विजयराज खनाल/बिजमाण्डू
विजयराज खनाल/बिजमाण्डू
काठमाडौं । नेपाली सेयर बजारमा निर्मल प्रधान मात्र त्यस्ता व्यक्ति हुन्, जसले आफुलाई बजारको ठुलो सेयर खेलाडी नै घोषणा गर्दै आएका छन । तर बजारमा प्रधान मात्र होइन उनीसरह वा उनीभन्दा ठूला खेलाडीहरु पनि छन् । विभिन्न कम्पनीका वित्तीय प्रतिवेदन, नेप्से बजारमा सक्रिया कारोवारी, स्टक ब्रोकर कम्पनीका अधिकारीसँगको कुराकानीमा प्राप्त सूचनालाई आधार मानेर बिजमाण्डूले देशका ठूला लगानीकर्ताको सूची तयार गरेको हो ।१. निर्मल प्रधान
आफु सेयर बजारको ठुलो खेलाडी भएको भन्न निर्मल प्रधान हिच्किचाउँदैनन् । कतिपय लगानीकर्ता उनलाई एक धर्म गुरुसंग दाज्दै नेपाली सेयर बजारका ‘निर्मल बाबा’ को समेत उपमा दिन्छन । केही अघि बजार बियरिश प्रवृत्तिमा रहँदा केही हदसम्म निष्क्रिय रहेका उनी अहिले फेरी सक्रिय हुन थालेको स्रोतहरु बताउँछन ।
उनी अहिले नेपाल बैंकको सेयर बिक्रीको क्रममा निकै सक्रिय भएको बताइन्छ । हालै मात्र उनले बजारमा नेपाल बैंकको मात्र करीब ५० करोडभन्दा बढि रकमको सेयर बिक्री गरेको स्रोतहरुको दावी छ । उनले बैंकमा अगाडीदेखि नै लगानी गर्दै आएको भएपनि कतिपय सेयर भने बैंक नेप्सेमा पुनः सूचीकरण पछि मूल्य एक सय ५० रुपैयाँ हुँदा किनेको स्रोतहरु बताउँछन ।
निमल प्रधान नेशनल हाइड्रो पावर, एभरेष्ट बैंक, पश्चिमाञ्चल बिकास बैंक, एनसीसी बैंकका ठुला लगानीकर्ता हुन् । उनको पनि सेयरमा भएको लगानीको आकार अर्बाै रहेको स्रोतहरु बताउँछन । एभरेष्ट बैंकमा उनको कम्पनी राजधानी इन्भेष्टमेन्ट फण्डको ०.६८ प्रतिशत सेयर रहेको सन् २०११/१२ को बार्षिक वित्तीय प्रतिवेदनले देखाउँछ । त्यसपछि उनले ठुलै परिणाममा सेयर बेचेका छन् । तर पनि अहिलेको बजार मूल्यको आधारमा पनि प्रधानसंग बैंकको मात्रै एक अर्बभन्दा निकै बढि रकमको सेयर रहेको छ ।
२) निरञ्जनकुमार टिवरेवाला
स्टक बजारमा सक्रिय व्याक्तिहरु भन्छन्, निरञ्जनकुमार टिवरेवाला निर्मल प्रधानका पनि ‘बा’ हुन् । उनीहरु टिवरेवालालाई बजारमा सक्रिय सबैभन्दा ठुला सेयर खेलाडी भएको दाबी गर्छन् । टिवरेवालाको लगानीको आकार यत्ति नै छ भन्न नसकिए पनि अर्बौ रुपैयाँमा रहेको, स्रोतहरुको दावी छ । हुनतः टिवरेवाला सेयर बिश्लेषक समेत हुन् । नेपाली सेयर बजारबारे माहरथ हासिल गरेका उनी आफूलाई ‘सेयर खेलाडी’का रुपमा पहिचान दिलाउन रुचाउदैनन् ।
