनको स्मरण गर्दै जनताले दिएको इज्जत र विश्वासको समेत सम्मान गरिदिनु हुनेछ भन्ने विश्वास अझै पनि मैले लिएको छु।
आज भन्दा करिब डेढ महिनाअघि ममाथि भएको गैरकानुनी दावी र आरोपका साथै “तँलाई पिछा गर्दै काट्छु, पिट्छु” भन्दै दिइएको धम्कीका कारण निकै निराश र पीडित अवस्थामा म तपाईँकोमा कानुन र न्यायमाथिको मेरो विश्वास बोकेर आएको थिएँ। तपाईँलाई ममाथि गरिएको अन्यायको बारेमा गुनासो गर्दै उचित कानुनसम्मत् सहयोगका निम्ति गुहारेको थिएँ।
करिब ६ वर्षको अत्यन्तै संघर्षपूर्ण अमेरिकाको पढाइका क्रममा देशमा भइरहेको द्वन्द्व, अन्याय र हिंसाप्रति अत्यन्त गम्भीर हुँदै निकै चुनौती र खतरासँग जुधेर मैले अहिंसा र सामाजिक न्यायको सन्देश बोकेको वृत्तचित्र (विनिथ एभरेष्ट–नेपाल रिबर्न) निर्माण गरेको थिएँ। विभिन्न अन्तराष्ट्रिय मानवअधिकार संघ संस्थाहरुमा समेत नेपालको मानवअधिकार, द्वन्द्वपीडित र सामाजिक न्यायको पक्षमा आवाज उठाउँदै दृढ संकल्पका साथ केही समय एक्लै संघर्षरत भएँ। मेरो प्रयास र सामाजिक न्यायप्रतिको एकल प्रयासको राम्रो सम्मान र प्रोत्साहन हुँदै विदेशमा निकै ताली बज्यो। पीडितका वेदनालाई समेत समेटेर बनाइएको मेरो वृत्तचित्रले यसरी ताली खाँदा, पछि आएर मलाई आफूले ती पीडितहरु प्रति मेरो प्रयासले केही ठोस न्याय गर्न नसकेको बरु मैले पो उनीहरुका वेदनालाई वृत्तचित्रमार्फत् अगाडि ल्याई ताली खाएकोमा आफैलाई कतै मैले अन्याय त गरिन भन्ने आत्मबोध भयो। त्यसपछि कमसेकम यो वृत्तचित्र नेपालमै ती पीडितहरु लगायत समाजमा पुर्याई द्वन्द्वबाट के सिक्न सकिन्छ र हिंसा र अन्यायलाई कसरी शान्तिपूवर्क रुपान्तरण गराउन सकिन्छ भन्ने दिशामा ध्यानाकर्षण गराउने संकल्प भयो।
म भर्खरैमात्र करिब ६, ७ वर्षको पढाई लगायतका लामो कठोर संघर्षपछि उतै अमेरिकामा जागिर गरी दुई चार पैसा कमाउन सक्ने अवसरमा पुगेका बेला भर्खरै म आफै पढेको विश्वविद्यालयमा पाएको प्राध्यापकको जागिरसमेत त्यागेर देशप्रतिको माया र जिम्मेवारी वहन गर्दै संघर्ष गर्न नेपाल फर्कें। आफ्नो कुनै राजनैतिक संलग्नता वा केही पहुँच नभएको गाउँको एक सामान्य परिवारको व्यक्ति यसरी संघर्षमा नउत्रन र उतै अमेरिकामै बस्न साथीभाइले निकै सल्लाह नदिएका पनि होइनन्।
खैर, नेपाल फर्केपछि एकल रुपमा विभिन्न मानवअधिकारवादी संघ-संस्थाहरुमा निकै लागि परेर यस वृत्तचित्र प्रदर्शन गराई नेपालका अति संवेदनशील विषयहरुमा छलफल गराएँ। सबैको सल्लाहमा यो वृत्तचित्र र यसका सन्देशलाई अझै काठमाडौँ बाहिर जनस्तरसम्म पुर्याउने प्रयासमा करिक दश महिना खर्च गरेँ। निकै संस्था धाएँ। कुनै जागिर खोज्न तिर पनि नलागी अत्यन्तै अप्ठ्यारो आर्थिक अवस्था र सघंर्षका