Sunday, January 23, 2011

शक्तिखोरभित्र देखिएका केही रोचक दृष्यहरु-onlinekhabar.com


अरुण बराल
मुख्य राजमार्गबाट साढे सात किलोमिटर उत्तरमा पर्ने शक्तिखोर (चितवन)मा अवस्थित माओवादी लडाकूको तेस्रो डिभिजन कार्यालयको मैदानमा शनिबार आयोजित ‘माओवादी लडाकू विशेष समिति मातहत आएको घोषणा कार्यक्रम’मा केही रोचक दृश्यहरु देखिए । यो कार्यक्रमको राजनैतिक महत्व आफ्नै ठाउँमा विश्लेषणको विषय हो । तर, कार्यक्रममा सोझो आँखाले देखिएका दृश्यहरु भने रोचक समाचारका विषयहरु हुन् ।
राकेश सुदको रौनक
शनिबार बिहान ११ बजे शुरु गर्ने भनिएको कार्यक्रममा मौसम खराबीका कारण प्रधानमन्त्री लगायतका नेताहरु समयमा आउन नसक्दा दिउँसो २ बज्दासम्म हुन सकेको थिएन । यसवीच गाडीबाट शक्तिखोर पुगेका नेता एवं विदेशी कूटनीतिज्ञहरु माओवादीको ‘मेहमान’ बनेर मासुभात र मिठाइको स्वाद लिँदै र यता उता टहल्दै बसेका थिए । भारतीय राजदूत राकेश सुद भने एक्लै शिविरको कुनाकाप्चा डुलेर तस्वीर खिचिरहेका भेटिन्थे । माओवादी लडाकूहरु ‘ऊ सुद आयो’ भन्दै चासोपूर्वक उनलाई हेर्थे । दिउँसो २ बजेपछि सबै राजदूतहरु मञ्चमा गइसक्दा पनि सुद भने क्यामेरा लिएर चौरीमा डुलिरहेका थिए । पछि पत्रकारहरुले घेरेर फोटो खिच्न थालेपछि बल्ल उनी मञ्चतिर लागे । सुदले माओवादी लडाकूद्वारा बेच्न राखिएका किताबहरु पनि अभिरुचिपूर्वक हेरेर त्यसको फोटो लिएका थिए ।
केपी ओली र गैंडाको छालाको कुरा
कार्यक्रम ढीलो हुँदा एमाले नेता केपी ओली पनि निकै चर्चा र चासोको विषय बने । तर, पत्रकारहरुले सोधेको प्रश्नमा ओलीले कुनै छुचो जवाफ भने दिएनन् । सबै पक्ष मिल्नु पर्छ भन्दै उनले माओवादी लडाकूहरु विशेष समितिको मातहत आउने कुरालाई सकारात्मक बताए । माओवादी प्रवक्ता दीनानाथ शर्मासँगै काठमाडौंबाट शक्तिखोर पुगेको र मलेखुमा सँगै खाजा खाएको कुरा बताउन पनि ओलीले भ्याए । खाना खाइसकेपछि ओली दीनानाथ शर्मासित एकान्तमा उभिएर निकैबेर खासखुस गरिरहेका देखिन्थे ।
प्रधानमन्त्री शक्तिखोर आइनपुगेका कारण पर्खिने क्रममै केपी ओली, दीनानाथ, शर्मा, सुशील प्याकुरेल, रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायतका नेताहरुले एकैठाउँमा उभिएर फोटो खिचाएका थिए । त्यसमा माओवादीका लोकेन्द्र विष्ट पनि मिसिए । तर, विष्टले ठट्टा गर्दै भने-’ कसैले थप्पड हान्ने हुन् कि, डर पो लाग्छ ।’ सभासद् एवं माओवादी नेता विष्ठले थपे- ‘अब नेताहरुले गालामा गैंडाको छाला लगाउनुपर्ने भो ।’
हेलीकोप्टरलाई हैरान
कार्यक्रममा हेलीकोप्टरबाट खचाखच भएर काठमाडौंका धेरै नेताहरु पुगेका थिए । प्रचण्ड भने गाडीमै पुगेका थिए । बिहान मौसम खराब भएकाले नेताहरु एयरपोर्टमै धेरैबेर बसेका थिए भने बादल, बामदेव गौतम, रामचन्द्र पौडेल लगायत २४ जना बोकेको एउटा हेलीकोप्टर शक्तिखोरमा अवतरण गर्न नसकी काठामाडौं र्फकेर मौसम खेलेपछि आएको थियो । यूएनको हेलीकोप्टर अवतरण भएपचिमात्रै सेना एवं सेतो पुमा हेलीकोप्टरमा नेताहरु आउन सफल भएका थिए ।

कोको थिए शक्तिखोरमा ?
