Sunday, January 16, 2011

शाहको पुस्तक र 'भटट प्रतिवेदन' उस्तै-MYSANSAR BATA

दरबारमा दुई जना राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग निकट भई काम गरेका पूर्व सैनिक सचिव विवेक शाहको पुस्तक “मैले देखेको दरबार” अहिले चर्चामा छ। आम मानिसको चासो यसले हत्याकान्डका विषयमा केही नयाँ खुलासा गर्छ कि भन्ने हो। यदि त्यस्तै सोचेर किताब किन्नुभएको भए तपाईँलाई यो किन्न खर्चेको आफ्नो नौ सय रुप‍ैयाँको माया लाग्न सक्छ। किनभने हत्याकान्डका विषयमा यो पुस्तकको सार ‘भटट प्रतिवेदन’ अर्थात् ज्ञानेन्द्रले तत्कालीन प्रधानन्यायाधीश र सभामुखको सदस्यतामा बनाएको उच्चस्तरीय छानबिन प्रतिवेदनलाई सही प्रमाणित गर्नु मात्रै हो।
जेठ १९ को जुन रात दरबारमा गोली चल्दै थियो, त्यतिबेला लेखक शाह दरबारबाट निकै टाढा नयाँ बजारमा आफ्ना साथीहरुसँग रक्सी खाँदै थिए। पुस्तकको पेज १९ मा लेखिएको छ- ‘…हामी ड्रिङ्कस गरिरहेका थियौँ।’ रक्सी खाइरहेकै बेला दरबारबाट खोजी भयो भनी घरमा फोन आएपछि दरबारमा फोन गर्दा बल्ल उनले दरबारभित्र फायरिङ भयो रे भन्ने थाहा पाएका थिए। मृत्यु भएको कुरा त सैनिक अस्पताल, छाउनीमा शव देखेपछि मात्रै थाहा भएको रहेछ उनलाई। गोली चल्दा घटनास्थलबाट निकै टाढा ड्रिङ्कसमा मस्त व्यक्तिले हत्याकान्डका विषयमा कसरी नयाँ कुरा दिनसक्ने आशा गर्नुभएको तपाईँले ?
यो आशा गर्नु नै बेकार छ। उनले हत्याकान्डका विषयमा जति कुरा थाहा पाए, ती सबै अरुका मुखबाट सुनेका हुन्। जुन कुरा तपाईँले पनि अहिलेसम्म सुन्दै आउनु भएको छ। भटट प्रतिवेदन (प्रतिवेदन सार्वजनिक गर्ने क्रममा आयोग सदस्य तारानाथ रानाभाटले भटट शब्द उच्चारण गर्दै हान्दिम भनी दीपेन्द्रले चलाएको भनिएको बन्दूक पत्रकारतिर तेर्स्याएको कारण यो कान्डलाई भटट कान्ड पनि भनिन्छ। रानाभाटको चर्तिकला हेर्ने भए यहाँ क्लिक गर्नुस्) मा प्रत्यक्षदर्शीहरुको बयानमा पनि त्यही कुरा छ।
शाहले पेज ५४ मा लेखेका छन्- घटनास्थलको वास्तविकता त्यही हो। अर्थात् भटट प्रतिवेदनले जस्तो देखाएको छ, त्यही हो। घटनाका बेला उनी प्रत्यक्षदर्शी नभएकोले घटना हुनुको कारण बारे उनले अनेक थरि अनुमान लगाएका छन्, जस्तो कि तपाईँले पनि लगाउनु हुन्छ। फरक यति हो, उनले दरबारलाई नजिकबाट देखेका कारण उनको अनुमान हाम्रो अनुमानभन्दा फरक हुनसक्छ।
घटना हुनुको पछाडि के के कारण हुनसक्छन् भन्ने विषयमा विस्तृत छानबिन हुनुपर्ने उनी बताउँछन् पुस्तकमा। यस्तै माग जनताले पनि अनि नेताहरुले पनि वर्षौँदेखि गर्दै आएका हुन्। देशीविदेशी शक्ति केन्द्रको, दीपेन्द्रलाई उकास्ने व्यक्ति, उनलाई लागू पदार्थको कुलतमा फँसाउने गिरोह आदिको अनुत्तरित प्रश्न खोज्नु पर्ने माग उनको पुस्तकमा छ। जनताको भने एउटा अर्को प्रश्न पनि छ- ज्ञानेन्द्रले आफ्नो शासनकालमा गोली चलेको त्रिभुवन सदन किन भत्काउन आदेश दिए ? किन घटनास्थल अहिले भग्नावशेषमा परिणत गराइयो ?