बावजुद आफ्नो दृढतालाई मर्न नदिइ लागि परें। निकै लामो प्रयासपछि राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक र एडभोकेसी फोरम लगायतका संस्थाहरुको सहयोगमा नेपालका पाँच विकास क्षेत्रहरुमा मेरो वृत्तचित्र प्रदर्शनी र छलफलका कार्यक्रमहरुको तिथिहरु तय भयो र यसका लागि एक्लै तयारीमा जुटें। यसै क्रममा अचानक एक दिन अजयबाबु शिवाकोटी नामका व्यक्तिले फोन गरेर मैले उसको वृत्तचित्रका झलकहरुको गैरकानुनी रुपले प्रयोग गरेको आरोप लगाउँदै, कुनै प्रदर्शन नगर्न धम्की दिँदै अनुचित पैसा लगायतका अनेकौं नाजायज दावी गर्दै धम्की दिए। मैले पाँच वर्ष लगाएर निकै संघर्षका साथ निर्माण गरेको ९० मिनेटको यस वृत्तचित्रमा शान्तिका लागि साझा अभियान (कोक्याप) नामक संस्थाले निर्माण गरेका वृत्तचित्रका २ देखि ३ मिनेटका झलकहरु मैले आफ्नो वृत्तचित्रमा प्रयोग गर्ने लिखित इजाजत लिई करिब १ देखि २ मिनेटका झलकहरुको प्रयोग गरेको थिएँ। अजयबाबु शिवाकोटीले यसरी एउटा प्रतिष्ठित संस्थाबाट लिखित अनुमति लिएर प्रयोग गरिएको मात्र १ देखि २ मिनेटका झलकहरु भएको ९० मिनेट लामो वृत्तचित्र पुरै आफ्नो हो भनी चोरीको आरोप लगाउँदै मलाई धम्की दिएकाले यसबारे सहमति गरेर मात्रै अगाडि बढ्ने भनेर मैले विवश र निकै दुःखी हुँदै सबै प्रदर्शनका कार्यक्रमहरु रोक्न बाध्य भएँ।
पटक पटक भेटेर अनुरोध गर्दा अजयबाबुले चर्को पैसाको दावी गर्दै वृत्तचित्र प्रदर्शन गर्न नपाउने र उनले ममाथि भौतिक कारवाही समेत गर्ने धम्की बारम्बार दिइरहे र म लामो समयसम्म मानसिक रुपमै निकै पीडित र त्रसित रहें। अजयबाबु नेपाली कांग्रेसका सभासद् तथा युवा नेता गगन थापाका दाहिने हात जस्ता रहेका र संचार माध्यमहरुमासमेत राम्रो पहुँच भएका व्यक्ति हुन्। समझदारीमा आउने कुनै सम्भावना नदेखेपछि उनका धम्कीबाट अत्यन्तै विक्षिप्त भएर मैले शुरुदेखि नै उनलाई कानुनी प्रक्रियाबाट नै यसको समाधान खोज्न बारम्बार अनुरोध गर्दा उनको निरन्तर धम्की अझ तीब्र भएपछि म तनावग्रस्त भएँ। केही साथीहरुको सल्लाह र मद्दत लिई म माननीय गगन थापाको घरमै गई समेत यसबारेमा सबै कुरा सुनाई यसको सहमतिका लागि सहयोग गरिदिन अनुरोध गरेँ। गगनजीले यसबारेमा पहिलै थाहा पाइसकेको र एक दुई पटक यसबारेमा उनीहरु बीच छलफल पनि भैसकेको बताउँदै यो विषयमा सहमतिका लागि पहल गरिदिन्छु भनी विश्वास दिनुभएको थियो।
करिब डेढ महिना बित्यो, पचासौं पटक गगनजीलाई सम्पर्क गर्ने प्रयास गरें। एक पटक फोनमा उनी व्यस्त रहेको र छिट्टै कुरा मिलाइदिने आश्वासन पाइयो। तर हप्तौँ कुर्दासमेत उहाँबाट केही पहल भएन र फोन गर्दागर्दै निकै उदासीन र थकित भएँ। अजयबाबुले उल्टै म नेताहरुको पछि लागेको भन्दै आफ्नो धम्की अझै चर्काए। उतातिर त्यत्रो लामो प्रयासपछि प्रदर्शनका कार्यक्रमहरु खारेज भएको र अजयबाबुको धम्कीले मर्माहित भई निकै हतोत्साहित भएँ।
