-निल खड्का-
‘म पनि अमेरिका आउँदैछु है’
लामो समयदेखि अमेरिकामै रहेका र फेसबूकमार्फत् परिचित युवा साहित्यकार बासु ढकाललाई दुई वर्षअघि मैले यसो भनिरहँदा उनको जवाफ थियो–‘त्यसो भए तपाईंलाई हार्दिक समवेदना !’
त्यसबेला उनको जवाफ सुनेर मेरो मन अमिलिएको थियो । अहिले ठान्दैछु, त्यसबेला उनले ठीकै भनेका रहेछन् । अमेरिकामा श्रम गरेर बाँचिरहेका जो सुकैसँग नेपालमा रहेकाहरूले अमेरिका आउने चासो प्रकट गरे ‘नआए हुन्छ’ भन्ने आसयसहित अधिकांशको जवाफ हुन्छ–‘सोचेजस्तो छैन अमेरिका ।’ अमेरिकामा रहेकाहरूले यसो भनिरहँदा नेपालमा रहेकाहरूको चित्त कुँढिन सक्छ । अनि मनमा लाग्न सक्छ– ‘आफूचाहिँ गयो, हामीलाई चाहिँ त्यस्तो भन्छ ।’ तर, यथार्थ त्यही हो–‘सोचेजस्तो छैन अमेरिका ।’
दुई वर्षअघि डीभी परेर आएका रिपब्लिका दैनिकका सञ्चारकर्मी दिनेश कार्कीलाई एक दिन सोधें–‘दिनेशजी कस्तो लाग्दैछ अमेरिका ?’ उनले कति सजिलै जवाफ दिएका थिए–‘बेलाबेलामा यो डीभी मैलाई चाहिँ किन परेको होला भन्ने लागिरहन्छ ।’
एउटा भनाइ नै छ, खोइ कहाँको हो (मैले बिर्सें) पेँडा खाए पनि नखाए पनि पछुताउँछन् रे मान्छेहरू । हो, त्यही पेँडा जस्तै हो, अमेरिका । आएकाहरू पनि पछुताउँछन्, आउन नपाएकाहरू पनि पछुताउँछन् ।
अमेरिका, धेरैका लागि सपनाको संसार, जिन्दगीको लक्ष्य । त्यसैले एक पटक पुग्न पाए जिन्दगीको सबैभन्दा ठूलो धोको पूरा भएको मानसिकता बोक्नेहरू धेरै छन्, नेपालमा । गगनचुम्बी भवन, फराकिला सडक, चिल्ला गाडी । झट्ट हेर्दा स्वभाविकै पनि हो । तर, बाहिरबाट देखेजस्तो छैन अमेरिका । किनकि कठोर संघर्षको अर्को नाम हो–अमेरिका । दुःखको सागर हो–अमेरिका । म दाबीका साथ भन्न सक्छु, कुनै नेपालीले पनि ‘म अमेरिकामा अत्यन्तै आनन्दको जीवन बिताइरहेको छु । र, दुःख नगरी सुखसयलसँग बाँचिरहेको छु’ भन्न सक्तैन । सबैका संघर्षका आफ्नै कथा ब्यथा छन् । जो सुकैलाई भेटे पनि जवाफ आउँछ, दुःख त कति गरियो कति ?
