Thursday, December 5, 2013

सावधान ! पोखरामा पनि यस्तो हुनसक्छ - mysansar

 सावधान ! पोखरामा पनि यस्तो हुनसक्छ
माथिको फोटो ग्वाटेमालाको हो। आजभन्दा तीन वर्षअगाडि अर्थात् सन् २०१० को मे महिनामा ग्वाटेमाला सहरमा अकस्मात् यस्तो ठूलो खाल्डो देखिएको थियो। नापेरै बनाएको जस्तो ठ्याक्कै गोलो आकारको यो सिङ्कहोल (जसलाई नेपाली भूगर्भविद्हरु 'भुवान' भन्ने गर्छन्) ६६ फिट फराकिलो र १०० फिट गहिरो थियो। यो सिङ्कहोलले एउटा तीन तले बिल्डिङ र अर्को एउटा सानो घर निलेको थियो। ग्वाटेमालाको राष्ट्रपति कार्यालयबाट आधिकारिक रुपमा जारी गरिएको यो फोटोलाई अमेरिकी सञ्चार संस्था एपीले विश्वभर फैलाएको थियो। आज पनि विश्वका विभिन्न ठाउँमा मानव बस्ती भएको ठाउँमा वा त्यस वरपर मान्छेको चासोको क्षेत्रमा सिङ्कहोल बन्दा यही फोटोलाई उदाहरणको रुपमा देखाउने गरिन्छ। त्यहाँका अधिकारीहरुले आँधीका कारण लगातार परेको पानीले जमिनमुनिको पानीको सतह बढेर त्यहाँको पातलो माटोको तह पगालेका कारण माथिको जमिनसमेत भासिएर यति ठूलो सिङ्कहोल बनेको बताएका थिए। पोखरा उपत्यकामा रहेको अर्मला गाविसमा अहिले बनिरहेका सिङ्कहोलले भविष्यमा यस्तै विपत्ति सहरी क्षेत्रमा समेत आउनसक्नेतर्फ सचेत गराएको छ। भूगर्भविद्हरुले १५ वर्षअघि नै यस्तो चेतावनी दिइसकेका छन्। 
 यस्तो देखिन्छ अहिले अर्मलामा
संविधान सभाको निर्वाचन सकिएर देशभर मतगणना जारी रहँदा न्युजरुममा एउटा बेग्लै समाचार 
आइपुगेको थियो। साथी रविराज बराल पोखराको बासिन्दा हुनाले उसलाई त्यो समाचारले छोएको 
थियो र तत्काल उसले समाचार अनलाइनमा फोटोसहित राख्यो पनि। हामी भने मतगणनाको 
अपडेटमै व्यस्त थियौँ। मतपरिणाम आउने क्रम सकिँदै जाँदा बल्ल फूर्सदमा त्यहाँका फोटो र 
समाचार हेरेँ। अहो, अचम्मै भएको रहेछ। पोखरा नै गएर नजिकबाट बुझेर यसबारे एउटा विशेष 
सामाग्री तयार पार्नुपर्ला भन्ने प्रस्ताव अहिले म कार्यरत अन्नपूर्ण पोस्टको डिजिटल टिममा राखेँ। 
डिजिटल सम्पादक उज्ज्वल आचार्यसहित अरु साथीहरुले पनि हौस्याएपछि यसै साताको सुरुमा 
पोखरा पुगेँ। अन्नपूर्ण पोस्टको पत्रिका र अनलाइनमा आज यसबारे विशेष सामाग्री छापिएको छ।
जताततै ठूल्ठूलो प्वालैप्वाल देख्दा जता टेक्यो उतै भासिएला कि भन्ने डर 
                                                                                 फोटोः मिलन मगर 
महेन्द्र गुफाबाट अलि अगाडि बढेपछि जोगिमणा जाने कालामुडा कृषि सडकको पिच बाटोलाई टाढै प्रहरीले रोकेको 
छ। पोखराबाट आउने रमितेहरु त्यहाँबाट पैदलै हिँड्नुपर्छ। पाँच मिनेट जति हिँडेपछि बाटो वरपर नै जताततै प्वालै
प्वाल देखिन्छ। एकदम गोलो आकारको। लाग्छ आकाशबाट एलियनहरुको यान वा त्यसले केही यहाँ खसाएको हो।   
यो साताको सुरुमा म त्यहाँ पुग्दा ५० वटा जति सानाठूला सिङ्कहोल
बनेको देखेँ। त्यसमध्ये एउटाले मात्रै घरका सामान निलेको रहेछ। 
३ वटा घर नजिकै परेका छन्।  अरु भने समथर खेतको बीचबीचमा
परेका छन्। अहिले गाविसले त्यहाँ नयाँ संरचना बनाउन रोक लगाउनुका
साथै त्यस क्षेत्रमा गाडी पनि चल्न दिएको छैन। हुन पनि पिच सडकै
चर्किएको समेत देखिएको छ। 
यो फोटो खिचेको ठाउँमा नजिकै चार वटा सिङ्कहोल बनेका थिए। 
कात्तिक २६ गतेबाटै अर्मलाको ठूलीबेसी फाँटमा ससाना खाल्डाहरू पर्न थालेको रहेछ। तर कसैले वास्तै गरेका
रहेनछन्। चुनावको भोलिपल्ट अलि ठूलै सिङ्कहोल बनेपछि बल्ल मानिसहरु झसङ्ग भए। मंसिर ७ गते 
शुक्रबार दिउँसै एउटा कच्ची घरको सामानै निल्ने गरी प्वाल परेपछि भने यहाँ आतंक मच्चिन सुरु गरेको थियो।
अहिले दिनदिनै जसो त्यहाँ सिङ्कहोलहरु बन्ने क्रम जारी छ। साना प्वालहरु अझ ठूला र नयाँ नयाँ ठाउँमा
सिङ्कहोल देखिएका छन्। 
 किन भयो यस्तो?