पुस्तकमा यसको उत्तर छैन। बरु केही हल्लाको खण्डन गरिएका छन्। मास्क लगाएर अरु कसैले हत्या गरेको होला भन्ने आशंकालाई उनले खण्डन गर्दै दरबारमा कडा सुरक्षा हुने भएकोले (सैनिक सचिव भएकोले उनी सुरक्षाको जिम्मेवारी लिनुपर्ने मानिस हुन्) कोही बाहिरिया मानिस त्यहाँ त्यसरी मास्क लगाएर हतियार ल्याउनै नसक्ने तर्क गर्छन्। तर उनले दरबारभित्र युवराज र अरु राजपरिवारका सदस्यलाई लागू पदार्थ कसरी सप्लाइ हुँदो रहेछ भन्ने बारे केही बताउन सकेका छैनन्। लागू पदार्थ जस्तै हतियार आयो कि ? लागू पदार्थ भित्री मानिसले ल्याए सरह मास्क पनि दरबार भित्रैकाले लगाएर प्रयोग गर्न सक्छन् कि सक्दैनन्- यस्ता प्रश्नको जवाफ पुस्तकमा पाइँदैन।
उनले ठहर गरे सरह पुस्तकमा भनेका छन् कि दायाँ हातले स्वचालित मेसिनगनले फायर गरेर अन्त्यमा देब्रे हातले देब्रे कञ्चटमा गोली हानी दीपेन्द्रले आत्महत्या नै गरेका हुन्। ‘उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रकै प्रत्यक्ष र प्रमुख हात देखिन्छ’ (पेज ३८)
दीपेन्द्रको रामकहानी
दीपेन्द्रलाई दोषी ठहर गर्न सहायक हुने गरी उनले पुस्तकमा तत्कालीन युवराजका विभिन्न प्रसंग लेखेका छन्। आमाबाबु भएर पनि माया नपाएर टुहुरो जस्तो भएको दीपेन्द्र, सानैदेखि जिद्दी स्वभावका मात्र प्रसंग यसमा छैनन्, झण्डै झण्डै युधीर थापाको उपन्यासको प्लट जस्तो लाग्ने गरी दीपेन्द्रको यौनलोलुप प्रवृत्तिको पनि बयान गरिएको छ।
दीपेन्द्र सार्वजनिक रुपमा जस्तो देखिन्छन्, भित्र त्यस्तो नभएको उनको कथन छ। दीपेन्द्रको परपीडक प्रवृत्तिको बयानका लागि एक शीर्षक नै छुट्याएका छन् उनले। ठूलो मान्छेलाई मुक्का हानेर लडाएर छटपट गर्दा हाँस्ने, गुलेली हानेर परेवा झार्ने, नमरे तडपाउने, जिउँदो मुसा समातेर पुच्छरमा आगो लगाउने घटनाको बयान पुस्तकमा छ।
त्यसैगरी केटीका मामिलामा साह्रै कमजोर प्रमाणित गर्न पुस्तकमा दीपेन्द्रले सुरुमा सुप्रिया शाहसँग अफेयर चलाएको, ७ क्लासदेखि नै उनलाई लभलेटर लेख्‍ने गरेको, बेलायतमा पढ्न गएदेखि देव्यानीसँग पनि अफेयर चलेको, त्यसपछि दुवै जनासँग एकै पटक अफेयर चलाएको, बेलायत मै हुँदा एक जापानी केटीसँग पनि अफेयर चलेको, ती जापानीसँग पनि विवाह गर्छु भने फकाउने गरेको प्रसंगसहित पेज ४७ मा उनले लेखेका छन्- बेलग्रेडमा मैले के देखेँ भने युवराजधिराज सरकार केटीहरुका मामिलामा ज्यादै कमजोरी देखाइबक्सन्थ्यो। यसो गरेँ, उसो गरेँ भनेर विभिन्न प्रसंग सुनाइबक्सन्थ्यो। बेलग्रेड कै होटलमा एक स्थानीय केटीसँग लिफ्टभित्र साढे दुई घण्टा बसेर एकै पटक बिहान ‘हाँस्दै सवारी भएको’ कुरा लेख्‍न पनि उनले भ्याएका छन्।
भारतको हात ?
उनले हत्याकान्डका पछाडि भारतको हात हुनसक्ने भनी लगाएको अनुमान सर्वसाधारणले ज्ञानेन्द्र पारसको हात हुनसक्ने भनी लगाएको अनुमान जस्तो मात्रै हो। पुस्तक पढ्दा त्यस्तै देखिन्छ। बरु केही नयाँ रहस्य यस क्रममा खोलिएका छन् जस्तो कि हतियार कारखाना नेपाल मै खोलेर एसेम्बल हतियार दक्षिण एसियामा बेच्ने वीरेन्द्रको योजना, माओवादी समस्या समाधानका लागि वीरेन्द्रले बनाएको विशेष योजना। भारतको हात हुनसक्ने अनुमान जस्तै अर्को एउटा अनुमान पनि उनले गरेका छन्। वीरेन्द्र र ऐश्वर्य तन्त्रमन्त्रमा धेरै विश्वास गर्थे रे। तान्त्रिक प्रयोगको उल्टो परिणामस्वरुप हत्याकान्ड भएको त हैन ? उनले यस्तो अनुमान पनि गरेका छन्।
हत्याकान्डको विषयमा मूलतः यिनै कुरा पुस्तकमा छन्। त्यसबाहेक उनको पुस्तकको अधिकांश भाग उनको डायरीले ओगटेको छ, जुन इतिहासप्रति रुचि राख्‍नेहरुका लागि राम्रो छ। रुचि नराख्‍नेलाई यो वाक्कलाग्दो हुन्छ। किनभने प्रसंग र सन्दर्भ बिना के भनेको हो बुझ्न पनि गाह्रो हुन्छ केहीलाई। केही प्रसंगहरु ‘नेपाली विकिलिक्स’ जस्ता छन्। आगामी दिनमा म त्यस्ता केही विषय लेख्‍नेछु।