काठमाडौंबाट शक्तिखोरमा पुगेका नेताहरुमा प्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख सुवास नेम्वाङ, प्रचण्ड, झलनाथ खनाल, सुशील कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा, केपी ओली, अमिक शेरचन, मोहन वैद्य, डा. बाबुराम भट्टराई, सूर्यबहादुर थापा, जीतेन्द्र देव, जेपी गुप्ता, उपेन्द्र यादव, विजयकुमार गच्छदार, सुजाता कोइराला, डा. रामशरण महत, महेन्द्रप्रसाद यादव, गृहमन्त्री भीम रावल, प्रधान सेनापति छत्रमानसिंह गुरुङ, प्रहरी आइजी रमेशचन्द ठकुरी, सशस्त्र प्रहरीका आइजी सनत बस्नेत, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अशोकदेव भट्ट, नेताहरु पशुपतिसमशेर जबरा, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, प्रदीप ज्ञवाली, रमेश लेखक, उपसभामुख पूर्णकुमारी सुवेदी, जीतेन्द्र देव, बालानन्द शर्मा, शम्भुराम सिंखडा, रामानन्द मिश्र, पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, रघुजी पन्त, लीलामणि पोखरेल, नारायणकाजी श्रेष्ठ प्रकाश, ईश्वर पोखरेल, जनार्दन शर्मा प्रभाकर, नन्दकिशोर पुन पासाङ, वर्षमान पुन अनन्त, सीपी गजुरेल, सीपी मैनाली लगायतका नेताहरु पटकपटक गरेर हेलीकोप्टरबाट शक्तिखोर पुगेका थिए ।
दुई घण्टामात्रै चलेको कार्यक्रम अनन्तले सञ्चालन गरेका थिए भने पासाङले स्वागत भाषण अनि प्रधानमन्त्री माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्डले लिखित मन्तव्य पढेका थिए । विशेष समितिका तर्फबाट वालानन्द शर्माले समापन मन्तव्य दिएका थिए । अन्य दर्जनौं नेताहरुको मञ्चमा आतिथ्य गर्नुबाहेक कुनै भूमिका थिएन । तर माओवादी लडाकूहरु विशेष समितिअन्तरगत ल्याउने निर्णयमा उपस्थित भएर उनीहरुले राष्ट्रिय सहमतिको सकारात्मक सन्देश भने पक्कै दिएका थिए । सेनापति छत्रमानदेखि माओवादीका विरोधी भनेर चिनिने केपी ओली, विजय गच्छदार लगायतको उपस्थितिले यही सन्देश दिएको थियो ।
नेताहरुको ‘बडी-ल्याङ्वेज’
कार्यक्रममा उपस्थित नेतामध्ये विजयकुमार गच्छदार त्यति खेशी देखिएनन् । कार्यक्रमभर टाउको कन्याउने र मुन्टो निहुर्‍याउने गरेरै उनले समय कटाए । उता मञ्चको कुनामा बसेका राकेश सुदले चाहिँ माओवादी लडाकूले मार्चपास गरुञ्जेल किताव पढेर समय कटाए । अर्का माओवादी आलोचक एवं कांग्रेस नेता डा. रामशरण महतको पनि अनुहार खासै उज्यालो थिएन । माओवादी कमाण्डर पासाङकै छेउमा राखिएका प्रधान सेनापति छत्रमानको अनुहारमा तटस्थभाव देखिन्थ्यो भने प्रधानमन्त्री र प्रचण्ड दुबै गम्भीर देखिएका थिए ।