कालीखोला पश्चिम अर्मला गाविस वडा नम्बर १ क्षेत्र भौगर्भिक हिसावले अत्यन्त कमजोर अवस्थामा रहेको सिल्ट (Silt) र ग्राभेल (Gravel) जम्मा भई बनेको भूभाग हो। यस क्षेत्रको जमिनको माथिल्लो भागमा पातलो ग्राभेलको तह (५ मिटर सम्म) र तल्लो भागमा राम्रोसँग नजमिसकेको कमेरे माटोको तह (Silt Layer)  रहेको छ। कमेरे माटोमा लगातार पानीको प्रभावको कारण सो तह कमजोर भई केही मात्रा पानीमा घुल्छ र पानीसँगै बगेर जान्छ। खहरे खोलाको प्राकृतिक प्रवाहमा अवरोध पुगेपछि पानीको भूमिगत सतह बढ्यो। त्यसले कमेरे माटोलाई पगाल्यो। जसले गर्दा तलको भाग खोक्रो हुन गयो। तलको भाग
खोक्रो भइसकेपछि माथिबाट जमिन भासिन गयो र यस्ता प्वाल देखियो। कमेरे माटो पगालेर भूमिगत पानी निस्किएको तलको फोटोबाट पनि देखिन्छ। एकातिर कालीखोला सफा बगेको छ भने भूमिगत पानी कमेरे माटो गाल्दै सेतो भएर खोलामा मिसिएको छ। 
१५ वर्षअघि नै सचेत गराइएको थियो
हिजो म खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् लीलानाथ रिमाललाई
भेट्न गएको थिएँ। उनी अस्ति भर्खरै अर्मला गएर स्थलगत अध्ययन गरी 
फर्किएका थिए। १५ वर्षअघि जर्मन सरकारको सहयोगमा विभाग र विदेशी विज्ञ
सहितको टोलीले पोखरा उपत्यकाकै एउटा पूर्ण नक्साङ्कन गरेको थियो, जसमा 
कुन ठाउँको माटो कस्तो छ, कहाँ सिङ्कहोल बन्नसक्छ, कुन ठाउँ भास्सिन 
सक्छ, सबै उल्लेख थियो। त्यसमा पनि सहभागी रिमालले भने, "हामीले उतिबेलै कार्यक्रम गरेर नगरपालिका, जिविस, पत्रकार सबैलाई सचेत गराएका थियौँ। नक्सामा जोखिम देखिएका ठाउँहरुमा निर्माण कार्य गर्दा विस्तृत अध्ययनपछि मात्रै स्वीकृति दिनभनेका थियौँ।" उनी कसैलाई दोष दिन चाहँदैनन्। "हामी सबैको दोष हो, हामीलेनक्सा बनायौँ, दियौँ। कसैले बुझ्न नपाएर वा नबुझेर त्यस्ता ठाउँमा अध्ययनै नगरी घर बनिरहेका छन्।" 
पोखराको कहाँ कहाँ खतरा?
 न्युरोड आसपास
 चिप्लेढुंगा आसपास
लाचोक
घाचोक
हेम्जाबेसी
छोरेपाटन
कुनै पनि निर्माणका कार्य गर्दा माथि उल्लेख गरिएका लगायत भौगर्भिक नक्सामा तोकिएका जोखिमका स्थानहरूमा गरिँदैछ भने विशेष सावधानीका साथ त्यस क्षेत्रको भौगर्भिक अध्ययन गरेर त्यसको नतिजाका आधारमा मात्र त्यहाँ बन्ने संरचनाको डिजाइन हुनुपर्छ। त्यो आधारमा निर्माणकार्य गर्ने हो भने यस्ता समस्या धेरै नै न्यूनीकरण गर्न सकिने रिमालको भनाई छ। हैन, त्यस्ता ठाउँमा पनि उपमहानगरपालिकाको मापदण्डविपरीत घरहरु बनाइन्छन्, घुस खुवाएर नक्साविपरीत घर बनाउँछन् भने उनीहरु आफै आफ्नो खुट्टामा बञ्चरो हान्दैछन्। अहिले अर्मलाको सिङ्कहोलले त  पूरै घरै निलिसकेको छैन। भविष्यमा यसप्रति सचेत नहुने हो भने विश्वका विभिन्न देशमा देखिएका यहाँ छेउमा राखिएका जस्तै सिङ्कहोलको दृश्य पोखराको सहरी भागमा समेत हुन सक्नेछ। अर्मलाले यसप्रति सबैलाई सचेत बनाए वेश हुने थियो।  
न्युजिल्यान्डमा सन् २००१ को डिसेम्बरमा ५० मिटर फराकिलो र १५ मिटर गहिरो यस्तो 
सिङ्कहोल बन्दा एउटा घर त्यसमा पर्‍यो भने पाँच जनाको परिवार घाइते भए।  
 जर्मनीमा सन् २०१० को नोभेम्बरमा बनेको सिङ्कहोल
चीनको ग्वाङझाउमा यसै वर्षको जनवरीमा। एउटा घरै भासिएको थियो यहाँ। यो चाहिँ मेट्रो
रेल बनाउँदाको परिणाम थियो।