उनी नेपाल एसबीआई बैंक, एभरेष्ट इन्स्योरेन्समा सञ्चालक छन् । उनले सोल्टि होटेलको सञ्चालक समितिमा समेत छन् । यी कम्पनीबाहेक टिवरेवालाको बिभिन्न कम्पनीमा सेयर रहेको स्रोतहरु बताउँछन । उनी इन्भेष्टमेन्ट म्यानेजमेन्ट मर्चेन्ट बैंकरमा पनि सञ्चालक छन् ।
एभरेष्ट इन्सुरेन्समा टिवरेवालासँग १२.६७ प्रतिशत सेयर छ, त्यसैगरी उनको समूहसँग थप पाँच प्रतिशत सेयर पनि एभरेष्टमा छ । नेपाल एसबीआईमा उनी बोर्ड डाइरेक्टर भए पनि वित्तिय प्रतिवेदनमा ठूलो सेयर हिस्सा भने देखिंदैन् । टिवरेवाला नेपाल इन्डोस्वेज बैंक हुँदैदेखि सेयर बजारमा सक्रिय हुन्, उनले स्ट्याण्डर्ड चार्टड बैंकमा पनि लगानी छ । उनी विशेष गरेर मायाराम भोलाराम कम्पनीमार्फत पेट्रोलियम पदार्थको व्यापारमा सक्रिय छन् । तर टिवरेवाला आफूलाई भने फरक ढंगले चिनाउँछन्, म तपाईंले भनेजस्तै गरी सेयर बजारमा सक्रिय र ठूलो खेलाडी होइन्, म खाली यो बजार राम्रोसँग विकास हुनुपर्दछ, संस्थागत हुनुपर्दछ, यो बजारमा आउने कम्पनीमा सुशासन हुनुपर्दछ भनेर सक्रिय छु, उनले बिजमाण्डूसँग भने ।
३. शंकरलाल अग्रवाल
शंकर अग्रवाल पनि अहिलेका बजारका ठूला तथा सक्रिय सेयर खेलाडी भएको स्रोतहरु बताउँछन । बजारमा खुलेर देखिन नचहाने बताइने उनको लगानीको आकार पनि एक अर्बभन्दा कम छैन । शंकरलालको पनि अनेक कम्पनीमा लगानी छ । उनको किष्ट बैंक र नेपाल स्ट्यार्डर्ड चार्टर्ड बैंकमा ठुलो लगानी रहेको भेटिन्छ । किष्ट बैंकले आफ्नो बार्षिक वित्तीय विवरणमा उनलाई संस्थापक सेयर लगानीकर्तामध्ये एकको रुपमा उल्लेख गरेको छ । त्यस्तै, उनको स्ट्याण्र्डर्ड चार्टर्ड बैंकमा पनि ९८ हजार एक सय ९७ कित्ता सेयर रहेको बैंकको सन् २०१२/१३ को बार्षिक वित्तीय प्रतिवेदनमा उल्लेख छ । चार्टड बैंकको यो सेयर अहिलेको बजार मूल्यअनुसार १८ करोड रुपैयाँ बराबरको हो ।
४. रमेश अग्रवाल
रमेश अग्रवालका निकट स्रोत भन्छन, ‘स्टक बजारमा अग्रवालको अर्बौं रुपैयाँको पुँजी छ’ स्रोतकाअनुसार बजारमा उनको लगानी नभएको सायदै कुनै बैंक तथा वित्तीय संस्था होला । उनकाअनुसार रमेश अग्रवालको प्रत्येक बैंक तथा वित्तीय संस्थामा एक लाख कित्ताभन्दा कम सेयर छैन् । ती स्रोतका अनुसार रमेशको बैंक अफ काठमाडौंमा चार देखि पाँच लाख कित्ता, एनआइसी एसियामा एक लाख कित्ता, माछापूच्छे« बैंकमा एक लाख कित्ता, आइएलएफसी फाइनान्समा दुई लाख कित्ता, एभरेष्ट फाइनान्स र सानिमा बैंकमा एक/एक लाख कित्ता सेयर रहेको छ । ती स्रोतले भने, ‘उनको लगानी भएको कम्पनी सबैको नाम म नै सम्झिन सक्दिन ।’ बजारका अन्य स्रोतहरु पनि रमेश अग्रवाल ठूला र सक्रिय लगानीकर्ता भएको बताउँछन । उनी निकट स्रोतअनुसार भने अग्रवाल सञ्चार माध्यममा आउन रुचाउँदैन र खुलेर ठुलो लगानीकर्ता भएको देखाउँन पनि चहादैनन् ।