मञ्चमा राष्ट्रिय गीतमा माओवादीका सयौं माओवादी लडाकूले सामूहिक नृत्य प्रदर्शन गर्दाखेरि भने मञ्चमा रहेका सबैमा निकै गम्भीरता छाएको थियो । फोरम अध्यक्ष उपेन्द्र यादव चिउँडोमा हात राखेर ध्यानमग्न बने । जेपी गुप्तालाई पनि गीतले निकै छोएको देखियो । मञ्चमा तीनवटा राष्ट्रिय गीतमा रोचक नृत्य देखाइएको थियो । पहिलो गीतको बोल ‘जाग लम्क चम्क हो नौजवान हो’ भन्ने थियो भने दोस्रो गीतको बोल ‘यो नेपाली शीर उचाली संसारमा लम्किन्छ, जूनकिरीझैं ज्योती बाली संसारमा चम्किन्छ’ र तेस्रो गीतको बोल पश्चिम कोही पूर्व घर आँगन त एउटै हो भन्ने रहेको थियो । यो नृत्यबाट प्रभावित भएर प्रदीप ज्ञवाली, सीपी मैनाली, सुसील कोइराला, माधव नेपाल, झलनाथ खनाल, रमेश लेखक, जीतेन्द्र देव एवं सुरक्षा अधिकारीहरुले समेत फोटो खिचेका थिए । राजेन्द्र महतोले पनि मोवाइबाट भिजुअल खिचेका थिए । पहाडे, मधेसी एवं जातीय चिन्तनमा बिभाजित नेताहरु एकछिन भए पनि एउटै राष्ट्रिय भावनाले लछप्पै भिजेका जस्ता देखिन्थे । मञ्चमा ‘यो नेपाली शीर उचाली’ भन्ने गीत घन्किँदा रामचन्द्र पौडेलले उपरखुट्टी लगाएको एउटा खुट्टो हल्लाएका थिए भने खुट्टा पसारेर बसेका वामदेव गौतमले जोरखुट्टा हल्लाएका थिए । केपी ओलीले गीतको सुरमा टाउको हल्लाएको देखिन्थ्यो । सूर्यबहादुर थापामा पनि एक किसिमको उत्साह सञ्चार भएको प्रष्टै देखिन्थ्यो ।
एक-अर्कामा सहयोग
अरुबेला जतिसुकै विवाद र झगडा गरे पनि शक्तिखोरमा नेताहरुले एक अर्कालाई सहयोग नै गरेको देखियो । विशेष गरी विदेशी कूटनीतिज्ञहरुलाई आशन ग्रहण गराउने क्रममा अनन्तले अंग्रेजी नामहरु उच्चारण गर्न नजान्दा विदेशी र स्वदेशी नेताहरु हाँसेका थिए । त्यसबेला गृहमन्त्री भीम रावलले अनन्तलाई स्टेजमै उभिएर सहायता गरेका थिए । रावल फर्केर आफ्नो सीटमा बस्दा सुजाता कोइरालाले उनीसित अनन्तको प्रस्तुतीबारे कम्प्लेन गरेकी थिएन् । अनन्तको अंग्रेजीले प्रचण्डलाई पनि हँसाएको थियो ।
माधव नेपालको मन्तव्यमा पनि लडाकूहरुलाई माया र सम्मान नै व्यक्त गरिएको थियो । प्रधानमन्त्रीको सम्बोधनमा एककिसिमको जिम्मेवारीवोध झल्किएको पाइन्थ्यो । ”लडाकू मित्रहरु तपाइहरुले पनि यस परिवर्तनका लागि योगदान दिनुभएको छ । हामीले हिजो एक अर्कालाई लगाएका आरोप-प्रत्यारोप वा दुर्वचनहरुलाई हामीले सधैंका लागि भुल्ने प्रयत्न गर्नुपर्दछ । राजनीति हो कहिलेकाहीँ अलि अलि तलमाथि पनि हुन्छ ।”-प्रमको सम्बोधनमा यस्तो भनिएको थियो ।

संशय पनि आशा पनि
शक्तिखोरमा देखिएको नेताहरुको यो सहकार्य, एकता र भावनात्मक पक्ष पछिसम्म कायम रहन्छ वा पानीको फोका झैं काठमाडौं आउनेवित्तिकै फुट्छ ? यो भने भविश्यले बताउला तर, शक्तिखोरमा जे देखियो, त्यो चाँदीको घेराभित्रको एउटा सानो झिल्को भने अवश्वै बनेको छ । विश्वास धेरै गर्न नसकिने तर आशा भने गर्न सकिने घटना बनेको छ यो । संशय मिश्रति सम्भावना देखियो शक्तिखोरमा । माओवादी जनसेनालाई राष्ट्रियणकरण गर्नै हुँदैन भन्नेहरु र विद्रोहबाट सत्ता कब्जा गर्नुपर्छ भन्नेहरु दुबै तत्वले बिथोलेनन् भने नेपालको शान्ति प्रक्रियाले एउटा गति लिने आशा गर्न सकिन्छ । अझ भनौं, आशा गर्नुको विकल्प हामीसित अर्का छैन ।
-शक्तिखोरबाट फर्केर