पैसा कमाउने मात्र लक्ष्य बोक्ने र ‘जे काम, जसरी पनि गर्न तयार’ हुनेहरूका लागि केही हदसम्म अमेरिका ठीकै होला । तर, ‘जे काम, जसरी पनि गर्छु’ भन्नु र गर्नसक्नुमा भिन्नता छ । अझ नेपालमा थोरै पैसा अनि पैसाभन्दा बढी मान, सम्मान र प्रतिष्ठा आर्जन गरेकाहरूका लागि त अमेरिका झनै असहज छ । कि त पैसालाई नै सबैथोक ठानेर नेपालमा कमाएको मान, सम्मान र प्रतिष्ठा चटक्कै भूल्न र स्वाभिमान झुकाएरै भए पनि ‘जे काम, जसरी पनि गर्न’ तयार हुनुप¥यो । तर, त्यसका लागि पनि मन मान्नुप¥यो । नेपालमा कमाएको मान, सम्मान र प्रतिष्ठा अनि अमेरिकामा आफूले गर्नु परिरहेको तल्लोस्तरको काम । तुलना गर्दा मनलाई मनाएर काम गर्न सहज भने छैन ।
प्रश्न उठ्न सक्छ, त्यसो भए अमेरिका पुगेका त्यत्रा नेपाली कसरी टिकेका छन् त ? हो, अमेरिका आउनेमा सबै तहका नेपाली छन् । सामान्य साक्षर सर्वसाधारणदेखि डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, व्यापारी, कलाकार सबै छन् । तर, नेपालमा अपनाएको पेसाअनुसार अमेरिकामा पनि डाक्टर, इन्जिनियर, वकिलकै रूपमा काम गर्नेहरू एकदम थोरै छन् । त्यस कामले मात्र जीविकोपार्जन सम्भव छैन । त्यसैले आफ्नो पेसालाई ‘पार्ट टाइम’ का रूपमा अपनाएर अन्य काम गर्न बाध्य छन् । बाहिर जतिसुकै हाइफाइको जीवनशैली र मोजमस्तीमा रहेझैं देखाए पनि दिनरात नभनी जुनसुकै समयमा काम गरेर भए पनि तोकिएको घण्टा गुजार्नुको विकल्प छैन । त्यसैले अधिकांशको अवस्था उही हो, विभिन्न कम्पनी, पेट्रोल पम्प (अमेरिकामा ग्यास स्टेसन भनिन्छ) रेस्टुरेन्ट, खाजाघरहरू, स्टोरआदिमा घण्टा गुजार्ने काम । फलानो ग्यास स्टेसनमा फलानो सिफ्टमा काम गर्ने फलानो मान्छे पहिला नेपालमा सीडीओ थियो । फलानो रेस्टुरेन्टमा काम गर्ने फलानो त नेपालमा फलानो मन्त्रालयमा उपसचिव थियो । फलानो त सांसद् हो पहिलाको । यस्ता धेरै भेटिन्छन् अमेरिकामा । यद्यपि, विभिन्न विश्वविद्यालय, सरकारी कार्यालय, बैंकलगायतका क्षेत्रमा पनि नेपालीहरू उच्च ओहोदामा नरहेका होइनन् । तर, अत्यन्तै नगण्य । उनीहरुलाई हेरेर मात्र आमनेपालीको अवस्था बुझ्न सकिन्न ।
पढ्न आउने विद्यार्थीहरूका लागि अमेरिका राम्रो अवसर हो । पढाइ सकेपछि उच्चस्तरको रोजगारी पाएर उच्चस्तरकै जीवनयापन गरिरहेकाहरू पनि नभएका होइनन् । तर, पढ्दै काम गर्नेहरूका लागि त्यति सहज छैन । काम गर्दागर्दै पढाइ बीचैमा छाडेकाहरू पनि प्रसस्तै भेटिन्छन् । किन त ? किनकि अमेरिका आएको ऋण तिर्न र पैसा कमाउन पढाइ बीचैमा छाडेर पैसा कमाउनेतिर केन्द्रित हुनु उनीहरूको बाध्यता पनि हो । प्रश्न उठ्न सक्छ, त्यसो भए लाखौं रूपैयाँ खर्च गरेर नेपालीहरू अमेरिका आउन किन मरिहत्ते गर्छन् त ? मलाई सोध्ने हो भने एक शब्दमा जवाफ दिन्छु,–‘नबुझेर’ । के के न ठानेर लाखौं रूपैयाँ खर्च गरेर अमेरिका आइसकेपछि पैसा उठाउनैप¥यो । घर फर्किन पनि अमेरिकाबाट आएको हो भन्ने त देखाउनै प¥यो । अनि संघर्ष गरेर बस्न बाध्य हुन्छन् उनीहरू ।
