Friday, January 21, 2011

हो, मैले झलनाथलाई झापड हानेँ: देवीप्रसाद रेग्मी - mysansar

भरौल सुनसरीका एकजना भद्र किसान एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हानेर एकाएक चर्चामा आएका छन्। जनतालाई झुठा आश्वसनमा अल्मलाएर कुर्सीका लागि मरिमेट्ने नेताहरुलाई कानुनको बेवास्ता गर्दै पाठ सिकाउन तम्सिने ती किसान हुन् देवीप्रसाद रेग्मी। ०४६ सालदेखि एमालेको खरो कार्यकर्ता रहेका रेग्मीले अन्ततः आफ्नै आस्थाको पार्टीका अध्यक्षको गाला चड्काइदिए। छोरा सुरक्षाकर्मी रहँदा रहँदै पनि कानुनको बर्खिलाप गएर रेग्मीले खनालको गाला किन चड्काए ? इटहरीका मिडियाकर्मी अमर खड्काले माइसन्सारका लागि पठाएको ताजा अन्तरवार्ताः
तपाइँको पेशा के हो ?
म सामान्य किसान हुँ अहिले ५३ वर्षको भएँ। खेतीपाती गरेर परिवार चलाएको छु। यहाँ बिजुलीको बिल तिर्न आएको थिएँ। भेला देखेर भित्र पसेथेँ।

मुलुककै तेस्रो दलको अध्यक्षलाई झापड हान्न डर लागेन ?
सधैँ तटस्थ बसेर (झलनाथ खनाल) देशलाई अनिर्णयको बन्दी बनाएको पनि मलाई थाहा छ। किसान मान्छे भए पनि मलाई नेपालको माया छ। राजनीतिमा मलाई चासो लाग्छ। नेपालका राजनीतिक दलका नेताले देशलाई बिगारेको पीडा सहन सकिनँ। हो, मैले झापड हानेँ। कानुन अनुसार मलाई कारवाही गरेहुन्छ।
नेताहरु काम गर्दैछन् त। संविधान लेख्दैछन्, मुलुकमा गणतन्त्र संस्थागत हुने प्रक्रियामै छ।
टेलिभिजनमा हेर्छु जहिले पनि मिठा र चिप्ला कुरा गर्छन्। यिनलाई आफ्नो स्वार्थभन्दा केही मतलब छैन। नेपालीका छोराछोरीले पाएको दुःख नेतालाई मतलबै छैन। खाली वेरोजगार युवालाई झुटो आश्वासन दिएर पार्टी प्रवेश गराउने अनि पद नपाउँदा तटस्थ बस्ने ? यस्तो पनि हो राजनीति ? यस्ता पनि हुन् नेता ? मैले धैर्यता गुमाए आवेसमा आएर खनाललाई चड्काइदिएँ। यही कारण मलाई जस्तोसुकै कारवाही भए पनि भोग्न तयार छु। खनाललाई कुटेको अभियोगमा मलाई मारे पनि हुन्छ तर देशका सबै नागरिकले हाँसीखुशी बाँच्न पाउन्।
देशका नेता र कानुनप्रति किन यति धेरै बिचलिन हुनुभएको ?
मेरो जेठो छोरा केशव सशस्त्र प्रहरीमा छ। कान्छो २० दिन भयो काठमाडौं गएको। देशका नेता खाली झुटो बोल्छन्। भनेको केही गर्ने हैनन्। देशलाई तन्नम बनाइसके। देशको यो अवस्थाले मेरो कान्छो छोरोले जागिर पाउन सकेको छैन। यस्ता त कति छन् कति। सात वर्षअघि माओवादीको जगजगी हुँदा सोलुमा मेरो भाइको हत्या भयो। तर कसैले हत्यारा पत्ता लाउन सघाएनन् कारवाहीको कुरा त त्यस्तै हो । न्याय दिलाउन कुन नेताले सघाए ? मलाई घृणा छ यो देशका नेताप्रति। तर आज मैले कसैको उक्साहटमा लागेर हात छाडेको हैन। सारै चित्त नबुझ्दो कुरा कति दिन सहने हामीले ? हामीलाई जे जे गरे पनि हुन्छ नेताले ?
यसअघि पनि कसैमाथि यसरी जाइलाग्नु भएको थियो ?
तपाइँले बुझ्नु भए हुन्छ। मेरो घर यहीँ (सुनसरी) भरौल-१ वडामा पर्छ। एमालेकै नेताहरुलाई सोधे हुन्छ मेरो पृष्ठभूमि कस्तो हो भनेर। म कसैको केही नबिगारी आफ्नो सुतीथाती काम गरेर बसेको मान्छे हुँ। आजसम्म मैले कसैको गाइगोरुलाई समेत हात हालेको छैन। यो देशको दुर्दशा सहन नसकेर खनाललाई चड्काएको हुँ।

Comments:
-----------
Aashish
देवीप्रसाद लाइ कारवाही हुने हो भने करिमा बेगमलाई पनि त्यहि कारवाही हुनु पर्छ। जब करिमालाई केहि गरिन्न भने देवीप्रसादलाई थुन्ने हकपनि कसैलाइ छैन। उहि अपराधको लागि कसैलाइ सजाए, कसैलाइ उन्मुक्ति दिन पाइन्न। के संविधानले कसैलाइ काखा, कसैलाइ पाखा गर्छ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 162 Thumb down 1