
चिहान खोतलेर लासलाई बाहिर निकाल्नु, पानीले नुहाइ धुवाइ गरिदिनु र मज्जाले राम्रा राम्रा पहिरन लगाइदिनु । सुन्दैमा कुनै फिल्मी कथाजस्तो लाग्ने यो परम्परा मानव समाजमा अहिले समेत कायम रहेको परम्परा हो । इण्डोनेसियाको दक्षिण सुलावेशी स्थित तोराजाका आदिवासी समुदायमा हरेक वर्ष यस्तो अनौठो संस्कार मान्दै आएका छन् ।

वृद्ध भएर मृत्यु भएका मात्र होइन, बाल्यकालमै मृत्यु भएकाहरुको शवलाई पनि यसैगरी सिँगारिन्छ । अनि त्यसरी सिँगारिएका लासलाई गाउँ घुमाइन्छ, सिधा बाटोमा ।
त्यसपछि बर्षदिनसम्म माटोमुनि रहँदा मक्किएको वा बिगि्रएको कफिनलाई मर्मत गर्ने वा नयाँ फेर्ने गरिन्छ अनि पुनः सिँगारिएकेा लासलाई कफिनमा राखेर चिहानमै राख्ने गरिन्छ । उक्त गाउँको एक भिरमा कलात्मक खुल्ला चिहान समेत निर्माण गरिएको छ, जहाँ सिँगारिएका लासलाई उभ्याएरै राखिएको छ ।

यो पर्वलाई स्थानीय भाषामा मइनिन भनिन्छ जसको अर्थ लास सफाइ पर्व हो ।
परम्परागत तोराजान आस्था प्रणालीमा मृतकको आत्मा व्यक्ति जन्मेकै गाउँमा फर्किनुपर्ने मान्यता छ । त्यसैले सो गाउँका मानिस अरु कुनै ठाउँमा गएर मरे भनेपनि त्यसैगरि लासलाई सिँगारेर र हिँडाएर गाउँमै ल्याइन्छ ।
त्यसैले विगतमा सो गाउँका मानिसहरु टाढाको बाटो हिड्न डराउँथे । यदि कसैगरी आफु टाढा ठाउँमा गएर मरियो र आफ्नो लास गाउँसम्म पूराउन सकिएन भने आफ्नो स्वर्गमा बास नहुने डर उनीहरुमा हुन्थ्यो ।