५. ज्ञानेन्द्रलाल प्रधान
ठुलो मात्रामा जलविद्युत् कम्पनीहरुको सेयरमा लगानी गर्ने स्वभावका ज्ञानेन्द्रलाल प्रधान पनि पछिल्लो समय बजारले चिन्ने सक्रिय र ठुलो सेयर लगानीकर्ता हुन् । नेशनल हाइड्रो पावर, चिलिमे जलविद्युत् र बुटवल पावर प्रधानको मूख्य लगानी रहेका कम्पनी हुन् । नेशनल हाइड्रोपावरमा निर्मल प्रधानसंगै उनी पनि यो कम्पनीको सञ्चालक समितिमा प्रवेश गर्ने रणनीति एक बर्ष अघि सार्वजनिक गरिसकेका थिए । तर विवादित यो कम्पनीको साधारण सभा लगायतमा मतान्तरले गर्दा यो सम्भव भएन ।
त्यतिखेर निर्मल र ज्ञानेन्द्रले आफुहरुसंग कम्पनीको ३० लाखभन्दा बढि कित्ता सेयर रहेको खुलासा गरेका थिए । यी दुवै आफ्नो लगानी रहेको कम्पनीको सेयर चलखेल गरिरहने खेलाडीको रुपमा समेत बजारमा चिनिन्छन । ज्ञानेन्द्र चिलिमेका दोस्रो र व्यक्तिगत आधारमा भने पहिलो ठुलो लगानीकर्ता हुन् । चिलिमेमा उनको दुई लाख ५६ हजार कित्ता सेयर छोराका नाममा छ । त्यस्तै, बुटवल पावरमा समेत ज्ञानेन्द्रको लगानी छ ।
६.राजाराम जोशी
सेयर बजारका अर्का ठुला खेलाडीको रुपमा चिनिन्छन्, राजाराम जोशी । राजाराम जोशी गुडबिल फाइनान्सका सञ्चालक समितिमा समेत छन् । उनको गुडविलमा एक लाख २३ हजार ६१ कित्ता रहेको कम्पनीको सन् २०११/१२ बार्षिक प्रतिवेदनमा उल्लेख छ । उनको पनि बिभिन्न कम्पनीहरुमा लगानी रहेको र व्यक्तिगत रुपमै एक अर्बभन्दा ठुलो लगानीको आकार रहेको स्रोतहरु बताउँछन् । यसबाहेक बिशाल ग्रुप, सांघाइ गु्रप लगायतका समूहहरु पनि अहिले बजारमा सक्रिय रहेको स्रोतहरु बताउँछन । कतिपय पुराना ब्रोकरहरु पनि बजारका सक्रिय र ठुला सेयर खेलाडीहरु भएको दावी गर्छन ।
ठूला खेलाडीहरु आफ्नोभन्दा पनि नजिकका नातेदार, इष्ट मित्रको नामबाट कारोबार गर्ने गरेको स्रोतहरु बताउँछन । हुनतः ठुला सेयर लगानीकर्ताको सूचीमा बिनोद चौधरी, राजेन्द्र खेतान लगायतको नाम पनि आउँछ । तर यिनीहरु बजारमा सक्रिय छैनन् । कुनै बेला चर्चाको शिखरमा रहेका राकेश अडुकिया अहिले बजारबाट बाहिर छन् । गोर्खा विकास बैंक काण्डपछि उनी सेयर बजारको ठूलो खेलाडीका रुपमा विस्थापित भएका छन् ।