Thursday, December 23, 2010

रुबेलको कर्तुत -- By Salokya, on December 22nd, 2010

आपका जाएगा ना बापका जाएगा भने जस्तो अर्काको देशमा आएर राष्ट्रलाई नै लुटिखान पल्किएको एउटा ठिटोलाई जोगाउने खेल हेर्दा थाहा लाग्छ कस्तो छ हाम्रो न्यायपालिका र कस्ता छन् हाम्रा ब्युरोक्र्याट्स ? काँग्रेस नेतृ सुजाताका बंगलादेशी ज्वाइँ रुबेल चौधरी पर्दापछाडि रही सञ्चालन हुने गरेको कल बाइपास भीओआइपीको धन्दा बुझ्दै जाँदा यो तथ्य छर्लङ हुन्छ।
महानगरीय प्रहरीको टोलीले गत २७ साउनमा ललितपुरको खुमलटारस्थित रामकुमारी महर्जनको घरमा अवैध तवरले भीओआइपी प्रविधिमार्फत् ठगी धन्दा फेला पार्‍यो। त्यही दिन त्यहाँबाट प्रहरीले उक्त प्रविधिको उपकरण रेखदेखमा तैनाथ केही बंगलादेशीसहित नेपाल टेलिकपमको आठ सय १२ एनसेलको तीन हजार र युटीएलको नौ थान सीम पनि बरामद गर्‍यो।
यसको दुई सातापछि अर्थात् ९ भदौमा नेपाल टेलिकमले प्रहरीलाई चिठी लेख्यो र भन्यो ती सिमकार्ड कसको नाममा कहाँबाट जारी भयो भन्ने विवरण तु जानकारी गराइनेछ। चार महिना बितिसक्यो टेलिकमले विवरण उपलब्ध गराउनु त टाढाको कुरा प्रहरीलाई अर्को कुनै पत्र पनि पठाएन। प्रहरी अनुसन्धानबाट सिमकार्ड उपलबध गराउने भनिएका व्यक्ति पहिचान भएका थिए तर टेलिकमले प्रमाणित गरिदएको थिएन।
सिमकार्ड उपलब्ध गराउनेमा चितवन, पटिहानी ६ का २० वर्षीय विजय सिह, चैनपुर ६ का २९ वर्षीय ऋषि अधिकारी, कामपा ३१ का २६ वर्षीय कर्णाद उपाध्याय, कामपा ३२ का ३३ वर्षीय विमल केसी र चाबहिलका २२ वर्षीय सागर मिश्र हुन्। तर ती व्यकति सुरुदेखि नै फरार छन्। प्रहरीले पक्राउ गर्न चाहँदा टेलिकमले आजसम्म कुनै सहयोग गरिरहेको छैन। यो हाम्रो ब्युरोक्रेसीको निकम्मापनको एउटा ज्वलन्त उदाहरण हो।
उता न्यायालयको नाममा हुने नाटकको परिघटना अर्कै छ। नाम्चे केबलनेटका सञ्चालक श्रीष कर्माचार्यले खुमलटारको त्यो घरमा भीओआइपी उपकरण जडानसम्बन्धी काम गरेको प्रहरी अनुसन्धानबाट खुल्यो। ललितपुर प्रहरीले कर्मचार्यलाई पक्राउ गरी जिल्ला अदालत पेश गर्‍यो। जिलला अदालतले कसुर बमोजिमको सजाय तोकेर जेल पठायो। तर लगनखेलस्थित जिल्ला अदालतको त्यो फैसलालाई पुल्चोकको पुनरावेदन अदालतले सदर गरेन अर्थात् अभियुक्त माथिल्लो अदालतको आदेशले भर्खरै मुक्त भए।
जननताको राजस्वबाट चल्ने सार्वजनिक संस्थानमाथि शक्तिकेन्द्रको दबाबमा कति धेरै लुट मच्चाइन्छ भन्ने कुरा यसअघि शानेवानि ट्रली र साझा बस धराशायी भएबाटै देखिएको हो। अहिले भीओआइपीको नाममा उस्तै लुट मच्चिएको छ नेपाल टेलिकममा। यसरी विदेशबाट आएको फोनमा स्वदेश कै नम्बर देखिने यो अवैध धन्दाबाट नेपाल टेलिकमको सन् २०१० मार्च २२ देखि ०६७ सालको साउन २७ सम्म जम्मा १४४ दिनका बीच पौने एक अर्ब अर्थात् ८९ करोड ८५ लाख ६० हजार रुपैयाँ सखाप भएकोछ। यसबाट टेलिकमले सरकारलाई बुझाउनु पर्ने राजस्ववापतको रकम २२ करोड ४६ लाख ४० हजार रुपैयाँको पनि पत्तो छैन।
जसरी परराष्ट्रमन्त्री सुजाता कोइराला अहिले ज्वाइँ प्रकरणमा सञ्चारमाध्यमविरुद्ध खनिएकी छिन् त्यही आधारमा अनुसन्धान र कारबाही गरेने राज्यका निकाय मौन बसेको भए अर्कै कुरा नत्र भीओआइपीमा उनका ज्वाइँ रुबेलको संलग्नतालाई अर्को एउटा तथ्यले पनि राम्रोसँग पुष्टि गर्छ।
पक्राउ परेका बंगलादेशी नागरिक २५ वर्षीय निसार अहमदले जम्मा १० कक्षा पढेका छन्। अर्का बंगलादेशी २२ वर्षीय मुक्तादिर हुसैन तोमल एक गरिब घरका छोरा हुन् जसको आफ्नै देशमा पनि एक टुक्रा जमिन छैन। उनीहरुले प्रहरीलाई दिएको बयानमा महिनाको सात हजार तलब पाउने गरी काठमाडौँ ल्याइएको बताएका छन्।
नेपालको कतैबाट पनि सोझै सीमाना नछुने बंगलादेशका यी बेरोजगारलाई करोडौँको उपकरण जडान गरेर डरलाग्दो धन्दा सञ्चालन गर्न कसले ल्यायो काठमाडौँ ? यी अर्बौँको राजस्व र कम्पनीमाराहरुले ती गरिबलाई सात हजार तलब दिए भनेर पत्याउन सकिएला?
यसरी भीओआइपी प्रविधिमार्फत् कल बाइपास गरेर फिलिपिन्सबाट आउने रकम नयाँ बानेश्वरस्थित स्ट्यान्डर्ड चार्टर्ड बैँकमा जम्मा हुन्थ्यो। सुजाताका ज्वाइँ रुबेल नजिकैको होटल एभरेस्टमा बस्थे। अहिले पनि रुबेललाई काठमाडौँको कुनै सडकमा भेटियो भने उनी कालो रंगको किया स्पोर्टेज कारमा हुन्छन्। हो त्यो गाडी त्यही एभरेस्ट क्यासिनोको नाममा छ।
देशको राजस्व ठगेर भागदै हिँडेका राकेश बाधवासँग रुबेलको राम्रो मिल्ती छ। हाम्रो देशलाई ठगेर बंगलादेशी रुबेलले कमाउने पैसा क्यासिनोमा फ्याँक्छन् र अर्का विदेशी भारतीय बाधवा भने कारोबार गरेर कर नतिरी लुक्दै हिँड्छन्। थाहा छैन हाम्रो न्यायालय र ब्युरोक्रेसीको यो लथालिङ्गलाई नजिकबाट जानेका यी विदेशीले मिलीमिलीकन कुन दिन हाम्रो देशलाई दाउमा राखेर भाग्ने हुन् ? (साभारः जनआस्था)- MySansar bata(2067-9-8)