यसैबीच आफ्नो वेदना सुनाउने क्रममा एकजना साथीले एसपी रमेश खरेलकोमा गएर यी कुरा बताई आवश्यक सहयोग माग्न दिएको सल्लाह अनुसार म उहाँकोमा पुगेर सबै कुरा बताई आवश्यक सहयोगका निम्ति कानुनलाई गुहारें। उहाँले म हतासिएको पीडित अवस्थामा सबै कुरा सुनी डरधम्कीसँग नडराई सामाजिक कामका निम्ति अगाडि बढ्न प्रोत्साहन दिएपछि एउटा विश्वास र पुनः हौसलाको अनुभव भयो। उहाँले कानुनी रुपमा आफू दह्रो भई काम गर्न आवश्यक कानुनी सहयोग दिने आश्वासन दिनुभयो। सो अनुरुप मैले पुनः एक्लै निकै दिन लगाएर राष्ट्रिय मानवअधिकार आयोग लगायतका संस्थाहरुको सहयोगमा वृत्तचित्र प्रर्दशनी र छलफल कार्यक्रमहरु तय गरें। यसै क्रममा पहिलो प्रदर्शनी पोखराका लागि जाने तयारीका क्रममा अजयबाबुले फेरि फोन गरेर पटक-पटक निकै घिनलाग्दा अपशब्द प्रयोग गर्दै तँलाई पिछा गर्छु, काट्छु भन्दै धम्काए। भाग्यवश एकपटक उनले यसरी फोनमा धम्की दिँदा त्यसको रेकर्ड समेत गरेर सो प्रमाणसहित पुनः एसपी खरेललाई गुहार्न पुगेँ। उहाँले जिल्ला प्रशासन कार्यालयमा गई निवेदन दिएर कानुनी प्रक्रिया अनुसार आउन सल्लाह दिएपछि सो अनुसार निवेदन दिई त्यसलाई बोकेर पुनः हनुमानढोका र पछि सिंहदरवार प्रहरी चौकीमा पुगें। अजयबाबुलाई झिकाई आवश्यक अनुसन्धान गर्ने कानुनी आदेशको पत्र सिंहदरबार प्रहरी चौकीमा बुझाएँ।
प्रहरीले पटक पटक फोन गरेर बोलाउँदासमेत अजयबाबु आलटाल गरेर चौकीमा आएनन्। त्यसपछि म पोखराको कार्यक्रमका लागि केही स्वयमसेवकसहित त्यसतर्फ लागें। यही यात्राकै क्रममा यी तनावहरुका बीचमा पर्यटक बसबाट मेरो ब्यागमा रहेको ल्यापटप कम्प्युटरसमेत चोरी भयो। यसरी अझै तनावग्रस्त हुँदै पोखरा पुग्दा अजय बाबुले मैले उसको वृत्तचित्र चोरी गरी लाखौं कमाएको जस्तो घिनलाग्दो आरोप लगाउँदै उनका साथीहरुले सञ्चालन गरेका केही अनलाइन समाचार माध्यमहरुमा मेरो फोटोसहित समाचार प्रकाशित गराई केही एफएम रेडियोहरुमा समेत फुक्न लगाएर नियोजित रुपमा मानहानी र चरित्र हत्या गराई बेइज्जति गराए। साथै सबै संस्थाहरुलाई समेत यस्तो गलत समाचार पुर्याई मलाई सहयोग गरेमा उनीहरु समेत अप्ठेरोमा पर्ने धम्की दिँदै सबै कार्यक्रमहरु रोके। प्रदर्शनीका लागि मसँग गएका केही विदेशी स्वयमसेवकहरु समेत यस्ता कुराले गर्दा मसँग केही रुष्ट हुँदै कार्यक्रमहरु रोकिएको र उनीहरुको समय र स्वयमसेवी भावमा समेत आँच भएकोमा निराश भए। मानवअधिकारवादी संस्थाहरुलाई अजयबाबुको दावी र आरोप गैरकानुनी र गलत नियतले आएको र यसमा नपरी कार्यक्रमहरु