
प्रचण्डले अलि कम बोल्न थालेका छन् अचेल। अझ बिरामी भो रे भनेपछि त उनको बोली खासै मिडियामा सुनिएको छैन। तर नबोलेर के भो त, बोली नभए पनि पत्रिकाले उनको हेयरस्टाइल कै समाचार बनाइदियो।
आजको अन्नपूर्ण पोस्टमा प्रचण्डको हेयरस्टाइल बारे एउटा साह्रै रोचक समाचार छापिएको छ। समाचारको सार यस्तो छ- पहिले प्रचण्ड बाबुराम भट्टराईसँग नजिक थिए, त्यतिबेला उनको हेयरस्टाइल भट्टराईको जस्तो माथितिर फर्किएको हुन्थ्यो। अहिले प्रचण्ड मोहन वैद्यसँग नजिकिएका छन् र उनको हेयरस्टाइल सिउँदो काढिएको शैलिमा छ।

नभन्दै हो रहेछ। पुराना फोटोहरुमा प्रचण्ड जेल लगाएर कपाल माथितिर फर्काएको रुपमा देखिन्थे। हिजो चाहिँ उनी जेल हैन तेल लगाएर सिउँदो काढेर वैद्य स्टाइलमा कपाल कोरेको देखिन्थ्यो।
समाचार लेखक किरण पोखरेलको व्याख्या यस्तो छ- वैद्यको जनविद्रोहको लाइन समेटिएको आफ्नो प्रतिवेदन पारित भएको भोलिपल्टै प्रचण्डले कपालको सिउँदो पनि वैद्यको जस्तो पारेका छन्। दश वर्षे सशस्त्र विद्रोह त्यागी शान्तिप्रक्रियामा आएदेखि नै डा बाबुराम भट्टराईले झैँ कपाल माथितिर फर्काएर कोर्ने गरेका प्रचण्ड शनिबार भने वैद्य कै शैलिमा सिउँदो काढेर सिंहदरबारस्थित संविधान सभा दलको कार्यालयमा देखिए।
समाचारले २०६३ असार २ गते पहिलो पटक बालुवाटारमा सार्वजनिक हुँदा प्रचण्डको हेयरस्टाइलमात्र हैन सर्ट पनि बाबुराम कै जस्तो हुने गरेको स्मरण गराएको छ। त्यसरी प्रचण्ड र बाबुरामको वैचारिक अनि लुगा पनि एकै किसिमको लगाएको वैद्यलाई कति पनि मन परेको थिएन रे। अझ रमाइलो टिप्पणी समाचारमा यस्तो छ- गुरु वैद्य र शिष्य प्रचण्डको समीकरणसँगै पार्टीमा अल्पमतमा परेका उपाध्यक्ष बाबुरामको हेयरस्टाइल पनि एक्लिएको छ। माओवादीका कतिपय नेता कार्यकर्ताहरुले पनि प्रचण्ड कै नक्कल गर्दै कपाल ठाडो पारेर कोर्दै आएका छन्। उनीहले प्रचण्डको बदलिएको यो ‘चिज’लाई कसरी ‘बुझ्ने’ र ‘लिने’ हुन्, थाहा पाउन केही दिन पर्खनै पर्छ। अनि सौन्दर्यविदले कुन स्टाइल मन पराउलान् ?
मलाई भने प्रचण्डको अहिलेको जनविद्रोहवाला हेयरस्टाइल भन्दा लोकतान्त्रिक गणतन्त्रवाला स्टाइल नै सुहाएको लाग्यो। जनविद्रोह भनेको गरेर हुने कुरा पनि होइन, बरु राम्रो काम गरेर, विकास निर्माण र आर्थिक विकासमा ध्यान दिएर दुई तिहाई बहुमत ल्याएर जनता कै मतबाट सत्ता कब्जा गरे भइगो नि, त्यसको लागि कपाल त जता फर्काए नि हुन्छ, दिमाग चाहिँ त्यतातिर फर्काउनु पर्यो, कि कसो त ?