डीभी परेर तीन वर्षअघि अमेरिका आएका एमालेका एक युवा नेतालाई सोधेको थिएँ–‘पैसा पनि धेरै कमाइसक्नु भयो होला, अब घर किन्ने होला नि ?’ बाहिरबाट हेर्दा अत्यन्तै सुखसयल र ऐश आरामको जिन्दगी बिताइरहेझैं देखिने उनले भने–‘पाँच वर्ष जसोतसो बस्ने हो, त्यसपछि फर्किने । यस्तो ‘जाबो’ ठाउँमा पनि कोही बस्छ ?’ उनी त एक प्रतिनिधि पात्र मात्र हुन् ।
वर्षौदेखि गैरकानुनी रूपमा बसेका कतिपय चाहिँ ‘ग्रिन कार्ड’ पाउन सके बरु नेपाल फर्किन्थेँ अनि बेलाबेलामा आउने जाने गर्थें भन्ने मानसिकतामा देखिन्छन् । ग्रिनकार्ड मात्र भएकाहरू पाँच वर्ष बस्न सके नागरिकता पाइन्थ्यो भन्ने आशामा देखिन्छन् । नागरिकता पनि भएका र घरबार पनि जोडिसकेकाहरू भने जीवनको उत्तराद्र्धलाई कसरी समायोजन गर्ने भन्ने चिन्तामा देखिन्छन् ।
दशकौंदेखि अमेरिकामै रहेका र अमेरिकालाई नै स्थायी बासस्थान बनाएकाहरूको पनि जीवन खासै सन्तोषजनक छैन । मन हरपल जन्मभूमितिरै छ । अहिले घरबार जोडेरै बसे पनि जीवनको उत्तराद्र्धमा त जन्मभूमिमै फर्किनुपर्छ भन्ने मानसिकता बोकेर बस्नेहरू प्रसस्तै छन् । तर, अनेकौं बाध्यताले जेलिएका छन् । १० वर्ष, २० वर्ष, ३० वर्ष वा यस्तै कुनै निश्चित अवधिभित्र तिरिसक्ने गरी ऋणमा घर लिएका छन् । तोकिएको अवधि पूरा भई घरको स्वामित्व पूर्ण रूपमा आफ्नो नभएसम्म चटक्कै छाड्न मिलेन । त्यसैले घरको ऋण चुक्ता भइसकोस् बरु पछि बेचेर नेपाल फर्कौला भन्ने मानसिकता बोक्नेहरू धेरै भेटिन्छन् । तर, यतै जन्मिएका र यतैको संस्कारमा हुर्किएका आफ्ना सन्तानलाई यतै छाडेर बूढेसकालमा बूढाबूढी मात्र नेपाल फर्किनुपर्ने बाध्यता पनि देखिन्छ धेरैमा ।
हो, अमेरिकामा रहेका अधिकांश नेपाली भविष्यमा स्वदेशमै फर्किएर रमाउन चाहन्छन् । नौजवान युवाहरू ‘४÷५ वर्ष घुँडा धसेर काम गर्ने हो, त्यसबेलासम्म झन्डै ५०÷६० लाख रूपैयाँ भइहाल्छ । त्यसपछि नेपालमै केही गरेर बस्ने’ भन्ने मानसिकतामा देखिन्छन् । जीवनका उर्जाशील समय अमेरिकामै बिताएका अधिकांशको मानसिकता पनि यस्तै पाइन्छ । ‘हातगोडा चलुञ्जेल काम गर्ने, नसक्ने भएपछि नेपालमै फर्किने’ मानसिकता बोक्नेहरू प्रसस्तै भेटिन्छन् । डीभी परेर आएका कतिपय समेत यस्तो मानसिकतामा रहेको प्रसस्तै भेट्न सकन्छि ।
त्यसो त अमेरिकामा प्रसस्तै पैसा कमाएर यतै ठूला–ठूला व्यापार व्यवसाय गरेर बसेका नेपालीहरू पनि प्रसस्तै छन् । तर, उनीहरूको पनि मनमा सन्तोष भने देख्न सकिन्न ।
वास्तवमै अमेरिका स्वार्थीहरूको संसार हो । स्वार्थी यस अर्थमा कि, विभिन्न देशका बासिन्दा आ–आफ्ना अनेकौं स्वार्थ पूरा गर्न अमेरिका आएका छन् । त्यसैले सबै आ–आफ्ना स्वार्थ पूरा गर्न तल्लीन रहन्छन् । कसैलाई कसैसँग मतलब छैन । न त राजनीतिसँग मतलब हुन्छ । न त विश्व घटनाक्रमसँग नै । घरहरू प्रसस्तै छन् । तर, छिमेकी छैनन् । अनेक पेसा, व्यवसाय र क्षेत्रका मान्छे छन् । तर, समाज छैन । एउटै परिवारका सदस्यबीच पनि आत्मीयता र भावनात्मक सम्बन्ध टाढिँदै गएको छ । अर्थात् समाजमा घुलमिल भएर बस्न रुचाउने र मान्छेलाई सामाजिक प्राणी ठान्ने नेपालीहरूलाई अमेरिकाले एकलकाटे जीवन जिउन सिकाइरहेको छ ।