नरोक्न अनुरोध गर्दा समेत मानवअधिकार, कानुनी राज्यको वकालत गर्ने उद्देश्य लिएका संस्थाहरुसमेत अजयबाबुको अनुचित र गैरकानुनी दावी र दवावका कारण आफूहरुले सहयोग गर्न नसकिने बताँउदै सबै कार्यक्रमहरु स्थगित गराइयो। निकै उदास भएर अझै पनि मैले द्वन्द्वपीडितलाई न्याय दिलाउने संकल्प गरी हिँड्ने आफू स्वयम् अन्यायको शिकार भई स्वयम् नै पीडित भई हारेको महसूस नहोस् भनी पोखराका केही साथीहरुको सहयोगमा लेकसाइडको बीच सडकमै वृत्तचित्र प्रदर्शन गरें। निकै व्यक्तिहरुले मेरो बारेमा छापिएको चरित्र हत्या र आरोपका बारेमा सोधे र उनीहरुलाई सम्झाँउदा सम्झाँउदै म निकै थकित र कमजोर भई आफ्नो चोरी भएको ल्यापटपको खोजी समेत गर्न नसकी काठमाण्डौ फर्कें र फेरि शुरु भयो मेरो न्यायको खोजीको एकल संघर्ष।
आफूमाथि गरेको अन्याय र चरित्र हत्याको प्रमाणसहित म पुनः सिंहदरबार प्रहरीमा पुगी मैले नौ दिन अगाडि दिएको शान्ति सुरक्षा गरी पाउँ भन्ने निवेदनबारे प्रश्न गर्दा प्रहरीले अजयबाबु अझै पनि प्रहरीमा नआएको भन्दै उसलाई अनुसन्धानका लागि ल्याउने सिंहदरवार प्रहरीको अधिकार क्षेत्र नभई कमलपोखरी प्रहरीको क्षेत्रमा पर्ने बताइयो। म पुनः हनुमानढोका कार्यालय र सिंहदरबार प्रहरी कार्यालय धाउने म्याराथनमा निकै धाएँ। ममाथि गरिएको अन्याय र चरित्रहत्या सम्बन्धी सबै खुलाएर जि.प्र.का. गई अर्को निवेदन दिई जिल्ला प्रशासन प्रमुखसमक्ष गुहार गरेँ। मेरै अगाडि प्रमुख जिल्ला अधिकारीले एसपी खरेललाई यस विषयमा तुरुन्त अनुसन्धान र कारबाही गर्न निर्देशन दिनुभयो। यतिन्जेल अजयबाबुले आफ्नो राजनैतिक संरक्षणको सारा व्यवस्था मिलाई आफ्ना ८–१० जना व्यक्तिहरुसहित सिंहदरबार प्रहरी कार्यालयमा उपस्थित भएपछि मलाई बोलाइयो। हामी दुबै जनालाई प्रहरी कार्यालयका सइ र उनका सहकर्मीले सोधपुछ गर्न थाले। सोधपुछमा म एक्लै थिएँ तर अजयबाबुका केही साथीहरुलाई समेत सँगै राखियो र राजनैतिक दबाबका कारण मिल्नका लागि मलाई दबाब दिइयो। मैले अनुसन्धान र कानुनी कारबाही नगरी नै मिल्नका लागि दिइएको त्यस्तो दबाव अनुचित र अमान्य रहेको बताउँदै बिलौना गर्दा अजयबाबुले प्रहरीकै अगाडि मलाई निकै घिनलाग्दा अपशब्द प्रयोग गरी धम्की दिँदा प्रहरीले नसुनेको जस्तो गरी ट्वाल्ल परेर बस्यो। अजयबाबुले मेरो सबै व्यक्तिगत विवरण घर ठेगाना, यहाँसम्म कि मेरा ८४ वर्षका वृद्ध बुबाको नाम समेत टिपेको आफ्नो सानो डायरी पढ्दै मलाई धम्काएका थिए। यसरी प्रहरीले एकपक्षीय रुपमा राजनैतिक दबावमा आई कारबाही नै नगरी मिल्न मात्र दिएको ठाडो दबावलाई अस्वीकार गरेपछि मैले उहाँहरुलाई इमान्दार भई कानुनी कारवाही गर्नुस् भनी एक्लै पुनः साँझपख आफ्नो कोठामा फर्केँ। फर्कँदा मनमा डर थियो कि कतै अजयबाबुका साथीहरुले मलाई पिछा त गरिरहेका छैनन्। कोठामा एक्लै जान डर लागेर साथीलाई बोलाई उसको घरमा गएर त्यो रात बिताएँ।
भोलिपल्ट बिहान पुनः सिंहदरबार प्रहरी कार्यालय पुग्दा थाहा भयो- अजयबाबुलाई नेपाली कांग्रेसका सभासद गगन थापा लगायतका केही व्यक्तिहरु आएर हिजो नै म हिंडेपछि छुटाएर लगेका रहेछन्। यसले मेरो कानुनमाथिको विश्वासमा निकै ठेस लाग्यो र पुनः हनुमानढोका एसपी खरेलकोमा गुहार्न पुगें। एसपी खरेलले अजयबाबुले पनि मेरो खिलाफ प्रतिलिपि चोरीको आरोपको निवेदन त्यही दिनमात्र दर्ता गराएको बताउँदै एसपी खरेलका “पश्चिमका पुराना साथी र केही पीएचडी प्राप्त व्यक्तिहरु” आएर अजयबाबुको पक्षमा बोलेकाले अजयबाबुको दावी सही भएको र म लगायत अजयबाबु दुबैलाई थुन्न सक्ने जिकिर गरे। मैले पुनः ममाथि दिइएको धम्कीको स्मरण गराउँदै सिंहदरबार प्रहरी अगाडि नै अजयबाबुले दिएको धम्की र गाली बारे बताउँदा एसपी खरेलले अजयबाबुको पक्षमा आएका उनका साथी र पीएचडी होल्डरले झुटो बोल्न नसक्ने कुरा बताए। मैले जिल्ला प्रशासन कार्यालयबाट पठाइएको ममाथि गरिएको अन्याय, धम्की र चरित्र हत्या सम्बन्धी निवेदन हेर्न समेत नमानी यो अदालत लिएर जानु भनी भन्दा मलाई एसपी खरेल पनि राजनैतिक दबाव वा नातावादको मानसिकताले आफ्नो कर्तव्य र जिम्मेवारीबाट लडखडाएको महशुश भयो। भोलिपल्ट पुनः हनुमानढोका अनुसन्धानका लागि मलाई बोलाइयो। म एक्लै त्यहाँ पुग्दा अजयबाबु आफ्ना २०–३० जना साथीहरुसहित आएका रहेछन् र प्रहरी परिसरभित्रै मलाई घुर्दै तर्साउने प्रयास भयो। प्रहरीले कुनै कानुनी अनुसन्धान नै नगरी मिल्नका लागि पुनः दबाव दिँदै अजयबाबुको निवेदन अनुसार मलाई पनि थुन्नसक्ने बतायो। मैले यदि गल्ती गरेको हो र थुन्न पर्छ भनी कानुनले ठम्याएमा म थुनिन तयार रहेको तर अजयबाबुलाई पनि नछाड्न बारम्बार बिन्ती गरे। आज पनि कुनै कारबाही नगरी पुनः भोलिपल्ट आउन भनियो। भोलिपल्ट फेरि हनुमानढोका एक्लै पुग्दा प्रहरी परिसरमा अजयबाबु पक्षका २०–२५ जना व्यक्तिहरुले गेटबाट नै घुर्ने काम भयो र प्रहरी परिसरभित्र समेत म आफू असुरक्षित भएको महसूस भयो। अब फेरि शुरु भयो राजनैतिक दबाव र इसारामा गैरजिम्मेवार प्रहरी प्रशासनको एकपक्षीय अन्यायपूर्ण कारबाही र दबाव। मैले १० दिनभन्दा पनि अगाडि दिएको निवेदनलाई पन्छाएर अजयबाबुले आफू उम्किनका लागि हिजो मात्र दिएको गलत उजुरीको आधारमा मिल्नका लागि दबाव दिन हनुमानढोका प्रहरी कार्यालयका प्रहरी निरिक्षक उमेश (थर थाहा नभएको) लाई जिम्मा दिइयो। अजयबाबु सहितका उनका १० –१२ जना साथीहरुको बीचमा प्रहरी निरीक्षक उमेशले मैले अजयबाबुको वृत्तचित्र चोरी गरेको आरोप लगाउँदै केरकार शुरु गरे। मैले बारम्बार मेरो ९० मिनेटको वृत्तचित्रमा अजयबाबुले आफ्नो भनी दाबी गरेका १ देखि २ मिनेटका दृश्य शान्तिका लागि साझा अभियान नामक संस्थाको लिखित अनुमति लिई प्रयोग गरेको बताउँदै अजयबाबुको आरोप गलत र गैरकानुनी रहेको जिकिर गरें। तर प्रहरी निरीक्षक उमेश उनकै सामु प्रस्तुत गरेका कानुनी प्रमाणलाई निष्पक्ष अनुसन्धान नगरी एकपक्षीय रुपमै मलाई आरोप लगाउँदै गए र अजयबाबुलाई उनले ममाथि गरेको अन्यायपूर्ण र गैरकानुनी आरोपप्रति प्रोत्साहित बन्दै गए। शान्तिका लागि साझा अभियानका प्रतिनिधिहरुलाई पनि बोलाई यसबारेमा बयान लिइयो, तर उनीहरुले आफैले दिएको लिखित अनुमति कानुनी प्रमाणका रुपमा रहँदा समेत उनीहरु पनि राजनैतिक दबाब वा नातावादका भावनाले मेरो विपक्षमा बयान दिँदै उक्त अनुमति उहाँहरुले आफूहरु नयाँ कार्यसमिति आएको बेला नबुझिकन दिएको गैर जिम्मेवारीपूर्ण बयान दिई पन्छिए। यसरी अजयबाबु आफ्नो गलत दाबी र आरोपप्रति अझै प्रोत्साहित भए। यदि अजयबाबुको आरोप सही भएको भए मैले उनको प्रतिलिपि चोरी गरेको भए किन उनी १० महिनासम्म मैले बारम्बार अनुरोध गर्दासमेत यस बारेमा कानुनसम्मत तरिकाले आएनन् र एक्कासी मलाई दिइएको धम्कीको उजुरी परेपछि मात्र आफ्नो बचाउका लागि राजनैतिक संरक्षण लिई अस्तिमात्रै मेरो विरुद्धमा उजुरी दिए त? साथै एउटा जिम्मेवार संस्थाले लिखित अनुमति दिएको प्रमाण पेश गर्दा पनि हामीले नबुझेर वा हामी नयाँ कार्यसमिति आएको भएर भनी दिइएको गैर जिम्मेवार र कानुनविपरीतको बयानलाई आधार मानी उनीहरुलाई सजिलै क्लिन चिट दिएर मलाई फसाउने र मिल्नका लागि दबाव दिने राजनैतिक दबावबाट एकपक्षीय अन्यायिक प्रहरी प्रशासनबाट नै म पीडित बन्दै गएँ। अजयबाबुका साथीहरुले मलाई बाहिरसम्म घुरिरहे। म निकै मानसिक तनाव र पीडामा छटपटाउन थालें।
भोलिपल्ट पुनः हनुमानढोका प्रहरीले बोलाई दुई पक्ष मिल्नु पर्ने र नमिलेमा दुबैलाई थुन्ने धम्की दिँदै दबाव दियो। मैले आफ्नो बिलौना र प्रहरीबाटै ममाथि भएको अन्यायका बारे एक्लै बिलौना गर्दै कानुनले भन्छ भने मलाई पनि थुन्नुहोस् तर अजयबाबुलाई पनि छाड्न नमिल्ने अडानमा रहिरहेँ। त्यसपछि डीएसपी लालमणि आचार्यको कोठामा राष्ट्रिय पत्रकार महासंघका सचिव लगायतका अजयबाबुका पक्षमा आएका १५–२० जना व्यक्तिहरुले मलाई मिल्नका लागि आग्रह गरे। मैले अजयबाबुले मलाई कानुनी रुपमा दोषी नै प्रमाणित नभइकन कानुन आफ्नो हातमा लिएर मार्छु काट्छु भनी धम्काएको, मेरो ६ महिनाभन्दा बढी समय लगाएर गर्न खोजेको सामाजिक काम बिथोल्नुका साथै अझै चोर हो भनी मेरो फोटोसहित पत्रिकामा छपाएर मेरो चरित्र हत्या गरेकाले यसको निष्पक्ष कानुनी अनुसन्धान भई सत्यअगाडि आउनै पर्ने निवेदन गरेँ। यसै क्रममा अजयबाबुले आफ्ना पक्षमा आएका ती १०–१५ जना जत्थाका बीच र अझै डीएसपी लालमणि आचार्यका अगाडि नै मलाई हेलमेट उठाएर आक्रमण गरे तर भाग्यवश उनकै साथीले रोकेर म जोगिएँ। यसरी डीएसपी कै अगाडि मलाई आक्रमण गरेकोमा र यसबारे डीएसपीले केही नगरेकोमा कानुनको ठाडो उल्लङ्घन भएको आभास हुँदै कानुनप्रतिको मेरो विश्वासमा निकै ठेस पुग्यो। यसरी एकपक्षीय अन्यायपूर्ण राजनैतिक दबाबद्वारा प्रेरित भई मिल्न भनेर दिइएको दबाव मैले अस्वीकार गरेपछि पुनः भोलि आउन र नमिले दुबैलाई थुनी मुद्दा चलाउने बताइयो। अजयबाबु आफ्नो पक्षमा आएका जत्थासँग प्रोत्साहित हुँदै निस्के र म एक्लै हनुमानढोकामा ट्वाल्ल परेर हेरी रहेँ। साँझ परिसकेर अन्धकार भैसकेको थियो। मलाई एक्लै हिँडेर कोठा जान निकै असुरक्षित लाग्यो र यस बारेमा डीएसपीलाई गुहार्दै “बरु मलाई नै यहाँ थुन्नुहोस् , कमसेकम थुनामा त सुरक्षित रहुँला” भनेर समेत बिलौना गर्दा फेरि भोली आउन भनियो। ममाथि भएको अन्याय र डीएसपी कै अगाडि गरिएको आक्रमणको प्रयासबारे उल्लेख गर्दै यदि मलाई कसैबाट आक्रमण भई केही भएमा प्रहरीसमेत जिम्मेवार हुने भनी निवेदन लेखी तिनै डीएसपी आर्चायलाई बुझाएँ। अफ्ठ्यारो मान्दै खिस्स हाँसेर बल्लतल्ल मेरो निवेदन बुझे र त्यसको दर्ता नम्बर लिएर एक्लै डराउँदै अँध्यारोमा बाहिर निस्कें। मलाई उनीहरुले पिछा गरेको डर त्रास सहित कहाँ जाउँ, के गरौं भयो। एक जना साथीलाई फोन गरेर बोलाई उसको घरमा गएर रात बिताएँ। डर, त्रास र अन्यायले पीडित भई निकै तनाव र पीडामा भएकाले बिहानै किष्ट हस्पिटलमा गई मेरो मानसिक पीडाका सबै व्यथा सुनाएपछि डाक्टरले केही औषधी लेखिदिए, अस्पतालमै एक दुई हप्ता बस्न समेत सल्लाह दिए।
११ बजे हनुमानढोका पुग्नु थियो। प्रहरीले भने अनुसार म लगायत अजय बाबु दुबैलाई थुनिने र मुद्दा चलाउने रे। म हनुमानढोका पुगी एसपी खरेललाई भेट्ने बित्तिकै एसपी खरेलले अजयबाबु क्यान्सरको रोगी भएको र अस्पताल रहेकाले आइतबार मात्र आउने बताउँदै आइतबार दुबैलाई थुन्न डीएसपी आचार्यलाई आदेश दिए। र म फेरि लुरुक्क हनुमानढोकाबाट निस्कन बाध्य भएँ र भोलि आइतबार थुनिनका लागि हनुमानढोका जाँदै छु।
आफ्नो बिरामीको बहाना बनाई अपराधबाट पन्छिन पाइन्छ भने मलाई पनि ब्रेन ट्युमर छ र केही वर्षदेखि यसको औषधी खाइरहेको छु। एसपी खरेलले मलाई जवाफ दिनुहोस् के मलाई आफ्नो बिरामीको बहाना बनाई अपराध गर्न र त्यसबाट उम्किन कानुनले छुट दिन्छ त? जिल्ला प्रशासन कार्यालयले तपाईंहरुलाई ममाथि ज्यानको धम्की दिएको सम्बन्धमा कानुनी अनुसन्धान र कारबाही गर्न निर्देशन दिएको थियो, राजनैतिक नेताहरुको आदेश वा दबावमा अनुसन्धान वा कारवाही नै नगरी मिलाइदे भनेर होइन। तपाईंले के अनुसन्धान र कारवाही गर्नुभयो र प्रहरी अगाडि नै मलाई आक्रमण गर्न खोज्नेलाई कुनै कारबाही नगरी ट्वाल्ल परेर हेरेर बस्दा के तपाईंलाई त्यो सरकारी पोशाक र फुली लगाएर बस्ने अधिकार छ भन्ने अलिकति पनि महसूस र लाज लागेन? होइन भने त्यो तपाईंको पोशाकमा “सत्य सेवा सुरक्षणम्” झुन्डिएको फुली हटाएर राजनैतिक पार्टीको झण्डा र गगन थापाअंकित फुली लगाएर पार्टीको झण्डा बोकेर बस्नुस् र भन्नुहोस् तपाईं आफ्नो सुरक्षा र न्याय आफै गर्नुहोस् भनेर। अजयबाबुले ममाथि लगाएको आरोप पूर्णतया गलत हो भनी “कानुन बमोजिम” प्रमाणित गर्न मलाई १० मिनेट पनि लाग्ने छैन। तर राजनैतिक दबावमा पूर्वाग्रही भई ममाथि अन्यायपूर्ण आरोप लगाइ उल्टै थुन्ने धम्की दिने एसपी खरेल लगायतको प्रहरी प्रशासनलाई मेरो ठाडो चुनौति छ – थुन्नुहोस् मलाई पनि, यसको जिम्मेवारी र जवाफ नदिई तपाईंहरु उम्किन पाउनु हुन्न। तर राजनैतिक नेताहरुलाई रिझाउनका लागि अजयबाबुलाई कसरी छोड्नु हुन्छ, यसको जवाफ पनि दिनै पर्छ तपाईंले, र यदि प्रमाणित भएमा कारबाहीका लागि पनि तयार रहनुहोस्। कसैले झुटा आरोप लगाई निवेदन दिएकै भरमा थुन्न मिल्छ भने, मैले पनि तपाईं प्रहरीले ममाथि गरेको अन्यायपूर्ण व्यवहार बारे निवेदन दिएको छु, थुनाउनुहोस् तपाईं लालमणि आचार्य र आफैंलाई। आफ्नो आत्मालाई साक्षी राखेर सोच्नुहोस् – किन बिक्नु भो तपाईंहरु र कस्तो न्याय गर्दै हुनुहुन्छ? प्रहरी र कानुनबाटै जनताको विश्वास टुट्यो भने के हुन्छ?
सम्माननीय एसपी रमेश खरेल ज्यु, मैले अन्तिम पटक तपाईंलाई भनेको थिएँ –“सर म अन्यायमा परी हतोत्साही भएको बेला नडराउनु र कानुनसम्मत तरिकाले सामाजिक कामका लागि निर्धक्क लाग्नुहोस् भनेर तपाईँले प्रोत्साहन दिनुभएको थियो। म तपाईंले दिएको यो प्रोत्साहनलाई हार्न दिन्न, तपाईंलाई हार्न दिन्न।” यसको मर्म कर्तव्यनिष्ठ र जिम्मेवार भएर बुझ्नुहोस्। यदि तपाईं पनि हार्नु भयो भने कानुनमाथि जनताको विश्वास हट्ने छ। त्यसको दीर्घकालीन परिणाम बारे पनि सोच्नुहोस्। जनताले तपाईंलाई एउटा उच्च सम्मान र विश्वास दिएको छ, त्यसको सम्मान गर्नुहोस्। नहराउनुहोस् जनतालाई राजनैतिक दबावमा, नत्र तपाईं पनि हार्नु हुनेछ। तपाईंप्रति जनताले दिएको सम्मान र विश्वासको सँधै जित होस्, यही कामना छ मेरो।
तुलसी भण्डारी
tulsibhandari@yahoo.com
*************************************************
त्यसपछि के भयो?
प्रहरीले अनुसन्धानका लागि १० दिन तुलसीलाई हिरासतमा राख्यो। त्यसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्यो। मुद्दा अदालतमा जारी छ।
http://www.mysansar.com/archives/2010/12/id/15988#more-15988